काठमाडौं, २५ साउन । नीजेरको सैन्य कूले सहेल क्षेत्रको बढ्दो अस्थिरतालाई लिएर उसका अफ्रिकी छिमेकीहरूमा असहजता बढाएको छ।
आन्ध्र महासागरदेखि लाल सागरसम्म फैलिएको जमिनको क्षेत्र सहेल भनेर चिनिन्छ।
नीजेर त्यस क्षेत्रमा सैन्य सत्ता पलट भएको पछिल्लो देश हो। यसअघिका पछिल्ला तीन वर्षमा त्यस क्षेत्रमा माली र बुर्किना फासोमा कू भएका थिए।
तर नीजेरको अवस्था सहेल क्षेत्रका लागि मात्र नभई व्यापक विश्वका लागि समेत चिन्ताको विषय बन्न सक्छ।
नीजेरमा राष्ट्रपतिलाई बन्धक बनाएर कू गराएका नाइकेद्वारा आफूलाई नयाँ नेता घोषणा
२८ जुलाई २०२३
एड्स उन्मूलन गर्ने दिशामा पाँच अफ्रिकी देश
१५ जुलाई २०२३
‘हाम्रो डुङ्गाको पेट्रोल रित्तियो र समुद्रको माझमा अड्कियौँ’
२२ जुलाई २०२३
बढ्दो अस्थिरता
नीजेर सहेलमा बाँकी रहेका कम लोकतान्त्रिक देशहरूमध्येमा पर्छ।
हिंसात्मक हमलाहरू बढ्दै समस्याग्रस्त बनेको उक्त क्षेत्रमा नीजेरलाई पश्चिमा विश्वले तुलनात्मक रूपमा स्थिर अवस्थामा हेरेको थियो।
तर अब सेनाले शक्ति हत्याएपछि उक्त स्थिरता कमजोर हुन सक्ने चिन्ता व्यक्त भइरहेका छन्।
नीजेर
नीजेरमा फ्रान्स र अमेरिकाका सैन्य अखडाहरू छन् जसले बोको हराम र आईएसआईएस सम्बद्धहरूसँगको लडाइँमा सघाइरहेका छन्।
ती लडाइँको भविष्यप्रति अब सन्देह उत्पन्न भएको छ।
माली र बुर्किना फासोमा भएका सैन्य कू पछि अतिवादीहरूका हिंसक हमलाहरू बढेका छन्।
त्यस्ता समूहका लागि नीजेर समेत सहज भूमि बन्न सक्ने भन्दै चिन्ता व्यक्त भएका छन्।
सत्तापलटको बढ्दो क्रम
नीजेरको कू को अर्थ पश्चिममा मालीदेखि पूर्वमा सुडानसम्मको एउटा पूरा अफ्रिकी भेग यतिखेर सैन्य सत्ताको नियन्त्रणमा रहनु हो।
सहेलमा निरङ्कुश सत्ताहरू बढ्नु उक्त क्षेत्रको लोकतन्त्रको लागि एउटा धक्का मानिएको छ।
नीजेरको कूले अन्य देशका सेनालाई पनि बलपूर्वक शक्ति हत्याउन उक्साउन सक्छ।
पश्चिम अफ्रिकी देशहरूको क्षेत्रीय आर्थिक सङ्गठन एकोवासले नीजेरको सैनिक सरकारलाई प्रतिबन्ध लगाउनु र राष्ट्रपति मोहम्मद बाजूमको पुनर्बहाली नभए बल प्रयोगको चेतावनी दिनुले उनीहरूको त्यस्तो चिन्ता झल्काउँछ।
एकोवासको त्यस कदमलाई अमेरिका, युरोपेली सङ्घ र संयुक्त राष्ट्रसङ्घले व्यापक ढङ्गले समर्थन गरेका छन्।
सत्तापलटपछि माली र बुर्किना फासोले आफूलाई रुस निकट पुर्याएका थिए।
नीजेर समेत सोही बाटोतर्फ उन्मुख हुनसक्ने छनक त्यहाँका सैन्य शासकहरूले दिएका छन्।
