केली बर्न : जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले लोकतन्त्रमा कस्तो प्रभाव पार्नेछ भनेर आकलन गर्नु निकै चुनौतीपूर्ण हुनेछ । हालसम्म यसको प्रयोगका सम्भावनाबारे कुनै जानकारी छैन र सम्भवतः यी असीमित नै होलान् भन्ने देखिन्छ । उसो त कैयौँ मुलुकमा मतदाता अभिलेख मिलानजस्ता काम गर्ने न्यारो जेनेरेटिभ एआई प्रयोगमा नआएका होइनन् तैपनि प्रभाव आकलन गर्न सजिलो छैन । जेनेरेटिभ एआई एक सामान्य एप मात्रै होइन, यो एक ठूलो प्रविधि हो । यसले लोकतन्त्रलाई प्रत्यक्ष रूपमा निर्वाचन एवं शासन संयन्त्रमा रूपान्तरण ल्याएर प्रभाव पार्नेछ । त्यसैगरी, सूचना प्रणाली र सार्वजनिक विश्वास एवं विचारका आधारलाई जोखिममा पारेर अप्रत्यक्ष प्रभाव पार्नेछ ।
प्रत्यक्ष प्रभावको कुरा गर्ने हो भने जेनेरेटिभ एआईले सम्भावित नीति परिणामको सटिक एवं सूक्ष्म बुझाइको आकलन गरेर नीति–निर्माणमा रूपान्तरण ल्याउन सक्छ । ‘क्लाइमेट चेन्ज’ एआईलाई उदाहरणका रूपमा लिन सकिन्छ जहाँ यस प्रविधिले ‘सडक, पावर ग्रिड र खानेपानी आपूर्ति प्रणाली’लाई बढ्दो उग्र मौसमी परिघटना र गम्भीरताअनुकूल कसरी डिजाइन गर्ने भनेर हेर्छ । हालै, अधिवक्ता र न्यायाधीशहरूले च्याटजिपिटीजस्ता एआई टुललाई मुद्दा दायर गर्न र फैसलासमेत सुनाउन प्रयोग गर्न थालेका छन् ।
अहिले जेनेरेटिभ एआईले निर्वाचनलाई प्रभावित गर्ने चिन्ता बढेको देख्न सकिन्छ । सन् २०२४ मा कम्तीमा ४५ मुलुकमा निर्वाचन हुनेछ र यसमा अमेरिका र युरोपियन युनियनजस्ता दूरगामी महत्वका निर्वाचन पनि छन् । न्यारो जेनेरेटिभ एआईले निर्वाचनको प्रशासकीय कामलाई सहज बनाउन मद्दत गरे पनि यसले नयाँ पूर्वाग्रह एवं अनिश्चितता निम्त्याउन सक्छ । अमेरिकाको अत्यधिक विकेन्द्रीकृत निर्वाचन प्रणालीमा १० हजार निर्वाचन अधिकार क्षेत्र छन्, जहाँ हरेक राज्यले बसाइँ सरेका, मृत्यु भएका वा अन्य कारणले अयोग्य ठहरिएका मतदातालाई अद्यावधिक गर्न न्यारो एआई प्रणालीलाई अत्यधिक प्रयोग गरिन्छ । उसो त यसले कार्यक्षमतालाई बढाउँछ, तर हालै एसियाली मूलका मानिसको नाम अद्यावधिक गर्न यसले कठिनाइ व्यहोरिरहेको देखियो । र, यो एआईले सामान्यतया सबै अल्पसंख्यकप्रति पूर्वाग्रह राख्न सक्ने बताइएको छ । यस्तै पूर्वाग्रह मतदानका लागि आवश्यक दस्तखत प्रमाणीकरणमा पनि देखिएको छ ।
जेनेरेटिभ एआईका औषधि, उत्पादन, शिक्षालगायत क्षेत्रमा फाइदा छन्, तर लोकतन्त्रका मामिलामा एआईको प्रभावमाथि विचार एवं मूल्यांकन गर्न आवश्यक छ
एआईको प्रभाव निर्वाचनका लागि आवश्यक प्रशासकीय काममा मात्रै सीमित छैन । यसले निर्वाचन कानुन एवं संरचनालाई खाका प्रदान गर्न सक्छ जसले निर्वाचनको प्रतिस्पर्धा, राजनीतिक ध्रुवीकरण, मत संख्या र उम्मेदवार प्रोत्साहनलाई प्रभावित गर्न सक्छ । अमेरिकी कंग्रेस निर्वाचनको करिब ९० प्रतिशत क्षेत्रको परिणाम आकलन गर्न सकिन्छ । अहिले जनप्रतिनिधिलाई निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्न सघाउने दर्जनौँ एप छन् । उन्नत जेनेरेटिभ एआईले अमेरिकी राजनीतिक प्रणालीमा निष्पक्षता एवं प्रतिनिधित्व बढाउन सक्ने सम्भावाना भए पनि यसले सत्तासीनलाई पोसेर दमनकारी नीति तर्जुमा गरेर पार्टी र उम्मेदवारलाई वास्तविक प्रतिस्पर्धामा अवरोध पनि ल्याउन सक्छ ।
