तत्कालीन नेकपा माओवादीले आजभन्दा २३ वर्ष अगाडि अर्थात् २०५२ साल फागुन १ गते जनयुद्धको शंखघोष गरेको थियो । जसको नारा थियो “प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं ” उक्त नारालाई मुल मन्त्र बनाई जनयुद्धको शुरुवात गरिएको थियो । रोल्पाको होलेरी, रुकुमको आठविसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका तत्कालिन राज्य सत्ताका बरबरदमन गर्ने चौकीहरु र गोरखाको च्याङलीमा रहेको कृषि विकास बैंक कब्जा गरेर सुरुवात गरिएको थियो जनयुद्ध । नेपाली जनयुद्धले दशवर्षमा नेपाली समाजमा युगान्तकारी उथलपुथल ल्याइदियो । साँच्चै जनयुद्धका ती दशवर्ष नेपाली समाजका तीव्र रुपान्तरणकारी वर्षहरु थिए । युगौदेखिको सामन्ती समाजलाई जरैदेखि हल्लाइदिएको थियोे जनयुद्धले ।
साम्राज्यवादीहरुले संसारभरि ‘विचारको अन्त्य’, ‘इतिहासको अन्त्य’ भएको व्यापक दुस्प्रचार तथा ‘भूमण्डलीकरण’, ‘उत्तर आधुनिकतावाद’ को दवदवा भइरहेको बेलामा नेपालजस्तो सानो देशमा जनयुद्ध सुरु गर्ने र यसलाई निरन्तरतामा विकास गरेर जनयुद्धलाइ अगाडि बढाउनु सामान्य कुरा थिएन । विश्वभरि क्रान्तिकारी कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको बेला नेपालमा भएको त्यो विद्रोहले संसारभरका श्रमजीवि शोषित–पीडितहरुलाई उत्साहित र उत्प्रेरित गरेको थियो ।
महान युद्धमा होमिएका हजारौंको योद्धाको शहादत, घाइते, बेपत्ता र कष्टपूर्ण जेलनेलको मूल्य चुक्ता गर्न तयार रहदै महान योद्धाहरुले बगाएको रगत, आँसु र पसिनाको तागतमा तत्कालीन माओवादी जनयुद्ध रणनीतिक रक्षा, रणनीतिक सन्तुलन हुँदै रणनीतिक प्रत्याक्रमणको दोस्रो योजनाको कार्यान्वयनको चरणसम्म पुगेको थियो । प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ फौजी रणनितीका साथ माओवादी जनयुद्ध अगाडि बढेको थियो । प्रत्याक्रमणको दोश्रो योजनाको प्रारम्भिक चरणमा काठमाडौं उपत्यकाको थानकोट, दधिकोट, पाल्पाको सदरमुकाम तानसेन, सुनवल, धनगढी, नेपालगञ्ज लगायतका मोर्चामा माओवादीले आफ्नो यात्रामा विजय हासिल गरेको थियो ।
२०५७ साल पुस ५ गते पहिलो रुकुम जिल्ला जनसरकारको औपचारिक घोषणा गरेर प्रारम्भ गरेको जनसत्ताको अभ्यास दुई तिहाइभन्दा बढी जिल्ला र देशभरि आठ वटा जातीय\क्षेत्रीय सरकार समेत संचालनमा ल्याएको थियो । मगरात, थारुवान, मधेशी, तमु, तामाङ, भेरी कर्णाली, सेती महाकाली, किरात जनसरकारहरु र केन्द्रमा संयुक्त क्रान्तिकारी जनपरिषद् जनसरकारका संरचना थिए । उक्त सरकारको रक्षार्थ र केन्द्रीय सत्ता कब्जा गर्नै उदेश्यले तत्कालीन माओवादीले सात डिभिजनसम्मको सेना निर्माण गरि सकेको थियो ।
२०५८ सालसम्म माओवादीले देशमा वलियो मानिएको प्रहरीलाई पराजित गरिसकेका थिए ।
त्यसपछि माओवादीलाई दवाउन सेनाको प्रयोग कसले गर्ने भन्ने विवादका कारण गिरिजाप्रसाद कोइरालाले पदबाट राजीनामा दिए । दाङमा सैनिक व्यारेक कब्जा गरेपछि जनयुद्धले निर्णायक मोड लियो । त्यसपछि तीन महिनामा नै माओवादीलाई सिध्याउने घोषणा माओवादी विरुद्ध सेना परिचालन गरियो । माओवादीविरुद्ध तत्कालिन शाही सेना प्रयोग गर्ने कुराको विरोधमा खासगरी तत्कालीन एकता केन्द्र र नेमकिपा मात्र थिए ।
