पत्रकार त्यो व्यक्ति हो जसले लेख रचना, अडियो, भिडियो र तस्विरको रूपमा सूचना सङ्कलन गर्छ र त्यसलाई मन्थन गर्दै समाचारयोग्य बनाई आम जनतामाझ पु¥याउँछ । पत्रकारले मुख्यतया गर्ने कार्य वा प्रक्रियालाई पत्रकारिता भनिन्छ । यसरी पत्रकारिता भन्नाले सत्य तथ्य घटनाहरूमा आधारित रही विभिन्न सञ्चार माध्यमबाट आम नागरिकलाई जानकारी गराउनु नै पत्रकारिता हो । आजको युग विज्ञानको युग हो । विश्वमा घटेका हरेक घट्नाको जानकारी र विवरण तुरुन्तै विश्वको सबै कुनामा पुग्छ । सञ्चारको माध्यमबाट पत्रकारको जनाकारीले नै सबै सामु पु¥याउन सकिन्छ । सञ्चार भन्ने शब्दमा आम अर्थात् अंग्रेजीको कम्युनिकेसनमा मास जोडिएर आमसञ्चार बनेको हो । ‘आम’को अर्थ धेरै भन्ने हुन्छ । अङ्ग्रेजीको मास शब्दले पनि धेरै वा भीड भन्ने नै जनाउँछ । जहाँ असङ्ख्य मानिसहरू छन् भन्ने अर्थ दिन्छ ।
तसर्थ आमसञ्चारका साधनहरूले परापूर्वकालदेखि सुरु भएको भाषिक तथा मौखिक सञ्चार प्रक्रिया होस् वा आधुनिक पत्रपत्रिका, रेडियो, टेलिभिजन, इमेल, इन्टरनेट, फ्याक्स, सामाजिक सञ्जाल आदि जस्ता सबै सञ्चार साधनहरूलाई जनाउँछ । एक व्यक्तिभन्दा बढी असीमित जनसमुदायका लागि जब कुनै माध्यमको सहायताद्वारा कुनै पनि विषयवस्तुलाई सन्देशको रूपमा प्रसारण, प्रक्षेपण गरिन्छ तब यस्तो प्रक्रियालाई आमसञ्चार भनिन्छ । निचोडमा आम सञ्चार भन्नाले अत्यधिक जनसमुदायलाई सञ्चार गराउने प्रक्रिया नै हो । कुनै विचार, भावना, सन्देश वा सूचनालाई सामूहिक रूपमा एउटाबाट अर्कोसम्म पु¥याउने काममा आमसञ्चारको प्रयोग भएको हुन्छ । आमसञ्चारको उद्देश्य भनेको कुनै विचार वा सन्देशलाई ती व्यक्तिसम्म पु¥याउनु हुन्छ, जसलाई त्यस्तो सूचना आवश्यक हुन्छ र यसबाट सबै व्यक्तिले त्यस्तो जानकारी लिन सक्छन् । नेपालमा हाल पत्रपत्रिका, रेडियो, टेलिभिजन, चलचित्र, पुस्तक, इन्टरनेट, अनलाइन लगायतका सबै किसिमका आमसञ्चार माध्यमहरू सञ्चालनमा रहेका छन् । सञ्चारको उद्देश्य कुनै भाव वा विचारको सम्प्रेषण गर्नु हो ।
तसर्थ सञ्चार मानव जीवनको लागि नभई नहुने कुरा हो । आजको पत्रकारिता वैज्ञानिक युगको सामूहिक देन हो । कागजको उद्योग, छापाखाना र अन्य छपाई उपकरणका संगमबाट अहिलेको पत्रकारिता चलिरहेको छ । विश्व पत्रकारिताको इतिहासमा नेपाललाई हेर्दा निकै नै पछि मात्र यसको विकास भएको देखिन्छ । नेपालमा छापाखानाको विकास पनि निकै ढिलो भएको हो । भारतमा भन्दा झन्डै तीन सय वर्ष पछाडि मात्र नेपालमा छापाखानाले प्रवेश गरेको देखिन्छ । भारतमा सन् १५५० मा प्रेसले प्रवेश पायो भने नेपालमा विसं १९०८(सन १८५१)मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायत भ्रमणबाट फर्कँदा फलामे हाते प्रेस ल्याए पछि मात्र विधिवत् रूपले प्रवेश पायो । नेपालको टेलिभिजनको इतिहासमा वि.