भारतको संविधान यसरी सुरु हुन्छ– ‘भारत, अर्थात् इन्डिया, राज्यहरुको संघ हुनेछ।’ संविधानमा अंग्रेजी नाम राख्ने कि संस्कृत भनेर सहमत हुन नसकेपछि लेखकहरुले दुवै नाम राखेका थिए। सतहमा हेर्दा यो जर्मनी र ड्वेचल्यान्डबीचको भन्दा ठूलो फरक होइन। तर, ७५ वर्षअघिको संविधान सभादेखि अहिलेसम्मको बहसलाई हेर्दा इन्डियाका वैकल्पिक नामहरुको अर्थ अलगअलग छन्। एउटा नाम औपनिवेशिक शक्तिले लादेको थियो, जसको सम्बन्ध अंग्रेजीभाषी सम्भ्रान्तहरुसँग जोडिएको छ। अर्को नामलाई एउटा गौरवाशाली र प्राचीन सभ्यताका साँचो प्रतिबिम्ब मान्न थालिएको छ।
जब सेप्टेम्बरमा नयाँ दिल्लीमा जी२० को शिखर सम्मेलन भयो, तब भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अघिल्तिर ‘भारत’ लेखिएको नेमप्लेट थियो। यो महत्वपूर्ण कुरा थियो, किनभने यसले ‘वास्तविक’ भारतको प्रतिनिधिका रुपमा मोदीको साख बलियो बनाएको थियो। उही ढाँचामा भारतका विद्वान विदेशमन्त्री सुब्रमण्यम जयशंकरले नयाँ पुस्तक ल्याएका छन्, ‘ह्वाइ भारत म्याटर्स।’
जयशंकर सहयोगी, बुद्धि र नियममा आधारित व्यवस्थाको महत्व दर्शाउन हिन्दुहरुका दुई महाकाव्यमध्ये एक रामायणको उपयोग गर्छन्। रामायणले भगवान रामको कथा भन्छन्। महान् राजा र भगवान विष्णुका अवतार राम वनवासका लागि बाध्य हुन्छन्, जहाँ राक्षस राजा रावणद्वारा उनले पत्नी सीताको अपहरणसहितका अनेक कष्ट बेहोर्नुपर्छ। थुप्रै भारतीयहरुका लागि राम मर्यादापुरुष हुन् भने उनको कथा खराबमाथि असलको विजयको कथा हो।
जयशंकरको यसअघिको पुस्तक ‘दि इन्डिया वे’ को एक अध्यायमा महाभारतको प्रसंग उल्लेख गर्दै शासन कलामा यसका शिक्षाहरुको चर्चा गरिएको थियो। त्यो पुस्तकको प्रमुख तर्क के थियो भने भारतले दबाबको विरोध गर्नैपर्छ र अशान्त विश्वमा आफ्नो बाटो ऊ आफैँले खोज्नुपर्छ। सो किताब प्रकाशित भएको चार वर्ष भयो। यी चार वर्षमा भारतले त्यसै गरेको छ। खासगरी युक्रेनमा आक्रमण गरेको रुसको भर्त्सना गर्न भारतले अस्वीकार गर्यो। जबकि भारत पहिलेभन्दा पश्चिमको, खासगरी अमेरिकानिकट बन्यो।
जयशंकरले नयाँ किताबमा लेखेका छन्, ‘भारतको विदेश नीति आफ्नै मूल्य र मान्यतामा आधारित हुनुपर्छ।’ यो मान्यता उनको अघिल्लो पुस्तकसँग मिल्दोजुल्दो छ। जहाँ उनले अफसोच व्यक्त गरेका थिए, ‘भारतको रणनीतिक सोचप्रति अमेरिकाको बुझाइमा महाभारतको अंश समेत उल्लेख छैन।’ भारतीय संस्कृति बुझाइको महत्वमा उनले दिएको जोड उपयुक्त छ। थुप्रै भारतीयहरुका लागि, उनीहरुले पढे पनि, नपढे पनि, महाभारत र रामायण ब्रम्हाण्डप्रति उनीहरुको बुझाइ मात्र होइन, दैनिक जीवनको अवधारणाको केन्द्रमा पनि छ।
