शुभशंकर कँडेल : ‘अहिले हामी जुन गठबन्धनमा छौं, त्यो आगतको सम्झौता होइन, विगतले बोकाएको अभिभारा हो‘ भन्दै प्रचण्ड सरकारप्रति विरक्तिएको प्रस्ताव आफ्नै दलको केन्द्रीय समिति बैठकमा दुईजना महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले राख्दै गर्दा माओवादीको विधान सम्मेलनले ‘कांग्रेसँगको गठबन्धन लाभदायी नभएको‘ निष्कर्ष निकालेको छ । जसरी प्रचण्डलाई गत वर्षको पुस २६ गते विश्वासको मत दिने विषयमा देउवा र ओलीको परस्परविरोधी स्वार्थको ऐक्यवद्धता थियो । यसपटक देखिएको यी दुई दलका सम्मेलन र बैठकको प्रस्ताव र निष्कर्षको तादम्यता पनि कतै त्यस्तै त होइन ? गम्भीर प्रश्न उठेको छ ।
चार वर्षपछि हुने निर्वाचनमा यति छिटो ‘कसैसँग गठबन्धन नगर्ने घोषणा गर्नुपर्ने‘ धारणा थापा र शर्माले किन सार्वजनिक गर्दैछन् र त्यसमै जीवनको उत्तरार्धमा एक पटक प्रधानमन्त्री बन्ने लालसाको शिकार बनेका शेखर कोइरालाले अरु बढी हावा भरिरहेका छन् भन्ने कुरा बुझ्न नसक्ने पहेली जस्तो प्रतित हुन्छ । यसले त प्रधानमन्त्री रहेका प्रचण्डलाई ‘तिमीलाई जोसँग गठबन्धन गर्न मन छ, त्यसै गरेर आफ्नो सत्ता र आगामी चुनाव सुरक्षित गर‘ भन्दै कांग्रेस ०७४ को थान्कोमा जाने साइत खोजिरहको देखिंदैन र ? यसैपनि एमाले शुरुदेखि नै प्राविधिकरुपमा बाहके सत्तारुढ नै रहेको मान्न सकिन्छ । एमाले प्रचण्डसँगका सवै भागबण्डाको राम्रै लाभग्राही बनेर आफ्नो प्रतिपक्षीय भूमिका पूर्णत विर्सेको छ । यतिबेलाको कांग्रेसको उखरमाउलोले एमालेलाई झन जोस्याएको हुनुपर्दछ ।
‘सरकार गठनको लागि गठबन्धन सरकार बनाउनै पर्ने बाध्यता भएको अवस्थामा अस्थिरता निम्तिन सक्ने अवस्थालाई ध्यान दिँदै र विगतका अनुभवबाट पाठ सिक्दै आवश्यक नीति तय गर्ने‘ भन्ने प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले सभापति देउवाको प्रोक्सीका रुपमा कांग्रेस बैठकमा पेश गरेका छन् । सम्भवत नेका महासमितिले यही प्रस्ताव पारित गर्ने निश्चित जस्तै छ । तर कोशी प्रदेशको एकपछि अर्को गडबढी र शेखर–गगनको सरकार विरोधी तथा माओवादीको उछितो काढिरहेको सिलसिलाले प्रचण्डलाई पनि किन अब कांग्रेस बोकिरहनु प¥यो र ? भन्ने तहमा नपु¥याउला भन्न सकिन्न । जसरी प्रचण्डले ‘मौजुदा तेस्रो कार्यकालमा देशलाई केही नयाँ गरेर देखाउने भन्ने हुटहुटीमा गठबन्धनको मुख्य सहयात्री कांग्रेस बाधक बन्दै आएको महसुस गरिरहेका छन् । भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाणभन्दा माथि कारबाही उक्लनबाट मात्र देउवाले रोकेनन्, ललिता निवास प्रकरणमा राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिने प्रपञ्च पनि कांग्रेसबाटै रचियो । सुन प्रकरणमा प्रचण्ड महरापुत्रभन्दा माथि उक्लन नसकेको बहानामा कांग्रेसले प्रचण्डलाई अन्य सवै मामिलामा समेत दबावमा राख्दै आएको छ । विकास निर्माण प्रक्रियालाई तीव्रता दिन मुख्य पहलकदमी लिनुपर्ने अर्थमन्त्री लावारिस जस्तै बनेर राष्ट्रिय भाउजुकोे खजान्चीको भूमिकामा खुम्चिँदा सरकारको कार्यक्षमता त कुँजिएकै छ ।
यो पनि पढ्नुहोस्
माओवादी अधोपतन : संरचनागत रूढता कि नीतिगत विफलता ?
