१. मुलुक अराजकतातिर जाँदैछ, मलाई चिन्ता छ
देशमा अहिले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक केही कुरा पनि ठिकसँग चलेको छैन। मुलुक अराजकतातिर जाँदैछ।
हुँदाहुँदा कुटनीति पनि अराजक हुन थाल्यो।
चुच्चे नक्साको विषय अहिले फेरि चर्चामा आएको छ। पहिलेका र अहिलेका परराष्ट्र मन्त्रीले यसबारे फरक-फरक कुरा राखेका छन्, चुच्चे नक्साको नोट अरू देशहरूलाई पठाइयो कि पठाइएन भन्ने बारेमा।
चुच्चे नक्सालाई भारतले अस्वीकार गरिदियो, चीनले बेवास्ता गरेको छ। यो गम्भीर विषय हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजी केही दिनमा चीन भ्रमणमा जाँदै हुनुहुन्छ, उहाँले यसबारे कसरी डिल गर्नुहोला? प्रधानमन्त्रीजी भारत भ्रमणमा जाँदा पनि यस्तै विषय आएको थियो- ग्रेटर नेपालबारे।
हाम्रो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डपमै खुकुरी प्रहार भयो। यो अराजकता हो।
यो घटनाले भोलिका दिनमा के-कस्ता घटना निम्याउँछ भन्ने संकेत पनि गर्छ, यसले मलाई मुलुकप्रति चिन्ता लागेको छ। जनतामा हामीले केही आशा जगाउन सकेनौं भने तिहारपछि मुलुकमा झन् अराजकता बढेर जान्छ भन्ने मलाई लाग्छ।
२. प्रधानमन्त्रीको अभिव्यक्तिले कोशीमा झिल्को दियो
कोशीमा नामाकरणदेखि नै विवाद सिर्जना भएको थियो। केही सांसदहरूले जानीय हिसाबबाट नाम राख्नुपर्छ भनेका थिए तर अधिकांशले कोशी राख्ने भनेर कोशी नाम राखियो। कोशी पनि सम्यताको एक परिचय हो भन्ने दर्शाइएको थियो।
यो विषय केही सेलाएको थियो अरू विषय आयो- गोरू काटेर खाएको, मन्दिरनजिकै चर्च बन्न दिइयो भन्नेजस्ता। फेसबुक र टिकटकमा भिडिओ क्लिप आयो गोरू काटेर खाएका विषयका। यसमा कतिले गाली गरेका थिए, के-के भनेका थिए।
संयोगले म त्यसबेला विराटनगरमै थिएँ। म धरान पनि गएँ। साथीभाइहरूसँग कुराकानी गरेँ। धरानमा देख्दा धार्मिक लडाइँ जस्तो देखिए पनि त्यो जातीय लडाइँ हो कि जस्तो धरान पुगेपछि मलाई लाग्यो।
यसमा झिल्को दिने काम प्रधानमन्त्री प्रचण्डजीको अभिव्यक्ति हो भन्ने लागेको छ।
आदिवासी जनजाती दिवसमा उहाँले ‘बहुमत देऊ, जातीय राज्य दिन्छु’ भन्ने अभिव्यक्ति दिनुभएको थियो। एउटा पार्टीको अध्यक्षले यस्तो बोलेको भए मैले खासै प्रतिक्रिया दिने पनि थिइनँ तर प्रचण्डजी अहिले मुलुकको प्रधानमन्त्री हो।
प्रधानमन्त्रीले भोट देऊ, जातीय राज्य दिन्छु भन्न मिल्दैन। प्रधानमन्त्रीले त्यस्तो अभिव्यक्ति दिँदा त्यसले अर्कै सन्देश दिएको छ।
यो कुरा कोशीमा मात्र सीमित छैन।
म केही दिनअघि गण्डकी प्रदेश पनि गएको थिएँ। त्यहाँ पनि त्यस्तै झिल्को आइसकेको छ भनेर साथीहरूले भन्नुभयो। गण्डकीमा लखन थापाबारेको विषय उठान भएको छ।
३. मौलायो लोकरिझ्याइँ
अहिले मानिसहरू निराश देखिन्छन्। राजनीतिमै लागेकाहरू पनि निराश देख्छु म।
सरकारमा भएकालाई त हामीले ठिकै गरेका छौं, राम्रो नै भइरहेको छ भन्ने लागेको होला। प्रधानमन्त्रीजी र अर्थमन्त्रीजी अर्थतन्त्र राम्रो भयो भन्नुहुन्छ तर स-साना पसल र सटर त दिनहुँ बन्द भइरहेको देखिन्छ।
लोकरिझ्याइँका कुराले झन् निराशा देखाएको छ। निराश भएका मानिसहरू भयानक रूपले लोकरिझ्याइँका कुरा गर्नेहरूका पक्षमा उभिएका छन्, फेसबुकमा लाइक, कमेन्ट गर्छन्।
सामाजिक अभियान्ता भन्नेहरूले जिम्मेवारीका साथ लेखेका हुँदैनन्, मानिसहरूले त्यही पढ्छन्। सञ्चार माध्यम हेर्दैनन्, फेसबुक र टिकटकमा आएका भिडिओ क्लिप हेरेर धारणा बनाउने गरेको पाइन्छ।
यस्ता कुराहरूले देशलाई अराजकतातिर लगेको छ। परिस्थिति नाजुक बनेको छ। एकदमै अप्ठेरो स्थिति सिर्जना भइरहेको छ।
हुँदाहुँदा विदेशी राजदूत (चिनियाँ) ले पनि लोकरिझ्याइँका कुरा गर्न थाले। अर्काको देशमा आएर ‘पाहुना’ ले लोकरिझ्याइँका कुरा गर्दा त अप्ठेरो स्थिति आउँछ नि!
