एबीसी टिप्पणी :
इस्वी संवत नयाँ वर्ष (जनवरी १)
हरेक बर्ष जनवरी १ लाई नयॉ वर्ष को चलन पोप ग्रगोरीले सन् इस्वी संवतलाई प्रचलनमा ल्याएका हुन्। त्यसअघि शासक जुलियस सिजरले प्रचलनमा ल्याएकाले पात्रो प्रचलनमा थियो। इसाई धर्मका प्रवर्तक जिसस् क्राइष्टलाई फाँसी दिएपछि यशुको नामबाट इस्वी सन् भनिएको हो। संसारमा अधिकांश मुलुकमा यही सम्वत प्रचलनमा रहेकाले जनवरी १ लाई विश्वभर नै नयाँ वर्षका रुपमा मनाउने गरिन्छ।
नेपालमा पनि इस्वी संवतको नयाँ वर्ष अर्थात जनवरी १ तारिखमा पनि नयाँ वर्ष मनाउने प्रचलन बढेको छ। पर्यटकहरु नयाँ वर्ष जनवरी १ मा नयाँ वर्ष मनाउन नेपाल नआए पनि नेपालमा भएका विदेशीहरुले यसलाई आफ्नो नयां वर्षका रुपमा मनाउंछन् । यो विशेषगरी पर्यटन क्षेत्रमा बढी महत्व रहेको सम्वत हो । यो विश्वव्यापी क्यालेन्डर हो । नेपालका छिमेकीहरु भारत, चीन, श्रीलंका, पाकिस्तान, भुटान, मालदिभ्स, बंगलादेश म्यानमार देखि संसारभर नै यही इस्वी सम्वत ती देशहरुको औपचारिक सम्वत हो। अहिले संसारभर यही ग्रगोरीयन क्यालेण्डरबाट नै सवै खालको सरकारी कामकाज हुने गरेको छ । तर नेपालले भने विदेश सम्वन्धमा इस्वी सम्वत र देशभित्र विक्रमसम्वत चलाइरहेको दुविधामा छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याए पनि रसियाले भने दुई सय वर्षपछि मात्र इस्वी सम्वतलाई मानेको विश्वसास गरिन्छ ।
शुरुताका यो सम्विवता बारेमा विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् प्रचलनमा आएको थियो भने हाल यसको विश्वव्यापी प्रचार छ। केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ।
विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’का नाममा यो संवत् मनाइन्छ।
नयां वर्ष मनाउने चलन
रोमन सम्राट जुलियस सिजरले इशापूर्व ४५ मा एउटा नयाँ पात्रोको सुरुवात गरे । उक्त पात्रोलाई जुलियन क्यालेन्डर भनियो । त्यही बेला विश्वमा पहिलोपटक १ जनवरीलाई नयाँ वर्षको पहिलो दिनको रुपमा मानिएको थियो ।
तर अर्को रोचक कुरा के भने जुलियन क्यालेन्डरले इशापूर्व ४७१३ को जनवरी १ लाई आफ्नो पात्रोको पहिलो दिन मानेको थियो । यस अनुसार हालको अंग्रेजी नयाँ वर्षको सुरुवात ६ हजार ७ सय ३२ वर्ष पहिले भएको अन्तराष्ट्रिय सञ्चामाध्यमहरुले तथ्यसहित उल्लेख गरेका छन् । त्यस यता अहिलेसम्मै अंग्रेजी क्यालेन्डरमा नयाँ वर्षको रुपमा जनवरी १ लाई मानिँदै आएको हो ।
जुलियस सिजरले नै वर्षमा १२ महिना र ३ सय ६५ दिन हुने प्रचलन बसालेका हुन् । जुलियन क्यालेन्डर झण्डै १६ सय वर्षसम्म प्रचलनमा रह्यो । त्यसपछि जुलियन क्यालेन्डरको ठाउँमा ग्रेगोरियन क्यालेन्डर प्रचलनमा आयो । जसलाई पोप ग्रेगरी प्रचलनमा ल्याए । जुन अहिलेसम्मै प्रचलनमा रहेको छ ।
