जिल्ला अदालत कास्कीले आइतबार सूर्यदर्शन सहकारीका अध्यक्ष तथा ‘ग्यालेक्सी फोर के’ टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु(जिबी) राईविरूद्ध ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएसगै अध्यक्ष राईसहित ६ जना फरार रहेका छन् । जीबी समूहको सूर्यदर्शन बचत तथा ऋण सहकारीविरुद्ध ९ सय ७१ बचतकर्ताहरूले आफ्नो १ अर्ब ३५ करोड बढी रूपैयाँ डुबेको भन्दै उजुरी दिएका थिए । बचतकर्ताको अर्बौं रकम हिनामिना र रकम फिर्ता नगरेको आरोपमा उनीहरूविरुद्ध कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।
नेपालमा सहकारी मार्फत ठगी गरेको पैसा उनीहरुले विभिन्न मुलुकमा नेचर हब मार्फत लगानी गरेर व्यक्तिगत फाइदा उठाएका थिए । रम्तेल गोरखा नेस्ट नामक नेटवर्किङ व्यावसायका समेत मालिक हुन् । तर यतिलेला ‘सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था’ मा बचत गरेको ३० लाख रुपैयाँ फिर्ता पाउन पोखराका किरण श्रेष्ठ संघर्षरत छन्। आफूजस्तै पीडितहरूलाई साथमा लिएर उनी कहिले काठमाडौं त कहिले पोखरामा आन्दोलन गर्छन्। पीडित व्यक्तिहरू आ–आफ्ना रोदनसहित सडकमा उत्रिए पनि जस्ताको तस्तै छ। सहकारीका सञ्चालकहरू बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रुपैयाँ अपचलन गरेर बेपत्ता छन्।बचतमा आकर्षक ब्याज दिने प्रलोभनमा सर्वसाधारण व्यक्तिहरूलाई सहकारी संस्थामा पैसा जम्मा गर्न लगाएर अपचल गरेका धेरै जसो सञ्चालकहरू पोखराका होइनन्।सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष तथा हालका संरक्षक गीतेन्द्रबाबु राई ९जिबी राई० ओखलढुंगाका हुन्। अर्का पूर्वअध्यक्ष भुपेन्द्र राई दार्चुलाका र हालका अध्यक्ष एवं व्यवस्थापक थानबहादुर बुढामगर बागलुङका हुन्।
कोषाध्यक्ष कुमार रम्तेल ललितपुरका र सञ्चालक हेमन्त थापा झापाका हुन्।सहकारीमा बचत गरेको सर्वसाधारणको रकम अपचलनमा कोषाध्यक्ष रम्तेलमात्र पक्राउ परेका छन्। बाँकी जिबी राई र पदाधिकारीसहित १८ जना फरार छन्, उनीहरूका नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। जिबी राई काठमाडौंबाट सञ्चालित ग्यालेक्सी टिभीका अध्यक्ष पनि हुन्।बचत गरेको रकम फिर्ता पाउन पीडितहरूले ‘सूर्यदर्शन सहकारी पीडित संघर्ष समिति’ गठन गरेका छन्। समितिका संयोजक श्रेष्ठका अनुसार उक्त समूहले सर्वसाधारणको रकम अपचलन गर्न देशका अनेक ठाउँमा सहकारी संस्था खोलेको छ। ‘झापादेखि धनगढीसम्म यो गिरोह सक्रिय छ। काठमाडौं, भरतपुर र अन्य ठाउँमा पनि सहकारी संस्था खोलेका छन्,’ उनले भने, ‘सर्वसाधारणको रकम अपचलन गर्न देशभर सहकारी संस्था खोलेको देखिन्छ।’सूर्यदर्शन सहकारीमा सञ्चालकसहित १९ जना दोषी देखिए पनि गिरोहको नेतृत्व जिबी राईले नै गरेको संयोजक श्रेष्ठको भनाइ छ।‘सहकारीमा संरक्षक बसेर जिबीले हालीमुहाली गर्ने, रकम अपचलन गर्ने र संस्थामा आफू अनुकूलका मान्छेमात्र राख्ने गरेको देखिएको छ,’ उनी भन्छन्।पोखरामा ठगी गरेको खुलासा भएपछि श्रेष्ठले जिबीको समूहले चलाएका अन्य सहकारीहरूको खोजी गरेका थिए। उनले एकै व्यक्ति तीन वटासम्म सहकारी संस्थामा सञ्चालक रहेको फेला पारे।