अर्को कुरा, म खबर हेरिराखेको पनि हुन्छु। यदि शेखर कोइरालाको गाडी चालक चुनावका मुखमा छतबाट खसेर मरेको भए के लेखिन्थ्यो, के बोलिन्थ्यो? तर पपुलिज्मका कुरा गर्नेका हकमा के भयो? मानिसहरू लोकरिझ्याइँसँग डराइरहेका छन् कि भन्ने पनि लागेको छ।
४. कांग्रेस नेतृत्वमा सरकार आवश्यक
सरकारको नेतृत्व नेपाली कांग्रेसले नै गर्नुपर्छ। मैले एक स्टेप अघि बढेर सभापति शेरबहादुर देउवा भएकै कार्यक्रममा केही दिनअघि यो कुरा राखेको थिएँ। कांग्रेस नेतृत्वमा सरकार भयो भने मानिसहरूलाई कम्तीमा प्रजातन्त्र त बाँच्छ भन्ने लाग्छ।
अहिले जति अराजकता छ, कांग्रेस नेतृत्वमा सरकार बनेपछि त्यो घट्छ भन्ने मलाई विश्वास छ। निमिट्यान्न नभए पनि आधा त घट्ला! हामी ९ मन्त्रालयसहित अहिलेको सरकारमा छौं। तर जनता र कार्यकर्तालाई सरकारमा भएको अनुभूति भएको जस्तो मलाई लागेको छैन।
अहिलेकै गठबन्धन निरन्तर रहने गरी कांग्रेसले सरकारको नेतृत्व लिन सक्छ। प्रधानमन्त्री को भन्ने विषय छ, संसदीय दल नेता सभापति देउवा नै भएकोले उहाँ नै प्रधानमन्त्री बन्ने हो। संसदीय दल नेता परिवर्तनका कुरा पनि आएका छन् तर त्यो परिस्थिति आइसकेको छैन।
सरकार परिवर्तन हुनुपर्छ र कांग्रेसकै नेतृत्वमा भनेर मैले भनिराखेको छु। तर अहिले नै सरकार परिवर्तन हुने त म देख्दिनँ। अहिले जे-जसरी अघि बढेका छौं, त्यसले त प्रचण्डजीलाई धेरै नै सहज बनाइदिएको छ। उस्तै परे उहाँ नै ५ वर्ष प्रधानमन्त्री हुन बेर छैन।
५. प्रधानमन्त्रीजी भन्नुहुन्छ, अदालतले सबै बिगार्यो
मैले केही दिनअघि प्रधानमन्त्रीजीसँग भेटेको थिएँ। विभिन्न विषयबारे कुराकानी भए। ललिता निवास जग्गा प्रकरणजस्ता विषय पनि उठ्यो। यसमा प्रधानमन्त्रीजीले भन्नुभयो, माधव नेपाल र बाबुराम भट्टराईको बयान त लिएँ नि!