हाल विश्वका दुई सय सार्वभौम देशहरुमध्ये १९५ देशले यही इस्वीसम्वत मान्दछन् भने इथियोपिया (इथियोपियन क्यालेन्डर), नेपाल (विक्रम संवत ), इरान र अफगानिस्तान (सौर हिजरी) सम्वतलाई आ–आफ्नै राष्ट्रिय र औपचारिक सम्वत बनाएका छन् । रोचक के छ भने रसियाले सन् १९१८ देखि, चीनले सन यात्सेनको क्रान्तिपछि सन् १९१२ देखि इस्वी सम्वतलाई आफ्नो औपचारिक सम्वत बनाएका थिए ।
आवश्यकता
विक्रम सम्वत्लाई हटाएर यदि इस्वी सम्वत् लागू भयो भने दशैं–तिहारजस्ता चाडपर्व मात्र नभएर बुद्धजयन्ती, थारू जातिले मान्दै आएको माघी (माघ १ गते), गुरुङ समुदायले मान्दै आएको ल्होसार, राई जातिको उँधौली–उँभौलीलगायतका सबै प्रकारका संस्कृति स्वतः सङ्कटमा पर्छन् भन्दै हौवा पिट्छन् पुरातनपन्थीहरुले । स्मरणीय के छ भने नेपालले मनाउने नयाँ वर्ष बैशाख १ लाई भारतमा बैशाखी पर्वका रुपमा अहिले पनि मनाउंदै आएका छन् । त्यहां इस्वीले केही फरक परेको छैन ।
कतिपयले इस्वी ससम्वत चलाउने हो भने आइतबारदेखि शनिबारसम्मका प्रचलनमा रहेका बारहरू विक्रमादित्यका पालामा नै राखिएका हुन्, तिनलाई के गर्ने ? कुन नामका बारहरू प्रचलनमा ल्याउने ? भन्दै कुतर्क गरेका छन् । यी बार त हामीले उहिल्यैदेखि अंग्रेजी नामसंग तालमेल मिलाई सकेका छौं नै ।
नेपालका खोजकर्ता एवं इतिहासविद् शंकरमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालका अभिलेखमा उल्लेखित संवत्लाई विक्रम संवत् हुन् भनेका छन् । जयस्थिति मल्लका पालाको सुर्णपत्रमा ‘विक्रम राजवर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु’ उल्लेख छ । मोरङ्का राजा हरिशचन्द्र सेन र वृष सेनको स्याहामोहरमा विक्रम संवत् १७१९ पौष वदी ४, मकवानपुरका राजा मानिक सेनले १७८४ कार्तिक शुदी ७, विजैपुरमा बुद्धिकर्ण राईले विक्रम संवत् १८२४ नेपाली भाषामा लेखेका प्रमाण उपलब्ध रहेको इतिहासविद् राजवंशीले पुरातत्व संग्रह (२०१८) मा प्रकाशन गरेका छन् । यही कुरालाई अघि सरेर नेपालका राजा महराजाहरुले त्यसमा पनि चन्द्र शमशेर राणाजस्तो ले शुरु गरेको सम्वतलाई नै मानिरहनु पर्दछ भन्ने तर्क गर्छन् ।
भूमण्डलीकरण र सूचना प्रविधिको विकासले विश्वलाई अन्योन्याश्रित रुपमा बांधेको छ । एउटा व्यक्ति देखि राज्यसम्म दुनियासंग कारोवार नगरीकन सखै छैन् । संसारभर इस्वी सम्वत चलेको छ । तर नेपालमा विक्रम सम्वत । जे काम गर्दा पनि या त हामीलाई मिति परिवर्तन सफ्टवेयर चाहियो वा औंला भाँचेर गन्नु पर्ने वाध्यता छ । यसले नेपाललाई अलगावमा राखेको छ । यो तथ्यलाई विचार गर्नु पर्ने आवश्यकता छ ।
फेरि पनि नेपालका परम्परागत इतिहासविद्हरु उही तर्क गर्छन् –‘भारतीय इतिहासकारहरू पं. भगवानलाल इन्द्रजी, कलकत्ता विश्वविद्यालयका इतिहासका प्राध्यायक राधागोविन्द बासव लगायतले विक्रम संवत्को विकास नेपालमा भएको र मानदेव प्रथमका समयमा उल्लेखित अभिलेखहरू सबै विक्रम संवत् हुने’ भनेर लेखिदिएको हुनाले यो नेपालको मौलिक र सवैभन्दा पुरानो सम्वत भनेर मानिरहनु पर्दछ भन्ने तर्कको कुनै अर्थ छैन ।