यो गठबन्धन सरकारमा कांग्रेस र माओवादीका बीचमा स्वार्थ बाझिएका विषयका आधारमा दुवैतिरका असन्तोषको उखरमाउलो हेरिनुपर्दछ । बाहिरीरुपमा हेर्दा यी दुई दलका बीचमा विशेषगरी प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाका बीचमा सरकार सञ्चालनका सन्दर्भमा तात्विक अन्तर भेटिंदैन । तर प्रचण्डको हुटहुटीमा देउवाको बढी नचल्नका लागि दबाबको दैनिकी समस्यामूलक भएको हुनसक्छ । यो सरकारले सुशासनको पक्षमा कदम चाल्ने भन्नेवित्तिकै कांग्रेसीबृत्तमा भुकम्प जान थालिहाल्छ । बहालवाला एकजना मन्त्रीले राष्ट्रिय झण्डा हल्लाउँदै अख्तियार पुगेर बयान गरेर फर्केका छन् । डनशैलीका ती मन्त्री दुनियादारको स्वास्थ्य जिम्मा लिने तालुकदार अड्डमा तोकिनु नै प्रचण्ड क्याविनेटका लागि गम्भीर उल्झन थियो शुरुदेखि नै । देउवा दम्पत्तिको अरनखटनमा अर्थमन्त्रीले कुनै कमी राखेर कांग्रेसभित्र अर्को मिनेन्द्र रिजाल हुने आत्मघाती रहर पक्कै पनि गर्दैनन् र गर्ने छैनन् । तर सरकारको पर्फमेन्समा सवैभन्दा गम्भीर समस्या यहींनेर छ । यतिसम्मकी पछिल्लो पटक अर्थमन्त्रीले एक हप्तामा पाँच पटक पत्रकार सम्मेलन गरेर बताउन के खोजेका हुन् भन्नेसमेत स्पष्ट गर्न नसकेबाटै उनको दयनीय अवस्था प्रकट भएको छ । विभागीय मन्त्रीका रुपमा देशको अर्थतन्त्रलाई जसरी चलायमान बनाउनु पर्ने आशा गरिएको थियो, त्यो त यी मन्त्रीबाट आशा गर्नु नै बेकार हो । अब यस्ता झमेला व्योहर्नु पर्ने त वर्तमान फर्जाइल संसदबाट बन्ने गठबन्धनको स्वाभाविक परिणति नै हो । फेरि प्रचण्डका लागि पनि ओलीको हैकमभन्दा त देउवाको लघु अभिव्यक्तिमा प्रकट हु्ने दबाव निकै सहज लागेको हुनुपर्दछ । देउवालाई दाहिना बनाइराख्दा प्रचण्डलाई जति सजिलो छ, भोलि ओलीसहितका राजेन्द्र–रबिको जोडीलाई कजाउन पक्कै पनि सजिलो हुनेछैन भन्ने प्रचण्डले नबुझ्ने कुरै भएन । देउवालाई दाहिना बनाइरहेसम्म बाह्य शक्ति केन्द्र जसरी शान्त भइरहन्छन्, ओलीलाई जति उल्क्याए पनि अन्तराष्ट्रिय अखडालाई थामथुम पार्न निकै मुश्किल पर्ने खतरा प्रचण्डजस्तो चातुर्दिक नेताले अनुमान नगरे होलान् भन्न सकिंदैन ।
स्वभाविकरुपमा कांग्रेस यथास्थितिवादी रुढतामा भासिएको देखावटी लोकतान्त्रिक पार्टी भएकाले उसले सत्ता र मुख्यतः प्रधानमन्त्रीको कुर्सीभन्दा तलको कुनै कुरा पनि देख्न छाडेको अहिले मात्र होइन । कांग्रेसको सत्ता राजनीतिक इतिहासको स्मरणले कांग्रेसी प्रवृत्तिलाई स्पष्ट गर्दछ । नेपालको संसदीय विभिन्न कालखण्डमा काँग्रेसबाट ब्यक्तिका हिसावले सात जना प्रधानमन्त्री बनेका छन् र उनीहरु १८ पटक दोहोरिएका छन् । ती सबैले २२ वर्ष ११ महिना भन्दा बढी कुर्सीमा बस्न पाएका थिए । प्रधानमन्त्री भएका सात जनामा चार जना त कोइराला परिवारका मात्रै थिए । तिनले मात्र १३ वर्ष १० महिना प्रधानमन्त्री चलाए । १० पटक त यो परिवारमा मात्र प्रधानमन्त्री दोहोरिएको इतिहास छ । यसमा पनि मातृका, बीपी र गिरिजाले नौ पटक प्रधानमन्त्री दोहो¥याउँदा १२ वर्ष चार महिना त तीन भाइले मात्र शासन गरे । बाँकी तीन जनामा कृष्णप्रसाद