तनहुँ, ९ जेठ । व्यास नगरपालिका–१० मा पर्ने मादी नदीमा केही व्यक्ति बगाउँदै गरेको भयावह दृश्य देखियो । देख्नेहरु अत्तालिँदै हारगुहार माग्दै बचाउन आग्रह गर्दै थिए । तत्कालै नेपाली सेना डुंगा लिएर गोताखोर टोलीसहित बग्दै गरेकालाई बचाउन उद्धारमा जुट्यो । तत्कालै सेनाले उद्धार गर्दा नदीमा बग्दै गरेका पाँच–छ जनाले पुनःजीवन पाए ।
नजिकै ढिलमा बसेर नेपाली सेनाले सोमबार गरेको विपद् नमुना अभ्यास हेर्दै गरेका मानिसहरुमध्ये स्थानीय टेकबहादुर बोटेको आफूलाई सम्हाल्न सकेनन् । “यस्तो विपद् सत्रुलाई पनि नपरोस्,” दायाँ हातले आँसु पुछ्दै ५० वर्षीय बोटेले भने, “यही नदीले पाँच महिना पहिले मेरी बुहारी मंगलीलाई पनि खायो । अहिले बुहारीको सम्झना आयो । त्यसैले मन सम्हाल्न सकिन ।”
यही मंसिर महिनामा व्यास–५ पाटनमा आफन्तको मृत्यु संस्कार अर्घौमा उक्त धारापानी घाटको जंघार तर्ने क्रममा ४१ वर्षीया बुहारी मंगलीलाई बगाएर मृत्यु भएको बोटेले बताए । बोटेका अनुसार उक्त घाट तर्ने क्रममा बुहारी मंगलीलाई बगाएपछि करिब तीन सय मिटर तल शव फेला परेको थियो । त्यसअघि विसं २०७३ मा स्थानीय ५८ वर्षीय वुद्धिबहादुर बोटेको पनि सोही स्थानमा बगाएर मृत्यु भएको थियो । भैँसी तार्ने क्रममा बुद्धिबहादुरको मृत्यु भएको टेकबहादुरले बताए ।
उक्त घटनापछि गाउँका आफूहरुले पानीसँग जबरजस्ती गर्न हुँदैन रहेछ भन्ने सिकेको उनले बताए । विपद्को समयमा सूचना पाउनु लगत्तै उद्धारमा खटिने गरी सुरक्षाकर्मी छिटो आउने गरी राज्यले व्यवस्था गर्नुपर्ने स्थानीय ४० वर्षीय टिकाराम थापामगरले बताए ।
“विपद् नमुना अभ्यास हेरेर कसरी उद्धार गरिने रहेछ भन्ने जानकारी पायौँ”, थापामगरले भने, “तर साँच्चै विपद्को समयमा तालिम प्राप्त सुरक्षाकर्मीहरु तुरुन्तै आउने गरी राज्यले व्यवस्था गर्न सक्नुपर्छ । तब मात्र नागरिकको जीउधनको रक्षा गर्न सकिन्छ ।”
उक्त नमूना अभ्यास गरिएको मादी नदी किनारा नजिकै लोपोन्मुख बोटे समुदायको ३६ घर छ । उक्त गाउँमा करिब एक सय ८० जना लोपोन्मुख बोटेहरु बस्दै आएका छन् । नदीमा माछा मारेर जीविका चलाउँदै आएका बोटेहरु पछिल्लो समय कृषिमा संलग्न छन् । विपद् नमूना अभ्यासले गर्दा आफूहरुले प्राकृतिक विपद्मा कसरी जीवन रक्षा गर्ने भन्ने बारेमा जानकारी पाएको स्थानीय ४५ वर्षीया राममाया बोटेले बताए ।
“विपद् नमूना अभ्यासबाट हामीले विपद्को समयमा आत्तिन नहुने कुरा पनि सिक्यौँ”, राममायाले भनिन्, “आगलागी, बाढीपहिरो र भूकम्पको जाखिमबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा प्रत्यक्ष जानकारी पाइयो ।” सुनेरभन्दा पनि देखेको धेरै समयसम्म सम्झिने भएकाले नमूना अभ्यासले विपद्को समयमा कसरी उद्धार गर्ने भन्ने बारेमा आफूहरुलाई सिकाएको स्थानीय ४३ वर्षीय आइतबहादुर बोटेले बताए ।
