काठमाडौं, ४ फागुन । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि राष्ट्रिय दलको मान्यता प्राप्त पाँच दलसंग छलफल गरेको छ। छलफलमा आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २१ र उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ का लागि प्रस्ताव गरेको छ ।
छलफलमा सहभागी राजपाका महासचिव केशव झाले सो कुरा बताउँदै भने, ‘आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २१ र उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ का लागि प्रस्ताव गरेको छु, नेताहरुले पनि सहमति जनाउनुभएको छ।’
यसअघि संसद्का सदस्यले मतदान गरेर दुई राष्ट्रपति र उपराष्ट्रपतिलाई चयन गरिसकेका छन्। यसअघि संसद्मा कायम रहेका सदस्यको बहुमत प्राप्त गर्ने उम्मेदवार नै राष्ट्रपति र उपराष्ट्रपति हुने व्यवस्था थियो।
यही व्यवस्थाअनुसार प्रथम राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएका थिए। दोस्रो राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुने बेलामा संविधानले परिकल्पना गरेको तीन तहको संरचना तय नभएकाले तत्कालीन संसद्को बहुमतबाटै सो पदको टुंगो लागेको थियो।
संसदको बहुमतबाटै रामवरण यादव र विद्यादेवी भण्डारी राष्ट्रपति तथा परमानन्द झा र नन्दकिशोर पुन ‘पासाङु उपराष्ट्रपति बनिसकेका छन्। तर नयाँ संविधानअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पहिलाको भन्दा फरक ढंगले हुनेछ।
संवैधानिक व्यवस्था
नयाँ संविधानले भने यी दुवै पदको निर्वाचनका लागि मतदातालाई विस्तार गरिदिएको छ। संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था गरिएको छ।
प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५९ गरी संघीय संसद्मा ३ सय ३४ सदस्य छन्। त्यस्तै, ७ वटै प्रदेशमा गरी कुल ५ सय ५० प्रदेशसभा सदस्य छन्। यसरी राष्ट्रपतिको निर्वाचनमा कुल ८ सय ८४ मतदाता हुनेछन्।
तर, धारा ६२ मै थप व्यवस्था छ– ‘संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार संघीय कानुन बमोजिम फरक हुनेछ।’ गत असोज २२ मा संसद्बाट पारित र असोज २७ मा राष्ट्रपतिबाट प्रमाणित भएको ुराष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकु मा संघीय संसद् र प्रदेशसभाका सदस्यको मतभार क्रमशः ७९ र ४८ तोकिएको छ।
मतभार नेपालको कुल जनसंख्यालाई क्रमशः सम्बन्धित सभाको सदस्य संख्याले भाग गरी १००० ले गुणन गरेर निकालिएको हो।
यसअनुसार, संघीय संसद्का कुल ३ सय ३४ सदस्यको कुल मतभार ९प्रतिसदस्य ७९ का दरले० २६ हजार ३ सय ८६ हुन आउँछ।
प्रदेशसभाका कुल ५ सय ५० सदस्यको कुल मतभार ९प्रतिसदस्य ४८ का दरले० २६ हजार ४ सय हुन आउँछ।
यसरी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कुल मत ५२ हजार ७ सय ८६ हुन आउँछ।
त्यसैले जितका लागि उम्मेदवारले २६ हजार ३ सय ९४ मत ल्याउनुपर्छ।
कुन दलको कति मत ?
संघीय संसद्मा ५ वटा राष्ट्रिय दल र ५ जनाको स्वतन्त्र हैसियतमा प्रतिनिधित्व छ। त्यस्तै, प्रदेशसभामा १३ वटा दल र ३ जनाले स्वतन्त्र हैसियतमा प्रतिनिधित्व गर्छन्। दुवै तहको कुल प्रतिनिधित्वलाई हेर्ने हो भने नेकपा एमालेको बहुमत देखिन्छ, ऊसँग २३ हजार ३ सय ८ मत छ। वाम गठबन्धनको संयुक्त मत भने ३३ हजार ६ सय २७ मत छ। यसैगरी शेरबहादुर देउवा सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका राष्ट्रियसभाका ३ सदस्य मनोनित नभई नयाँ सरकारले सिफारिस गरी मनोनित भएमा वाम गठबन्धनको पक्षमा २ सय ३७ मत थपिनेछ। त्यसैले वाम गठबन्धनले चाहेको उम्मेदवार राष्ट्रपति तथा उपराष्ट्रपति हुन सक्छन्।
प्रतिक्रिया दिनुहोस्