शारदा शर्मा : तपाईंको मृत्युको खबर भन्न बैनीले मलाई फोनगर्दा र मोवाइलको घन्टी बज्दै गर्दा म छोरीलाई लाइब्रेरी पुर्याउन ड्राइभिंग गर्दै थिएँ । ए हो र ? भन्दै झल्याँस्स भएँ । फोन बन्द गरें । बाटोमा गाडी हुइँकिरहेका थिए, शहर आफ्नै गन्तब्यमा थियो । लाग्यो सबैलाई तपाईंसँग जान हतार छ । किनकी आज तपाईंको शरिरबाट अलि अलि रहेको सास पनि अलग भयो । सिता दाहाल नबोले पनि, थिइन् तर आज उनी भौतिक रुपमै सकिएकी थिइन् ।
खै किन हो शहरका साँगुरा गल्लीबाट मैले छोरीलाई लाइब्रेरी छोडेर स्टेरिंग घुमाएर घरमा आउने समयसम्म तपाइँसँग भेटेका पुराना दिन अनेक याद आउन थाले। मन अमिलो हुंँदै आयो । घरमा पुग्दै गर्दा भाई उजिर मगरले फोन गरेर तपाईंको बिषयमा बोल्न भने । तर म उहाँको बारेमा किताब नै बोल्छ भन्दै एबीसी अफिसमा गएर किताब लिन भनें । हाम्रो टेलिभिजनबाट तपाई बोलेको आवाज आइरहेको थियो । हामी दुवै जना ०६५ साला बालुवाटारको पुरानो निवासमा बसेर कुरा गरिरहेका थियौं । तपार्इं स्वस्थ तन्दुरुस्त हुनुहुन्थ्यो । युद्धको लामो अनुभव, शहर र सत्ताको थोरै अनुभव थियो त्यतिबेला । तिनै कुरा तपाईं टेलिभिजनमा बोलिरहँदा यता तपाईंको शरिरमा फूलका गुच्छाहरु चढाउन सुरु भइसकेको थियो ।
तपाईंको बोली र कुराले मेरो मन भक्कानिन थाल्यो । कतिबेला आँशु चिउँडोबाट झरिरहे पत्तै भएन । मैले बालुवाटारको त्यो कोठा मात्र सम्झिएँ । जहाँ कालो चिया खाँदै हामी टेलिभिज कार्यक्रमको लागि गफिएका थियौं । मैले धेरै अन्तरंग कुराहरु पनि सम्झिएँ । जहाँ तपाईंको सरलताले र मप्रतिको स्नेहले हामी यौटै सिरकमुनि गफिएका थियौं । त्यतिबेला पनि तपाईं प्रधानमन्त्रकी पत्नी नभएर एकजना आमाकै रुपमा प्रस्तुत हुनुभएको थियो । कैयौं त्यस्ता रातहरु थिए, जतिबेला हामी राती साढे नौ बजेसम्म कुरा गरेर गफिन्थ्यौं ।
मानिसहरु भेटभएपछि जोसँग पनि धेरै घुलमिल भइहाल्ने मेरो स्वाभाव आज पनि छैन । तर तपाईंले के सोच्नुभयो हामी र हाम्रा त्यस्ता के कुराहरु मिले एकआपसमा जसले गर्दा हामीले मन खोलेरै कुरा गथ्र्यौं ।
उमेरले तपाईं मेरो आमा जस्तै हनुहुन्थ्यो । सिता दाहाल प्रचण्डपत्नी । मैले बिम्ब मात्र सुनेको प्रचण्ड जब प्रचण्ड गर्जनमा शहर छिरेको थियो । उहाँको मनमा हामीप्रतिको धारणा पनि फरक थियो । पाका मानिस र अलि उमेर पुगेका युवायुवती । जब हामी भेट भयौं न उहाँले सोचेका जस्ता हामी थियौं, न हामीले सोचेका जस्ता प्रचण्ड नै हुनुहुन्थ्यो । त्यहाँबाट सुरु भयो हाम्रो अनौपचारिक सम्बन्ध ।
