बैशाख ३० , काठमाडौँ । गीत गाइरहेका, नाचिरहेका कंग्रेस कार्यकर्ता। क्यामरा सामुन्ने हाँस्दै बोलिरहेका नेता र जितको जोस। भारतको विपक्षी दल कंग्रेसको कार्यालयमा धेरै वर्षपछि यस्तो दृश्य देखियो।
कर्नाटक राज्यको विधानसभामा कंग्रेसले प्रचण्ड बहुमत हासिल गर्ने स्पष्ट भएपछि सो पार्टीका नेता सिद्धारमैयाले २०२४ मा राहुल गान्धी प्रधानमन्त्री बन्ने आशा व्यक्त गरे।
पार्टीको सोसल मिडिया ह्यान्डलहरुबाट यो जितको जस राहुल गान्धीलाई नै दिइयो। कंग्रेसका नेता र कार्यकर्ताले पनि राहुल गान्धीको नाम लिएको देखियो।
दक्षिण भारतको द्वार मानिने कर्नाटकमा भाजपाको किल्ला ध्वस्त पारेर कंग्रेस निश्चय नै बलियो स्थितिमा उक्लिएको छ। निकै लामो समयपछि कंग्रेसले कुनै ठूलो राज्यमा जित प्राप्त गरेको छ।
कंग्रेसको जितपछि दिल्लीमा पत्रकारहरुसँग कुरा गर्दै राहुल गान्धीले भने, ‘कर्नाटकमा घृणाको बजार बन्द भएको छ, प्रेमको दोकान खुलेको छ। यो सबैको जित हो तर सबैभन्दा पहिले कर्नाटकका जनताको जित हो।’
प्रधानमन्त्री नरेन्द्र मोदीको व्यापक चुनाव प्रचार र आक्रामक चुनावी अभियानका बाबजुद कंग्रेसले कर्नाटकमा आफ्नो मुद्दा छाडेन र ठूलो जित हात पार्यो।
यो जितपछि कंग्रेसको मनोबल निश्चय नै बढ्ने विश्लेषकहरुको भनाइ छ। केन्द्रको सरकारमा भाजपा राजनीतिक रुपले अत्यन्त बलियो छ। र, आगामी लोकसभा ९तल्लो सदन० को चुनावमा भाजपालाई टक्कर दिन विपक्षीहरु एकजुट हुनुपर्ने आवाज उठ्दै आएको छ।
विपक्षी एकताको कुरा पटकपटक हुँदै आएको छ। तर, भाजपाका मोदीजस्तै विपक्षीका शक्तिशाली नेता को होला भन्नेबारे सन्देह रहँदै आएको छ।
यो विजयपछि अब विपक्षी गठबन्धनको नेतृत्वमा कंग्रेसको दाबी थप बलियो हुने विश्लेषकहरु बताउँछन्।
राजनीतिक विश्लेषक तथा वरिष्ठ पत्रकार स्मिता गुप्ता भन्छिन्, ‘अहिलेसम्म जेजति चुनावी नतिजा थिए, त्यसमा कंग्रेस पछाडि रहन्थ्यो। तर, अब ठूलो राज्यमा ठूलो अन्तरले चुनाव जितेपछि विपक्षी गठबन्धनको नेतृत्वमा उसको दाबी बलियो हुनेछ।’
यद्यपि, थुप्रै राज्यमा यसअघि नै विपक्षीहरु एकजुट भइसकेका छन्। बिहारमा कंग्रेस, राष्ट्रिय जनता दल र जनता दल युनाइटेडको संयुक्त सरकार छ। झारखण्डमा पनि झारखण्ड मुक्ति मोर्चा, कंग्रेस र राजदको गठबन्धन सत्तामा छ। महाराष्ट्रमा गतवर्ष सरकार परिवर्तन हुनुअघि शिवसेना, कंग्रेस र राष्ट्रवादी कंग्रेसको सरकार थियो।
राष्ट्रिय स्तरमा पनि यस्तै विपक्षी गठबन्धन बनाउने कोसिस नभएको होइन। तर, त्यो सफल भएन।
राजनीतिक विश्लेषक तथा वरिष्ठ पत्रकार उर्मिलेश भन्छन्, ‘कर्नाटकमा नजितेको भए पनि कंग्रेस गठबन्धनमा अन्य क्षेत्रीय पार्टीहरुभन्दा बलियो रहन्थ्यो। कर्नाटकमा जित्नुअघि पनि कंग्रेस विपक्षीमध्येको सबैभन्दा ठूलो पार्टी हो।’