“विपद्बाट बच्न पूर्वतयारी पनि गर्नुपर्ने रहेछ भन्ने बारेमा जानकारी पायौँ”, बोटेले भने, “विपद् नै परेको जस्तो दृश्य देख्दा आङ नै सिरिङ्ग भयो ।” मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश र नेपाली सेनाको पश्चिम पृतना हेड क्वाटरको संयुक्त आयोजना र दमौलीस्थित कालिभञ्जन गणको संयोजनमा सोमबार विपद् नमुना अभ्यास भएको थियो ।
आगलागी, भूकम्प, बाढीपहिरामा परेकालाई कसरी उद्धार गर्ने भन्ने बारेमा भएको अभ्यासको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, म्याग्दे गाउँपाकिाका प्रमुख श्रीप्रसाद श्रेष्ठ, श्री नम्बर ३ बाहिनी अड्डाका बाहिनी पति गौरवकुमार केसी, गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङ सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजी, गण्डकी प्रदेश राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक मधु केसी लगायतले विपद् नमूना अभ्यास निरीक्षण गरेका थिए ।
गण्डकी प्रदेशमा तीन वर्षमा बाढीपहिरो आगलागीबाट दुई सय १८ जनाको मृत्यु, चार सय एक घाइते, दुई हजार पशुचौपाया र दुई हजार पाँच सय भौतिक संरचनामा क्षति पुगेको तथ्यांक रहेकाले सबै पक्ष गम्भीर हुन आवश्यक रहेको पश्चिम पृतनाका पृतनापति उपरथी दीपककुमार बानियाले बताए । उपरथीबानियाकाअनुसार गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा वार्षिक ४३ करोड मूल्य बराबरको आर्थिक क्षति भएको छ ।
“विपद्बाट सर्वसाधारणको उद्धार गर्न सकिन्छ भन्ने ठानेर नै हामीले नमूना अभ्यास गरेका हौँ”, उपरथी बानियाँले भने, “यस्ता कार्यलाई स्थानीय तहले पनि आफ्नो कार्यक्रम बनाएर व्यापक प्रचारप्रसार गर्न आवश्यक छ ।” गत वर्ष गण्डकी प्रदेशका ११ जिल्लामा नेपाली सेनाको नेतृत्वमा १८ नमुना अभ्यास गरिएको उपरथी बानियाँले जानकारी दिए । विपद् अचानक आई पर्ने भएकाले पूर्वतयारी गरी विपद्बाट हुने क्षतिलाई कम गर्न सकिने गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले बताए ।
विपद् जोखिम क्षेत्र पहिचान गरी मानवियलगायतका क्षति न्यूनीकरण गर्न पूर्वतयारी गरी तालिम प्राप्त जनशक्ति खटाउने गरी गण्डकी प्रदेशबाट व्यवस्था गर्न लागिएको मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।
“गण्डकी प्रदेशमा विपद्लाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा हामी गम्भीर भएर लागेका छौँ”, मुख्यमन्त्री पाण्डेले भने, “विपद् व्यवस्थापनको लागि सबै क्षेत्रबाट सकारात्मक पहल कदमीको अपेक्षा गरेका छौँ ।” विपद् व्यवस्थापनको लागि आफूहरुले पाठ्यपुस्तकमा उल्लेख गर्ने गरी तयारी गरिरहेको मुख्यमन्त्री पाण्डेले बताए ।
प्रतिक्रिया दिनुहोस्