नेपालमा प्रारम्भिक कालदेखि किराँत कालसम्म कुन संवत् प्रचलनमा थियो भन्ने कुनै प्रमाण भेटिंदैन । लिच्छविकालमा नेपालमा भारतमा शक बंशीय राजाहरुले चलाएको र भारतमा प्रचलनमा रहेको शक संवत् प्रचलित थियो । शक संवत् भारतको राष्ट्रिय संवत् हो । शाक संवतलाई सालिवाहनीय संवत् पनि भनिन्छ । यो संवत् ६०५ बर्षसम्म चलेको देखिन्छ । यो संवतलाई मानदेव संवतले बिस्थापित गरे । लिच्छवि कालमा राजा अंशुबर्माले राजा मानदेवको संझनामा मानदेव संवत् चलाएका थिए । लिच्छविकाल कै अर्का राजा राघवदेवले नेपालमा नेपालको मौलिक संवत् नेपाल संवत् चलाएका थिए । यो संवत् पृथ्वीनारायण शाहले कान्तिपुरमाथि बिजय गर्दासम्म राष्ट्रिय संवतका रुपमा चलेको मानिन्छ । पृथ्वीनारायण शाहले काठमाडौ उपत्यका बिजय गरेपछि उनले शक संवतलाई पुन प्रचलनमा ल्याएका थिए ।
काभ्रेपलान्चोक जिल्लाको नालामा उत्तरापुर राज्यको नाउँमा विक्रमादित्य राजाले राज्य गरेको भन्ने किंवदन्ती छ । तर, नेपालमा यो नामका कुनै राजा भएको ऐतिहासिक तथ्य र विवरण अहिलेसम्म उपलब्ध भएको छैन।
भक्तपुरको साँखुमा रहेको बज्रयोगिनी मन्दिर परिसरको केही माथि विक्रमादित्य राजाको टाउकाको पूजा युगौंदेखि बज्राचार्य वंशका पुजारीले गरिआएका छन् । यो ठाउँलाई पनि विक्रमादित्य राजाले राज्य गरेको ठाउँ मानिन्छ । यी राजाले नेपाल राज्यको विस्तार गर्दै कासीसम्म पुर्याएका थिए । राज्य बिस्तार गरेर कासी पुगेपछि कासीमा विश्वनाथको मन्दिर स्थापना गरेका थिए भन्ने कुरा स्कन्द पुराणको हिमवत्खण्ड पुस्तकमा उल्लेख छ भन्ने कतिपयको दावी छ ।पहिले भारतमा ‘संवत्’को नामबाट मात्रै प्रचलित यो संवतमा पछि विक्रम नाम जोडिएको पाइन्छ।
‘तत्कालीन नेपाल (काठमाडौं उपत्यका) लगायत केही भू–क्षेत्रमा अन्य संवतहरूको साथमा यदाकदा प्रचलनमा आउने विक्रम संवतको प्रचलन चन्द्रशमशेरले वि.सं. १९६० देखि कडाइका साथ लागू गरेका थिए। के कारणले विक्रम संवतलाई नेपालमा यति महत्व दिइयो भन्ने थाहा नभए पनि यसलाई नेपालकै हो भन्ने देखाउन नाम फेरेर ‘नेपाल संवत्’ बनाई गोरखापत्रमा छपाएको पनि पाइयो'(बसन्त महर्जन, २२ कात्तिक २०७५ हिमालखबरपत्रिका)।
‘राष्ट्रिय धर्मसभाका अध्यक्ष प्रा.माधवप्रसाद भट्टराई भन्छन्– ‘विक्रम संवत् नेपालको उपज तथा युगौँदेखि चल्दै आएको मौलिक संवत् हो’भनेका छन् । मोरङका राजा हरिश्चन्द्र सेन र वृष सेनको स्याहामोहरमा विक्रम संवत् १७१९ पौष वदी ४, मकवानपुरका राजा मानिक सेनले विक्रम संवत् १७८४ कार्तिक शुदी ७, बिजैपुरमा बुद्धिकर्ण राईले विक्रम संवत् १८२४ नेपाली भाषामा लेखिएका कैयौँ प्रमाण इतिहासविद् राजवंशीले पुरातत्व संग्रह (२०१८)मा प्रस्तुत गरेका छन्'(दीर्घराज प्रसाई, १ बैशाख २०७६ नागरिक दैनिक) ।