जति नै दमन गरे पनि माओवादीको विस्तार नघटेपछि राष्ट्रिय–अन्तराष्ट्रिय क्षेत्रमा मत विभाजन भयो । तत्कालीन राज ज्ञानेन्द्र हाल देशका प्रधानमन्त्रि शेरबहादुर देउवामार्फत् माओवादीविरुद्ध खनिए । माओवादीसँग लड्न संकटकाल थप्ने कि नथप्ने विवादमा संसद विघटन र कांग्रेसमा विभाजनसम्म भयो । गिरिजाप्रसाद कोइराला त्यतिबेलासम्म माओवादीलाई समेत समेट्ने गरी राज्यको पुनर्संरचना गर्नुपर्छ भन्ने मत राख्ने अवस्थामा पुगिसकेका थिए ।
वीरेन्द्रको बंशनासपछि राजा बनेका ज्ञानेन्द्रले गिरिजाको प्रस्तावलाई तुहाउन कांग्रेसकै अर्का नेता शेरबहादुरलाई काखी च्यापेर संसद विघटन गरी संकटकाल लगाए । देउवाले संसद विघटन गरेर घोषणा गरेको चुनाव माओवादीको एकपछि अर्को फौजी सफलताका कारण संभव थिएन, त्यसैले देउवा सरकारले चुनाव पछि सार्ने सोंच बनायो । ज्ञानेन्द्रले चुनाव गराउन नसकेको निहुँमा २०५९ साल असोज १८ गते देउवाको सरकारलाई हटाए । उनको ठाउँमा पूर्व पञ्च लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापालाई ल्याएर नयाँ प्रयोग गरे र पछि उनैलाई सरकारको नेतृत्व दिए । तीनले पनि चुनाव गराउन नसकेपछि ‘माघ १९ मा घोर प्रतिगामी कदम चाल्न पुगे । अन्ततः त्यही नै उनको पतनको देखिने कारण बन्यो ।
माओवादीले दश वर्षको लडाईंले गणतन्त्रात्मक चेतनालाई देशभरि जबर्जस्त स्थापित ग¥यो । सामन्ती रुढिवादी संस्कृति, जमिन्दारी प्रथा, ठालु मुखिया प्रथा, जरैदेखि उखेलिन सुरु गरेका थिए । जुवातास, रक्सी जस्ता विकृतिजन्य कुराहरु हटेर गएका थिए । घरबाट असुरक्षित हुने डरले ननिस्कने र अवला भनेर हेपिने महिलाहरु जनसेना, पार्टीमा झण्डै ४० प्रतिशतको हाराहारीमा सहभागी थिए र जनसत्ता, उद्योगहरुमा ५० प्रतिशत भन्दा बढी संख्यामा संलग्न थिए । समाजमा घृणित छुवाछुत प्रथा नष्ट हुँदै गएका थिए । सबै उत्पीडित र उपेक्षित जनताले वास्तविक मुक्तिको अनुभूत गरेका थिए । जनयुद्धको क्रममा नयाँ जनसंस्कृतिको जग बसाल्ने कोशिसहरु भएका थिए । तर जनयुद्धको नेतृत्व गरिरहेको तत्कालीन माओवादी नेतृत्वले चर्चित चुनुवाङ बैठकपछि लिएको ‘लोकतान्त्रिक गणतन्त्र’को कार्यनीतिपछि जनयुद्धले फरक मोड र बाटो समात्न पुग्यो । जनयुद्ध दश वर्षको पूर्वसन्ध्यामा माओवादी–संसदवादीबीचको १२ बुँदे समझदारी र माओवादीका तर्फबाट एकतर्फी युद्धविरामले तत्कालीन शाही सत्ताविरुद्ध नयाँ ढंगको समीकरण बनेको थियो ।
त्यसैको जगमा ०६२\०६३ को १९ दिने सडक आन्दोलन सम्भव भएको थियो । बाह्र बुदेँ सम्झौतामै टेकेर अढाईसय वर्षदेखिको सामतन्ती एकात्मक राजतन्त्रात्मक व्यवस्थालाई समाप्त पार्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भयो । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने घोषणा गरियो । राज्यसत्तामा पूर्ण समावेशी समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाइयो । त्यहाँसम्म आइपुग्दा माओवादी आन्दोलनले दशवर्षको जनयुद्धमा प्राप्त उल्लेखित महान उपलब्धिहरु आधार इलाका, स्थानीय सत्ता, जनमुक्ति सेना, जनकम्युन, जनसंस्कृति सबै गुमाउने स्थिति बन्यो र ०६३ मंसिर ५ मा भएको विस्तृत शान्तिसम्झौतासँगै जनयुद्धको अन्त्य गरियो र जनयुद्धको बलमा आर्जित माओवादी आन्दोलनको शक्ति संचित गर्न सकने माओवादी आन्दोलनको शक्तिमा क्षयीकरण बढ्यो र शान्तिप्रक्रियाको पछिल्लो दशकमा माओवादी टुटफुट, विभाजन र तितरबितर बन्न पुग्यो । प्रतिक्रान्ति हावी भयो । माओवादी आन्दोलन पूरै रक्षात्मक स्थितितर्फ धकेलियो । आज जनयुद्धको तयारीको क्रममा सँगै मनाङका गणेश गुरुङकोमा हतियार किन्न गएका प्रचण्ड, बादल र देव गुरुङहरु अहिले एउटै पार्टीमा छन् ।
