सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधि यतिबेला सशक्त सञ्चारमाध्यमका रुपमा विकास भएको छ । आर्थिक तथा सामाजिक विषयवस्तुलाई उठान गर्नसक्ने माध्यमका रुपमा टेलिभिजनलाई स्वीकार गरिएको छ । टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रसारण गरेको पाईन्छ । टेलिभिजन च्यानलहरुको स्थापनको संख्या मात्र होईन पछिल्लो समय सर्वसाधारणमा विश्वास समेत बढ्दै गएको छ । सन् १९५४ देखि रंगीन टेलिभिजनको विकास भई रंगीन दृश्य हेर्न सकिने अवस्था आएको थियो । नेपालमा धेरै पछि मात्र टेलिभिजन प्रशारणको सुरुवात भएको हो ।
वि.सं. २०४१ मा नेपाल टेलिभिजनको स्थापना भएपछि नेपालमा पनि टेलिभिजनहरुले फूल्ने, फल्ने र मौलाउने मौका पाए । आज यो वरदानकै रुपमा विकास भएको छ । नेपालमा पनि धेरैका घरमा टेलिभिजन छन् । ३५ वर्षअघि नेपाल टेलिभिजनबाट सुरु भएको टेलिभिजन पत्रकारिता अहिलेसम्म आइपुग्दा केन्द्र र प्रदेशमा गरी सूचना विभागमा दर्ता भएर सञ्चालनमा रहेका ३४ वटा च्यानलमात्रै देखिएपनि झण्डै एक सय च्यानल प्रशारणमा छन् । टेलिभिजनकै कारण रोजी रोजी ‘च्यानल चेन्ज’ गरेर हेर्न हामीलाई सजिलो भएको छ । बालबालिकाका लागि, युवाका लागि, वृद्धवृद्धाका लागि, विद्यार्थी, व्यापारी, गृहणी लगायत सबै पक्ष र वर्गका लागि टेलिभिजन कार्यक्रमहरुको निर्माण र प्रशारण भएका छन् । यो सबै टेलिभिजनका कारण सम्भव भएको हो । टिभीमार्फत नयाँ कुरा, ज्ञान, सीप अनि अनुभवहरु लिन सकिन्छ, नदेखेको ठाउँ देख्न सकिन्छ अनि कतिपय महत्वपूर्ण कुराहरु प्रत्यक्ष हेर्न सकिन्छ । टेलिभिजनले मनोरञ्जन प्रदान गर्नुका साथै आम दर्शक श्रोतालाई सूचना दिएर सूचनाको पहुँचमा पु¥याउन अहम भूमिका खेलेको छ । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा खवरदारीको भूमिका निर्वाह गर्दै ताजा–ताजा समाचार, कार्यक्रम, विज्ञापन र मनोरञ्जनात्मक कार्यक्रम प्रशारण गरेर दर्शक र श्रोतालाई सु–सूचित गर्नका लागि टेलिभिजनहरुले महत्वपूर्ण भूमिका खेलका छन् । सूचनाको क्षेत्रमा टेलिभिजनले पु¥याएको योगदान अतुलनिय रहेको छ भन्दा फरक पर्दैन । टेलिभिजनको आगमनपछि सञ्चारको क्षेत्रमा एक नयाँ आयाम सुरु भएको थियो । विश्वमा प्रथम विश्वयुद्ध समाप्तीपछि रेडियोको विकाससँगै क्रमशः सञ्चार जगत् टेलिभिजनतर्फ आकर्षित भएको थियो । टेलिभिजन आगमनले विश्व सञ्चारलाई एक छुट्टै पहिचान दिन सफल भएको थियो । टेलिभिजनको आधिकारिक सुरुवात भने सन् १८३५ मा सामुअल मोर्सले आविष्कार गरेको टेलिग्राफ नै प्रसारण माध्यमको विकासको