‘अब राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा चुनाव आउँदैछ। यी तीनै राज्यमा भाजपाविरुद्ध कंग्रेसको प्रतिस्पर्धा हुनेछ। यदि यी राज्यमा पनि कंग्रेसको प्रदर्शन राम्रो रह्यो भने यो पार्टी थप बलियो हुनेछ। विपक्षी गठबन्धनको मूली कंग्रेस नै रहनेछ,’ उनले थपे।
उनले मोदीजस्तै भारतभर विपक्षीको नेताका रुपमा एउटै अनुहार खोज्ने प्रयास व्यावहारिक नभएको बताए।
वरिष्ठ पत्रकार विजय त्रिवेदी भने कर्नाटकको जितले कंग्रेसलाई सञ्जीवनी बुटी दिए पनि सो पार्टीले विपक्षीको मुखिया बन्ने कोसिस गर्न नहुने बताउँछन्।
जितपछि कर्नाटकका नेताहरु र कार्यकर्ताले त्यसको जस राहुल गान्धीलाई दिए। तर, यो जितको पूरा जस उनलाई दिनु सही नहुने विश्लेषकहरुको भनाइ छ।
‘कंग्रेसको जितमा स्थानीय नेतृत्वलाई ज्यादा श्रेय दिनुपर्छ। डीके शिवकुमार र सिद्धारमैयाको हातमा नेतृत्व थियो। मल्लिकार्जुन खड्गे ९पार्टी अध्यक्ष० कर्नाटकका हुन्,’ स्मिता गुप्ता भन्छिन्, ‘स्थानीय नेतृत्वले स्थानीय मुद्दामा यो चुनाव लडेर जित प्राप्त गर्यो। तर, जितको जस राहुल गान्धीको भारत जोडो यात्रालाई दिइँदैछ। जुन गलत हो। केन्द्रीय नेतृत्वले स्थानीय नेताहरुलाई भरोसा गरे। केन्द्रीय नेतृत्वलाई त्यसैको मात्र जस दिनुपर्छ।’
गत फेब्रुअरीमा छत्तीसगढमा भएको अधिवेशनपछि कंग्रेसको दृष्टिकोण र व्यवस्थापन बदलिएको उर्मिलेशको भनाइ छ।
‘कंग्रेसले सामाजिक न्यायको मुद्दालाई आफ्नो एजेन्डामा सामेल गर्यो। छत्तीसगढ अधिवेशनपछि सो पार्टीले जुन एजेन्डा बनायो, त्यसलाई लागू गरिरहेको छ। राम्रो नतिजाको एक कारण त्यो पनि हो,’ उनले भने।
विजय त्रिवेदी भने कर्नाटकको जितबाट राहुल गान्धीको छवि बलियो हुने तर्क गर्छन्।
‘भारत जोडो यात्राबाट राहुल गान्धीले आफ्नो जुन छवि कुँदेका छन्, यो जितले त्यसलाई अझ बलियो पार्नेछ। तर, कर्नाटकमा राहुल गान्धीले जुनजुन चुनाव क्षेत्रमा प्रचार गरे, तीमध्ये ३५ प्रतिशतमा मात्र कंग्रेसले जितेको छ। यद्यपि, उनले कर्नाटकमा कंग्रेसको गति बढाए,’ उनले भने।
कर्नाटकमा कंग्रेसको जित अप्रत्याशित नभएको र यसको कारण भाजपा सरकारको असफलता भएको विश्लेषकहरुको भनाइ छ।
‘कांग्रेसको यो जित अप्रत्याशित होइन। गहन विश्लेषण गर्ने हो भने यसको प्रमुख कारण बासवराज बोम्मइको सरकार नराम्ररी असफल हुनु हो। मोदीले चर्को प्रचार गरे, जसका कारण तटीय क्षेत्रहरुमा साम्प्रदायिक मुद्दाको असर पर्यो। त्यसो नभएको भए भाजपाको हालत झन् खराब हुन्थ्यो,’ त्रिवेदी भन्छन्।
उर्मिलेश भने कर्नाटकका जनताले हिन्दुत्वको राजनीतिलाई अस्वीकार गरेको दाबी गर्छन्।
‘दक्षिण भारत सधैँ हिन्दुत्ववादी राजनीतिविरुद्ध रहँदै आएको छ। कर्नाटक मात्र यसको अपवाद थियो। भाजपाले सरकार बनाए पनि यहाँ उसको स्पष्ट बहुमत थिएन। भाजपाका लागि दक्षिणमा कर्नाटकको द्वार भत्कियो,’ उनले भने। बीबीसी हिन्दी
प्रतिक्रिया दिनुहोस्