ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुन समाज अपराधलाई अपराध नमानेर न्यायको अवरोधक बन्छ, त्यसको पतन अवश्यम्भावी छ


अपूर्वानन्द
१६ भदौ २०८०, शनिबार   ५ : ५९   बजे

अमेरिका होस् वा युरोप, कुनै पनि मुलुक हिंसा र विद्वेषबाट मुक्त छैनन् । त्यहाँ पनि धर्म, नश्ल र अन्य आधारमा विद्वेष देख्न सकिन्छ । कैयौँपटक हिंसाका कारणबारे हामी अनभिज्ञ हुन्छौँ । ती मुलुकमा हिंसाका हरेक यस्ता घटनापछि नेता र शासक राज्यलाई सम्बोधन गर्दै हिंसाको निन्दा गर्छन् । तर, यी मुलुकले हिंसामा राज्यका कुनै पनि संस्था संलग्न नभएकाले यसमाथि बोल्नु आफ्नो जिम्मेवारी नरहेको भन्दैनन् । यी राज्यले यस्ता छिटपुट घटनामा ध्यान दिन थालेपछि सरकार आफ्नो काम राम्रोसँग गर्न पाउँदैन भनेर पनि तर्क गर्दैनन् । यति मात्र नभई यी राज्यले हिंसाका प्रकार पनि छुट्याउँछन्, अर्थात् यिनले हिंसाको कारणलाई लुकाउँदैनन् ।
क्यानडामा जब एक श्वेत व्यक्तिले एक पाकिस्तानी मूलको परिवारलाई कुल्चिएको थियो, तब क्यानडाका प्रधानमन्त्री मौन रहेनन् । उनले यो सामूहिक हत्याकाण्डको निन्दा गरे र यसबाट मर्माहत भएको जनाएका थिए । उनले यो हत्याकाण्ड एक मानसिक गडबडी भएको व्यक्तिले गरेको हो भनेर घटनाको उपेक्षा गरेनन् । उनले प्रस्टसँग क्यानडामा बढ्दो हिंसा द्वेषका कारण भएको हो भनेका छन् । उनले यो घृणा लामो प्रक्रियापछि शारीरिक हिंसामा परिणत हुनेसमेत जनाएका छन् ।