‘किराँत शासन कालमा नेपालमा कुन संवत् प्रचलनमा थियो भन्ने कुरा अहिलेसम्म ज्ञात हुन सकेको छैन । त्यसपछिको लिच्छवी शासनकालमा भारतका शकवंशीय शासकहरुको नामबाट चलाइएको ‘शक संवत्’ प्रचलनमा आएको देखिन्छ जसको प्रयोग ५२७ वर्ष (ई.सं. ६०५) सम्म रह्यो । ‘शक संवत्’ भारतको राष्ट्रिय संवत् पनि हो । त्यसपछि राजा अंशुवर्माले राजा मानदेव द्वितीयको नाममा ‘मानदेव संवत्’ चलाए जुन २७६ वर्ष (ई.सं. ८८१) सम्म औपचारिक प्रचलनमा रह्यो । त्यसपछि लिच्छवी राजा राघवदेवले ‘नेपाल संवत्’ चलाए । यो ८८८ वर्ष (ई.सं. १७६९ सम्म) सम्म अविछिन्न रुपमा औपचारिक प्रचलनमा रह्यो । ने.सं. ८८८ अर्थात वि.सं. १८२५ ई.सं.१७६९ मा काठमाडौंमाथि विजय प्राप्त गरेपछि राजा पृथ्वीनारायण शाहले शक सम्वत्लाई पुनः प्रचलनमा ल्याए जुन १३२ वर्ष (ई.सं. १९०१) सम्म कायम रह्यो । त्यसपछि राणा प्रधानमन्त्री चन्द्र शमशेरले भारतीय उपमहाद्वीपका एकजना रजौटा बिक्रमादित्यको नाममा चलाइएको ‘बिक्रम संवत्’ सन् १९०१ मा एकैपटक वि.सं. १९५८ को अवस्थामा औपचारिक प्रचलनमा ल्याए, जुन कयौं राजनीतिक प्रणालीको परिवर्तनको वावजुद आजसम्म राजकीय तहमा कायमै छ । यसर्थ, नेपालमा सरकारी मान्यताबाट विक्रम सम्वत् नेपालमा प्रचलनमा आएको १२२ वर्षमात्र भएको छ'(दिपेन्द्र श्रेष्ठ, कान्तिपुर, २७ कात्तिक २०८०) ।
तर पनि धेरैजसो सन्धिसंझौताहरुमा र इतिहासका सामग्रीहरुमा ईसवी संवत् उल्लेख पाइन्छ । देशको नामबाट नामकरण भएको नेपाल संवत् मात्रै नेपालको मौलिक संवत् नभएर मानदेव संवतलगायत अन्य केही संवतहरू प्रचलनमा रहेको ऐतिहासिक स्रोतहरूमा पाइन्छन् ।
पूर्वीय परम्परामा वैदिककालदेखि तिथिको आधारमा चल्दै आएको संवतलाई राजा विक्रमादित्यको समयदेखि राष्ट्रिय संवतका रुपमा चलाएको विश्वास गरिन्छ । तिथिको आधारमा विक्रम संवत् चल्दै आएकोमा तिथिहरू थपघट भइरहने हुनाले शासन व्यवस्थामा धेरै अप्ठ्यारो भएको हुँदा ज्योतिषहरूको सल्लाह र सुझावमा सजिलोका लागि राणा प्रधानमन्त्री चन्द्रशमशेरले तिथीको बदला गतेमा लेख्ने चलन चलाएका हुन् । नेपालमा चलेका नेपाल सम्बत र शक सम्बतहरू अध्यावधि तिथिको आधारमा मात्र चलेका छन् । विक्रम सम्बत १९६१ सालदेखिको मेष संक्रान्तिलाई वैशाख १ गते मानी त्यसैको आधारमा १२ महिनाका दिनहरू निर्धारण गरिएका हुन् ।
नेपलाका विभिन्न जात जाति र समुदाय विशेषले आआफ्नै सम्वतहरु मनाउने गर्दछन् । प्रचलनमा नेपालमा विक्रम सम्वत र अन्तराष्ट्रिय सम्वन्धका लागि इस्वी सम्वत प्रचलनमा छन् ।
नेपालका मगर, नेवार, थारु, किराँत, तामाङ, शेर्पा, थकाली, गुरुङ, मुस्लिम समुदायले फरक फरक दिनलाई आफ्नो नयाँ वर्ष आरम्भको रुपमा मनाउँछन्।