सं. २०४१ मा नेपाल टेलिभिजनको स्थापना भई पहिलो टेलिभिजनको रूपमा सञ्चालित छ । मिडियालाई समाजको ऐना भनिन्छ । समाजको चरित्र र स्वरूप जस्तो छ त्यस्तै प्रतिरूप मिडियामा प्रतिबिम्बित हुन्छ । तर मिडिया समाजको ऐना मात्रै होइन समानता, सुशासन र न्यायका लागि सकारात्मक गोरेटो पहिल्याउने समाजको पथ प्रदर्शक पनि हो ।
मिडियाले यथार्थको प्रतिनिधित्व मात्र गर्दैन भविष्यमा देख्न चाहेको संसार र समाजको पुनः निर्माण पनि गर्छ । मिडियाको मुख्य उद्देश्य भनेको समाजमा घटित घटना, समस्या, सम्भावनाको खोजी गर्दै समाचारको माध्यमबाट सूचना प्रवाह गर्नु नै हो । मिडिया वा सञ्चार माध्यमले सूचना प्रवाहसँगै शिक्षा र मनोरञ्जन पनि प्रदान गर्दछ । मिडियाले निरन्तर रूपमा प्रदान गर्ने सूचना, शिक्षा र मनोरञ्जनले प्रस्तुत विषयका सन्दर्भमा आम नागरिकको विचार निर्माण हुन्छ । कतिपय सन्दर्भमा सकारात्मक र कतिपय अवस्थामा मिडियाकै प्रस्तुत विषयका आधारमा नकारात्मक जनमत पनि बनिरहेको हुन्छ । यो मिडियाले प्रस्तुत गर्ने विषयवस्तुमा भर पर्ने विषय हो । मिडियाबाट प्रवाहित विषयवस्तुले आम नागरिक र सामाजिक जीवन वा मानव जीवनमा प्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । मिडिया अर्थात् सञ्चार माध्यम र समाज एकअर्कासंग अन्तर सम्बन्धित भए पनि यिनीहरूको बिचमा तात्त्विक भिन्नता भने पाइन्छ । समाजविना सञ्चार र सञ्चारबिना सार्थक समाजको परिकल्पना २१ औँ शताब्दीमा असम्भव जस्तै हो ।
सूचनाको प्रवाह हुने माध्यम भनेको मिडिया मार्फत हो । प्रविधिको तीव्र विकास भइरहेको पछिल्लो समयमा छापा माध्यम वा इलेकट्रोनिक माध्यमबाट सन्देशको प्रवाह गरिन्छ । यसलाई आमसञ्चारको माध्यम पनि भन्ने गरिन्छ । छापा माध्यम, विद्युतीय माध्यम, रेडियो, टेलिभिजन, अनलाइन, मिडियाका प्रकार फरक भए पनि प्रत्येकको उद्देश्यमा एकरूपमा पाइन्छ । सञ्चार माध्यम वा मिडियाको कार्य भनेको समाजलाई सही, तथ्यपरक र विश्वसनीय सूचना प्रवाह गर्दै ज्ञान दिनु वा चेतनाको विकास गर्नु हो । मिडिया लोकतान्त्रिक समाजको पहरेदारको रूपमा रहेको हुन्छ । राज्यका तीन महत्त्वपूर्ण निकाय न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई बर्दी बिनाको प्रहरीको रूपमा मिडियाले नियालिरहेको मात्र हुँदैन गलत पात्र र प्रवृत्ति विरुद्ध खबरदारी पनि गरिरहेको हुन्छ ।