हाम्रा घरमा जब हामी अश्वेत, मुसलमान या आप्रवासीलाई लिएर मजाक बनाएर हास्छौँ, वा व्यंग्य कस्छौँ अथवा यी मानिसप्रति द्वेष ओकल्छाैँ, यसले हामीमा बिस्तारै घृणाको बीजारोपण गरिदिन्छ । घृणाको यो बीज अन्ततः झांगिएर विभिन्न ठाउँमा शारीरिक हिंसाका रूपमा प्रकट हुन्छ । क्यानडाका प्रधानमन्त्रीले झैँ न्युजिल्यान्डका तत्कालीन प्रधानमन्त्रीले पनि मस्जिदमा आतंककारी हमला भएपछि हमलाको निन्दा गर्दै मुसलमान समुदायप्रति ऐक्यबद्धता व्यक्त गरेकी थिइन् । अमेरिकामा पनि प्रायः राष्ट्रपति वा उनका प्रतिनिधि हिंसाका हरेक वारदातपछि मुलुकलाई सम्बोधन गर्छन् ।
जुन समाज अपराधलाई अपराध नमानेर न्यायको अवरोधक बन्छ, त्यसको पतन अवश्यम्भावी छ
यी जम्मै मुलुकका जिम्मेवार पदमा रहेका नेता आफ्नो समाजमा व्याप्त घृणा वा हिंसाबाट पन्छिँदैनन् । उनीहरू बारम्बार घृणा र हिंसालाई आधुनिक लोकतन्त्रमा ठाउँ नरहेको बताउँछन् । यी मुलुकका नेतृत्वले समाजलाई सभ्य आचरणको स्मृति गराइरहन्छन् ।
उसो त आमजनताले अगुवाको पदचाप पछ्याउँछन् । तर, आजको भारतमा जनताको एक हिस्सामाथि हुने हिंसाले शासकलाई विचलित बनाउँदैन । शासक बेमतलबी भएर बसेको छ । हिंसाको घटना ठूलो होस् वा सानो, यसले शासकलाई ‘जनकल्याणको पथमा अघि बढ्न’बाट रोक्दैन । अर्थात्, चार महिनादेखि चलिरहेको मणिपुर हिंसाले पनि रोक्न सक्दैन ।
यस्तो सरकारबाट उत्तर प्रदेशको एक विद्यालयमा एक मुसलमान बालकमाथि भएको हिंसाको विरोधको अपेक्षा गर्नु मूर्खता हो । तथापि माग गर्न छोड्नुहुँदैन । यदि हामी अहिले पनि लोकतान्त्रिक समाज एवं राज्यको परिकल्पनामा विश्वास गर्छौं भने यस्तो अपेक्षा जरुरी छ । हामीलाई बारम्बार राज्यले बिर्सिएको कर्तव्य स्मृति भइरहनुपर्छ । तर, यस्तो अपेक्षा र माग त्यस्तो समाजले मात्रै गर्न सक्छ, जसले आफ्नो समाजभित्रको घृणा र हिंसालाई अस्वीकार गर्न सक्छ ।
मुजफ्फरनगरमा एक निजी विद्यालयकी शिक्षिका तृप्ता त्यागीले एक मुसलमान बालकलाई इस्लामद्वेषी भाषा बोल्दै कक्षाका अन्य बालकबाट पिटाएकी थिइन् । यस घटनाले सामाजिक सञ्जालमा आक्रोश निम्त्याएपछि मात्रै राष्ट्रिय बालअधिकार आयोग सक्रिय हुन बाध्य भयो । यसैकारण घटनाको कैयौँ दिनपछि उत्तर प्रदेश प्रहरीले मुद्दा त चलायो, तर कमजोर धाराअन्तर्गत । उत्तर प्रदेश सरकार अहिले पनि मौन छ ।
संघीय सरकारको बालअधिकार मन्त्रालय, शिक्षा मन्त्रालय, प्रधानमन्त्रीसमेत मौन छन् । अध्यापिका आफूले कुनै अपराध नगरेकोमा विश्वास गर्छिन्, तसर्थ आफूलाई केही नहुने ठान्छिन् । तृप्ता त्यागी यसरी ढुक्क हुनुको अर्थ के हो ? यो घटना फैलिनेबित्तिकै भारतीय जनता पार्टी (भाजपा) का नेता बालकमाथि हिंसा गर्ने तृप्ता त्यागीलाई सहानुभूति दिन त्यागीको गाउँ पुगेका थिए । यसरी भेट्नेमा त्यागी थरकाले बनाएको त्यागी समाज पनि एक थियो । यसबाहेक नरेश टिकैतजस्ता मानिस पनि पुगेका थिए । टिकैतलगायतलाई समुदाय नेता मानिन्छ । यी सबै तृप्ता त्यागीको अपराधमाथि लिपपोत गर्नमा जोडतोडसाथ लागिपरे । ठूला मिडियाले पनि त्यागीलाई बिचरा पात्र देखाउन कुनै कसर बाँकी राखेनन् ।
हिंसा व्यहोरेको परिवारलाई यति सानो कुराले गाउँमा सद्भाव बिग्रिनेछ भनेर दबाब दिइँदै छ । कुरा यसरी गर्दै छन् कि सद्भाव पहिले कायम थियो । स्वभावतः यो परिवार सद्भावका नाममा दिइएको धम्कीलाई राम्रोसँग बुझ्छ । यो परिवारलाई अझै बाँच्नु छ । यो परिवारले इखलाकको परिवारको दुःख देखिसकेको छ, हाथरसमा बलात्कारपछि मारिएकी दलित महिलाको परिवारको हालत पनि देखिसकेको छ । आफ्नो बच्चाका लागि यदि अभिभावकले एक्लै न्यायको माग गर्छन् भने सम्पूर्ण हिन्दू समाज आफ्नो दुस्मन बन्नेछ भनेर अभिभावकलाई राम्रैसँग थाहा छ ।
तसर्थ यो मामिला रफादफा हुनेमा कुनै शंकै रहेन । तर, त्यो समाज कति बिरामी र कमजोर होला, जसले अपराधलाई अपराध भन्न इन्कार गर्छ र जहाँ न न्यायको कुनै बोध बाँकी छ, न इच्छा बाँकी छ । यो समाज यस्तो बनिसकेको छ, जहाँ अपराधीलाई अँगालो मारेर न्याय माग्नेवालामाथि हमला हुन्छ । जो समाज अपराधलाई अपराध नमानेर न्यायको अवरोधक बन्छ, त्यो समाजको पतन अवश्यम्भावी छ । यस्तो समाजले आफूलाई बहुसंख्यक भएर बलियो ठाने पनि नैतिक रूपमा खोक्रो लास मात्रै हुन्छ ।
(अपूर्वानन्द दिल्ली विश्वविद्यालयमा हिन्दी अध्यापन गर्छन्) सत्य हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group