चीनका पुराना मित्र मानिने प्रख्यात कूटनीतिज्ञ हेनरी किसिन्जरको हालैको चीन भ्रमणका क्रममा न्यानो र भव्य स्वागत भयो । एक नागरिकका हैसियतमा चीनको भ्रमण गरे पनि उनलाई औपचारिक रूपमा स्वागत गरियो । चिनियाँ राष्ट्रपति सी जिनपिङले किसिन्जरलाई ५२ वर्षअघि तत्कालीन प्रधानमन्त्री चाउ इनलाईसँग ऐतिहासिक भेटघाट गरेको डियाओयुताई राज्य अतिथिगृहको भिल्ला नम्बर ५ मा व्यक्तिगत रूपमा स्वागत गरेका थिए ।
चिनियाँ कम्युनिस्ट पार्टी ९सिपिसी० का केन्द्रीय कमिटीका विदेश मामिला आयोगको कार्यालयका निर्देशक वाङ यी र रक्षामन्त्री ली साङ्फुले पनि किसिन्जरलाई स्वागत गरेका थिए । किसिन्जरको भ्रमणको खबर चीनको सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बन्यो । सञ्जालका प्रयोगकर्ताले चीन–अमेरिका सम्बन्धमा उनको महत्वपूर्ण योगदानका लागि न्यानो स्वागत र सम्मान व्यक्त गरेका थिए ।
विगतका अन्तर्वार्ता र भाषणका आधारमा उनले चीन–अमेरिका सम्बन्धको वर्तमान अवस्थाबारे वास्तवमै चासो राख्छन् भन्ने देखाउँछ । आफ्नो सयवर्षे उमेरको बाबजुद भएको उनको भ्रमण चीन–अमेरिका सम्बन्धलाई प्रगाढ बनाउने दिशामा केन्द्रित छ भन्ने चिनियाँ जनताले बुझेका छन् र जनता उनको प्रयासको गहिरो प्रशंसा पनि गर्छन् । यद्यपि अमेरिकामा बेइजिङमा एक नागरिकका हैसियतका किसिन्जरलाई वर्तमान अमेरिकी अधिकारीभन्दा बढी सम्मान गरेको भन्दै ह्वाइट हाउसले खेद प्रकट गरेको छ ।
रणनीतिक रूपमा आफ्नो ‘पुराना मित्र’ कार्ड प्रयोग गरेर अर्थात् प्रभावशाली व्यक्तिलाई आकर्षित गरेर वासिंटनमा सम्भावित रूपमा विचार बदल्न सकिनेछ भन्ने धारणा कतिपय अमेरिकी विश्लेषक र मिडियाकर्मीले बोकेका छन् । यिनले ‘पुराना मित्र’ कार्डलाई ‘चिनियाँ रणनीति’का रूपमा पनि हेर्छन् ।
अमेरिकामा यस्ता केही दाबीलाई चिनियाँले एकदमै मूर्खतापूर्ण र हास्यास्पद ठानेका छन् । ती अमेरिकी कसरी एक निजी नागरिकले वर्तमान अधिकारीलाई उछिनेर बेइजिङमा उच्च शिष्टाचार र सम्मानको व्यवहार पाउन सक्छन् भन्ने प्रश्न गर्छन् । यसले वासिंटनको चीन नीतिबारेको चिन्ताजनक अवस्था दर्साउँछ । हालैका वर्षमा अमेरिकामा चीनसँग व्यवहार गर्ने व्यावहारिकता र तर्कसंगतता छायामा परेको छ किनभने चीन नीति प्रायः चरम संरक्षणवाद र विभिन्न प्रकारका असन्तुष्टिबीच दोहोरिइरहन्छ । यसले चीन–अमेरिका सम्बन्धमा गर्न सकिने सुधार एवं विस्तारलाई खुम्च्याइदिएको छ ।
वासिंटनले यी आदरणीय शताब्दी वृद्धले प्रस्ताव गरेको सल्लाहलाई ध्यानपूर्वक र सम्मानपूर्वक सुन्नेछ भन्नेमा हामी आशावादी छौँ
सय वर्षको उल्लेखनीय उमेरमा किसिन्जरले चीन–अमेरिका सम्बन्धमा स्थायित्व प्रवर्धन गर्न र द्वन्द्व रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । यसले कूटनीतिक उत्तराधिकारीको कथित अभावलाई पनि झल्काउँछ । र, यसबाहेक किसिन्जरको सक्रियताले चीन एवं अमेरिकाबीच उचित सञ्चार संवादको आवश्यकतालाई जोड पनि दिन्छ । किसिन्जर चिनियाँ जनताका प्रिय मित्र हुन् । ‘पुरानो’ शब्द चीन–अमेरिका सम्बन्धको लामो इतिहासका लागि एक सम्मान हो, जहाँ उनले सक्रिय रूपमा सहभागिता जनाएका थिए र साक्षी बनेका थिए । ‘पुरानो’ शब्दले दुई देशबीच शान्तिपूर्ण सहअस्तित्वलाई बढावा दिनका लागि उनको निरन्तर ध्यान र चासोको सम्मान पनि झल्काउँछ । जो तर्कसंगत छ, चीनप्रति सद्भाव र इमानदारी राख्छ भने चिनियाँ जनताका नजरमा ती व्यक्ति मित्र हुन्छन् । यदि यो मित्रता लामो समय टिक्यो भने पुरानो मित्रताको सम्बन्ध बन्छ ।