रोज्नु पर्ने के छ भने नेपाल विश्वका १९५ देशतिर लागेर विग्रने कि इरान, साउदी। अरब, इथोपिया, इरान र अफगानिस्तानले जस्तै गौरव गर्ने ? रोजाई देशको ।
डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला यसबारे पुनर्विचार गर्ने सोचाई बनेको भएपनि उनले हिम्मत गर्न सकेनन् । डा भट्टराईले १ जनवरी २०२० मा ट्विटमा गर्दै भनेका छन् ‘यसो गरे कसो होला रु नेपालमै जन्मेको ‘नेपाल सम्वत्’ तथा भारतीय उपमहाद्वीपमा प्रचलित ‘विक्रम सम्वत्’लाई सांस्कृतिक क्यालेण्डर बनाऊँ । पश्चिममा जन्मेर अहिले विश्वभर छाएको ‘इस्वी सम्वत्’ लाई प्रशासनिकरआर्थिक क्यालेण्डर बनाऊँ१ नत्र समृद्धि, विदेशी लगानी, पर्यटन वर्ष यी सम्धीका गफ मात्रै होलान् है !’
यसमा कुनै हिम्मत वा कसैको पिछलग्गुको कुरा भन्दा पनि आजको दुनियामा कसरी व्यवहारिक सहजता बनाउने भन्ने मुख्य कुरा हो । नेपालले आफ्नै सम्वत मान्ने हो भने शंखधर साख्वाको नेपाल सम्वत मान्नुपर्दछ । अन्यथा विक्रमादित्यको नाममा लड्नु जस्तो मुर्खता अरु केही हुन सक्दैन । अन्यथा दुनियाले मानेको इस्वी सम्वतलाई स्वीकार गर्दा नेपालको कुनै प्रकारको ‘जात’ घट्ने छैन ।
नेपालका विभिन्न सम्वतहरु
विक्रम सम्वत ( वैशाख १)
यो हिन्दु पञ्चाङ्गमा आधारित नेपाल तथा भारतको राष्ट्रिय पात्रो हो। यो अङ्ग्रेजी पात्रो भन्दा ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ। यस पात्रोमा वर्षको सुरूवात बैशाखको पहिलो दिनबाट हुन्छ।
नयाँ वर्षको इस्वी संवत अनुसार अप्रिल महिनाको १३ वा १४ तारेखमा पर्छ। विक्रम सम्वतको प्रचलन आधिकारिक रुपमा नेपालमा चन्द्रशमशेरको पालादेखि सुरू भएको इतिहासकारहरुले उल्लेख गरेका छन्।
विक्रम सम्वत १९६१ सालदेखिको मेष संक्रान्तिलाई वैशाख १ गते मानी त्यसैको आधारमा महिनाका दिनहरू निर्धारण गरिएका हुन्। मीन राशी समाप्त भई मेष राशी प्रारभ्भ हुनासाथ वैशाख महिना सुरू हुन्छ। चक्रपाणि चालिसे र इतिहासविद् नयराज पन्तले विक्रम संवत्को उठान भारतबाट भएको तथ्य सहति उल्लेख गरेका छन् ।
नेपाल सम्वत ( कात्तिक)
नेवारी समुदायले मान्ने नेपाल संवत नेपालको मौलिक संवत हो। यसका प्रवर्तक शंखधर साख्वा हुन्। विक्रम संवत ११३३ मा भक्तपुरका राजा राघवदेवको आज्ञामा नेपालको कार्यालहरुमा यो संवत चलाइएको थियो।
शंखधरले नेपालका सबै जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाएको दिनको सम्झनामा यो संवतको शुरुआत भएको मानिन्छ। हिन्दु नेपाली समुदायको दोश्रो ठूलो पर्व तिहारको बेलामा नेपाल संवतको नयाँ वर्ष पर्छ। गाईतिहार औंसीको भोलिपल्ट नेवार समुदायले नयाँ वर्ष मनाउँछन्।
तमु ल्होसार
आदिवासी जनजाति समुदायमध्ये केही समुदायले ल्होसारलाई नयाँ वर्षको रुपमा मनाउँछन्। गुरुङ, तामाङ, हिमाली आदिवासी शेर्पा, छन्त्याल लगायतले ल्होसारलाई फरक–फरक समयमा नयाँ वर्षका रुपमा मनाउने चलन छ।
