शुभशंकर कँडेल : यतिबेला देशभरका कांग्रेसीहरुमा स्तव्धताले बास गरेको जस्तै प्रतित हुन्छ । कांग्रेसीहरुले प्रचण्डलाई जसरी खेलाउन सकिन्छ भन्ने ठानेका थिए, वा अन्य कसैले ठान्दैछन्, त्यो विलकूल गलत हो भन्ने कुरा हिजोमात्रै प्रचण्डले नै स्पष्ट गरिदिएका छन् । प्रचण्डले राष्ट्रपतिकहाँ पुगेर देउवाको नालायकीको फेहरिस्तसहित नयाँ मन्त्रीको नाम बुझाएर हताहतार राष्ट्रिय सभागृहमा पुगेर माओवादी पक्षीय सार्वजनिक कार्यक्रमलाई सम्वोधन गरे । अन्य नेताले जस्तै प्रचण्डले चाहेको भए, त्यो कार्यक्रममा विकसित नयाँ परिस्थिति भन्दै नजान पनि सक्थे । तर प्रचण्डको त्यही नै विशेष वा क्षमता हो कि कुनै पनि घटनाक्रमलाई आफ्नै भाष्यमा ‘करिस्म्याटिक‘ तरिकाले सिर्जना गर्न सक्छन् । आफ्नो चरित्रबारे बन्द कोठामा चर्चा गर्नु, वा दुनिायभरका ‘कन्स्सिप्यारेसी थ्योरी‘को सहारा लिनु नपर्ने गरी फेरि दोहराए । ‘कसैले मलाई घेरा हाल्ने वा उपयोग गर्ने दुस्साह गर्छ भने म तिनीहरुलाई लात्ताले हानेर बाहिर आउनसक्छु र त्यसै गरेको छु ।‘ यो प्रचण्डको कुनै चेतावनी, घुर्की वा अहंकार नभएर उनको अन्तरनिहित राजनीतिक चरित्र हो। नेपाली राजनीतिमा निरन्तरतामा क्रमभङ्ग, अग्रगामी छलाङ, राजनीतिक घेरावन्दी जस्ता मुख्य राजनीतिक शव्दावलीको प्रचण्डले थेसिस नै सार्वजनिक गरेका छन् ।
यी शब्दावली केवल कसैलाई राजनीतिक प्रहारका लागि ओलीशैलीमा फ्याँकेका तुक्का होइनन् । निरन्तरताको क्रमभङ्ग र अग्रगामी छलाङको थेसिस प्रचण्डले २०५७ सालमा भएको दोस्रो राष्ट्रिय सम्मेलनको राजनीतिक प्रतिवेदन हो । त्यही प्रस्थापनाले माओवादीलाई वार्ता र शान्ति प्रक्रिया हुँदै आजको अवस्थामा आएको हो ।घेरावन्दीको घटना र थेसिस माओवादीभित्रको बहुचर्चित धोवीघाट गठबन्धनको प्रहसन पूर्व भएको गोंगबु डिनर बैठक हो । जहाँ बैद्य, बाबुराम, बादल र नारायणकाजी लगायतका मिलेर प्रचण्डलाई घेरा हाल्ने खुसामद थियो । त्यो घेरावन्दी तोड्न प्रचण्डले बाबुरामलाई प्रधानमन्त्री बनाएर बैद्य र बादलहरुलाई छिन्नभिन्न पारेका थिए । आज उनीहरु कहाँ छन् भन्ने कुरा प्रष्टै छ । दोस्रो पटक उनले एमालेसँगको एकतापछि बनेको भैंसीपाटी गठबन्धनको घेरावन्दीको अन्तिम पटाक्षेप गतवर्षको पुस १० गते भएको थियो । यसको बारेमा यो पंक्तिकारकै अवतरण पुस्तकमा विस्तृत चर्चा छ ।
प्रचण्डले काँध फेराई र सवैको काँध थाप्ने रोचक प्रतिस्पर्धा