प्रथम प्रसारणको इतिहास देखिन्छ । यो टेलिग्राफ प्रविधिबाट तारको सहायताले अक्षरको प्रसारण गरी टेलिभिजनको विकास यात्रा सुरु भएको देखिन्छ । त्यसपछि सन् १८८४ मा निपको नामका एक जर्मन नागरिकले तारबाट तस्बिर प्रसारण गर्ने एउटा स्कानिङ डेस्क तयार गरेको देखिन्छ । टेलिभिजन इतिहासको यस अध्ययनलाई अमेरिका तथा युरोपका वैज्ञानिकहरूले थप अध्ययन र अनुसन्धान तथा निरन्तरता दिए ।
सन् १८९५ मा इटलीका मार्काेनीले तारबिना ध्वनि वा आवाज सम्प्रेषण गर्ने प्रविधिको विकास गरे जसले रेडियो तथा टेलिभिजनको अविष्कारलाई झन् सहयोग पुर्याएको थियो । त्यसपछि स्कटल्यान्डका वैज्ञानिक जोन लोगी बर्यर्डले बेलायतमा सन् १९२६ मा वायु तरङ्ग माध्यमबाट ध्वनि र चित्र पनि सम्प्रेषण गर्न सकिन्छ भन्ने विधि पत्ता लगाए जसले टेलिभिजनको आविष्कारलाई झन् सहयोग पुर्याएको देखिन्छ । यस प्रविधिले पहिलोपटक चित्र र आवाज दुवै सम्प्रेषण प्रविधिको प्रयोग गरे । यसपछि सन् १९२८ जनवरी १ मा प्रथमपटक द अक्टागन टेलिभिजन सार्वजनिक गरिएको इतिहास छ । यो सामान्य विद्युतीय सामग्रीद्वारा बनाइएको पहिलो मेकानिकल टेलिभिजन सार्वजनिक रूपमा प्रदर्शन गरिएको थियो । टिभी छिटो घुम्ने पाङ्ग्राहरूद्वारा सञ्चालित थियो । टिभीलाई प्रयोगका रूपमा बनाएका थिए र पहिलो टिभी नाटक, द क्वीन्स मेसेन्जर प्रसारण गरेको थियो । यसमा ३ इन्चको स्क्रिन थियो । टेलिभिजन माध्यमको विकास दुईवटा विश्वयुद्धबीच भएको हो ।
पहिलो विश्वयुद्धपछि टिभी प्रसारणका लागि अध्ययन तीव्र बनाइएको थियो ।त्यसपछि सन् १९३६ मा बेलायतबाट टेलिभिजन प्रसारण सुरु भयो । यसको जिम्मा बेलायत सरकारले बीबीसीलाई दियो । विश्वको पहिलो टेलिभिजन स्टेसन ‘डब्लुजिवाई’ टेलिभिजन हो । यो टेलिभिजन सन् १९२८ देखि १९४२ सम्म प्रसारण भएको इतिहास छ । सन् १९३६ मा बेलायत सरकारले बीबीसीलाई सञ्चालन अनुमति दियो जुन हालसम्म सञ्चालन रहको छ । त्यसपछि सन् १९३९ मा अमेरिकाबाट टेलिभिजनको नियमित प्रसारण सुरु भयो । सन् १९५० पहिलो पल्ट रिमोट कन्ट्रोलसहितको टेलिभिजनले यस क्षेत्रलाई थप सहज बनायो । स्टेसनलाई हातले परिवर्तन गर्नुपर्ने अवस्थालाई यसले थप परिवर्तन गरेको थियो । टेलिभिजनमा विकासलाई दोस्रो विश्व युद्धले केही बाधा गरेको देखिन्छ । यसरी विश्व इतिहास रहेको छ । नेपालमा टेलिभिजन इतिहास हेर्दा तत्कालीन राजा वीरेन्द्रले केही विदेशी कम्पनीलाई नेपालमा टेलिभिजनको अध्ययन अनुमति दिएका थिए । नेपालमा सो समयसम्म केही धनाढ्य व्यक्तिहरूको घरमा टेलिभिजन सेट भित्रिसकेको थियो ।