सम्बन्ध अनेक खालका हुने गर्छन् । कुनै सम्बन्ध एकपटक बन्छ, अनि बिचमा टुट्छ। कुनै सम्वन्ध बोझ बन्दै जान्छन् र समाप्त हुन्छन् । तर कुनै सम्बन्ध लामो र अबिरल टिक्ने खालका पनि हुने रहेछन् । सायद हाम्रो वेभलेन्थ मिल्यो ? स्कुलदेखि कलेजसम्म कहिल्यै सेकेन्ड नहुने बहुआयामिक र अचम्मको जिनियस जस्तो मेरो श्रीमानको उमेर पनि प्रचण्डसँग मिल्ने पक्कै थिएन । थियो त उनको क्षमता लगनशीलता र बिषयप्रतिको निरन्तरता । शायद यही स्वभाव अंकल प्रचण्ड र शुभको बीचको कसी बन्यो कि ? वा कसैलाई नराम्रो नसोच्ने स्वच्छ मानसिकता । सायद यहींबाट सुरु भयो हाम्रो सम्बन्ध । हामी पनि शहरका ब्यापारी ठूलाघरानाका मानिस थिएनौं । सामान्य बिद्यार्थी र केही बिद्यार्थीका शिक्षक भने भैसकेका थियौं । समय चल्दै गयो । तपाईंहरु शान्ति प्रक्रियामा आएपछि, छिटै र अचम्म लाग्नेगरी सरकारमा जानुभयो । हामीले धेरैजना मानिसहरु जोडेर हण्डर र ठक्कर खाँदै मिडियाको बाटो लियौं ।
सीता अन्टी हजुरलाई हुट्हुटी धेरै कुराको थियो । कतिपय अनुशासन र गोपनियतालाई मनन गर्दै मैले हजुरसँग भएका सबै कुरा पुस्तकमै समावेश गर्न पनि सकिन । ती नितान्त पारिवारिक थिए । खै किन हो ? आफ्नै छोरीलाई जस्तो मानेर हरप्रकारका पारिवारिक कुराहरु पनि हजुरले मसँग गर्नु भयो ।
जब हामीले ती कुराको समीक्षा गर्ने समय आएको थियो, हजुर थला पर्नुभयो । मेरो मन चिमोटिंदै गयो । टेलिभिजनमा तपाइ बोल्दै हुनुहुन्थ्यो हुनुहुन्थ्यो, यता फूल चढाउने लाइनमा मानिसहरुको तँछाड मछाड थियो । तपाईंप्रति सम्मान प्रकट गर्न मानिसहरु अमिलो मन लिएर लाइनमा थिए । मन पराउने पनि थिए । मन नपराउने पनि थिए । त्यो देख्दा झनै मन झनै अमिलो बन्यो । वास्तवमै मानिसको जीवन अचम्मको छ ।
विगततिर मन मोडिंदै गयो । मैले ओम हस्पिटलको ज्ञानु बसेको अर्को कोठा सम्झें । जहाँ तपाइँका धेरै आफन्तहरु थिए । हामी बाहिरको बेन्चमा बसेर धेरै कुरा गर्यौ । माफ गर्नुहोला अन्टी मैले ती कुराहरु पनि सबै पुस्तकमा समेट्न सकिन । तपाइँ बिम्ब एक हुनुहुन्थ्यो तर प्रतिबिम्व अनेक थिए ।
मानिसले सिता दाहाल देखे । छोराको लागि हरेक कुरामा घुँडा टेकेकी आमा देखे । कतिले युद्धमा साथ दिने सहयात्री पनि देखे । कति सहयात्रीहरुले आफ्नो जीवन रक्षा गरिदिएको एक रक्षक पनि देखे । तर नबुझ्नेले जे देखे । जे सुने । जे जति आफ्नो बर्गतले भ्यायो त्यही देखे । तर मैले तपाइँमा अनेक सीता दाहाल एकैपटक देखें ।
एउटी दुखी आमा, नचाहँदा नचाहँदै घुँडा टेकेकी निर्वल आमा । माया गर्दागदै पनि देखाउन नसकेकी निर्वल सासु आमा । अनि युद्ध बुझेर आएकी युद्ध नायक । गाउँ बुहार्तन देखि अनेक दुख बुझेर आएकी गाउँकी रखपाल, जस्तै अप्ठ्यारोमा पनि एउटा मास्टरलाई साथ दिएर युद्धको नायक मात्र हैन देशको प्रधानमन्त्री बन्ने अभियानकी सहयात्री, साक्षी र वास्तवमै सुपरनायिका सीता दाहाल ।