भट्टराईले दुई पटक प्रधानमन्त्री सम्हालेका थिए । उनले दुई पटकमा जम्मा एक वर्ष ११ महिना प्रधानमन्त्रीको कुर्सीमा बस्न पाएका थिए । एक जना सुवर्ण समशेर राणा र अर्को एक जना शेरबहादुर देउवा हुन् । सुवर्ण समशेर २०१५ सालमा अन्तरिम कालमा एक वर्ष मात्र प्रधानमन्त्री बनेका थिए । शेरबहादुर देउवा भने २०५२ देखि यता पाँचपटक प्रधानमन्त्रीमा दोहोरिएका छन् । उनले पाँच पटक दोहो¥याउँदा काँग्रसको जम्मा प्रधानमन्त्री कालको २२ वर्ष ११ महिना मध्ये देउवाको भागमा जम्मा ६ वर्ष २ महिना पर्न आउँछ । यसले देउवाको भोक अझै मरेको छैन । उनलाई ज्योतिषीले सातपटक प्रधानमन्त्री बन्ने घोषणा गरेको जोखाना कुरिरहेका छन् । तर यतिबेला कांग्रेसभित्रबाट प्रचण्डविरुद्ध तितो पोखिएको देउवालाई छैंटौं पटक प्रधानमन्त्री हुन नदिने दुष्प्रयास मात्र हो भन्ने कुरा त सहजै बुझ्न सकिन्छ । शेखर–गगनले पृथ्वीदेखि गगनै थर्काएपनि देउवाको संसदीय अङ्क गणितमा घुनपुत्लो लगाइहाल्ने सम्भावना छैन ।
गठबन्धन सरकारमाथिको संकट यतिबेला केवल देउवा र दाहालको खुसामदमा सिमीत नरहने परिदृश्य कांग्रेसको पछिल्लो केन्द्रीय समिति बैठकले स्पष्ट गरेको छ । ‘गठबन्धन गर्ने या नगर्ने अथवा भएको गठबन्धनलाई निरन्तरता दिने या गठबन्धन छोड्ने जस्ता विषय व्यक्तिगत स्तरमा बन्ने मनोगत धारणाको भड्कावमा हुनुहुन्न‘ भन्दै देउवाप्रति थापाभन्दा नरम देखिंदै अएका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि चुनौति दिएका छन् । तर उनले अघि सारेको प्रतिवेदनमा चुनावी र सरकारको गठबन्धन दुवै कांग्रेसका लागि फाइदाजनक रहेको तथ्य समेत प्रस्तुत गरेका छन् । माओवादीभित्र पछिल्लो समय ओलीको आशा बमोजिम गठबन्धन फेरबदलमा माओवादीभित्रबाट स्ट्राइकर बन्नसक्ने बर्षमान पुनले गठबन्धनको समीक्षा हुनुपर्ने अभिव्यक्ति सार्वजनिकरुपले प्रकट गरेपछि कांग्रेसीहरु आत्तिनु स्वाभाविक हो ।
जे भएपनि सरकार प्रमुखले मन्त्रीहरुको फरेबदल गरेर कार्यक्षमता बढाउन चाहने जस्तो सामान्य संसदीय परम्परालाई कांग्रेसीहरुले सघाउनुको कुनै विकल्प छैन । प्रचण्डको यो चाहना कुनै माओवादी माग होइन । ‘लोकरिझ्याइँ, अधिनायकवाद तथा पुनरुत्थानको प्रलाप बढेर गएको‘ ठम्याउने कांग्रेस उपसभापति खड्का गठवन्धन सरकारलाई प्रभावकारी बनाउन तथा सरकारले गरेका राम्रा कामको स्वामित्व कांग्रेसीहरुले पनि लिनुपर्ने बनाउन किन कोशिश गरिरहेका छैनन् ? आम सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट रोजैजस्तो सरकारप्रतिको आक्रोश र प्रचण्डप्रतिको पूर्वाग्रह पोखिइरहेको अवस्थालाई माओवादीले नोटिसमा लिन्छ नै । फेरि पनि कांग्रेसलाई भन्दा गठबन्धन बदल्न माओवादीलाई बढी सहज अवस्था छ भन्ने कुरा आम कांग्रेसीहरुले बुझ्न सकेनन् भने उनीहरु पछुताउनुको विकल्प बाँकी रहँदैन । हुन त ‘पृथ्वीले प्रत्येक व्यक्तिको आवश्यकता पूरा गर्न पर्याप्त दिएको छ, तर प्रत्येक व्यक्तिको लोभ पूरा गर्न होइन‘ भन्ने गान्धीको भनाई भारतमै अलपत्र परेको समयमा नेपालमा यति भारी प्रस्थापना कुन पो राजनीतिज्ञले स्मरण गर्लान र ?