२०४५ सालमा पार्टीका सैन्य दस्तावेज, एउटा पेस्तोल जुन लेखराज भट्टले पार्टीलाई उपलब्ध गराएका थिए र १० लोला जिलेटिन शरीरमा लुकाएर गोरखा जाँदै गर्दा मुग्लीनको पुल तरेपछि तनहुँको डिएसपी र सिडिओद्वारा भएको खानतलासीमा बलबल बाँचेका प्रचण्ड र बादलहरु दुई पटक को संविधान सभाको निर्वाचन बाट नेपालको संविधान २०७२ दिन सफल’ सफल भए तर । माओवादी आन्दोलनका दाशनिक तथा सौन्दय चिन्तक मोहन वैद्य किरण र सिर्जनशिल माक्र्सवादको कुरा गर्ने बाबुराम भट्टराईहरु पनि उत्तर दक्षिणतिर फर्केका छन् । माओवादी आन्दोलनका प्रभावशाली युवा नेता भनिने नेत्रविक्रम चन्द विप्लव फरक फरक बाटो हिडिरहेका छन् ।
हिजो प्रतिक्रियावादीहरु कागजी बाघ हुन भन्ने यी नेताहरुले शान्तिप्रक्रियाको १३ प्रतिक्रियावादीहरुसँग राम्रै संगत गरेका छन् । त्यो संगत र अनुभवलाई युद्ध र शान्तिकालका दुईदशकको निर्मम समीक्षा गर्दै दशवर्षे जनयुद्धको जगमा नेपाली जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्नुपर्ने देखिन्छ । पछिल्लो समय नेपाली राजनीतिमा देखा परेको नया मोडले वर्षौ देखीको नेपाली जनताको चाहानलाई पुरागर्ने संकेत गरि रहेको छ । एमाले र माओवादी दुवै पार्टी माक्र्सवादी लेनिनवादी विचार मान्ने कम्युनिस्ट पार्टी हुन् ।
दुवैको सिद्धान्त माक्र्सवाद लेनिनवाद हो । यसका साथै एमालेको सिद्धान्त माओवीचारधारा पनि हो इतिहासलाई फर्केर हेर्ने हो भने । माओवादी सशस्त्र युद्धबाट आएको पार्टी हो यसले युद्ध र शन्तिप्रक्रियाबाट एउटा आधार बनायो । एमाले पनि ०२८ सालको झापा सशस्त्र संघर्षबाट जन्म भएको पार्टी हो । दुई पार्टी सशस्त्र संघर्षबाट जन्मभई शान्तिपूर्ण राजनीतिमा आएका कारण पनि यी दुईमा समानताहरू छन् । दुई पार्टी सशस्त्र संघर्षबाट शान्तिपूर्ण संघर्ष हुँदै प्रतिस्पर्धात्मक व्यवस्थामा आइपुगेको छ । यसका कारण दुई पार्टीका इतिहास एकै प्रकारबाट सुरु हुँदै यहाँसम्म आएको छ । त्यसले पनि यिनीहरूको मिलन विन्दु स्वभाविक छ ।
यसमा अस्वभाविक मान्नु पर्दैन । इतिहास आजको मात्र होइन हिजोका पनि हेर्नुपर्छ । त्यस्तै अब गणतन्त्रलाई संस्थागत गर्ने, वाम गठबन्धनको जनमतलाई बचाएर देशलाई समृद्धितिर लैजाने सवालमा नेपाली कांग्रेस फेल भएको र यी दुई पार्टी प्रगतिशील भएका कारण मुलुकलाई प्रगतिको बाटोमा लैजान पनि दुई पार्टीका बीचमा एकता गर्ने कुरा प्रगतिशील कदम हो । यो नेपालको वर्तमान राजनीतिक परिस्थिति र जनताका भावनाअनुसार सही छ । यसका विरुद्धमा जानु भनेको जनतको जनमतका विरुद्धमा जानु र नेपालको प्रगति र समृद्धि नचाहनु पनि हुनेछ । त्यसैले छिटो निकर्षमा पु¥याउदै देश र जनताका पक्षमा कामगर्न सक्ने वातावरण बन्दै पाँच वर्ष स्थायी सरकारको जग वस्न पाओस देश विकास तर्फ अगाडी बढ्न सकोस र नेपाली जनताले विकासको अनुभुति गर्न पाउन विगतका घटनाहरुबाट पाठ सिक्दै नेपाली इतिहासमा दुई पार्टी विचको एकता साच्चिकै २१ शाताब्दीको देश बनाउन सके मात्र जनताले दिएको जनमतको कदर हुने छ ।
प्रतिक्रिया दिनुहोस्