नेपालमा टेलिभिजन नहुँदा विदेशी च्यानलको दबदबा भएको भन्दै नेपाली टेलिभिजनको आवश्यकता भएको भन्दै आवाज उठेको थियो । विदेशी टेलिभिजनहरूले नेपालको संस्कृतिमा पार्न सक्ने अतिक्रमण रोक्ने उद्देश्यका २०४१ माघ १७ गते नेपालमा नेपाल टेलिभिजनको प्रसारण सुरु थियो । हाल ३७ वर्षको नेपाल टेलिभिजनपछि निजी क्षेत्रबाट टेलिभिजन च्यानल सुरु हुँदै टेलिभिजनको विकास हालसम्म भएको इतिहास देखिन्छ । नेपाल र विश्वमा पत्रकारिताको सुरुवात त छापा माध्यमबाटै भयो । त्यसपछि रेडियोको विकास भयो अनिमात्र टेलिभिजन पत्रकारिता सुरु भयो । मान्छेको स्मृतिपटलमा दृश्य बढी समयसम्म टिकिरहन्छ । टेलिभिजन पत्रकारितामा दृश्य र आवाज दुवै हुन्छ । त्यसैले पनि स्मृतिपटलमा टिकिरहन्छ । नेपालमा टेलिभिजन पत्रकारिता सबैभन्दा पहिले नेपाल टेलिभिजनबाटै सुरु भएपनि अहिले निजीक्षेत्रबाट एकसयभन्दा बढी टेलिभिजन सञ्चालनमा छन । तथापि विभिन्न स्वतन्त्र सर्वेक्षणका आधारमा एबीसी टेलिभिजन अन्य टेलिभिजनको भन्दा विश्वासिलो रहेको विभिन्न तथ्याङ्क देखिएको छ ।
आज भदौ १९ गते हामी टेलिभिज स्थापनाको १६ औं वर्षमा प्रवेश गरेका छौ । टेलिभिजन हरेक हिसाबले विश्वसनीय हुने भएकाले नागरिकको विश्वास टेलिभिजनप्रति बढी हुन्छ । टेलिभिजनमा मान्छे बोलेको प्रत्यक्ष देखिने, साक्षात्कार हुने हुनाले दर्शक, श्रोताले बढी विश्वास गर्छन । टेलिभिजनमा हत्तपत्त छलछाम, ढाँट गर्ने अवस्था रहँदैन । अहिले प्रविधिको विकास धेरै भएको छ । त्यसैले मान्छेहरू पनि ‘डाइभर्ट’ भइरहेका छन । तर यसलाई डिजिटल प्लेटफर्ममा जोडेर हेर्दा मिडियामा सबैभन्दा बढी भ्यूअर (दर्शक) अझै टेलिभिजनमै छन् भन्न सकिन्छ । भूउपग्रहको माध्यमबाट हेर्दा पनि विश्वको १ सय भन्दा बढि देशमा टेलिभिजन पत्रकारिताको पहुँच छ । सँगसँगै जहाँ इन्टरनेट त्यहाँ टेलिभिजन हुने अवस्था भइसकेको छ । हामीले एबीसी टेलिभिजनलाई टेलिभिजन स्क्रिन (पर्दा)भन्दा बाहिर डिजिटल प्लेटफर्ममा मोबाइल एप, लाइभ स्ट्रिमिङमार्फत अगाडि ल्याएका छौँ ।
एबीसी टेलिभिजनलाई यसअघि थप प्रविधिमैत्री बनाउनमा जोड दिएका छौ । विश्वका जुन सुकै स्थानमा हेर्ने हामीले प्रत्येक पलका समाचार र एबीसी टेलिभिजनका कार्यक्रमहरुलाई फेसबुक पेज र युटुवमा मार्फत लाईभको पनि व्यवस्था गरेका छौ । २०६२–६३ को आन्दोलनले धेरै विषयमा परिवर्तन ल्यायो, लोकतन्त्र, गणतन्त्र, समावेशिता, सामाजिक न्यायलगायतको परिवर्तनको एजेण्डा स्थापित भए । एबीसी टेलिभिजनले आफ्नो व्यावसायिकता मार्फत मुलुकमा भएको विकृति विसंगति विरुद्ध खवरदारी गर्दै आम नागरिकलाई सुशुचित गर्ने अभियानलाई सघाइरहेको छ । विषयवस्तुको आधारमा हामीले कार्यक्रमलाई प्रस्तुत गर्दा प्रोटोकल (मर्यादातह) को आधारमा होइन, विषयस्तुको आधारमा प्राथमिकीकरण गरेका छौ । केन्द्रमा मात्र होइन, हरेक क्षेत्र, समाजिक समावेशीकरण, लैङ्गिक विविधतालाई ध्यान दिएका छौं ।