देशका मुुख्य दुई वामपन्थी दलबीचको दुरी बढ्दै गएकोमा कांग्रेसीहरुलाई भन्दा एमाले र माओवादीलाई नै अधिक चिन्ता छ भन्ने कुरा त स्वतसिद्ध छ । जसरी कांग्रेसीहरुलाई प्रचण्डमार्गी भएको आरोप छ, त्योभन्दा कैयौं गुनाबढी कांग्रेसी संगतले वामपन्थी चरित्र हराउँदै गयो कि भन्ने छट्पटी माओवादीमा छ । यही कुरालाई संकेत गर्दै प्रचण्डले विधान सम्मेलनमा भने पनि ‘हामी थाहै नपाइकन बुर्जुवाहरुले जता जता भन्यो, त्यतै त्यतै गइयो ।‘ यहींनेर एमालेले पनि सकेको मलजल त गर्ने नै भयो । यसमा उत्तरी छिमेकीले पनि ‘कम्युनिष्टहरु मिल्नुपर्छ‘ भन्दै प्रचण्डलाई व्यंग्य गरेर दिल्लीलाई तर्साइरहेकै छ ।
कांग्रेससँग गठबन्धन फेर्न केही विकल्पहरु अवश्य छन् । बाहिर हल्ला गरेजस्तो ओलीले समर्थन गर्छन् भने देउवा सजिलै प्रधानमन्त्री बनेर प्रचण्डलाई देखाइदिए हुन्छ । त्यो गठबन्धनको पक्कै पनि शेखर–गगनहरुले दिपावली गर्लान् । अझै बढी प्रचण्डलाई आफ्नो ठाउँ देखाइदिन मन भए देउवा–शेखर–गगनले ओलीलाई प्रधानमन्त्री बनाउनु सवैभन्दा उत्तम हुनेछ । त्यसबाहेक पनि कांग्रेसी ट्रोइकाले समन्वय गर्नसक्छ भने एमाले र माओवादी बाहेकका सवै झिनामसिना दललाई एक ठाउँमा ल्याएर गैरवाम गठबन्धनबाट कांग्रेसले प्रधानमन्त्री पाउन सक्छ । त्यसभन्दा पनि अघि बढेर जसरी पनि प्रचण्डलाई थाङ्गनामा सुताउने मनुसवा पूरा गर्न कसम खाएकै हो भने काङ्ग्रेसी ट्रोइकाले रबि वा राजेन्द्रलाई प्रधानमन्त्री किस्तीमा दिएर पनि हुन्छ । यसो गर्न सकेमा एकैपटक प्रचण्ड र ओली दुवैलाई दनक दिनसक्ने अङ्क गणित संसदमा कायम छ । कांग्रेसको वर्ग चरित्रअनुसार त गर्नुपर्ने नै त्यही हो । यस्तो गठबन्धन नै गगनहरुको समाजवादी यात्राका लागि प्रचण्डमार्गको विकल्पमा कांग्रेसी मार्ग हुनसक्छ । त्यसले विश्रृङ्खलित वामपन्थीहरुलाई आफ्नो वास्तविक धरातल देख्न पनि सहयोग नै पुग्छ ।
जसरी कांग्रेसका लागि विकल्पहरु देखिन्छन, त्यो भन्दा कैयौं गुना बढी सजिलो विकल्प फेरि पनि प्रचण्डकै लागि छ । प्रचण्डलाई त हिजो जसले प्रधानमन्त्री बनाए, उनीहरु नै प्रचण्डले संकेत गरेको भरमा सर्लक्कै आउने कुरा दिउँसोको घाम जत्तिकै छर्लङ्ग छैन र ? यसमा कुनै कारणले रोकिएको छ भने केवल प्रचण्डको बाह्य तथा आन्तरिक बचनले मात्र हो । त्यो वाधालाई पन्छाउन भर्खरै सम्पन्न विधान सम्मेलनको माहोलको बहाना पर्याप्त हुनेछ ।