मैले हजुरसँगका कुरामा अझ धेरै भाव र भंगंलहरु देखें । यस्ता कतिपय कुरा हुने रहेछन् जुन चाहेर पनि बताउन नसकिने रहेछ । सायद पुस्तक निस्किने बेलासम्म पनि तपाईको चेत पहिले जस्तै भएको भए त्यो पुस्तकमा तपाईंका कथा र कहानीमा किन भनेर प्रश्न गर्न पाउने थिएँ । तर तपार्इँ त्यो अवस्थाभन्दा अलिक पर पुगिसक्नु भएको थियो ।
आज त तपाईंको सास पनि छैन । निर्वल शरिरका साथ पल्टिरहनु भएको छ ।
पेटबाट खाना दिन थालेपछि म तापाईंकोमा एकपटक पनि आइन । एकपटक मेडिसिटिमा गएँ । तपाईंलाई केही थाहा थिएन । जीवन तर्न नसकेर कुनै कुराको सफलता कुरिरहेको एक जना निर्वल यात्रीजस्तै । त्यहाँ तपाईंलाई देखेर मलाई निकै गाहे भयो । चिट्चिट पसिना आयो । शरिर उभिन पनि नसक्ने जस्तो लाग्यो, शुभलाई जबर्जस्ती निस्कौं भनेर म बाहिरिएँ ।
पेरिडाँडाबाट टेलिभिजनमा लाइभ आइरहेको थियो । सहन निकै गाह्रो भयो । गंगाकी सानी छोरीले हजुरलाई हेर्दै भक्कानिंदै रुंदै गरेको दृश्य हेर्न नसकेर मैले टिभी नै बन्द गरें । अन्टी तपाईं त लामो र कठिन यात्रा तय गरेर जानु भयो । साँच्चै तपाईले जति प्रेम र अगाध माया दिएर श्रीमान्लाई छबिलालबाट प्रचण्ड बनाउनु भयो । उहाँले देशको लागि न्याय गर्नुहुन्छ या हुँदैन समयले देखाउँदै गर्ला ।
तर एउटी श्रीमतीले उसको श्रीमानलाई जे गरी त्यसको भरपुर माया र सम्मान हजुरलाई अंकलले दिन कुनै कसर बाँकी राख्नु भएन । शायद तपाईंहरुको जस्तो राजनीतिक जोडीको सम्वन्धका बारे इतिहासले लामो काल सम्झना गरिनै रहनेछ ।
मनिसहरुले अनेक अनेक भने। तर तपाईको लागि अंकलले गरेको माया र प्रेम समग्र देशका हामी जस्ता महिलाका लागि उदाहरणीय बन्यो । आज प्रचण्ड गर्जन हजुरको कमाण्डबिना अलि अपुरो जस्तो महसुस भएको छ । यो मेरो मात्र कुरा हो । अरुलाई अर्कै लाग्न पनि सक्छ । यो केवल महसुस गर्ने निज निजी कुरा पनि हो ।
जसरी हजुरहरुले मलाई तिमी ज्ञानुजस्तै छ्यौ भन्नुहुन्थ्यो । मलाई थाहा छैन तपाइँकी छोरी ज्ञानु र ममा के मेल खाने कुरा थियो । लहडमा आएर अनि भावनामा बगेर भन्नुहुन्थयो या साँच्चै भन्नुहुन्थ्यो त्यो मलाई थाहा भएन । जब म तपाइँलाई सोध्न चाहन्थें, त्यो बेला तपाइँ बोल्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । नढाँटी भन्दा प्रचण्ड अंकलसँग यो कुरा सोध्ने आँट म मा अझै आएको छैन । आज उहाँलाई यस्ता कुराको जवाफ दिइराख्न जरुरी पनि छैन । छोडदिऊँ यस्ता कुरा ।
किताब निस्केपछि तपाईकोमा जाँदा म को हुँ भनेर सोध्दा तपाईले शुभकी बुढी भन्नुभयो । मेरो मन कटक्क खायो । शुभकी बुढी भनेको भन्दा पनि मेरो नाम र यस्ता अनेक अन्तरंग सम्बन्धहरु हजुरले भुल्दै गरेकोमा । तर अंकलले ‘अझै त मानिस चिन्दैछिन’ भन्दै गर्दा उहाँको मुहारमा झल्केको खुशी भावले झन मलाई भित्रभित्रै विह्ल बनाएको थियो ।