त्यहाँको सैन्य सत्ता पलटमा रुसी संलग्नताको कुनै प्रमाण छैन।
क्रेमलिनका एकजना प्रवक्ताले बाजूमको रिहाइ र सङ्कटको शान्तिपूर्ण समाधानको लागि आह्वान गरेका छन्।
यद्यपि, क्रेमलिन पक्षधर टिप्पणीकारहरूले सरकारी सञ्चारमाध्यममा र टेलिग्राम ग्रुपहरूमा कू को प्रसंसा गरेका छन्।
कू पक्षधर प्रदर्शनकारीहरूले त्यहाँको पूर्वउपनिवेशकर्ता फ्रान्सको निन्दा गर्नुका साथै रुसी झण्डाहरू प्रदर्शन गरेका थिए।
भाडाका सैनिक उपलब्ध गराउने रुसी समूह वाग्नरले नीजेरमा आफ्नो प्रभाव विस्तार गर्ने विषयलाई लिएर समेत चिन्ता व्यक्त भएका छन्।
यदि नीजेरले आफ्ना छिमेकीको बाटो पछ्याउँदै रुसतर्फ वा अझ वाग्नर समूहतर्फ ढल्कियो भने त्यसले त्यहाँ हिंसात्मक हमला, मानव अधिकार हनन र खनिज दोहन बढ्नेछ।
गलत हातमा यूरेनियम
यूरेनियम अर्थात् परमाणु ऊर्जाको लागि शक्ति प्रदान गर्ने रेडियोधर्मी धातुको विश्वव्यापी आपूर्तिमा नीजेरको हिस्सा झण्डै पाँच प्रतिशत छ।
युरोपेली सङ्घ ईयूको परमाणु निकाय युराटोमका अनुसार गत वर्ष नीजेर ईयूको प्राकृतिक युरेनियमको दोस्रो ठूलो निर्यातकर्ता थियो।
फ्रान्समा समेत त्यहाँको युरेनियमको १५ प्रतिशत हिस्सा नीजेरले निर्यात गर्छ।
युराटोमका अनुसार नीजेरले युरेनियमको निर्यात कटौती गरेमा समेत युरोपको परमाणु ऊर्जा उत्पादनमा तत्काल कुनै जोखिम हुनेछैन।
किनकी त्यहाँका ऊर्जा केन्द्रहरूमा तीन वर्षलाई पुग्ने युरेनियमको भण्डारण छ।
यद्यपि, एकोवास वा उसका पश्चिमा साझेदारहरू कसैले पनि रेडियोधर्मी पदार्थहरू गलत हातमा परेरनागरिक वा सैन्य दुवैथरी अवस्थितिमा प्रयोग होस् भन्ने चाहँदैनन्।
उक्त क्षेत्रमा इस्लामवादीहरू सक्रिय छन् एवं रुस र वाग्नर समूहले आफ्नो प्रभाव विस्तार गरिरहेका छन्।
भूमध्य सागरमा आप्रवासीहरू ओइरिने क्रमलाई रोक्नका लागि राष्ट्रपति मोहम्मद बाजूमको सरकारले पश्चिमा देशहरूसँग सहकार्य गरेको थियो।
लिबियाका बन्दी गृहमा रहेका सयौँ आप्रवासीहरूलाई फिर्ता ल्याउन समेत उनको सरकार सहमत भएको थियो।
उनले सो पश्चिम अफ्रिकी देशबाट थप उत्तरतर्फ जानका लागि ट्रान्जिट बनेको उक्त स्थानमा मानव तस्करहरूलाई कारबाही गरेका थिए।
सैन्य शासकहरूको नेतृत्वमा अब उक्त प्रतिबद्धतामा प्रश्न उठ्न सक्छ।
खासगरी फ्रान्स र यूकेजस्ता केही युरोपेली साझेदारहरूले नीजेरमा सहायता रोक्ने भनिसकेको अवस्थामा त्यो झनै जटिल हुनेछ।
युरोप पुग्ने आप्रवासीहरूको लहरमा त्यसको उल्लेख्य प्रभाव हुनसक्छ।
प्रतिक्रिया दिनुहोस्