दोस्रो जनआन्दोलनपछि कोइराला विरोधी र देउवालाई समेत नरुचाउनेहरुले गगन थापालाई कांग्रेस मुक्तिको नायक जसरी बेलुनमा हावा फुक्ने काम गरेका हुन् । समाजवादी चिन्तकहरु प्रदिप गिरि र नरहरि आचार्यजस्ता नेताहरुले पनि कोइराला र देउवाको भारी बोक्नुभन्दा गगनलाई अघि सारेर बुढाहरुमाथि मनोवैज्ञानिक दबाव सिर्जना गर्ने सुतीखेती गर्दा गगनले भुईं छाडेको यतिबेला गिरि र आचार्यको अभावमा प्रदर्शित वैचारिक टाटपल्टाईले प्रष्टै गरेको छ । यद्यपि गगको गनगनजस्तै कांग्रेस र माओवादी आपसमा सजिलै मिल्ने तत्व भने होइनन् नै । तर सत्ता स्वार्थको वाध्यताले यो विन्दुमा ल्याइपु¥याएको तथ्यलाई दोहराइरहनु आवश्यक छैन ।
बीपी कोइराला पटक पटकको सशस्त्र क्रान्ति असफल भएपछि ०३३ मा राष्ट्रिय मेलमिलाप भन्दै स्वदेश फर्कने वित्तिकै दरबारियाहरुले सराप्थे, त्यसभन्दा कैयौ गुना बढी आफ्नो सशस्त्र युद्धलाई शान्तिपूर्ण रुपमा अवतरण गराएर प्रचण्डले बहुदलीय प्रतिस्पर्धात्मक शासन व्यवस्थाको नेतृत्वमा पुगेको कुराको बद्ख्वाईं शुरुदेखि नै कांग्रेसभित्रैबाट हुँदै आएको छ । त्यो मनोदशामा गिरिजाप्रसाद कोइरालाको प्रचण्ड सहमतिलाई समेत अस्वीकार गर्ने प्रवृत्ति अहिलेको देउवा कांग्रेसभित्र झनै प्रखररुपमा छ । यद्यपि कांग्रेसले पहिलो पार्टी बन्न उनै प्रचण्डसँग नमिली सुखै थिएन भन्ने कुरा पछिल्ला निर्वाचनहरुले प्रष्टै गरेको छ। तर पनि कांग्रेसभित्रका प्रचण्ड विरोधी उखरमाउलो शान्त भएको छैन । विडम्वना के देखिएको छ भने यतिबेला प्रचण्डको विरोधी मोर्चाको नेतृत्व गिरिजाका भतिज र गणतन्त्रवादी आन्दोलनका कांग्रेसी आइकन मानिएका गगन थापाले गरिरहेका छन् । त्यसमाथि देउवाको आर्शिवादका कथित हिन्दूवादी २२ भाईको घोषित जम्वोरीको प्रकोप पनि छँदैछ ।
कांग्रेसी जीवनकालको एउटा रोचक प्रसंग छ । उतिबेला बीपीलाई लल्कार्नेहरुले भन्ने शव्दावली र यतिबेला प्रचण्डलाई प्रहार गर्नेका वाक्यमै गज्जबको तालमेल देखिएको छ । ‘जुन व्यक्तिले नेपालले राष्ट्रसंघको सदस्यता पाउनमा विघ्नवाधा हाल्यो, जसले नेपालको अन्तर्राष्ट्रिय व्यक्तित्व उपर कलुषपूर्ण वक्तव्यबाजी ग¥यो, जसले नेपाललाई आफ्नो राज्यमा मिलाउन एउटा विदेशी राष्ट्रलाई निम्ता दियो, जो विदेशीहरूको संरक्षणमा बस्न पाउँदा गौरवान्वित हुन्थ्यो र जसले विदेशी परिपत्र लिएर युरोप यात्रामा गएको थियो, उही अब राष्ट्रियताको नारा दिइरहेको छ‘ (नयाँ सन्देश साप्ताहिक, २२ पुस २०३३) । ‘बीपी नै