‘यहाँ (सूर्यदर्शनमा) कोषाध्यक्ष रहेको व्यक्ति अर्को ठाउँमा सदस्य छ। यहाँ सदस्य रहेको व्यक्ति अर्को ठाउँमा पदाधिकारी छ,’ उनले भने, ‘सहकारी कानुनविपरीत एकै व्यक्तिले देशभर धेरै वटा सहकारी चलाएको देखिन्छ।’सहकारी ऐन, २०७४ मा एकै व्यक्ति एकभन्दा बढी सहकारी संस्थाको सञ्चालक सदस्य बन्न नपाउने प्रावधान छ।श्रेष्ठका अनुसार सूर्यदर्शन सहकारीमा पैसा बचत गरेका धेरै बचतकर्ता अहिले तनावमा छन्। पैसा निकाल्न नपाउँदा कोही औषधि–उपचारमा जान पाएका छैनन् त कसैको घरमा कलह बढेको छ।‘पीडितका कहानी लेख्ने हो भने रामायण नै बन्छ, पीडा कति छ कति,’ उनी भन्छन्, ‘राम्रो सहकारी भनेर विश्वास गरियो। अहिले आएर नराम्रो गरी ठगिएको थाहा भयो।’२०७९ साउनमा काठमाडौंको ‘गौतमश्री सहकारी’ का बचतकर्ताहरूले आफ्नो बचत फिर्ता नपाएपछि सहकारी विभागले उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो। यस सहकारीमा ५ अर्ब रुपैयाँ जम्मा भएको थियो।
गौतमश्रीको घटनापछि अधिकांश सहकारी संस्थाका बचतकर्ताहरूले पैसा फिर्ता माग्न थालेका थिए। यसै क्रममा पोखराको सूर्यदर्शन सहकारीमा पनि बचत रकम अपचलन भएको थाहा भएको थियो।सूर्यदर्शन सहकारीका सञ्चालकहरूले कोभिड–१९ र आर्थिक संकटको बहाना बनाउँदै ‘एक महिनापछि’ भन्दै वचन दिँदै भुलाउन थाले।रकम फिर्ताका लागि कुरा गर्न झन्डै सय जना वचतकर्ताहरू संरक्षक जिबीराईलाई भेट्न काठमाडौं गए। उनीहरूलाई एकै ठाउँमा भेला गरेर जिबीले रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएर ‘कागज’ गरिदिए। कतिपयलाई देशका विभिन्न ठाउँमा जग्गा रहेको भन्दै आश्वासन दिए।‘अर्काको जग्गा देखाउँदै सहकारीका नाममा जग्गा किनेका छौँ भनेर हामीलाई ढाँटेका रहेछन्। कुरा बुझ्दै जाँदा ढाँटेको थाहा भयो,’ श्रेष्ठले भने।रकम फिर्ता नभएपछि पीडित बचतकर्ताहरूले पोखरा महानगरपालिका कार्यालय र जिल्ला प्रहरी कार्यालय, कास्कीमा निवेदन दिए। सोही निवेदनका आधारमा महानगरको सहकारी शाखाले छानविन गरी प्रतिवेदन प्रहरीलाई बुझायो।महानगरका सहकारी शाखा प्रमुख भरतराज पौडेलका अनुसार सूर्यदर्शन सहकारी संस्थामा १८ हजार ७०० बचतखाता छन्।
यी खातामा कुल १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रुपैयाँ जम्मा भएको देखिन्छ।बचत रकमबाट ४३३ वटा कर्जा खातामार्फत १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार रुपैयाँ ऋण लगानी गरेको देखिन्छ। पोखरा महानगरले सूर्यदर्शन सहकारीको सफ्टवेयर हेरेर उक्त विवरण संकलन गरेको थियो। सहकारी शाखाले प्रतिवेदन बुझाएपछि कास्की प्रहरीले एक महिना म्याद दिएर सूर्यदर्शन सहकारीका पीडितबाट उजुरी आह्वान गर्यो।उक्त आह्वानअनुसार १ हजार ३६ जनाले उजुरी गरेका छन्। प्रहरीका अनुसार उजुरीका आधारमा हेर्दा १ अर्ब ११ करोड रुपैयाँ अपचलन भएको देखिन्छ। कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार उजुरी आउने क्रम जारी छ।महानगर सहकारी शाखाले यति ठूलो रकम अपचलन गरेर सहकारीका सञ्चालकहरूले पैसा कहाँ लगानी भन्ने विस्तृत खोजी गरेको छैन। सहकारी संस्थामा फेला परेको रेकर्डअनुसार सञ्चालकहरूले केही रकम केही कम्पनीमा लगानी गरेको देखिएको छ।महानगर सहकारी समिति संयोजक रविरमण तिवारीका अनुसार लगानी गरेको देखएको कम्पनीका कार्यालय कतै पनि फेला परेको छैन।
कुनै कम्पनीका नाममा धितोबिना ऋण दिने र त्यसबाट अर्को र फेरि अर्को कम्पनीका नाममा सार्ने गरेको देखिएको छ।‘सहकारीको बचत रकम लगानीका नाममा अस्तित्वमै नभएका कम्पनीमा पुर्याएर त्यसबाट फेरि अर्को कम्पनी गर्दै अनेक कम्पनीमा रकम गएको देखिन्छ,’ तिवारीले भने, ‘यस्तो ऋण लगानीमा धितो राखेको देखिँदैन।’‘सूर्यदर्शन ब्रिज लोन’ का नाममा अस्तित्वमै नभएका २३ वटा कम्पनीमा ४५ करोड रुपैया लगानी गरेको देखिन्छ। धितो राखेको पनि देखिँदैन।