काठमाडौं, १४ जेठ ।
९५ वर्षिय वरिष्ठ पत्रकार भैरव रिसाल भन्नुहुन्छ, ‘म जन्मेको बेला जनता थिइनँ रैती थिएँ । नेपालमा राणा शासन थियो । त्यो बेला राणाले हिड्ने बाटो हामी हिड्न पाउँदैनथियौं ।’ उहाँ आजभोलि पनि पढ्ने, लेख्ने कर्ममै निरन्तर हुनुहुन्छ । पढ्छु, बिर्सन्छु । फेरी पढ्छु, लेख्छु, बिर्सन्छु उहाँ भन्नुहुन्छ । बुढ्यौलीको यो समयमा नियमित औषधि सेवन गरिरहनुभएको उहाँलाई लागेको छ, अधिकार प्राप्त मान्छेले झुठो बोलेको कारण देश बिग्रदै गएको छ । उहाँले अन्तरंग संवादको प्रारम्भमै हामीलाई भन्नुभयो, ‘राजनीतिक नेता, प्रशासकीय जस्ता मान्छे निचो होइन, जागरिलो हुनप¥यो ।
आमाको देहान्तपछि बुवा जोगी :
उहाँको जन्म विसं. १९८५ साउन २९ गते भक्तपुरमा साविकको गुण्डु गाविसको तिथलीमा भएको हो । ३ वर्षको उमेरमा १९८८ मा उहाँकी आमालाई झाडाबान्ताका कारण स्वास्थ्य समस्या भएपछि गाउँका अलि जान्ने, बुझ्नेले सिधैं आर्यघाट पुयाएको दुख उहाँ सम्झनुहुन्छ । त्यो बेला आमाको उपचारका लागि देशमा वीर अस्पताल खुलिसकेको थियो भन्ने गुनासो उहाँको मनमा आज पनि छ । आमाको देहान्तपछि उहाँको बुवा जोगी हुनु खोज्नुभएको रहेछ तर, आफन्तको सल्लाहमा दधिकोट बसाई सर्नुभयो र पछि नयाँ आमा पाएको उहाँ सुनाउँनुहुन्छ । दधिकोटबाट लुबु भाषा पाठशाला पढ्न जान पनि सजिलो भयो, मेरो आमा नमरेको भए मेरो पढाई हुदैनथ्यो होला, उहाँ निठुर मनले भन्नुहुन्छ ।
कम्युनिष्ट भएकाले गोरखापत्रमा जागिर मिलेन :
लुवुमा कक्षा ८ सम्मको पढाईपछि थप शिक्षाका लागि रानीपोखरीस्थित संस्कृत प्रधान पाठशालामा उहाँ ट्रायल पास हुनुभयो । तीनधारामा पाकशाला र रानीपोखरीमा संस्कृति पाठशाला थियो । दरबार हाई स्कुलमा तल संस्कृत र माथिल्लो तहमा अंग्रेजी पढाई हुने विषयमा समानान्तर थिएन । उता त्रिचन्द्र कलेजको प्रोफेसरले खाने तलब र रानीपोखरीको पण्डितले खाने तलबमा विभेद थियो । २००७ सालको आन्दोलनमा संस्कृतिका विद्यार्थी पनि सहभागी भए । भैरव रिसाल २००९ मा कम्युनिष्ट पार्टीमा आबद्ध भए । पछि शास्त्री भन्ने परीक्षा बीए, बीकम, बीएसी सरह र आचार्य भन्ने एमए, एमकम, एमएससी सरह भयो । उहाँले २०१२ मा शास्त्री पास गरेको समयमा राज्यले गोरखापत्रमा ८ जना पोष्ट ग्राज्युट र ६ जना ग्राज्युट अफिसर माग गरेका सूचना प्रकाशन ग¥यो । अंग्रेजी विषय पढेको विद्यार्थी लिखित र अन्तरवार्ता दुवैमा पास हुँदा एकदमै खुसी हुनुभएको भैरवलाई गोरखापत्रमा जागिर मिलेन । किनकी, त्यो बेला राज्यले कम्युनिष्ट पाल्दैन भन्ने थियो, उहाँले हामीसँग त्यो अनुभव साट्नुभयो ।
मासिक तलब एक सय :