तैपनि, भारतीय संस्कृति र नीतिबीच सम्बन्ध देखाउने विदेशमन्त्री जयशंकरको जोड रटानमा मात्र सीमित र बुझ्न कठिन देखिन्छ। ‘इन्डिया तब मात्रै उदाउन सक्छ, जब यो देश वास्तवमा भारत बन्छ,’ उनी लेख्छन्। विश्वमा भारतको बढेको हैसियत उल्लेख गरेपछि उनी फेरि लेख्छन्, ‘यो यस्तो इन्डिया हो, जुन ज्यादा भारतजस्तो छ।’ समग्रमा उनको निष्कर्ष छ, ‘हरेक दिन के स्पष्ट हुँदै गएको छ भने इन्डियाको महत्व छ, किनकि यो भारत हो।’
यसको अर्थ निकाल्न मुस्किल छ। त्यो कुरा लेखकले अन्यत्र स्वीकार पनि गरेका छन्। उनले सुरुवाती पृष्ठमा भनेका छन्, ‘ह्वाइ भारत म्याटर्स यस्तो पुस्तक हो, जसलाई सांकेतिक रुपमा बुझ्नुपर्छ।’ त्यसो गर्दा थाहा पाइन्छ, हिन्दु पौराणिक कथा होइन, मानक यथार्थवाद उनको मार्गनिर्देशक सिद्धान्त हो। भारतको विदेश नीति राष्ट्रिय हितले निर्धारण गर्नेछ र उसको राष्ट्रिय हित अधिकांश भारतीयहरुको आवश्यकताबाट निर्देशित हुनेछ।
भारतीयहरुलाई जयशंकरको सन्देश छ– यो खतरनाक संसारमा सरकारले उनीहरुको रक्षा गर्नेछ। भारतका अघिल्ला सरकारहरुले कमजोर आतंकवादविरोधी नीति अख्तियार गरेको र आदर्शवादी अन्तर्राष्ट्रियवाद अपनाएको भन्दै वर्तमान सरकारले त्यसलाई सुधार गरेको उनको भनाइ छ। यहाँनेर पनि जयशंकरका पौराणिक उपमाहरु अतियशयोक्तिपूर्ण लाग्न सक्छन्। उदाहरणका लागि ‘रामराज्य’लाई उनी नियममा आधारित व्यवस्थाको निचोड मान्छन्।
जनवरी २२ मा मोदीले अयोध्यामा राममन्दिर प्राणप्रतिष्ठा गरेर राज्य र धर्मबीचको संवैधानिक पर्खाल नाघ्दैछन्। भारतका १.४ अर्ब मानिसमध्ये २० प्रतिशत मानिस जयशंकरले भन्ने भारतको सांस्कृतिक ‘समग्रता’ मा समेटिँदैनन्। जसले मुस्लिम, क्रिस्चियन, धर्मनिरपेक्ष र उदार परम्परालाई सामेल गराउँदैन। यो नियममा आधारित पनि होइन, आश्वस्त पार्ने कुरा पनि होइन।
मोदीको नेतृत्वमा दुई ठूला नीतिमा परिवर्तन भएको जयशंकरको दाबी छ। पहिलो, अन्तर्राष्ट्रियवादी विदेश नीतिको ठाउँमा भारत पहिले नीति अवलम्बन। यसमा धेरै बहस जरुरी छैन। दोस्रो, इन्डियाबाट भारतमा स्तरवृद्धि। यो चाहिँ बुझ्न कठिन छ। तर, तेस्रो परिवर्तन चाहिँ निर्विवाद छ। त्यो के हो भने जयशंकर एक कर्मचारीबाट नेतामा बदलिइका छन्।
(दि इकोनोमिस्ट १८ जनवरी २०२४)
प्रतिक्रिया दिनुहोस्