तमु ल्होसार गुरुङ समुदायको नयाँ वर्ष तथा मुख्य चाड हो। यो पुस महिनाको १५ गते पर्छ। तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ।
प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उतपत्ति भएको मानिन्छ। साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ‘नयाँ वर्ष आयो’भन्दै नयाँ वर्षको स्वागत गरिन्छ।
ल्होसारको दिन बिहानदेखि नै ढोग(भेट, आशिष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ।
माघे संक्रान्ति
नेपालका धेरै आदिवासी जनजाति समुदायले माघे संक्रान्तिलाई नयाँ वर्षको रुपमा मनाउँछन्। मगर, थारु, राई, लिम्बु, तामाङ, शेर्पा, गुरुङ, थकाली लगायतका समुदायले विभिन्न समयमा नयाँ वर्षको आरम्भका रुपमा नयाँ वर्ष मनाउँछन्।
माघे संक्रान्ति मगर समुदायको नयाँ वर्ष हो। माघबाट नै मगर समुदायमा गाउँको अगुवा चुन्ने चलन छ। साथै वर्षभरीको नुन तेलको व्यवस्था गरिन्छ भने लेनदेनको हिसाबकिताब गर्ने गरिन्छ।
वर्षभरीको लत्ताकपडा जम्मा गर्ने तथा वर्षभरीको अन्नपातको व्यवस्था गर्ने गरिन्छ। अन्नपात किरा नलाग्ने गरी थन्क्याएर राख्ने चलन रहेको संस्कृतिविद् तथा पूर्व मन्त्री बमकुमारी बुढामगरको भनाइ छ।
थारु समुदायको माघी
थारु समुदायले माघी पर्वलाई नयाँ वर्षको रूपमा मनाउँछ। पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने प्रचलन छ। माघीमा थारू समुदायका मानिसहरू आफ्नो घर सल्लाह गर्ने प्रचलन रहेको छ। माघीमा भाइभाइ एक ठाउँमा बसेर खानपिन गर्दै घर सल्लाह गर्ने गरिन्छ। घर सल्लाहमा कसलाई के जिम्मेवारी दिने, घरमूली को बन्नेजस्ता कुराको छलफल हुन्छ।
यो पर्व थारु समुदायको अगुवा चुन्ने दिन हो। गाउँको विकास कसरी गर्ने भन्ने सवालमा माघको पहिलो हप्ताभित्रै बैठक बसेर सामूहिक रूपमा गत वर्षको काम कारबाहीबारे छलफल गरिन्छ।
वर्षको एकपटक बस्ने गाउँको सो भेलालाई भुरा खेल–ख्याला भनिन्छ। बैठक गाउँको अगुवाको घरमा बस्छ। अगुवालाई ठाउँविशेष अनुसार बरघर, ककनदार, भल्मन्सा, महटाँवा भनिन्छ। बैठकमा गत वर्षमा भए गरिएका कुलापानी, धार्मिक पूजापाठलगायत विकासको कामको समीक्षा हुन्छ।
आगामी वर्षको लागि उही बरघरलाई निरन्तरता दिने या नयाँ चुन्ने विषयमा छलफल हुन्छ। सोही बैठकले सहायक बरघर, अघारी, सघारी, कुलापानी चौधरी, गाउँको चौकीदारदेखि फलामको काम गर्ने व्यक्तिसम्मको छनोट गर्छ।
किरात येले संवत्
किराँती समाजमा माघ १ गते किरात येले संवत् नयाँ वर्षका रुपमा मनाइन्छ। किराँती समुदाय प्रत्येक १ माघदेखि येले संवत् फेरिने विश्वासका साथ शुभकामना आदानप्रदान गर्ने गर्छन्। किराँत समुदायले वनतरुलको टीका लगाएर नयाँ वर्ष मनाउने गर्छन्।