निर्वाचन क्षेत्र पुनर्निर्धारणबाहेक जेनेरेटिभ एआईले अन्य संरचनागत सुधारमा सहयोग पनि गर्न सक्छ । उदाहरणका लागि कैयौँ युरोपेली मुलुकमा बन्द एवं अधिमान्य मतदान प्रणालीको मिश्रण लागू भएका छन् । ठीक विपरीत अमेरिकामा सरल बहुमत प्रणाली मौजुद छ । अमेरिकामा मध्यस्थतालाई प्रोत्साहित गर्ने र ध्रुवीकरण घटाउने लक्ष्य राखेका मानिसले क्रमबद्ध–छनोट मतदान, ओपन प्राइमरी र समानुपातिक प्रतिनिधित्वजस्ता सुधारका फाइदाबारे छलफल गरिरहेका छन् । जेनरेटिभ एआईले हामीलाई यी जटिलता बुझ्न मद्दत गर्न सक्छ र चुनावी सुधारको दिगो नतिजाको भविष्यवाणी गर्ने हाम्रो क्षमतामा सुधार ल्याउन सक्छ ।
यी परिवर्तनले लोकतान्त्रिक प्रक्रियालाई प्रत्यक्ष रूपमा प्रभावित गर्न सक्छ तथापि अप्रत्यक्ष प्रभाव थप चिन्ताजनक देखिन्छ । जेनेरेटिभ एआईले रोजगार बजार र राजनीतिक परिणाममा ठूलो प्रभाव पार्न सक्छ । यसले सरकार, उम्मेदवार र मतदाताबीच जानकारी साझा गर्ने प्रक्रियालाई परिवर्तन गर्न सक्छ । जेनेरेटिभ एआईले सरकारी सुनुवाइलाई अझ प्रभावकारी बनाउनेजस्ता कार्य गरेर पत्रकारलाई सहयोग गर्न सक्छ ।
एआईले सामाजिक सञ्जालका विषयवस्तुलाई नियमन गर्न र चुनावसम्बन्धी मिथ्या सूचनाविरुद्ध लड्न सक्छ । अर्थात्, यसले मानव नियमनकर्ता राख्नुपर्ने बोझलाई हटाउँछ । यद्यपि, जेनेरेटिभ एआईले हालको व्यापक मिथ्या सूचना संकटलाई थप पेचिलो बनाउन पनि सक्छ । यही अप्रिलमा विपक्षी रिपब्लिकन पार्टीले राष्ट्रपति जो बाइडेनलाई लक्षित गर्दै एआई–जेनेरेटेड आक्रमण गरेको थियो । व्यक्तिको अनलाइन इतिहास र मनोवैज्ञानिक कमजोरी केलाएर भविष्यमा कम लागतका विज्ञापन वा पोडकास्टको बढोत्तरी हुनेछ । र, परिचित आवाज एवं छविमाथि छेडखानी गरेर चुनावी अनियमितता गर्न सकिनेछ । तसर्थ, राजनीतिमा एआईले साँच्चिकै रूपान्तरण गर्ने अनिश्चित नै छ ।
जेनेरेटिभ एआईको क्षमताले विभिन्न भाषामा विश्वासयोग्य विकृति सिर्जना गर्ने क्षमताले विदेशी शत्रुलाई फाइदा पुर्याउन सक्छ । यसको ठीक विपरीत लोकतन्त्र पक्षधर समूहले यो प्रविधिलाई अधिनायकवादको विरोधका लागि प्रयोग गर्न सक्छन् । यद्यपि, लोकतान्त्रिक मत अल्पमतमा छ । तर, एआई जेनेरेटिभ सामग्रीलाई मानिसमाझ पुर्याउन फेसबुकजस्ता मञ्चको आवश्यकता पर्छ । तसर्थ, फेसबुकजस्ता मञ्चले विकृत सूचना फैलाउनबाट रोक्न सुक्नुपर्छ । लोकतन्त्र नेतृत्व र संस्थामा रहेको नागरिकको विश्वासमा निर्भर हुन्छ । जेनेरेटिभ एआईका औषधि, उत्पादन, शिक्षालगायत विभिन्न क्षेत्रमा फाइदा छन्, तर लोकतन्त्रका मामिलामा एआईको प्रभावमाथि विचार एवं मूल्यांकन गर्न आवश्यक छ । यदि मूल्यांकन हुँदैन भने यसले लोकतन्त्रलाई बलियो नभई कमजोर बनाउँछ ।
(बर्न स्ट्यानफोर्ड विश्वविद्यालयको साइबर पोलिसी सेन्टरकी पूर्वनिर्देशक हुन्)– प्रोजेक्ट सिन्डिकेटबाट
प्रतिक्रिया दिनुहोस्