विगत केही दशकमा किसिन्जरले सयभन्दा बढीपटक चीनको भ्रमण गरिसकेका छन् र उनको भूमिका वा पद परिवर्तन भए पनि उनलाई सधैँ न्यानो ढंगले स्वागत गरिएको छ । यी स्वागतले उनीप्रतिको गहिरो सम्मानको भावनालाई झल्काउँछ, सत्यतालाई जोड दिन्छ र उनको विवेकप्रति आदर देखाउँछ । यद्यपि, अमेरिकामा केहीले नियतवश ‘पुरानो मित्र’ शब्दावलीको गलत व्याख्या गर्छन् र केही यसलाई पासोसमेत भन्न भ्याउँछन् । यसले चीनप्रति अमेरिकी समाजमा व्याप्त अस्वस्थ मानसिकतालाई उजागर गर्छ र दुई राष्ट्रबीचको आपसी विश्वासको कमीलाई उजागर गर्छ ।
किसिन्जरप्रति चीनको मैत्रीपूर्ण व्यवहार र मित्रता उनको व्यक्तित्वका कारण हो भन्नेमा जोड दिनु महत्वपूर्ण छ । यसमा चीन–अमेरिका सम्बन्धमा सकारात्मक योगदान दिने सबै व्यक्ति समावेश छन् । सद्भावना र इमानदार सहयोगको दायरा फराकिलो बनाउनु भनेको थप व्यक्तिमाझ पुग्ने उद्देश्य हो । हामी अमेरिकी निर्णय प्रक्रियामा तर्कसंगतता कायम हुनेछ र पुराना मित्रमार्फत सहयोगको सद्भाव र इमानदारी अमेरिकी जनतामाझ प्रभावकारी रूपमा पुर्याउन सकियोस् भन्ने अपेक्षा गर्छौं । चीन र अमेरिकाबीच विश्वासको निर्माण र थप सकारात्मक सम्बन्धलाई बढावा दिनु सबैभन्दा महत्वपूर्ण विषय हो ।
चीन–अमेरिका सम्बन्धमा प्रभावकारी सञ्चारको अतुलनीय महत्व छ । यसले दुवै पक्षलाई प्रभुत्ववादी हुनबाट जोगाउँछ । वास्तविकता र पारस्परिक हितको बुझाइ निर्माण गर्न यसको आवश्यकता छ । अमेरिकी हितका कट्टर रक्षक हेनरी किसिन्जरले अमेरिकाले आफ्नो हितलाई विश्वव्यापी हितसँग तुलना गर्न सक्दैन भन्ने बुझेका छन् ।
चीनसँगको उनको दशकौँको संलग्नताले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र पारस्परिक लाभको सहयोग प्राप्त गर्न सकिने मात्र नभई एक सही मार्ग पनि हो भन्ने उदाहरण दिएको छ । हालैका वर्षमा किसिन्जरले दुई देशबीचको सम्बन्धमा सम्बन्धित प्रवृत्तिबारे बारम्बार चेतावनी जारी गरेका छन् । यी चेतावनी आधा शताब्दीभन्दा बढीको अनुभव र सैद्धान्तिक अनुसन्धानबाट लिइएको उनको व्यापक राजनीतिक अन्तरदृष्टिमा आधारित छन् । र, यी चेतावनीमा वासिंटनले गम्भीर ध्यान र विचार पुर्याउनुपर्छ ।
बिहीबार अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले सचिव किसिन्जर फर्किएपछि उनका कुरा सुन्न प्रशासन उत्सुक रहेको बताएका थिए । उनका अनुसार प्रशासन उनका अनुभव, अन्तर्दृष्टि र अवलोकनबारे जान्न इच्छुक छ । हामी वासिंटनले यी आदरणीय शताब्दी वृद्धले प्रस्ताव गरेको सल्लाहलाई ध्यानपूर्वक र सम्मानपूर्वक सुन्नेछ भन्नेमा हामी आशावादी छौँ ।
– ग्लोबल टाइम्सको २२ जुलाईको सम्पादकीय
प्रतिक्रिया दिनुहोस्