समयले मानिसको परीक्षा लिने रहेछ । तपार्इं त्यो परिक्षामा फेल भएर पनि सफल हुनुभयो । एउटी औषस महिलाले गर्ने कुरा भन्दा धेरै माथिका कुराहरुको ज्ञान राखेर तपाइँले छबिलाललाई प्रचण्ड बनाउँदा सहेका दुखका पहाडहरु कसरी छिचोल्न सकिन्छ भन्ने कुरा केवल सुन्नेहरुले महसुस गर्न पक्कै पनि सक्दैनन् ।
मलाई हजुरका कुरा बारम्वार याद आइरहेको छ । भन्नुहुन्थ्यो यस्ता भर्खरका भएर पनि तिमीहरु पनि म जस्तै रहेछौ अनेक सहन सक्ने। तिमिहरुले पनि धेरै नै सुन्न परेको छ, अंकललाई सहयोग गरेकोमा हाम्रै पार्टीका हुँ भन्नेहरुबाट लखेटिनु परेको मलाई राम्ररी थाह छ । यहींनेर आउँदा पनि म रोकिन बाध्य भएँ । हजुरले संकेत गरेका व्यक्तिका स्वाभाव र प्रवृितहरु आज पनि उस्तै छन् ।
म हजुरलाई अन्तिम बिदाइ गर्न पशुपति गएँ । त्यहाँ पुगेका हजारौं शुभचिन्तकहरुको हातमा फुल थियो । तपाइँ निर्वस्त्र पल्टिनुभएको थियो । फुलैफुलले ढाकेको बग्गीमै सुताउँदा पनि हजुर प्रतिक्रिया जनाउने ठाउँमा हुनुहुन्थेन ।
मानिसहरुको मन भित्र के चलिरहेको थियो खै ? तपाइँको बिदाइमा अनेकथरी मानिसहरु गएका थिए । पैसाले जीवन देखेकाहरुदेखि जीवनले पैसा देखाएकाहरु, संघर्ष र दुखका कथा बोकेका अनि दुखले नै साम्राज्य खडा गरेका सफल असफल, सामान्य असामान्य । हरेक प्रकारका मानिसको लर्को थियो । तपाइँ न त केही बोल्न सक्ने अवस्थामा हुनुहुन्थ्यो, न नमस्ते फर्काउन सक्नेमा हुनुहुन्थ्यो । न दुख बिसाउन सक्ने त्यो भावना व्यक्त नै हुन सक्थ्यो । मेरो टाउको फुट्ला जस्तो भयो । तपाइँका सबै सन्तान उपस्थित थिए । मलाई धेरै गाह्रो भयो ।
अन्टी जीवनको महासंग्राम तर्न तपाइँले जसरी प्रयत्न गर्नुभयो, तपाइँको साथ र सहयोगले मजबुत बनेको तपाइँको सहयात्री बर्तमान प्रधानमन्त्री प्रचण्ड, प्रचण्ड बन्ने कोशिस गर्नुहुन्थ्यो । तर जब सहयात्राको साथ लत्रिएको थियो, उहाँभित्र चोटका खतहरु सुक्न नपाउँदै तपाईको महाप्रस्थानले मनभित्रको घाउ झन आलो बनेको थियो भन्ने कुरा उहाँको अनुहारमा सबैले बुझ्नगरी छचल्किएको थियो । नचाहेर पनि आँखाबाट सम्बन्ध र सहयात्रा बर्सिनथाल्थ्यो । मानिस न हो त्यो चट्टान जस्तै बन्न किन नखोजोस् । जिम्मेवारीले भावनालाई कमजोर बनाउन सक्दैन भन्ने कुरा आदर्श मात्र हो । सायद तपाइँले दिएको मजबुत साथ नभएको भए त्यो साख पशुपतिमै अलि बढी नै फिसलिने थियो । तर आँखा बसिए पनि साख मलिन हुन पाएन, त्यही नै तपाइँको साथ र समर्पणको प्रतिविम्व हुनु पर्दछ । तपाइको आँट र भरोसा तथा सावधानीले उहाँलाई दुनियाकै अग्लो मानिस बनाएको थियो भन्दा बढी हुँदैन । मानिसको भिडमा तपाइँ जीवन र दर्शनका अनि पार्टी र क्रान्तिका परिवार र प्रचण्डका बाँकी कुरा सुनाउन नपाउँदै फूलले सजिंदैगर्दा अनेक कुराहरु मनमै दवाएर मैले पनि एक थुंगा फुलले अन्तिम बिदाइ गरें ।
–हार्दिक श्रद्धान्जली । अल विदा अन्टी ।
सीता दाहालको संक्षिप्त भिडियो बायोग्राफी
प्रतिक्रिया दिनुहोस्