किराँत धर्मअन्तर्गत सत्यहाङमा पन्थ मान्नेहरुले किरात येले संवत् ५०७८ मनाउँदै आएका छन्। उनीहरुले चैत १ गतेलाई नयाँ वर्ष मनाउने गर्दछन्। बहुभाषिक किराँत समाजमा यो संवत्लाई येले तङ्बे, येले दोङ, येले थोचे भनेर बुझ्दछन्। प्रत्यक्षरूपमा तीनखाले संवत् प्रयोगले किरात समाजमा अन्योल सिर्जना गरेको देखिन्छ।
राजनीतिक इतिहासमा उल्लेख वल्लोकिरात, माझकिरात र पल्लोकिरातमा यो संवत् प्रचलनमा छ। लिम्बुवान, खम्बुवान, याक्खावान र कोइँचवानका किरातीले इतिहासमा उल्लेख प्रथम किरात हाङ (राजा) यलम्बरको नाममा प्रचलनमा ल्याएको संवत् हो।
सोनाम ल्होछार
सोनाम ल्होछार तामाङ समुदायले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो। प्रत्येक वर्ष माघशुक्ल प्रतिपदाको दिन मनाइने सोनाम ल्होछार र चिनियाँको दिन दिन मनाइन्छ।
ल्होसार मनाउने समुदायले १२ वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखेका हुन्छन्। मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर, सुँगुर बर्ष। यी १२ वर्गलाई यो समुदायले १२ राशीको रूपमा पनि लिने गरेको पाइन्छ। १२ वर्ष समाप्त भएपछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ।
ग्याल्पो ल्होसार
नेपालमा ग्याल्पो ल्होसार शेर्पा लगायत हिमाली आदिवासी समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन्। शेर्पा समुदायमा लोसार अथवा नयाँ साल आउनु भन्दा २/३ दिन अगाडि घर, आगन सफा गर्ने र ग्रह शान्तिको प्रतीक घर सफा गर्दा निस्केको फोहोरलाई चौबाटोमा फ्याँक्ने परम्परागत प्रचलन छ।
प्रचलनअनुसार सबैले खाइसकेको वाकी अशं दोबाटोमा फाल्नुपर्छ। घर सफा गरी फोहोर मैला फालिसकेपछि जसमा गुथुक (नौ प्रकारका गेडागुडी मिसाइ जस्तै मकै भटमास केराउ चना मुला चामल आटा आदि मिसाई बनाइएको एक परिकार) सबै परिवार मिली खाने प्रचलन छ।
हिजरी संवत्
मुस्लिम समुदायले हिजरी सम्वतको पहिलो दिनलाई नयाँ वर्षको रूपमा मनाउँछन्। यसलाई इस्लामिक संवत् पनि भनिन्छ। इस्लाम धर्मका प्रवक्ता हजरत मोहम्मद मुस्तफा साउदी अरबको मक्कामा जन्मेर अल्लाहको दूत ‘नबी’ का रूपमा इस्लामका बारेमा प्रचारप्रसार गर्दै गर्दा त्यतिबेलाका शासकहरूले उनीमाथि अत्याचार गर्न थालेपछि अल्लाहको आदेशानुसार मक्का सहर छोडेर मदिना गएको दिनदेखि नै इस्लामिक संवत् मनाउने परम्परा चलेको हो। यो संवत विक्रम संवतको असोज महिनाको मध्यतिर पर्छ। मुस्लिम समुदायको बाक्लो बसोबास भएको क्षेत्रमा हिजरी संवतलाई नयाँ वर्षको रुपमा मनाइन्छ।
वुद्ध पूर्णिमा
शान्तिका दूत भगवान् गौतम बुद्धको जन्मसँगै बुद्ध सम्वत् गणना भएको मानिन्छ। गौतम बुद्धको जन्मजयन्तीको दिनदेखि नै बुद्ध सम्वत नयाँ वर्ष सुरु हुन्छ। वैशाख पूर्णिमाका दिन वुद्ध सम्वत वुद्धको विशेष पूजापाठ तथा अर्चना गरी मनाइन्छ। यसका अलावा छन्त्याल, थकाली लगायतका समुदायले पनि आफ्नो मौलिकता अनुसार नयाँ वर्ष मनाउने गर्छन्।
प्रतिक्रिया दिनुहोस्