राष्ट्रविरोधी तत्वका नेता हुन् भन्नेमा कुनै शंका छैन। ती तत्वहरूलाई यिनैले बन्दुक र बम दिएर नेपाल र नेपाली जनतालाई समाप्त पार्न पठाएका थिए, र उनै आज स्वदेश फर्केका छन्‘ (साप्ताहिक प्रतिध्वनि, २२ पुस २०३३) । उतिबेला दरबारिया मण्डलेहरुले उनीहरुका पत्रिका मार्फत भन्थे, यतिबेला गगनका अनुयायीहरुदेखि ज्ञानेन्द्रका धर्मपुत्र जस्ता रविन्द्र मिश्रहरुले दैनिक यस्तै शव्द र भाषामा प्रचण्डलाई सरापेर दिन गुजारिरहेका छन् । यसले प्रचण्डको कद छोटिनुको बदला उनलाई आफू क्रान्तिकारी रहिरहेको प्रमाण बन्न पुगेको छ । तथापि उनको मनमा पक्कै पनि म कहाँबाट कहाँ आइपुगें, यिनीहरु भने पुरानै जमानामा छन् भन्ने पिरलोले त अवश्य पोल्दो हो ।
प्रदिप गिरिले बिपी कोइरालको चित्रण गर्दा भनेजस्तै ‘आफ्ना राजनीतिक आकांक्षालाई समेत सैद्धान्तिक जामा पहिराउने दक्षता राख्ने‘ प्रचण्डले यही काम शान्ति प्रक्रियाका १८ वर्षमा पटक पटक दोहराउँदा पनि म्याक्सवेवरका शब्दको ‘करिस्म्याटिक‘ व्यक्तित्व बचाएकै छन् । त्यसमै माओवादी समूह आजपर्यन्त असन्तोषले गुम्सिंदा पनि प्रचण्डको वाकपटुतामा लठ्ठीइरहेको छ । त्यसको पछिल्लो प्रहसन विधान सम्मेलन हो भन्दा अन्यथा हुनेछैन । यसरी निष्कर्षमा जस्तोसुकै अनुकूल–प्रतिकूल अवस्थालाई पनि आफ्नो बशमा राख्ने प्रचण्डसँग असन्दर्भिक र असमयमा कांग्रेसीबृत्तबाट गरिएको छेडखानी उनीहरुकै लागि आत्मघाती हुने निश्चित छ । ‘नेतृत्वशास्त्रका अध्येताहरूले महान् नेताको सिद्धान्तउपर छलफल गरेका छन् । एकातिर नेता भनेको केही हुँदै होइन भन्ने सिद्धान्त छ । अकोेतिर नेता नै सबथोक हो भन्ने आग्रह छ । तर खासमा नेता बन्ने र नेता बनाउने भनेको तत्कालीन परिस्थिति र परिवेशले हो । वेलाबखतमा महान् नेता आफ्नो महानता र शक्तिमत्ताको जयजयकारमा आफ्नो सीमा र सँघार बिर्सिन्छन् । मैले चाहँदा जे पनि गर्न सक्छु भन्ने अहंको शिकार हुन्छ । परिवार, जातभात, वर्ग र समाजलाई बिर्सिएर व्यक्ति होइन, पार्टीले पनि जे चाह्यो त्यो गर्न सक्तैन न त कुनै शक्तिशाली राज्यले नै गर्न सक्छ‘ (गिरि प्रदिपः २०७८)। दिवंगत चिन्तक गिरिले अहिलेका मुख्य तीन दलका प्रमुख नेताहरुकै लागि तोकेर संश्लेषण गरेजस्तो उपरोक्त संकथनलाई मनन गर्नु उपयोगी हुनेछ ।
(यसको सारसंक्षेप, कांग्रेसको आत्मघाती प्रचण्ड प्रक्षेपण शिर्षकमा कान्तिपुर दैनिकको ८ फागुन २०८० मा प्रकाशित)।
प्रतिक्रिया दिनुहोस्