घरमा भाइबहिनी धेरै थिएँ, अभावका कारण पनि कुनै न कुनै आयआर्जन खोज्नै थियो । छिमेकमा बसाई भएको पूर्णप्रसाद उपाध्याय तत्कालीन समयमा दरबारमा राजाको जनसम्पर्क प्रमुख अफिसर थिए । भैरवले जागिरका निम्ति उहाँलाई निवेदन गरे र भने मलाई जागिर चाहियो नत्र म राजनीतिमा लाग्छु । भैरव राजनीतिमा आए अफिसर उपाध्यका दाजुको राजनीतिमा घाटा हुने सम्भावना अधिक थियो । उपाध्यायको चिनजानमा हालखबर नामको पत्रिकामा जागिरका लागि निवेदन लेख्न सुझाव प्राप्त भयो । त्यो बेला निवेदन होइन निबन्ध लेखेछु मैले भन्दै आफूबाट भएको भुल सुनाउनुभयो । भैरव २०१३ सालमा मासिक तलब एक सय रुपैयाँमा पहिलो पटक साइकलवाला पत्रकार बनेपछि फुर्ति नै अर्को भएको उहाँले सुनाउनुभयो ।
प्रधानमन्त्री टंकप्रसाद आचार्यले हप्काएपछि :
एक दिन कुपन्डोलबाट डिल्लीबजारको बाटो हिड्ने क्रममा चारखालको अड्डा बाहिर केही खलबल भएको सुनेपछि अड्डाभित्र खसीको मासु बेचेको उहाँले देख्नुभयो । त्यो समाचार बन्छ वा बन्दैन त्यो बेला उहाँले ठम्याउन सक्नुभएन । हालखबर पत्रिकाका सम्पादक दाताराम शर्मा थिए । सम्पादकको अनुमतिमा सो समाचार लेखेपछि बक्स न्युजमा छापियो । यो समाचार प्रकाशनपछि तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य रुष्ट भए र भैरवलाई सिंहदरबारमा बोलाएर हप्काए । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले हप्काएपछि यसको जवाफमा अड्डामा मासु बेच्न हुन्छ त ? हुँदैन नि त्यसैले समाचार लेखेको भनेर भन्नुभएको भैरव सम्झनुहुन्छ ।
पत्रकारिता नपढेका पत्रकार :
जागिर खोज्ने क्रममा पत्रकार भएपछि उहाँको दैनिकी विगतको भन्दा बद्लियो । बिहान–बिहान नेताहरु त्रिपुरेश्वरमा वेनानन्द झा, वीर अस्पताल परिसरमा डिल्लीरमण रेग्मी र कमलपोखरीमा विश्वेश्वरप्रसाद कोइरालालाई सधैंजसो भेट गर्नुहुन्थ्यो । नेताको घरमा जिल्लाका कार्यकर्ता आउँथे उनीहरुसँग पनि भैरव रिसालको भेटघाट र संवाद बढ्दै गयो । एक हिसाबले पत्रकारिता नपढेको पत्रकार भनेर पनि आफूलाई भन्नुहुन्छ । त्यो बेला नेपालमा पत्रकारिताको विषय पढाइ सुरु भइसकेको थिएन । एक समय थियो महाकवि लक्ष्मीप्रसाद देवकोटा एसिया अफ्रिकाको साहित्य सम्मेलनमा जानपर्ने भयो । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपति बालचन्द्र शर्मा थिए । महाकवि देवकोटाको तलब रोकिएको कुरा अन्तरवार्ता लिएर छापिएपछि देवकोटाले तलब पाएको उहाँ सम्झनुहुन्छ । त्यसपछि समाजमा र पत्रकारिता क्षेत्रमा विस्तारै आफ्नो महत्व बढेको अनुभव उहाँको छ ।
भिडियो – ध्रुव अधिकारी
(एबीसी टेलिभिजनको कार्यक्रम आत्मवृतान्तका लागि वरिष्ठ पत्रकार भैरव रिसालसँग गरिएको संवादमा आधारित )
प्रतिक्रिया दिनुहोस्