शुभशंकर कँडेल, बेइजिङ ८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छियाङबीच आज चीनको ग्रेटहल अफ दी पिपुलमा भएको द्विपक्षीय औपचारिक वार्तापछि विभिन्न १२ विषयमा सम्झौता, समझदारीपत्र तथा प्रोटोकलमा हस्ताक्षर भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान, प्रविधि र आविष्कारका विषयमा सम्झौता भएको छ । नेपालबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी र उनका चिनियाँ समकक्षीबीच सम्झौता आदान–प्रदान भएको छ ।
प्रकोपसम्बन्धी सामग्री तथा मानव स्रोत आदान–प्रदानसम्बन्धी दुईवटा समझदारीपत्र आदान–प्रदान भएको छ । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ सम्बन्धित अधिकारीबीच पत्र आदान–प्रदान भएको हो ।
सन् २०१७ मा तयार भएको नेपालको उत्तरी क्षेत्रका लागि उत्पादन तथा लिभिङ मेटेरियलको प्रमाणपत्र पनि हस्तान्तरण भएको छ । राजदूत श्रेष्ठले प्रमाणपत्र बुझेका छन् ।
चीनको राष्ट्रिय विकास तथा सुधार आयोग तथा नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्र योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ र चिनियाँ अधिकारीबीच आदान–प्रदान भएको छ । चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थ मन्त्रालयबीच डिजिटल इकोनोमीसम्बन्धी सहकार्य अभिवृद्धिबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका तर्फबाट चीनका लागि नेपाली राजदूत विष्णुपुकार र चिनियाँ अधिकारीबीच समझदारीपत्र आदान–प्रदान भएको छ ।
चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको वन तथा वातावरण मन्त्रालयबीच हरित तथा न्यून कार्बन विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाली राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच समझदारीपत्र आदान–प्रदान भएको छ ।
दुई देशका कृषि मन्त्रालयबीच कृषि तथा पशुपछी विकाससम्बन्धी सहयोगबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालबाट तर्फबाट कृषि तथा पशुपछी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडेल र चिनियाँ अधिकारीबीच समझदारीपत्र आदान–प्रदान भएको छ ।
यसैगरी, सन् १९८१ मा दुई देशबीच भएको नेपाल–चीन व्यापार तथा भुक्तानीसम्बन्धी सम्झौता पुनरावलोकन र परिवर्तनका लागि गृहकार्य गर्ने संयुक्त प्राविधिक कार्य समूह स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । वाणिज्यसचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीबीच समझदारीपत्र आदान–प्रदान भएको छ । चीनको वाणिज्य मन्त्रालय तथा नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच समझदारी भएको हो ।
नेपालबाट चिनियाँ औषधिका लागि औषधिजन्य वनस्पतिका सामग्री चीन निकासी गर्न वनस्पतिको औषधीय तत्वको आवश्यकतासम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको छ । कृषिसचिव रेवतीरमण पौडेल र चिनियाँ अधिकारीबीच प्रोटोकल आदान–प्रदान भएको छ । यससम्बन्धी चीनको भन्सार प्रशासनसम्बन्धी विभाग तथा नेपालको कृषि तथा पशुपछी विकास मन्त्रालयबीच सहकार्य हुनेछ ।
चीनको प्रेस तथा प्रकाशनसम्बन्धी राष्ट्रिय प्रशासन कार्यालय र नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच क्लासिक प्रकाशन तथा अनुवादसम्बन्धी समझदारीपत्र भएको छ । नेपालका तर्फबाट राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच समझदारीपत्र आदान–प्रदान भएको छ । हिल्सा–सिमीकोट सडक परियोजना निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस अघि चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष झाओ लिजीसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका लागि प्रधानमन्त्री दाहाल ग्रेटहल अफ दि पिपलमा आइपुग्नुभएको छ । प्रधानमन्त्री दाहाललाई ग्रेट हलमा स्वागत तथा गार्ड अफ अनर प्रदान गरिएको छ ।
