काठमाडौं, ४ मंसिर । विश्वकप फाइनलमा आइपुग्दासम्म घरेलु टीम भारत अपराजित थियो । लगातार १० खेलमा दबदबापूर्ण जीत हासिल गर्दै फाइनलमा पुगेको भारतले अष्ट्रेलियालाई हराएर तेस्रोपटक विश्व विजेता बन्ने आँकलन क्रिकेट पण्डितहरुले गरिरहेका थिए ।
बलिङ र ब्याटिङ दुवैमा अन्य टीमभन्दा निकै बलियो देखिन्थ्यो भारतीय टीम । सबै खेलाडीहरु उत्कृष्ट फर्ममा थिए । बलिङमा मोहम्मद सामी र ब्याटिङमा विराट कोहलीले धुम मच्चाइरहेका थिए । चाहिएको बेलामा सबैले आआफ्नो तर्फबाट योगदान दिएका थिए । तर, फाइनल खेलमा भने भारतले बलिङ र ब्याटिङ दुवैमा निराश बनायो । रंगशालामा उपस्थित एक लाख समर्थक स्तब्ध भए ।
अष्ट्रेलियाको स्थिति ठीक उल्टो थियो । समूह चरणको पहिलो दुई खेलमा लगातार पराजय व्यहोर्दै अष्ट्रेलियाले विश्वकपको खराब सुरुवात गरेको थियो । अष्ट्रेलिया सेमिफाइनलमै पुग्न नसक्ने भविष्यवाणीसमेत हुन थालेका थिए । तर, तेस्रो म्याचबाट अष्ट्रेलिया आफ्नो लयमा फर्कियो । त्यसपछिका खेलहरुमा उसले अन्य टीमहरुलाई कुनै मौका दिएन । अष्ट्रेलियाले पाँच पटकको विश्व विजेता हुनुको गौरवका साथ खेल्यो । किन क्रिकेटको महाशक्ति हो भन्ने फेरि एकपटक प्रमाणित गरेर देखाइदियो ।
ग्लेन म्याक्सवेलले अफगानिस्तानविरुद्धको म्याचमा हारको मुखबाट जीत निकालेसँगै टीमभित्र अभूतपूर्व आत्मविश्वास सवार भएको थियो । त्यो आत्मविश्वासले फाइनलमा पनि काम गर्यो । ४७ रनमा ३ विकेट गुमाएको र पिचले बलरहरुलाई सहयोग गरिरहेको अवस्थामा पनि अष्ट्रेलिया डग्मगाएन । ट्राभिस हेडले जीवनकै अविस्मरणीय पारी खेले ।
ट्राभिस हेड ।
उपाधिको निकै नजिक पुगेर रोकिनुपरेको महसुस गरिरहेका छन् भारतीय समर्थकहरु । यो हारलाई लिएर भारतीय मिडियामा थुप्रै कोणबाट चर्चा परिचर्चा भइरहेको छ । मोहम्मद कैफ जस्ता अतिवादी विश्लेषकहरु भन्दैछन्, ‘अष्ट्रेलियाले भारतभन्दा राम्रो खेलेर जितेको होइन, भाग्यले साथ दिएकोमात्र हो ।’ सञ्जय माञ्जरेकरले हास्यास्पद टिप्पणी गर्दै भने, ‘भारतले खेल्दा पिच कठिन थियो, अष्ट्रेलियाले ब्याटिङ गर्दा एकदम सहज भयो ।’
भारतीय मिडिया र विश्लेषकहरुको रोनाधोना धेरै दिनसम्म चल्नेछ । तर, तटस्थ रुपमा हेर्दाखेरि विश्वकप फाइनलमा अष्ट्रेलियाले उत्कृष्ट खेलेरै भारतलाई परास्त गरेको हो । पक्कै पनि घरेलु मैदानमा भारतको ब्याटिङ र बलिङ अष्ट्रेलियाको भन्दा कमजोर थिएन । तर, भारतले केही रणनीतिक गल्ती गर्यो । भारतका प्रमुख तीन गल्ती यी थिएः
कठिन पीच( अष्ट्रेलियाका लागि खनेको खाडल
यो विश्वकप एकप्रकारले ब्याटिङ उत्सव जस्तो थियो । हरेकजसो खेलमा ठूला स्कोरहरु बनिरहेका थिए । ३५० को लक्ष्य पनि सुरक्षित महसुस हुन्थेन ।
परम्परागत रुपमै भारतमा प्रायःजसो पिच ब्याटिङमैत्री हुने गर्छन् । आफ्ना ब्याट्सम्यानहरुले ठूला कीर्तिमानहरु बनाऊन् भन्ने ध्येयले फ्ल्याट पिचहरु बनाउने गरिएको छ । त्यहाँ बलरहरुलाई खासै सहयोग हुँदैन, खासगरि फास्ट बलरलाई । हरेक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आफ्नो टीमलाई सहयोग पुग्ने गरेर पिचमा चलखेल गर्ने गरेको आरोप भारतमाथि लाग्दै आएको छ । सेमिफाइनलमा पूर्वनिर्धारित पिचलाई अन्तिम समयमा बदल्दा विवादसमेत भएको थियो ।