प्रचण्ड ३० वर्षको उमेरदेखि पूर्णकालीन राजनीतिमा छन् । सवैभन्दा पहिले उनले मोहनविक्रमलाई लात्ताले हानेर आफ्नो राजनीतिक करिअर सुरु गरेदेखि हिजो फागुन २१ मा देउवालाई बुढानिलकण्ठतिरै थन्काइदिएको पहेलीसम्म आइपुग्दा यस्ता दुई दर्जन बढी घटना भएका छन्, जहाँ प्रचण्डले राजनीतिक लात्ती हिर्काउँदै आएका थिए । केही पटकका लात्तीहरु उनैतिर फर्केर अनुहारमा टुटुल्को पनि नउठेका होइनन् । त्यसैमध्येको एउटा ठूलो ‘बाउन्स–व्याक‘वाला लात्ती थियो कटवाल प्रकरण । तर समग्रमा उनका लात्तीहरु निशानामा चुकेका घटना कमै छन् ।
यस्तो सपाट प्रचण्ड लात्तीको कुरा केपी शर्मा ओलीजस्ता चतुर खेलडाीले त नबुझेको परिवेशमा देउवा र गगनका साथीहरुले कसरी बुझ्न सकुन् ? हो, प्रचण्ड जति कठोर प्रतित हुन्छन्, नेपालका समकालीन राजनीतिमा उनी साह्रै संवेदनशील पात्र हुन् । धेरैले यहींनेर माथ खाने गरेका छन् । जस्तो अप्ठेरो बेला पनि प्रचण्डले देउवा वा ओलीले जसरी झर्केर कुरा गर्दैनन् । इशारा र संकेत नबुझेपछि अलिक विस्तरपूर्वक हाइस्कुलका विद्यार्थीलाई जसरी सप्रसंग व्याख्या गरेर बुझाउन कोशिश गर्दछन्। त्यहाँबाट पनि पार लागेन भने उनी एक्सनमा जान्छन् ।त्यही नै प्रचण्डको चालु राजनीतिको छलाङ हो । यो इतिहाससिद्ध र भर्खरैका केही वर्षका दर्जनौं घटनामा प्रचण्डले यसको भरपूर प्रयोग गरेको स्पष्ट नै छ । यो कुनै नयाँ कुरा होइन । प्रचण्डले नयाँ गठबन्धनको बालुटारमा बैठकका लागि नेताहरु जाँदै गर्दा राष्ट्रिय सभागृहमा विभिन्न चिरामा विभक्त उनकै कार्यकर्ता मार्फत् भनेका छन् । ‘साथीहरूले कुरा नबुझेको देखेर कहिलेकाहीँ हैरान पनि हुन्छु। हामी माओवादीहरू नेपाली राष्ट्र र जनताको घोडा हो, अरू कसैको घोडा होइन । मलाई घेरा हालेर सिध्याउने धेरैचोटि कोसिस भए प्रतिक्रियावादीबाट । निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन यो निरन्तरतामा क्रम भंग गर्दै नयाँनयाँ परिस्थिति सिर्जना गर्दै अगाडि बढ्ने जात हो माओवादी । त्यही भएर म साथीहरूलाई भन्न चाहन्छु ठूला कुरा गर्नुभन्दा हामी सबै क्रान्तिकारी एक ठाउँमा केन्द्रित हुने बाटो खोजौं ।‘ नयाँ बन्दै गरेको गठबन्धन र आफ्नै दललाई पनि भविष्यमा हुनसक्ने राजनीतिक घटनाक्रमको स्पष्टै छनक दिएका छन् प्रचण्डले पहिलो प्रहरमै । प्रचण्ड अब के गर्न खोज्दैछन् भन्ने यतिबेला शेरबहादुर देउवाले भन्दा बढी केपी शर्मा ओली र रवि लामिछानेहरुले बुझ्नु आवश्यक छ ।