भेटवार्ताको क्रममा प्रधानमन्त्रीले राष्ट्रपति सी चिनफिङसँगको भेट उपलब्धिमुलक भएको बताए ।
समझदारीका शिर्षकहरु : विआरआई बारे नयाँ कुनै समझदारी भएन
१. चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगबीचको सहकार्यको लागि समझदारी
२. उत्तरी पहाडी क्षेत्रको लागि उत्पादन र जीवन यापनको लागि प्रयोग हुने सामाग्री ‘२० १७’ को प्रमाण पत्र नेपाल सरकार र चीन सरकारबीच आदन प्रदान
३. चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थ मन्त्रालयबीच डिजिटल अर्थतन्त्र सहकार्य वृद्धिको लागि समझदारी
४. चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको वन तथा वातावरण मन्त्रालयबीच हरित गृह र कार्बनको मात्रा न्यून गर्ने लक्ष्यसहित समझदारी
५. सिजाली उच्च माध्यमिक विद्यालयको परियोजना सम्झौता कार्यान्वयन गरिने समझदारी
६. कृषि, पशुपन्छी तथा माछापालनको क्षेत्रमा सहकार्य गर्न चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रायलबीच समझदारी
७. नेपाल–चीन भुक्तानी सम्झौताको समीक्षा र परिमार्जन
८. १९८१ को लागि संयुक्त प्राविधिक कार्य समूह स्थापनाको लागि चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सम्झौता
९. चिनियाँ औषधी निर्माणको लागि नेपालबाट चीनमा वनस्पति व्युतपन्न औषधीय सामाग्री निर्यात गर्न चीनको सामान्य भन्सार प्रशासन र नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रायलबीच फिजियोसेनेटरी आवश्यकताहरूको प्रोटोकल स्थापित गरिने
१० . चीनको राष्ट्रिय प्रशासनको प्रेस तथा प्रकाशन र नेपालको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच ‘क्लास्किस’ को अनुवाद र प्रकाशन गर्न समझदारी
११. नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान र प्रविधि तथा आविष्कारमा सहकार्यको लागि समझदारी
१२. नेपाल र चीनबीच आपदविपद् सामाग्री र मानव स्रोतसम्बिन्धित विनिमय पत्र आदान प्रदान
प्रचण्ड–ली पहिलोपटक वार्ता
सहमति पत्रमा हस्तक्षर हुनु पहिले दुई देशका प्रधानमन्त्रीबीच वान अन वान र प्रतिनिधि मण्डलस्तरीय वार्ता भएको थियो । त्यस अवसरमा चिनियाँ प्रधानमन्त्री ली छ्याङले नेपाल र चीन फरक आकारका तर समान हैसियतका दुई छिमेकी मुलुक भएको बताएका छन् ।
सोमबार बिहान चीनको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री दाहालसँग भएको दुईपक्षीय भेटघाटमा चिनियाँ प्रधानमन्त्री छ्याङले यस्तो बताएका हुन् ।
सन् २०२२ मा ली प्रधानमन्त्री भएपछि उनले नेपाली कुनै प्रधानमन्त्रीसँग पहिलो पटक भेटेका हुन् ।
‘नेपाल र चीन बीचको सम्बन्धको साक्षी हिमालय र खासगरी सगरमाथा छ, इतिहासदेखि हाम्रो सम्बन्ध राम्रो रही आएको छ,’ प्रधानमन्त्री छ्याङले भने ।
सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको उनले बताए ।
दुई देशका नेताबीच उच्चस्तरमा भएको सहमति कार्यान्वयन गर्न चीन तयार रहेको उनले बताए। नेपालको आर्थिक विकासमा चीनले साझेदारी गर्ने उनको भनाइ छ।
भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले चीनले विकासको पहिलो शताब्दी लक्ष्य सम्पन्न गरेकोमा बधाई दिंदै आगामी शताब्दी लक्ष्यको सफलताको कामना गरे ।चीनले विकास र प्रविधिको क्षेत्रमा हासिल गरेको उपलब्धिको उनले प्रशंसा गरे ।
नेपाल राजनीतिक उपलब्धि हाँसिल गरी अब सामाजिक तथा आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको उनले बताए । ‘हामीले हालै तीनवटै सरकारको चुनाव सम्पन्न गरेका छौं । अब आर्थिक विकासको काम गर्दै छौं । चीनसँगको सौहार्दपूर्ण सम्बन्धले त्यसमा सहयोग गर्ने छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
प्रतिक्रिया दिनुहोस्