तर, फाइनल खेलको पिच चाहिँ अनपेक्षित रुपमा बलिङमैत्री देखियो । भारतले ‘अष्ट्रेलियालाई फँसाउने’ अभिष्टका साथ बलरमैत्री पीच छनोट गर्यो, जुन उसका लागि अन्ततः आत्मघाती सावित भएको छ ।
नरेन्द्र मोदी रंगशालाको पीच नम्बर ५ मा फाइनल म्याच खेलाइएको थियो । यो विश्वकपमा उक्त पिचमा एउटामात्र म्याच भएको छ, जुन भारत र पाकिस्तानबीचको थियो । भारतले पाकिस्तानलाई १९१ रनमा अलआउट गरेको थियो भने ३०।३ ओभरमा नै लक्ष्य भेट्टाएको थियो । फाइनलमा अष्ट्रेलियाविरुद्ध पनि यस्तै नतिजा दोहोर्याउन चाहन्थ्यो भारत ।
भारतले आफ्ना बलरहरु उच्च लयमा रहेकाले उनीहरुलाई सहयोग गर्ने खालको पीच तयार गरेको हो । मोहम्मद सामी प्रतियोगिताभरि घातक बलिङ गरिरहेका थिए । जसप्रित बुमराह जस्तोसुकै पिचमा पनि ब्याट्सम्यानलाई सताउने कठिन बलर हुन् । मोहम्मद सिराज बलिङ पिचमा निकै खतरनाक देखिने गर्छन् । यी तीन बलरको आक्रमणले बलियो ब्याटिङ पङ्क्तिलाई पनि तवाह बनाउन सक्छ ।
जसप्रित बुमराह र मोहम्मद सामी ।
भारतीय स्पीनरहरु पनि उत्तिकै अब्बल छन् । रवीन्द्र जडेजा र कुलदीप यादवको स्पिन जोडीले लामो समयदेखि भारतका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । यो विश्वकपमा पनि उनीहरुको प्रदर्शन उत्तिकै प्रभावशाली छ । यस हिसाबले भारतसँग ५ ‘ए’ क्लासका बलर छन् र बलिङमा कुनै कमजोर कडी छैन । भारतको ब्याटिङभन्दा बलिङ बढी भरपर्दो मानिएको थियो । त्यसैले भारतले फाइनलमा अष्ट्रेलियालाई बलिङबाटै घुँडा टेकाउने रणनीति लिएको हो ।
अष्ट्रेलियासँग तीन जना स्तरीय फास्ट बलर छन् । स्पिनतर्फ भने अष्ट्रेलिया केही कमजोर छ । एडम जाम्पाले विश्वकपमा दोस्रो सर्वाधिक विकेट लिए पनि उनको प्रदर्शनमा एकरुपता छैन । पाँचौं बलरका रुपमा ग्लेन म्याक्सवेल छन्, जो विशेषज्ञ स्पिनर होइनन् ।
फाइनलमा भारतले जे सोचेको थियो, उल्टो भयो । अष्ट्रेलियाले टस जितेर अनपेक्षित रुपमा बलिङ रोज्यो, जबकि यसअघि सबै म्याचमा टस जित्दा उसले ब्याटिङ रोज्ने गरेको थियो । अष्ट्रेलियन कप्तानको यो निर्णयले भारतको रणनीतिमा धक्का लाग्यो । पिचको पहिलो प्रयोग भारतीय बलरहरुले गर्न पाएनन् ।
भारतले ब्याटिङमा आक्रामक सुरुवात गरेको थियो । तर, जब रोहित शर्मा आउट भए, भारतको गति अवरुद्ध भयो । अन्य ब्याट्सम्यानहरुले अष्ट्रेलियन बलरहरुसँग खुलेर खेल्न सकेनन् । ३०० रन कटाउने लक्ष्य बोकेको भारत २४१ रनमा खुम्चियो ।
२। अलराउन्डरको कमी
विश्वकप फाइनलमा भारतलाई एकजना अलराउन्डरको कमी नमज्जाले खट्कियो । टीममा अलराउन्डरको भूमिका निभाइरहेका हार्दिक पाण्ड्या चोटका कारण विश्वकपबाट बाहिर भएका थिए । त्यसपछि उनको स्थान मोहम्मद सामीले लिए । सामीले सनसनीपूर्ण बलिङ गरे । तर, फाइनलमा भने फेल भए ।