पछिल्लोपटक भएको के हो भने कांग्रेसीहरुले प्रचण्डलाई हेप्न थालेका थिए । जब प्रचण्डले आफू देउवा र उनका खुद्रा मसिना खजाञ्चीबाट हेपिएको महसुस गरे, त्यसकै परिणाम फागुन २१ को पटाक्षेप हो । कांग्रेस महासमिति र माओवादीको विधान सम्मेलन नै प्रचण्डको लात्ती उचाल्ने पानी ढलो बनेका मुख्य घटना हुन् । त्यसकारण यसपटक प्रचण्ड अट्याक कुनै छापामार शैलीमा होइन भन्ने प्रष्टै छ । यो पंक्तिकारले कान्तिपुर दैनिकमा फागनु ८ मा स्पष्ट गरेको थियो । ‘चार वर्षपछि हुने निर्वाचनमा यति छिटो ‘कसैसँग गठबन्धन नगर्ने घोषणा गर्नुपर्ने‘ धारणा थापा र शर्माले किन सार्वजनिक गर्दैछन् र त्यसमै जीवनको उत्तरार्धमा एक पटक प्रधानमन्त्री बन्ने लालसाको शिकार बनेका शेखर कोइरालाले अरु बढी हावा भरिरहेका छन् भन्ने कुरा बुझ्न नसक्ने पहेली जस्तो प्रतित हुन्छ । यसले त प्रधानमन्त्री रहेका प्रचण्डलाई ‘तिमीलाई जोसँग गठबन्धन गर्न मन छ, त्यसै गरेर आफ्नो सत्ता र आगामी चुनाव सुरक्षित गर‘ भन्दै कांग्रेस ०७४ को थान्कोमा जाने साइत खोजिरहको देखिंदैन र ? यसैपनि एमाले शुरुदेखि नै प्राविधिकरुपमा बाहके सत्तारुढ नै रहेको मान्न सकिन्छ । एमाले प्रचण्डसँगका सवै भागबण्डाको राम्रै लाभग्राही बनेर आफ्नो प्रतिपक्षीय भूमिका पूर्णत विर्सेको छ । यतिबेलाको कांग्रेसको उखरमाउलोले एमालेलाई झन जोस्याएको हुनुपर्दछ (कान्तिपुर दैनिक, फागुन ८, २०८०)। यही भएको होइन र यतिबेला ?
कांग्रेसको आत्मघाती प्रचण्ड–प्रक्षेपण
तर कांग्रेसीहरुमा आपसी हिलो छ्यापा–छ्यापका लागि पनि माओवादीलाई र विशेषगरी प्रचण्डलाई हेप्ने प्रवृत्तिमा कुनै परिवर्तन आएन । महासमिति चल्दै गर्दा प्रचण्डडको अनुमति लिन आएजसरी देउवा बालुवटार गएपनि उनको व्यवहारमा कुनै परिवर्तन नभएको प्रचण्डको बुझाइ छ । प्रचण्डले मन्त्रिपरिषद् पुनर्गनठन र विशेषगरी अर्थमन्त्रीको परिवर्तन र आख्तियारबाट डामिंदै गरेका स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई बर्खास्त गर्ने कुरा देउवाले सुन्न पनि चाहेनन् । उल्टो देउवाले कांग्रेसी राजनीतिक परिवृतिको भद्धा म्यानुपुलेशन शैली अपनाएर पटक पटक आरजु राणालाई साथमा लिएर प्रचण्डको भान्सामा डिनर खाइरहेका थिए नै । त्यस्ता डिनरको उद्धेश्य थियो, प्रचण्डलाई दबाब दिन गंगा दाहालाई प्रभावित गर्ने र शासन आरजु राणा र गंगाले चलाउने भन्ने जस्तो घटिया हर्कतको पटकपटक प्रचण्डले ‘स्मेल‘ गरेपछि उनी देउवाबाट झनै चिढिएका थिए ।
देउवा–शेखर–गगनको आत्मघाती प्रचण्ड प्रक्षेपण