त्यसैले सबैको अपनत्वबोध हामीले महसुस गरेका छौँ । हामीले राजनीति सगै विकास निर्माण, शिक्षा स्वास्थ्य, जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयवस्तुलाई बढी प्राथमिकता दिने गरेका छौँ । बालबलिका, ज्येष्ठनागरिक, दलित, विपतमा परेका, पछाडि परेका, स्वस्थ मनोरञ्जनका विषय र सन्देशमूलक विषयलाई प्राथमिकता दिएर प्रशारण गरिरहेका छौँ । विषयवस्तुको आधारमा एबीसी टेलिभिजन अग्रणी स्थानमा रहेको छ । हाम्रो समाचार कक्ष स्वतन्त्र छ, भाषा पनि सभ्य छ । हामी सरकार र प्रतिपक्ष को पनि आलोचना गर्छौं तर रचनात्मक ढङ्गले गर्छौं । समाचारमा सन्तुलन कायम गरेका छौं ।
विरोधीलाई गाली गर्ने औजारका रूपमा हामीले टेलिभिजनको दुरूपयोग गरेका छैनौँ । हामिले आवाज विहिनहरुलाई पनि उत्तिकै स्थान दिएका छौँ । नकारात्मकतालाई हामीले धेरै स्थान दिँदैनौँ तर आलोचनालाई स्थान दिन्छौँ, स्वागत गर्छौं । प्रतिस्पर्धात्मक क्षमता विकास गर्न अझै आवश्यक छ । सामूहिकतालाई हामीले ध्यान दिएका छौँ । प्रविधिले नयाँ नयाँ प्रयोगका निम्ति जहिल्यै दबाब सिर्जना गरिरहेको हुन्छ । समयअनुसार हामीले प्रविधिलाई अपनाउँदै आएका छौँ । सत्यतथ्यलाई प्राथमिकता दिएका छौँ । समाचारमा सन्तुलन कायम गरेका छौँ । मिडियाको काम सूचना दिने, शिक्षा दिने, मनोरञ्जन दिने र विचारका निर्माण गर्ने हो । यसमा हामी दृढ छौं । हरेक व्यक्तिको हातमा अहिले मिडिया छ । सोसल मिडियाको विकासले त झन् मूलधारका मिडियालाई नियमित चुनौती दिइरहेको छ । आफ्नो मिडियाको प्लेटफर्ममा नागरिकलाई राख्ने चुनौती छ । त्यसैले हामिले भाषालाई सभ्य, शिष्ट सुसंस्कृत बनाएका छौँ । प्रविधिको विकास निरन्तर भइरहेको छ । बजारमा नयाँनयाँ प्रविधि भित्रिरहेका छन । त्यसलाई हामीले अपनाउँदै जानुपर्ने अवस्था छ । सत्यको पक्षमा मिडिया जहिले पनि रहनुपर्छ । मिडियाले आशाको सञ्चार गर्नुपर्छ । यथार्थ भएका विकास निर्माण र समृद्धिका विषयलाई उजागर गर्नुपर्छ । अनावश्यक आलोचना मात्रै गरेर जनतालाई भ्रममा राख्ने काम गर्नुहुँदैन । हामी व्यावसायिक नागरिक प्रति उत्तरदायी माध्यमका रूपमा एबीसी टेलिजिभनलाई अगाडि लग्ने अभियानमा छौँ ।
प्रतिक्रिया दिनुहोस्