काठमाडौं, १८ असार । ८८ वर्षिय वरिष्ठ संस्कृतिविद् तथा नेपाली निबन्धकार तेजेश्वरबाबु ग्वंग भन्नुहुन्छ, ‘जीवन त जीवन हो नि । जीवनमा जति कुरा सिक्न, जान्न सक्यो र जानेको कुरा पुनः अर्पण गर्न सक्नु नै सबैभन्दा ठुलो कृति हो ।’ उहाँ देखावटीमा भन्दा आफूले व्यवहारमा उतार्ने कुरामा बढी विश्वास राख्नुहुन्छ । भक्तपुरमा ग्वंग निवासको नाम राखिएको छ ‘निष्ठा छें’ । उहाँले कसैप्रति श्रद्धा र आदरले मात्रै कसैको दैलोमा कोही आइपुग्ने हुँदा सबैलाई समान सत्कार गर्न कुनै अभाव नरहेको कुरा दिलैबाट बताउनुभयो । ‘मलाई कसैलाई सत्कार गर्न कुनै अभाव हुँदैन । यो मेरो उदार भावको एउटा चिनो पनि हो’ उहाँले भन्नुभयो ।
वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबुको जन्म विसं. १९९२ कात्तिक ७ गते भएको हो । बुवा निरञ्जनलाल ग्वंग र आमा शारदादेवी मल्ल ग्वंगको कोखबाट उहाँको जन्म भयो । उहाँ एक विशिष्ट स्रष्टा मात्र नभएर स्थापित एवम् सम्मानित स्रष्टाको रुपमा पनि हुनुहुन्छ । पहिला परिवारसंख्या धेरै भएपनि अहिले श्रीमती, छोराबुहारी, नातिनातिनासँग उहाँको दैनिकी बित्ने गरेको छ । नेपाली संस्कृति र साहित्यमा एक विशिष्ट स्रष्टा उहाँ आजभालि भने लेखन कार्य गर्न सक्नुहुन्नँ । विगत ६ महिनादेखि टेबलमा बस्नै नसक्ने र कम्युटर चलाउन नसक्ने अवस्था आजभोलि रहेको उहाँले बताउनुभयो ।
श्रीमतीलाई सासुकी छोरी भन्ने बानी :
उहाँले बीएसम्मको अध्ययन काठमाडौंमा सम्पन्न गर्नुभएको हो । अमेरिकाबाट कल्चर एन्थ्रोपोलोजीमा एमए तहको अध्ययन पुरा गर्नुभयो । ‘क्यालिफोर्नियामा अमेरिकनलाई नेपाली भाषा सिकाएँ । पछि, कहिले दिल्ली, हैदरावाद, बेलायत, जर्मनी, फ्रान्सका सांस्कृतिक तथा साहित्यक सम्मेलनमा उहाँ सहभागी हुनुभयो । कलेज पढ्ने बेला धेरैले उहाँलाई मन पराउँथे रे । उहाँकी श्रीमतीले पनि उहाँलाई मन पराउँछु र विवाह गर्छु भनेपछि विवाह भएको उहाँले सुनाउनुभयो । उहाँले आफ्नी श्रीमतीलाई सासुकी छोरी भनेर बोलाउने गरेको कुरा उहाँले ठट्यौली शैलीमा बताउनुभयो । उहाँकी धर्मपत्नी धुर्वेश्वरी कायस्थ अहिले ८० वर्ष पुग्नुभयो ।
कृति :
उहाँको संस्कति आयाम, संस्कृतिय पलां (नेपाल संवत्), अवकाशपछिको आकाश, चराको गुँडझैं मेरो जन्मस्थल भक्तपुर, औकातभरिको सौगात, रंग अभिज्ञान लगायतका निबन्ध तथा कविता प्रकाशित छन् । साहित्यिक सम्मान सङ्गम –२०५० नामबाट उहाँले साहित्यकारलाई निरन्तर सम्मान गर्दै आउनुभएको छ । उहाँले सो सम्मानको प्रारम्भ कविवर केदारमान व्यथितबाट सुरु गर्नुभएको थियो । उहाँले आफ्नो निवास निष्ठा छें मा विभिन्न ऐतिहासिक तथा सांस्कृतिक महत्वका मुर्तिहरु राख्नुभएको छ । राष्ट्रिय झण्डाबारे साथीभाइसँग गफिदा झण्डाको निलो रंग भनेको सागर पनि हो आकाश पनि हो भनेर भन्ने गर्छु उहाँले भन्नुभयो । नेपालको राष्ट्रिय झण्डामा चन्द्रमा माथि, सूर्य किन तल भयो भन्नुहुँदै उहाँले चन्द्रमा रातमा उज्यालो हुने भएकोले भन्ने गरेको बताउनुभयो । यति भनेपछि उहाँको निवासमा आएका जो कोही पनि खुसी भएर जाँदा आफूलाई पनि खुसी लाग्ने गरेको भन्दै चन्द्र, सूर्य अंकित नेपालको झण्डाबारे निकै रमाइलो कुरा गर्नुभयो ।
एकमुरी धानको जागिर:
उहाँले २०१३ मा प्रधानाध्यापकको रुपमा कार्य गर्नुभयो । त्यो बेला तीन दिन हिडेर सिन्धुपाल्चोकको ऐँसेलुखर्क मिडिल स्कुलमा एक मुरी धान र एकसय रुपियाँको जागिर खानुभएको रहेछ । २०१७ मा भक्तपुरको जिल्ला विकास समितिमा खरदार हुनुभयो । नासुहुँदै उपसचिवसम्म इमानदार र मेहनती भइ सेवा दिनुभयो । विकेन्द्रीकरणका लेखक, वक्ता तथा प्रशिक्षक हुनुभएकाले राजा महेन्द्र र वीरन्द्रसँगको सानिध्य उहाँसँग रहेको थियो । अवकाशपछि पनि उच्चस्तरीय प्रशासन सुधार आयोग र जेसिस स्कुलको प्रधानाध्यपक भएर काम गर्नु भयो । नेपाल भाषाको प्रख्यात लेखक भनेर चिनिएका ग्ंवगले नेपाल भाषा पनि पढाउनुभएको छ । उहाँको विचारमा पाश्चात्यभन्दा पूर्विय दर्शनको पहुँच अलि भिन्न छ, यसले आध्यात्मिकतालाई अलि बढी जोड दिन्छ । आफूलाई चिन्ने प्रयास गराउँछ ।
सत्यमोहनप्रतिको श्रद्धा:
सर्जग ग्वंग नेपाल भाषा, नेपाली र अङ्ग्रेजी भाषामा लेख्न र बोल्न सिद्धहस्त हुनुहुन्छ । उहाँको निष्ठा छें मा शताब्दीपुरुष सत्यमोहन जोशी, राष्ट्रकवि माधव घिमिरे, कविवर केदारमान व्यथित, युगकवि सिद्धिचरण श्रेष्ठ, वालकृष्ण सम पुग्नुभएको छ । साहित्यका धरोहरदेखि नयाँपुस्ता सबैका लागि समान व्यवहार र सोच राख्ने शक्ति आज पनि उहाँमा छ । शताब्दी तथा युगपुरुष स्वर्गिय सत्यमोहन जोशीको तस्विर निकै पूर्वक आफ्नो निवासमा राख्नुभएको छ । उहाँको घर जो प्रवेश गर्छ, सुरुमै युगपुरुषको दर्शन गरुन् भन्ने अभिप्रायले सत्यमोहनको तस्वीर राख्नुभएको उहाँले बताउनुभयो । उहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाँग पढ्न, सिक्न जानुहुन्थ्यो । ती कवि एवम् स्रष्टा निकै उदार भावको भएको उहाँले सुनाउनुभयो ।
साथीभाइ भेला पार्ने ग्वंग :
नेपाली निबन्धमा उहाँको नाम अग्रपङ्तिमा नै आउँछ । सांस्कृतिक निबन्धमा उहाँको नाम झनै अगाडि छ । उहाँ प्रत्येक चाडपर्व, रीतिरिवाज र परम्परालाई आजको समयसापेक्ष र विज्ञानसम्मत व्याख्या गर्नुहुन्छ । हाम्रा संस्कार र संस्कृतिलाई आध्यात्मिक, सामाजिक र दार्शनिक रुपमा बुझ्नुपर्ने भन्नुहुँदै उहाँले आधुनिकताले विकृत बनाउँदै लगेका हाम्रा संस्कृतिलाई व्यापक अर्थमा संस्कारित बनाउनुपर्ने बताउनुहुन्छ । उहाँको निबन्ध वाक्यमा छोटा भए पनि अर्थमा भने लामा हुन्छन् । गम्भीर, प्रतीकात्मक, विम्बात्मक र काव्यात्मक हुन्छन् । तार्किकता, बौद्धिकता र दार्शनिकता उहाँका प्रत्येक निबन्धमा हुन्छन् । सबैलाई सम्मान र माया गर्न जान्ने साहित्यसाधक तेजेश्वरबाबु ग्वंगलाई साथीभाइ घरमा डाकेर खुवाउन खुबै मन पर्छ । उहाँको वाककला, कार्यशैली र व्यवहारका कारण उहाँ एक वरिष्ठ संस्कृतिविद्, निबन्धकार, विशिष्ट स्रष्टा त हुनुहुन्छ नै, यससँगै अद्भुत कुरा यो हो कि, उहाँ सबैको प्रिय बन्न सफल हुनुहुन्छ ।
आजको दुनियाँ यति बेमतलबी छ । कसैलाई कसैको बारे सोच्नसम्म समय छैन । मै खाउँ, मै लाउ, सुखसयल मै गरु भनेजस्तै मानिस यो बेला केबल आफ्नो स्वार्थका लागि कुद्ने यो जमानामा त्याग, सम्मान र अझ भन्नुपर्दा मानवीय गुण जिउँदो रहेको एक विशिष्ट व्यक्तित्व हुनुहुन्छ, तेजेश्वरबाबु ग्वंग ।
फोटो–भिडियो: ध्रुव अधिकारी
एबीसी टेलिभिजनको कार्यक्रम ‘आत्मवृत्तान्त’ का लागि गरिएको संवादमा आधारित
प्रतिक्रिया दिनुहोस्