ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुस्साहसको परिणाम व्यहोरेका प्रिगोजिन


सर्ज स्मेमेन
१६ भदौ २०८०, शनिबार   ६ : ०४   बजे

रूसीहरू प्रायः अफवाह र षड्यन्त्रबारे कुरा गर्न मन पराउँछन्, विशेषतः जब उनीहरू सरकारले केही लुकाइरहेको छ भन्ने ठान्छन् । यही कारण जब येभगेनी प्रिगोजिनजस्ता यात्रुसहितको विमान दुर्घटनाग्रस्त भयो, तब विभिन्न अनुमान र अड्कलबाजी हुन थाले । केहीले प्रिगोजिन विमानमै थिएनन् र उनको हत्या रचिएको हो भन्ने अनुमान लगाएका छन् भने केहीले उनलाई पुटिनको गुप्त जेलमा राखिएकोसमेत अनुमान गरेका छन् । कतिले चाहिँ भाडाका सेना प्रयोग गरेर युक्रेनमा अतिक्रमण गरेका कारण युक्रेनीले प्रिगोजिन सवार जहाजलाई खसाएका हुन् भन्ने अनुमान पनि गरेका छन् ।

प्रिगोजिनले नगरेको काम केही थिएन । ठगी गर्दै हिँड्ने प्रिगोजिन पछि कुक र अन्ततः पुटिनको विश्वासिला पात्र बने । उनले वागनर नामक निजी सैन्य संगठन बनाएका थिए । यिनै प्रिगोजिनले रुसी सेनाका उच्चपदस्थ अधिकारीलाई ठेगान लगाउँछु भनेर मस्कोतर्फ दुस्साहसी सैन्य मार्च गर्ने धृष्टता गरेका थिए । वास्तवमा उनको मृत्यु चिताउनेको कमी थिएन । प्रिगोजिनको मृत्यु चिताउनेमा रुसी सेनादेखि उनको वागनर समूहको भाडाका सिपाहीबाट आक्रान्त भएका युक्रेनी जनता र विभिन्न अफ्रिकी एवं सिरियाली विद्रोहीसमेत पर्छन् ।
पुटिनको सत्तामा दुर्घटना भइरहन्छन् र यो विमान दुर्घटना पनि सम्भवतः तिनैमध्ये एक हो । सम्भवतः एक नृशंस शासकको टाउको दुखाइ बनेपछि प्रिगोजिनको हत्या रचिएको हुन सक्छ । तर, हामीसँग यसको ठोस प्रमाण नहुन सक्छ । किनभने, पुटिन प्रिगोजिनलाई मृत्युपर्यन्त देशभक्त संज्ञा दिँदै सम्मान अर्पण गर्न सक्छन् वा प्रिगोजिनको मृत्युका लागि ‘फासीवादी’ युक्रेन वा कपटी पश्चिमलाई दोष दिन सक्छन् । तर, अहिले भने अवस्थालाई नजिकबाट नियालिरहेका मानिस प्रमाण, कारण र घटनाक्रमलाई आधारमा मानेर पुटिनलाई नै जिम्मेवार ठहर्‍याउन सक्छन् ।

