अर्घाखाँची, १७ माघ । वरिपरि सल्लै सल्लाले घेरेको जंगल, बिचँमा सानो टिन लगाएको छाप्रोमा विहानै देखी आफनो नियमित काम गर्दै थिए, पाणिनी गाउँपालिका ६ धातिवाङ्गका बुद्धिबहादुर विश्वकर्मा ।
पाणिनी गाउँपालिका ६ धातिवाङ्गको दुर्गम क्षेत्र मानीएको जुखुदीमा विकले आफ्नो पुख्यौली आरन पेसा अझै छाड्न सकेका छैनन ।
१६ वर्षको उमेरबाट सुरु गरेका विक अहिले ५८ वर्षका भए, अहिले पनी बाली घरे प्रथामा काम गर्दै आइरहेका विश्वकर्माको जीवन आरनमै बित्ति सक्यो । परिवारमा आर्थिक अवस्था निकै कमजोर र घरको वातावरण राम्रो नभएका कारण बाल्यकालदेखि नै कष्टमय ढंगले पुख्र्याैली आरन पेशा गरिरहेका विश्वकर्माको अहिले पनि दैनिक छाक टार्न धौँ–धौ नै पर्ने गर्छ ।
पढ्ने सोच त थियो तर घरको आर्थिक अवस्थाले दिएन, विश्वकर्माले भने । ‘दिनभर फलामको विभिन्न औजार बनाई वर्षको एक पटक बाली उठाउँदा डोकेभागमा एक डोका मकै र ३ पाथीमा धान, गँहु, दिने गर्छन, परिवार पाल्नै मुस्किल छ बाली घरे प्रथा अहिलेसम्म नै गाउँ घरमा कायमै छ’, उनले भने ।
सानो छाप्रो मुनी बसेर निरन्तर रुपमा आरन चलाईरहेका उनको हात पटपट फुटेको छ, हातमा ठेलै ठेला उठ्छन, तैपनि उनको त्यो पेशा नगरी जीवन र परिवार चल्दै न । आफ्नो पुख्यौली पेशा कसरी छोड्नु उनी भन्छन– ‘यो नै जीवन चलाउने र परिवार पाल्ने आधार हो ।’
जति पीडा भएपनि कहिले काटिएला दिन भनी ठेला उठेको ती हातले निरन्तर फलाम पीटीरहन बाध्य छन् विक । फुर्सद छैन, शिथिल भैरहेको जीऊ, निरन्तर आगोको रापसँगै तातेको फलाम पीटेर थोपा थोपा पानीका धारा झै चुहीरहेको पसीनाले भिजीरहेको शरीर जती दुःख कष्ट खेप्नु परेतापनि आफ्नो पुख्यौली पेशा प्रति विक प्रतिवद्ध छ ।
यसरी आरनको काम गरेको ज्यालाले बिहान बेलुका हात मुख जोर्न र एक छाक टार्न धौ–धौ भएको बताउँछन । जसो तसो आरनकै कमाइले उनले अहिले सम्म पाचँ जनाको परिवार पालेको बताए । उनी मात्र होईन उनलाई आफनो श्रीमतीले पनी सहयोग गर्छिन । घर नजिकै रहेको आरनमा बिहान ६ बजे झिसमिसेमै पुग्छन ।
आरन चलाएर जीविकोपार्जन गर्नु विक जातको पुख्र्यौली पेशा हो । तर अचेल आधुनिकतासंगै यो पेशा लोप हुँदै गईरहेको छ, उनले भने । विशेष गरेर ब्यवसायिकतामा आधुनिकता र जीवनशैलीमा नै परिवर्तन आएकाले पनि यस्तो हुन गएको पाईन्छ ।
अहिलेका युवाहरुले यस्तो पेशा छोड्दै गएका कारण यस जातिले अवलम्बन गर्दै आईरहेको पुख्र्यौली पेशा हराउँदै गएको उनको भनाई छ । ‘कतिञ्जेल आरनमा बसेर जिविकोपार्जन गर्ने ? बिहान बेलुका छाक टार्न समेत धौ–धौ हुन्छ’, उनले भने ।
कहिले फेरिन्छ गरिबीको जुनी ? आफ्नो र सन्तानको भविष्य निर्माण गर्न निकै मुस्किल गरिरहेको अधिकांश दलित समुदायहरु बताउँछन् ।
यसरी वर्षभरी १५० घरको काम गरेवापत हरेक घरबाट दुई चार पाथी मकै लिएर पाचँ जनाको परिवार पाल्दै आएको विकले बताए । राज्यले अरु पेशा ब्यवसायलाई जस्तै यसलाई पनि सहयोग र आवश्यक व्यवस्था मिलाई दिए उनीहरुको जीवन पनि सुधार गर्न सहज हुने थियो विकले भने ।
उनी आरन पेशा मात्र होईन साविकको धातिवाङ्ग गाविस ९ वडाको स्थानिय नेता पनी हुन । २०५४ सालको स्थानिय तहको निर्वाचनमा कांग्रसले टिकट नदिएपछी स्वतन्त्र उठेर वडा अध्यक्ष जितेका हुन, उनी कांग्रेसको महाधिवेशनमा क्षेत्रीय प्रतिनिधी आईरहन्छन । उनी हरेक योजनाहरुमा उपभोक्ता समितिको पदमा पनी बस्छन र काम सम्पन्न गराउँछन, पढाई लेखाई कम भएपनी समाजका काममा पछी हट्दैनन ।
उनीमात्र होईन उनी जस्ता दर्जनौले बालिघरे प्रथामा नै आरन पेशा चलाईरहेका छन । अझै जिल्लाका गाउँघरमा बालि दिएर नै आरनबाट बन्ने हसिँया, बन्चरा, कोदाला, कोदाली तथा फलामजन्य सामाग्रीहरु बनाईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्