काठमाडौँ — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले लेखकहरूको पेसा तथा आम्दानीसँगै समग्र साहित्य बजार प्रभावित पारेको भन्दै लेखकहरूले यसविरुद्ध आवाज उठाएका छन् । च्याटजीपीटी, बार्ड, बिङ जस्ता जेनेरेटिभ एआई प्रविधिले आफ्ना लेख, रचना र कृति श्रेय नदिई र अनुमतिबेगर पुनरुत्पादन र सामग्री हुबहु नक्कल गरेकाले बजार प्रभावित भएको लेखकहरूको भनाइ छ ।
एआई प्रविधि विकास गर्ने कम्पनीहरूले स्याडो लाइब्रेरी (अवैध रूपमा कृतिहरू अनलाइनमा राखिने प्लाटफर्म) बाट लेख तथा रचनामा पहुँच बनाई आ–आफ्ना एआई लार्ज ल्याङवेज मोडेललाई अब्बल बनाउन तालिम दिने गरेको लेखकहरूको दाबी छ । आफ्ना प्रविधि ‘सक्षम’ बनाउन कम्पनीहरूले इन्टरनेटमा लाखौंको संख्यामा उपलब्ध पाइरेटेड ई–बुक, लेख तथा प्राज्ञिक रचना चोरी गरेको लेखकहरूको आरोप छ । यसविरुद्ध लड्न केही लेखक अदालत नै पुगिसकेका छन् ।
भारतीय सञ्चारमाध्यम ‘द हिन्दु’ सँगको कुराकानीमा एक लेखकले गुगलको बार्ड च्याटबटले आफ्नो पुस्तकका कतिपय वाक्य हुबहु ‘जेनेरेट’ गरिदिएको र त्यसले किताबको बिक्री प्रभावित पारेको बताएका छन् । द एससीआई–हब प्लाटफर्मकी संस्थापक एलेक्जान्ड्रा इल्बाकियनका अनुसार एआईको विकासलगायत प्रयोजनका लागि वर्षौंदेखि उनको प्लाटफर्म उत्खनन (माइन) भइरहेको छ । यसको अर्थ एससीआई–हबमा उपलब्ध लेखहरू एआईको तालिममा प्रयोग भइरहेका छन् । शोधपत्रलगायत सामग्री लेखक तथा प्रकाशकको अनुमतिबेगर निःशुल्क वेबसाइटमा उपलब्ध गराउने एससीआई–हबबिरुद्ध पनि लेखकले यसअघि नै मुद्दा हालिसकेका छन् ।
लार्ज ल्याङवेज मोडलमा विकसित जेनेरेटिभ एआई प्रविधिले आफ्ना भाषा, कथा, शैली र सोचसमेत नक्कल गरेको लेखकहरूको आरोप छ । ‘प्रतिलिपि अधिकार हाम्रो नाममा सुनिश्चित रहेका दसौं लाख किताब, लेख, निबन्ध र कविता एआई प्रविधिका लागि निःशुल्क उपलब्ध ‘मिष्ठान्न भोजन’सरह भएका छन्,’ अमेरिकी लेखक संघले जारी गरेको खुलापत्रमा भनिएको छ, ‘जेनेरेटिभ एआईको अस्तित्व हाम्रा लेखहरूले सम्भव भएको हो । तर यसको श्रेयसमेत दिइएको छैन ।’
‘लस एन्जलस टाइम्स’का अनुसार साहित्यकार जोनाथन फ्रान्जेनले संघको पहलको तारिफ गर्दै ६ वर्षभन्दा माथि उमेरका सबै नागरिकको डेटा, लेख, तस्बिर दुरुपयोग गरी उल्लेख्य नाफा आर्जन गर्नेहरूविरुद्ध यो एक महत्त्वपूर्ण कदम भएको जनाएका छन् । जेनेरेटिभ एआई प्रविधिलाई अब्बल बनाउन कम्पनीहरूले पाइरेसी वेबसाइटहरूमा रहेका लेख, रचना प्रयोग गर्दा त्यसले बजारमा मेसिनले लेखेका औसत पुस्तकहरूको बाढी ल्याउने लेखकहरूको भनाइ छ । बौद्धिक समाज निर्माणमा त्यस्ता पुस्तकले खास भूमिका नखेल्ने उनीहरूको बुझाइ छ ।
यस किसिमको प्रवृत्तिले आफूहरूको पेसालाई समेत प्रभावित गर्ने लेखकहरूको भनाइ छ । पछिल्लो एक दशकमा अमेरिकी लेखकहरूको आम्दानी ४० प्रतिशतले घटेको लेखक संघको दाबी छ । यस्तो अवस्था रहेपछि केही दिनअघि मात्रै ‘बेस्ट सेलिङ’ उपन्यासकार मोना अवाड र पल ट्रेम्ब्लेले सान फ्रान्सिस्को संघीय अदालतमा ओपनएआईविरुद्ध मुद्दा हालेका थिए । कम्पनीले च्याटजीपीटी विकास गर्दा अनुमतिबेगर आफ्ना उपन्यास त्यसको तालिममा प्रयोग गरेको उनीहरूको आरोप छ ।
पछिल्लो समय प्रविधि निर्माण गरिरहेका कम्पनीविरुद्ध ९ हजारभन्दा धेरै लेखक तथा साहित्यकारले संयुक्त रूपमा आवाज उठाएका छन् । गुगल, मेटा, ओपेन एआई, माइक्रोसफ्टलगायत एआईमा मनग्गे लगानी गरेका अन्य ठूला प्रविधि कम्पनीले च्याटबट बनाउँदा आफ्ना कृति अनुमतिबेगर प्रयोग गर्नु अन्याय भएको लेखकहरूको भनाइ छ ।
प्रतिलिपि अधिकारधनीहरूले आफ्ना कृति एआईको विकासका लागि प्रयोग गर्नुअघि अनुमति लिन र लेखकलाई श्रेय दिन आग्रह गरेका छन् । लेखकहरूको समूहले ठूला प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई यस विषयमा लेखेको खुलापत्रमा अनुमतिबेगर आफ्ना रचना प्रयोग गरिएकाले त्यसको क्षतिपूर्ति दाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्