पुटिनसंगको फाइल फोटो

तानाशाही सत्ताको सन्दर्भमा पुटिनसँग अरू के नै विकल्प थियो र ? स्पष्ट बफादारीका बाबजुद प्रिगोजिनले पुटिनविरुद्ध विद्रोह गरे । र, राष्ट्रपति पुटिनले प्रिगोजिनको नाम नलिई विद्रोहका लागि परिणाम व्यहोर्नुपर्ने सार्वजनिक चेतावनी दिए । आफूलाई रुस नै मान्ने पुटिनका लागि देशद्रोहको उपयुक्त सजाय भनेकै मृत्युदण्ड थियो ।
पुटिनले प्रिगोजिनलाई विद्रोहपछि बेलारुस जान अनुमति दिए । त्यसैगरी प्रिगोजिनमाथिको आधिकारिक आरोप फिर्ता लिए, क्रेमलिनमा लामो कुराकानीका लागि निम्तोसमेत दिए र रुसमा खुला रूपमा विचरण गर्ने सुविधा पनि उपलब्ध गराए । पुटिनको यो विशिष्ट धूर्तताले उनलाई कुशलतापूर्वक दुई दशकदेखि आजपर्यन्त सत्तामा टिकाएको छ । र, प्रिगोजिनले आफूलाई माफी दिइएको विश्वास गरे । माफी पाएको प्रमाणित गर्न उनले आफूले सेन्ट पिटर्सबर्गमा भएको रुसी–अफ्रिकी सम्मेलनमा समेत भाग लिएको दाबी गरे (उसो त यस दाबीको कुनै प्रमाण मौजुद छैन) । जहाज दुर्घटना हुनुअघि आफूलाई साहसी देखाउने गरी उनले अफ्रिकाका वागनर समूहमा सेना भर्तीको भिडियो पनि जारी गरेका थिए । भिडियोमा प्रिगोजिनले हतियारबन्द कमान्डो पोसाक लगाएका थिए । भिडियोमा ‘हामी काम गर्दै छौँ’ भन्दै फुर्तीसाथ बोल्दै तथा रबाफ कायम राख्दै ‘तापक्रम ५० डिग्री सेल्सियसभन्दा बढी छ र पनि यो हाम्रा लागि कुनै समस्या होइन । रुसलाई महाद्वीपमा महान् बनाउन र अफ्रिकालाई स्वतन्त्रतातर्फ थप अग्रसर बनाउन वागनर निरीक्षण र खोज अप्रेसन चलाइरहेको छ’ भन्दै डिङ हाँकिरहेका थिए ।
प्रिगोजिनले आफ्नो रबाफिलो भिडियो जारी गरेपछि पुटिनले आफ्नो प्रतिक्रिया दिएको देखिन्छ । तत्पश्चात् वागनर विद्रोहको करिब दुई महिनापछि युक्रेनी अप्रेसनका पूर्वकमान्डर जनरल सर्गेई सुरोभिकिन जब सार्वजनिक वृत्तमा हराए, तब उनको पद घटुवा गरिएको जानकारी आयो । र, त्यही दिन साँझ बेलारुसका लागि उडेको प्रिगोजिन सवार जहाज दुर्घटना भयो ।
विमान दुर्घटना भएको देखाउने एक अनौपचारिक भिडियोमा जहाज भुइँमा बजारिँदा जहाजमा एउटा मात्रै पखेटा थियो । एन्टी–एयरक्राफ्ट आक्रमणको झल्को दिने गरी प्रत्यक्षदर्शीले दुइटा विस्फोट सुनेको जनाएका छन् । दुर्घटनापछि आधिकारिक स्रोतले सात यात्रु र तीन चालक दलका सदस्यमा प्रिगोजिनको उपस्थिति रहेको पुष्टि गरेको थियो । रिपोर्टअनुसार नाजी जर्मनीको प्रशंसक भनेर चिनिएका वागनर समूहका सैन्य कमान्डर दिमित्री उत्किन पनि सो जहाजमा सवार रहेको जनाइएको छ ।
प्रिगोजिनको नियति दुई महिनापहिल्यै तय भएको प्रस्ट देखिन्छ । विमान दुर्घटनापछि पक्कै पनि पुटिनका चाकर र आसेपासेले पुटिनको जतिसुकै चाकडी बजाए पनि अर्थात् प्रिगोजिनले झैँ क्रेमलिनका लागि खाद्य व्यवस्था गरे पनि वा भाडाको सेना तयार पारे पनि ज्यान जोखिममुक्त हुँदैन भन्ने बुझेका होलान् ।
पुटिनको रुसमा गद्दारीका लागि कुनै माफी हुँदैन भन्ने तथ्य उहिल्यै पुष्टि भइसकेको छ । तत्कालीन सोभियत संघको गुप्तचर निकाय केजिबीका विद्रोही अलेक्ज्यान्डर लितभिनेन्कोको हत्या गर्न रेडियोएक्टिभ पोलोनियमको प्रयोग र सर्गेई स्क्रिपलविरुद्धको हत्या प्रयासमा नोभिचोक स्नायु विषको प्रयोगलाई हेर्दा अपराधी र तिनका मनसाय प्रस्टै हुन्छ । र, पुटिनका सबैभन्दा ठूला प्रतिद्वन्द्वी एलेक्सी नाभाल्नीको मुख थुन्न प्रयोग गरिएको विषाक्त प्रयास र कठोर जेल सजायले रुसमा कुनै पनि असहमतिलाई सहन गरिनेछैन भन्ने देखाउँछ । तर, युक्रेन युद्धसँग जोडिएका पुटिन, जो अहिले जनधन र अन्तर्राष्ट्रिय जगत्मा चर्को क्षति व्यहोरिरहेका छन्, तिनलाई अहिले थप बफादारी आवश्यक देखिन्छ ।
प्रिगोजिनको कुख्यात अतीतका कारण दुर्घटनाबारे थप अप्रत्याशित जानकारी आउन सक्छन् । र, यदि जहाज दुर्घटनामा पुटिनको हात छैन भने अरू कसैको हात पक्कै हुनेछ ।
(स्मेमेन न्युयोर्क टाइम्सका सम्पादकीय बोर्डका सदस्य हुन्)
न्युयोर्क टाइम्सबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group