छानविन प्रतिवेदनका अनुसार सूर्यदर्शन सहकारीले ‘अप्राकृतिक’ व्यक्तिसँग अस्वाभाविक कारोबार गरेको देखिएको छ। सहकारीका नाममा भवन किन्न ८ करोड ५० लाख रुपैयाँ लगानी गर्ने निर्णय भएको छ तर भवन देखिँदैन। सहकारीले किन्ने भनेको भवन पोखराका व्यवसायी शिवराज गुरुङ (महेन्द्र भोटे) का नाममा देखिन्छ।‘सहकारीको भवन किन्ने रकम महेन्द्र भोटेका नाममा गएको छ, भवन पनि उनैका नाममा देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सहकारीका नाममा कार्यालयमा भएका फर्निचर लगायत सामग्रीबाहेक अरू केही देखिँदैन।’सहकारी संस्थाले कार्यालयमा इन्टेरियर डिजाइनमा मात्र १ करोड रुपैयाँ खर्च देखाएको छ।सहकारीले लगानी गरेका कतिपय कर्जाको फाइल नभेटिएको महानगर सहकारी शाखा प्रमुख पौडेलले बताए।
उनका अनुसार कृत्रिम सदस्य खडा गरेर न्यूनतम प्रक्रियासमेत पूरा नगरी तमसुकबिनै कर्जा दिएको पाइएको छ। जिबी राई, हेमन्त थापा, महेन्द्र भोटे लगायतका व्यक्तिले पटक–पटकमा करोडौँ रुपैयाँ लगेको देखिन्छ। त्यसको धितो र कर्जाको प्रयोजन फेला परेको छैन। पोखरामा अस्तित्व नदेखिएका ‘नेचर नेक्स्ट’, ‘नेचर अब्र्स’, ‘स्प्रिङ वुड रियल स्टेट एन्ड हाउजिङ प्रालि’ लगायतका कम्पनीका नाममा पटक–पटक गरेर करोडौँ रुपैयाँ कर्जा गएको देखिन्छ।प्रतिवेदनमा उल्लेख भएअनुसार उक्त कम्पनीका खातामा पैसा पठाउने, त्यसबाट फेरि अर्कोमा र अझै अर्कोमा पनि पठाएर रकम अपचलन गर्ने गरेको फेला परेको छ। ‘गोरखा मिडिया नेटवर्क’ का नाममा धितोबिना एकपटक १ करोड, अर्को पटक १ करोड ३० लाख ८९ हजार रुपैयाँ ऋण दिएको देखिएको छ। ऋण दिने प्रक्रिया नपुगेको कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ।
सहकारीबाट सञ्चालकहरूले पेस्की लिएको पनि देखिएको छ। पूर्वअध्यक्ष एवं संरक्षक जिबी राईले पेस्कीका नाममा एकपटक १ करोड ३० लाख ६२ हजार र अर्को एकपटक २ करोड ८९ लाख १८ हजार रुपैयाँ लिएको देखिन्छ। पेस्कीको प्रयोजन खुलेको छैन।
कानुन विपरीत अन्तरसहकारी लगानी गरेको पनि भेटिएको छ। जिबी राईकै समूहले चितवनमा खोलेको ‘सहारा बचत तथा ऋण सहकारी संस्था’ लाई ६० लाख ५० हजार ३००, सुप्रिम बचत तथा ऋण सहकारीलाई ४६ लाख ५० हजार, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीलाई ८४ लाख ३१ हजार ११२ रुपैयाँ ऋण दिएको देखिएको छ।
नेपालगञ्जको ‘समानता बचत तथा ऋण सहकारी संस्था’ लाई ५ लाख, वीरगञ्जको ‘सानो पाइला बचत तथा ऋण सहकारी’ लाई १ करोड १८ लाख ९३ हजार ९३६, भैरहवाको ‘सुप्रिम बचत तथा ऋण सहकारी’ लाई २ लाख ५५ हजार ५००, जितपुरको ‘सुप्रिम बचत तथा ऋण सहकारी’ लाई १ लाख ७४१ रुपैयाँ ऋण दिएको देखिन्छ।
काठमाडौं महाराजगञ्जको ‘स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी’ लाई १ लाख ३३ हजार, काठमाडौंकै न्युरोडको ‘स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी’ लाई २० लाख ७५ हजार ६९० रुपैयाँ ऋण दिएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ।
नियामक निकाय सहकारी विभागले अनेक निर्देशन दिने तर अनुगमन नगर्ने भएकाले सहकारी संस्थाका सञ्चालकहरू बेइमान भएको पीडितहरूको गुनासो छ।सहकारी पीडित संघर्ष समितिका संयोजक श्रेष्ठले भने, ‘नियमन गर्ने निकायले राम्रो काम गरेको भए हाम्रो यति धेरै पैसा डुब्ने थिएन।’
यति ठूलो रकम अपचलन गरेर फरार भएका सञ्चालकहरूलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीले गत भदौ २४ गते पक्राउ पुर्जी जारी गरेको थियो। उनीहरू विरुद्ध बिगो, बिगो अनुसारको जरिवाना र ८ देखि १० वर्ष कैद सजाय माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा असोज १९ गते मुद्दा दर्ता गराएको छ।
प्रतिक्रिया दिनुहोस्