मैले प्रश्न गरेँ, बयान लिनुभयो? मलाई त थाहा छैन। सिआइबीका मानिस उहाँहरूका निवासमा गए होलान्, कुराकानी गरे होलान्, त्यसलाई बयान भन्न मिल्छ र? बयान लिन त उहाँहरूलाई सिआइबीमा झिकाउनुपर्यो, सरकारी वकिलको उपस्थितिमा बयान हुनुपर्यो।
हामी एउटा कुरा गर्छौं अदालतले सबै बिगारिदिन्छ भनेर प्रधानमन्त्रीजीले भन्नुभयो। मैले भनेँ, सरकारले गलत गर्यो भने अदालत एक्टिभ भइहाल्छ नि, तपाईंहरू गलत नगर्नुस्, संविधानअनुसार चल्नुस्। अनि अदालतले हस्तक्षेप पनि गर्दैन। देशमा दण्डहीनता बढेको छ, कुनै पनि कुरा ठिक ठाउँमा छैन भनेर प्रधानमन्त्रीजीलाई भनेको थिएँ।
६. म सुशासनको एजेन्डा बोक्छु, एक्लै भए पनि निरन्तरता दिन्छु
हामी सुशासनका पक्षमा छौं। म यो एजेन्डा कांग्रेसको सभापति भए पनि लिन्छु भइनँ भने पनि निरन्तरता दिन्छु। एक्लै भए पनि यो अभियानमा लागिरहन्छु। जिल्ला-जिल्ला जान्छु, पार्टीका साथीहरू र जनताहरूसँग कुराकानी गर्छु।
अहिले संघीयता चल्दैन भन्ने मानसिकता देखिएको छ। कांग्रेसकै कतिपय साथीहरू पनि संघीयता काम छैन भनिरहेका छन्। केन्द्रमा बस्नेले अधिकार नदिने अनि संघीयता काम छैन भन्ने? अधिकार दिएर हेर्नुस् न। म संघीयता अझै बलियो हुनुपर्छ भन्नेमा छु। सिडिओले प्रदेशका गृहमन्त्रीका कुरै सुन्दैनन्, प्रहरीमा त्यही अवस्था छ।
७. पार्टी भित्रका गुटलाई महत्व दिनुभएन
तपाईंहरूले कांग्रेस वा अरू पार्टीका गतिविधिलाई हेरिराख्नुभएकै छ। सञ्चार माध्यमहरूमा पनि गुटलाई धेरै महत्व दिएको हो कि जस्तो मलाई लागेको छ। यसले कहीँ पुर्याउँदैन।
पार्टीको आन्तरिक जीवनमा असमझदारी कहिलेकाहीँ भइहाल्छ। विभाग गठन, भ्रातृ संस्थालगायतमा पनि हाम्रो पार्टीभित्र केही असमझदारीजस्ता देखिएका छन्।
विधि र विधानअनुसार चलिएन भने यस्तो अवस्था देखिन्छ। भ्रातृ संस्थाका सभापतिले जिल्ला सभापतिसँग समन्वय गरी ३ जनाको नाम मागेर तीमध्येबाट जिल्ला नेतृत्व चयन गर्ने समझदारी बनेकोमा त्यो उल्लङ्घन भएपछि हामीले ध्यानाकर्षण गरिएको छ।
तर विभागमा ‘भाग’ मागेको छैन। विभाग प्रमुख कसलाई बनाउने भन्ने सभापतिको अधिकार हो। विधानले नै सभापतिलाई यो अधिकार दिएको छ। सभापतिले अहिलेसम्म १६ विभाग प्रमुख तोक्नुभयो।
तर यो संख्यामा विभाग गठन गरेको भए यदि म सभापति हुन्थें भने कम्तीमा ५ विभाग इतर पक्षलाई दिन्थें। सबैलाई समेटेर लैजानुपर्छ नि!
८. गगन र म एकै ठाउँमा छौं
शेखर र गगनबीच असमझदारी भएका विषय आइरहेको देख्छु। हामीबीच त त्यस्तो केही छैन। सुशासनजस्ता एजेन्डामा हामी एकै ठाउँमा उभिएका छौं।
कहिलेकाहीँ कुनै विषयमा म र गगनबीच पनि फरक मत हुन सक्छ। गगन एग्रेसिभ छन्, म अलि मध्यमार्गी छु। उमेरले पनि काम गर्दो हो। मभन्दा गगन करिब २६ वर्ष कान्छा छन्। युवा जोश, जाँगर अर्कै हुन्छ! तर एजेन्डामा म र गगन एकै ठाउँमा छौं।
मन्त्री बनाउने बेला सल्लाह नगरेका जस्ता कुरा आउँछन्, सभापति देउवाले ३ मन्त्री दिन्छु भन्नुभएको हो। गगनसँग छलफल गरेरै नाम दिएको हो तर नाम दिने बेला गगनलाई जानकारी नगराउनु मेरो गल्ती भयो। म आँखाको उपचारका लागि विदेश जानुपर्ने भएकोले पनि हतारले गर्दा जानकारी दिन सकेको थिइनँ।
