पाईला-पाईला साथी भेटिन्छन् अहो !
हैन जम्काभेट हुन्छ
प्रश्नसित उपियाँ झैं
मलाई प्रश्नहरू चिल्दछन्
-रिमा, राजधानीमा तिम्रो घर नै हो ?
नौ-नौ महिना गर्भाशयको बास सुतें
आमासित, उठें
आमासितै ढिकी-जाँतो,
चुलो-चौको घाँस-दाउरा,
पानी-पँधेरो गरें उनीसितै
जस्तो कि- मेरो
यो अनिवार्य बिषय थियो ।
म बसाईं सरें
सोह्र-सोह्र वशन्त
बाको घर लिपें
लगाएँ झाडु/पोछा
हुर्किएपछि बाख्राका पाठासित
दाइले भन्यो बहिनी
ठूली भई पराई झैं भए
आमा-बा पनि आफन्तको
नाम फेरियो अर्थात
फेरी मेरो बास फेरियो
बास मात्र फेरिएन
थर फेरियो, गोत्र फेरियो
र, आजभोलि म रानी भएकी छु ।
थाहा छैन कहिले सकिन्छ यहाँको बास ?
सायद मैले यो घर पनि छोड्नु पर्छ
यो घरले पनि भन्न सक्छ- ‘रिमा, तिम्रो मिति पुग्यो ।’
म झिटिगुन्टा निकालेर डेरा सर्नुपर्छ ।
ए आमा ! भनिदेऊ मलाई
हाम्रो लागि पृथ्वीमा कहीं घर छैन ?
म साथीहरूलाई मेरो
घर भनेर कस्को घर देखाउँ ?
म सधैंको डेरावाल
महिना लाग्नु अगावै किराया बुझाउँछु
महिना मर्नु अगावै घरबाट निकालिन्छु
प्रतिक्रिया दिनुहोस्