मिडियाले समाजका समस्या उद्घाटित मात्रै होइन न्यायका लागि मार्ग प्रशस्त समेत गर्दछ । मानिस सामाजिक र चेतनशील प्राणी भएकाले सधैँ नयाँ कुरा जान्न र सुन्न उत्सुक हुन्छ । मानिसको यही उत्सुकता, कौतुहलता मेटाउने काम मिडियाले गर्ने गर्दछ । एक्युरेसी अर्थात् वास्तविक सत्य, ब्यालेन्स अर्थात् सन्तुलन र क्रेडिटिबिलिटी अर्थात् विश्वसनीयता सञ्चार माध्यम वा मिडियाका मूल मन्त्र र मान्यताहरू हुन् । सञ्चार माध्यमले आफूले सम्प्रेषण गरेका समाचारलाई यिनै तीन वटा आधारमा विश्लेषण गर्न सक्नुपर्दछ । यी तीन तत्त्व भएको समाचार नै वास्तविक समाचार हो । जो पूर्वाग्रही वा अनुमानमा आधारित हुँदैन । कुनै पनि सूचना वा समाचारमा यी तथ्य बङ्ग्याइएको छ वा समावेश गरिएको छैन भने त्यो समाचार नभएर विचार हुन जान्छ । जुन सूचनाको विश्वसनीयतामा शङ्का गर्ने प्रशस्त आधार हुन्छ । समाजमा नयाँ र ताजा घटनाहरू पस्कनुका साथै समाजमा घटिरहेका कुरीति, हिंसा, अपराधका विरुद्ध आवाज उठाउने काम पनि मिडियाले गरिरहेको हुन्छ । राज्य र जनता बिचको पुल (सम्बन्ध)मिडियाले निभाइरहेको हुन्छ ।
मिडियाले समाजका समस्याहरू जस्ताको त्यस्तै दर्साउने भएकोले यसलाई समाजको ऐना पनि भन्ने गरिएको हो । आज मानिसहरू जब मिडिया मार्फतको सूचनामा निर्भर छन् । अहिले सामाजिक सञ्जालको लहर चलेको छ । हरेक व्यक्ति आफैँमा सूचनाको श्रोत बनेका छन् । यसका धेरै सकारात्मक पक्षहरू छन् ।
कतिपय व्यक्ति वा संस्थाले भ्रमको खेती गर्नका लागि मात्रै सञ्चारमाध्यमको प्रयोग गर्ने गरेका उदाहरण छन् । व्यक्तिगत फाइदा र स्वार्थको लागि समाचार बनाएर मिडियामार्फत समाजमा भ्रम फैलाउनेहरूको पहिचान गरेर सभ्य समाज निर्माणको जिम्मा कसले लिने? भन्ने प्रश्नको उत्तर पाउन कठिन छ । मूलतः समाजमा मिडियाका दुई आयाम रहेका छन् । एउटा पेसा र अर्को व्यवसाय । तर यसको प्रमुख कार्य जनसमुदायको सेवा गर्नु नै हुनु पर्दछ । मिडिया आफैमा एउटा व्यवसाय भएकाले यसले पनि नाफा कमाउनु पर्दछ, अन्यथा यो बजारमा टिक्न सक्दैन । तर अर्का तिर यसको विकास नै जनतालाई सुसूचित पार्नु हो । यदि सूचनाको प्रवाह गर्ने आफ्नो दायित्व मिडियाले पुरा गर्न सकेन भने यसको औचित्य माथि प्रश्न चिन्ह खडा हुनेछ । तर, समाजमा टिक्न, समाजमा बिक्न अनि समाजमा विश्वास कायम गर्न मिडिया समाज प्रति उत्तरदायी बन्नै पर्छ । त्यसैले सत्य,तथ्य र वास्तविक सूचना प्रवाह नै मिडिया वा सञ्चार माध्यमको धर्म हो । आफ्नो यो आधारभूत मान्यताबाट सञ्चार माध्यम चिप्लियो भने समाजको पहरेदारको भूमिकामा त्यो मिडिया हुन सक्दैन ।
प्रतिक्रिया दिनुहोस्