ममाथि सभापति देउवासँग मिल्यो भन्ने आरोप पनि छ। तर केमा मिल्यो कसैले भन्न सक्दैनन्।
९. महाधिवेशन २०८२ भित्रै, सभापतिका लागि अहिलेदेखि दौडिनु पर्दैन
पार्टी विधानअनुसार चार वर्षमा महाधिवेशन हुनुपर्छ। ०७८ मंसिरमा महाधिवेशन भएकोले अब १५ औं महाधिवेशन ०८२ भित्रै हुनुपर्छ। क्रियाशील सदस्यता छानबिन समितिमा महामन्त्री गगनजी नै हुनुहुन्छ, यसकारण समयमै महाधिवेशन हुन्छ भन्ने हाम्रो विश्वास छ।
महाधिवेशन आउन अझै धेरै समय छ। समय छँदै मानिसहरू सभापतिका लागि दौडिएका छन्। यो देखेर मलाई अचम्म लागेको छ। यसपटक छिटै महाधिवेशन लागेजस्तो छ! किन यतिछिटो महाधिवेशन लाग्यो मैले बुझेको छैन। सायद, अब देउवा जाँदै हुनुहुन्छ भनेर पो हो कि! सभापतिका लागि अहिलेदेखि नै दौडिन पर्दैन, समय आउँछ।
म १४ औं महाधिवेशनमा सभापति उठेको हुँ। त्यसबेला समूह एक बनाउन सकिएन।
उम्मेदवारी दर्ता गर्ने दिन बिहान बोहराटार पुगेर रामचन्द्र पौडेललाई लौ, तपाईं नै सभापति उठ्नुस् म केन्द्रीय सदस्य उठ्छु भनेको थिएँ। तर प्रकाशमान सिंहलाई मनाउनु पर्छ भनेर भनेको थिएँ। उहाँले प्रकाशमानलाई मनाउन सक्नुभएन। त्यस दिन मसँग मीनेन्द्र रिजाल पनि सँगै हुनुहुन्थ्यो।
म सभापति उम्मेदवार हुँदा ‘एकपटक, यसैपटक’ नारा पनि तय भएको थियो। तर सभापतिमा पराजित भएँ, यो काम लागेन।
विभिन्न बाहनामा समयमै महाधिवेशन नगर्ने चलखेल पनि हुन सक्छ। हामी सचेत भएर अघि बढ्छौं।
१०. कांग्रेसलाई ठेगान लगाउन बनेको हो समाजवादी केन्द्र
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपाल कम्युनिष्ट पार्टी मिलेर समाजवादी केन्द्र बनाएका छन्।
यो केन्द्र बनाउनुको उद्देश्य कांग्रेसलाई ठेगान लगाउनु हो भन्ने प्रष्ट छ। यसबारे साउनमा बसेको केन्द्रीय समिति बैठकमा मैले कुरा राखेको थिएँ। तर ‘हामीलाई नै जानकारी दिएर प्रचण्डजीले समाजवादी केन्द्र बनाएको हो भन्नेजस्ता जवाफ पाएँ।’
यो केन्द्र कांग्रेसलाई ठेगान लगाउन बनाएको हो भन्ने म पुष्टि गरिदिन सक्छु। तर पार्टीका जिम्मेवार ठाउँमा बसेका नेताहरूले मेरा कुरा हलुवासँग लिनुभयो, मजाकजस्तो गरी जवाफ दिनुभयो।
११. मन्त्रीका काम झण्डा हल्लाएर क्षेत्रमा जाने मात्रै!
कांग्रेसबाट अहिलेको सरकारमा ९ जना मन्त्री छन्। म मन्त्रीहरूसँग कुराकानी गरिरहेको हुन्छु। मन्त्रीहरूले छानेको सचिव राख्न पाइएन भन्ने गुनासो गरेका छन्। कांग्रेसका मन्त्री भएका ठाउँमा प्रधानमन्त्रीजीले नेकपा एमालेनिकट सचिवहरू पठाइदिनुभएको रहेछ। यस्तो त भएन नि!
मन्त्रीहरूले काम गर्न सक्ने स्थिति नै छैन। विचरा! निरीह छन्। पेट्रोल हाल्ने पैसा पनि छैन रे मन्त्रालयमा। जनतालाई आशा जगाउँदै काम गर्नुपर्ने मन्त्रीहरू यस्तो समस्यामा छन्। मन्त्रीहरूले आफूनिकटलाई मन्त्रालयमा राख्न सकेका छैनन्, विभिन्न नियुक्तिमा पहिले नै कोही माओवादी त कोही एमालेका मानिसले नियुक्ति लिएका छन्।
मन्त्रीहरूका काम झण्डा हल्लाएर आफ्नो निर्वाचन क्षेत्रमा जानेमै सीमित छ। प्रभावकारी काम गर्न सकेका छैनन्। मन्त्रीका कुरा सचिवले सुन्दैनन्।
(शुक्रबार सम्वाददाताहरुसँग विस्तृत रुपमा गरेको सम्वादको सम्पादित अंश )
प्रतिक्रिया दिनुहोस्