काठमाडौँ, २२ माघ ।बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू भइसकेको छ ।
यो निर्वाचनमार्फत प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ सदस्य निर्वाचित हुनेछन् । जसका लागि निर्वाचन कर्यतालिका अनुसार झण्डै दुई दर्जन राजनीतिक दलहरूले गत माघ १० गते उम्मेदवारी दर्ता गरिसकेका छन् ।
यो निर्वाचनमा देशभरका राष्ट्रिय सभाका सदस्य, गाउँपालिकाका प्रमुख, उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी २०५६ जना मतदाताले मतदान गर्दैछन् । जसमध्ये १५०५ जना स्थानीय निकायका प्रमुख–उपप्रमुख र ५५० जना प्रदेशसभाका सांसद मतदाता छन् ।
एकल सङ्क्रमणीय निर्वाचन प्रणाालीमार्फत हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सांसदको मतभार ४८ र स्थानीय निकायका प्रमुख र उपप्रमुखको मतभार १८ हुने तय गरेको छ ।
यही मतभारका आधारमा हरेक प्रदेशबाट ८ जना सदस्य राष्ट्रियसभाका लागि चुनिनेछन् । राष्ट्रियसभा ५९ सदस्यीय हुनेछ । राष्ट्रियसभाका ३ जना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।
प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्पष्ट बहुमत ल्याएको वाम गठबन्धनले यो निर्वाचनमा पनि ५६ सिटमध्ये ४२ सिट जित्ने दाबी गरेको छ । बाँकी सिटमा काँग्रेस र मधेसवादीदलले जित्ने अनुमान छ ।
राष्ट्रिय सभा निर्वाचन अध्यादेशले एक जना प्रदेशसभा सदस्यको मतभार ४८ र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ निर्धारण गरेको छ । सबभन्दा बढी मतदाता रहेको प्रदेश २ का सबै मतदाताको मतभार १० हजार ३२ हुने भएको छ । उक्त प्रदेशमा प्रदेशसभा सदस्यको संख्या १ सय ७ तथा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको कुल संख्या २ सय ७२ छ । स्थानीय तहको संख्या १ सय ३६ रहेकाले स्थानीय तहबाट मतदाता संख्या त्यसको दोब्बर रहनेछ । उक्त प्रदेशको कुल मतदाता संख्या ३ सय ७९ हो, जुन अन्य सबै प्रदेशभन्दा बढी हो ।
त्यसपछि प्रदेश १ मा मतदाता धेरै छन् । तर मतभारको तुलना गर्ने हो भने प्रदेश २ पछाडि प्रदेश ३ छ । प्रदेश १ मा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका २ सय ७४ गरी ३ सय ६७ मतदाता छन् । उक्त प्रदेशमा स्थानीय तह १ सय ३७ छन् । सबै मतदाताको मतभार ९ हजार ३ सय ९६ हुन आउँछ ।
प्रदेश नम्बर ३ मा स्थानीय तहको संख्या १ सय १९ रहेकाले स्थानीय तहबाट २ सय ३८ जना र प्रदेशसभा सदस्य १ सय १० गरी ३ सय ४८ जना कुल मतदाता छन् । यस प्रदेशका मतदाताको मतभार ९ हजार ५ सय ६४ हुनेछ । मतदाताको संख्या र मतभारमा प्रदेश ४ भने चौथो स्थानमा छ । त्यहाँ प्रदेशसभा सदस्य ६० र स्थानीय तहका १ सय ७० गरी कुल मतदाताको संख्या २ सय ३० छन् । उक्त प्रदेशमा स्थानीय तहको संख्या ८५ छ । सबै मतदाताको मतभार भने ७ हजार २ सय ३६ पुग्छ ।
प्रदेश ५ मा सबै मतदाताको मतभार ५ हजार ९ सय ४० पुग्छ । त्यहाँ प्रदेशसभा सदस्यको संख्या ६० तथा स्थानीय तहबाट २ सय १८ गरी कुल ३ सय ५ मतदाता छन् । उक्त प्रदेशमा स्थानीय तहको संख्या १ सय ९ छ ।
प्रदेश ६ मा अन्य सबै प्रदेशभन्दा कम मतदाता छन् । त्यहाँ प्रदेशसभा सदस्य ४० र स्थानीय तहका १ सय ५८ गरी कुल १ सय ९८ मतदाता मात्रै छन् । ती मतदाताको मतभार ४ हजार ७ सय ६४ हो । उक्त प्रदेशमा स्थानीय तहको संख्या ७९ छ ।
कुल मतदाता २ सय २९ रहेको प्रदेशसभा ७ मा मतदाताको मतभार ५ हजार ७ सय ८ हुन आउँछ । उक्त प्रदेशमा प्रदेशसभा सदस्यको संख्या ५३ र स्थानीय तहबाट मतदाता हुने संख्या १ सय ७६ छन् । त्यहाँ स्थानीय तहको संख्या ८८ छ ।
प्रतिक्रिया दिनुहोस्