भारतसँग ७ जनामात्रै ब्याट्सम्यान थिए । आठौं नम्बरदेखि चारजना विशुद्ध बलरहरु थिए । यसले गर्दा मध्यक्रमका ब्याट्सम्यानहरुले मनोवैज्ञानिक दबाब महसुस गरे । उनीहरुले आक्रामक भएर खेल्न सकेनन् । किनकि विकेट जसरी पनि जोगाउनु थियो ।
भारतको छैटौं विकेट गिर्दासम्म ९ ओभरको खेल बाँकी थियो । तर, क्रिजमा सूर्यकुमार यादवलाई साथ दिन अर्को ब्याट्सम्यान थिएन । आठौं नम्बरमा सामी आएका थिए, जसमाथि यादवले भर पर्न सक्थेनन् । अर्को इन्डमा प्रपर ब्याट्सम्यान नहुँदा यादवले पनि आफ्नो प्राकृतिक शैलीमा ब्याट चलाउन सकेनन् । उनी जोगिएर खेल्ने प्रयासमा लागे भने अर्को इन्डबाट पनि रन बनेन ।
ब्याटिङ लाइनअपमा लामो पुच्छर हुँदा भारतले धोका पायो । सम्भवतः एक मोहम्मद सिराजको स्थानमा रविचन्द्र अश्विनलाई खेलाइएको भए भारतको सन्तुलन मिल्न सक्थ्यो । अश्विन अलराउन्डरका रुपमा आठौं नम्बरमा उत्रिन सक्थे । तर, लगातार जितिरहेको टीममा कुनै पनि फेरबदल गर्न भारतले चाहेन ।
३। ब्याटिङ एप्रोच त्रुटिपूर्ण
विश्वकपका हरेकजसो म्याचहरुमा भारतीय ओपनरले उत्कृष्ट सुरुवात दिलाउँदै आएका थिए । रोहित शर्मा र शुभमन गिलको जोडीले ‘फ्लाइङ स्टार्ट’ लिएपछि विराट कोहलीलगायतले मध्यक्रममा लामो इनिङ खेल्दै टीमलाई विशाल योगफलतर्फ डोर्याउँथे । तर, फाइनलमा भने भारतको यो रणनीति फेल खायो ।
भारतले राम्रो सुरुवात गरेको हो । कप्तान रोहित शर्माले अरु खेलमा जस्तै विस्फोटक ब्याटिङ गरेका हुन् । तर, जब उनी आउट भए, खेलमा ट्विस्ट आयो । भारतको गति धिमा भयो । अनि, जब विराट कोहली ५४ रनमा आउट भए, भारतको ब्याटिङ नराम्ररी डग्मगायो । अन्य ब्याट्सम्यानहरुले आत्मविश्वास देखाउन सकेनन् ।
केएल राहुलले लामो इनिङ खेले । तर, उनको इनिङले भारतलाई भन्दा अष्ट्रेलियालाई बढी राहत मिलेको महसुस गर्न सकिन्थ्यो । उनको ब्याटिङमा कुनै पनि जोश थिएन । उनी केवल अन्तिमसम्म टिक्ने मनसायमा देखिए । उनले १०७ बल सामना गर्दा केवल एक चौका प्रहार गरे र ६६ रन बनाए । जबकि क्रिजमा सेट भइसकेको ब्याट्सम्यानलाई रन बटुल्न यो पिचमा त्यति कठिन थिएन भन्ने ट्राभिस हेडको इनिङले देखायो ।
विराट कोहली र केएल राहुल क्रिजमा हुँदासम्म भारतले २८।३ ओभरमा १४८ रन बनाएको थियो । त्यसपछि प्रतिओभर ७ को रेटमा रन बनेको भए ३०० को नजिक पुग्न सक्थ्यो । तर, भारतले २१।३ ओभरमा केवल ९० रन जोड्न सक्यो । अन्तिम १० ओभरमा ४३ रनमात्र आयो । रवीन्द्र जडेजाले २२ बल खेल्दा ९ रनमात्र बनाए भने सूर्यकुमार यादव जस्ता विस्फोटक ब्याट्सम्यानले २८ बलमा १८ रनमात्रै बटुल्न सके । सायद उनीहरु २५० रन कटाउन पाए जितिन्छ भन्ने मनोदशामा थिए । तर, त्यो पनि गर्न सकेनन् ।
भारतका बलरहरुलाई भने दोष लगाउने ठाउँ छैन । २४१ रनको सामान्य लक्ष्य जोगाउन उनीहरुले प्रयास गरेकै हुन् । अष्ट्रेलियाले ४७ रनमा ३ विकेट गुमाउँदा खेल भारतको पक्षमा मोडिनसक्ने अवस्था बनेको थियो । तर, ट्राभिस हेडले भारतलाई निराश बनाए । लाबुसाग्नेका रुपमा एउटा भरपर्दो पार्टनर उनले पाएका थिए । यो जोडीको पर्खाल तोड्न नसक्दा विश्वकप उपाधिमा ह्याट्रिक गर्ने भारतको सपना चकनाचुर भएको छ ।
प्रतिक्रिया दिनुहोस्