जब कि आरजु राणा यतिबेला बालकृष्ण खाणकै अवस्थामा हुनुपर्नेमा उनी त प्रकाशशरण महतमार्फत् सिंहदरबारमा हैकम चलाइरहेकी थिइन् । अहिले कांग्रेस नै भाउजुबाट शासित हुनु परेकोमा प्रताडित छ । कांग्रेस महासमितिमा हिन्दू राज्यको पक्षमा हस्ताक्षर गर्नेहरुलाई आरजु भाउजुले नै प्रवर्धन गरेको शंकर भण्डारीहरुले नै सार्वजनिक रुपमा बताइरहेका छन् । त्यसकै लागि गगन थापाले हरेक दिन निधारमा रातो टिका र खुइलिंदै गरेको कपालमा एउटा मसिनो फूल झुण्ड्याएर आफू पनि हिन्दूवादी भएको बताइरहेको धेरै भइसकेको छ । धेरैले यसको भद्धा स्वार्थ पत्तो नै नहुन पनि सक्छ ।
सार्वजनिक मञ्चहरुबाट देउवा–गगनको झगडामा पनि प्रचण्ड र माओवादीको जसरी तेजोबध गरिएको थियो, त्यो त झनै माओवादी पार्टीका लागि सैह्य नै थिएन । जसको मुखररुपले विस्फोट विधान सम्मेलनमा हुन पुग्यो । माओवादी पार्टीलाई जतिसुकै प्रचण्डको इशारामा चल्ने भनिएपनि उनले कुनै पनि सम्मेलनका हाउसको अनादार गरेको एउटा पनि घटना छैनन् । उदाहरणका लागि २०५७ को दोस्रो राष्ट्रिय सम्मेलन, चुनावाङ बैठक, हेटौंडा महाधिवेशन, विराटनगर सम्मेलन, एकवर्षे लामो पेरिसडांडा बैठकदेखि पछिल्लोपटकका चुनावी गठबन्धनदेखि फागुन २१ को निर्णयसम्म आइपुग्दा प्रचण्ड पार्टीका भेला वा बैठकका म्यान्डेट भन्दा बाहिर गएको देखिंदैन । विधान सम्मेलनले प्रष्टै रुपमा अनेक स्वार्थवस उनका सहयात्रीहरु जसले जसरी कुरा उठाए पनि कांग्रेससँगको गठबन्धन जान सक्दैन भन्ने त स्पष्ट गरेको थियो । प्रचण्डका हकमा देउवाले आफ्नो जस्तो पार्टीका अधिवेशन वा बैठकका निर्णयको कुनै मतलव नगर्ने भँडुवा ठाने कि ? शायद अन्तिम प्रहरमा कांग्रेसीहरु यहींनेर चुकेका हुनसक्छन् ।
तर रमाइलो के देखिन्छ भने नयाँ गठबन्धन बन्ने भएपछि र प्रचण्डकै प्रधानमन्त्रीमा हुने निरन्तरतालाई धेरैलाई पचाउन गा¥हो परिरहेको छ । शान्ति प्रक्रियाको माओवादी प्रवेशलाई कम्युनिष्ट आन्दोलन डिस्मेन्टल र डिस्पर्स गराउने भन्ने लड्डु खाइरहेकाहरुलाई विगत दुई दशकदेखि प्रचण्डकै वरिपरि राजनीतिक दैनिकी घुम्नु सवैभन्दा असैह्य पीडा हो । प्रचण्डका सशस्त्र विद्रोह, कम्युनिष्टिक भाष्यजस्ता कुराको डोमिनेशन चालु नवउदारवादी पुँजीवादी समाजका अवयवहरुलाई पाच्य हुने कुै होइन । धेरैजसो हाम्रो सामाजिक, राजनीतिक र मिडियामा देखिन प्रचण्ड विरोधी हावाका झोंक्का यिनै हुन् । यद्यपि यस्तो हुनुमा माओवादीको बोली र व्यवहारमा देखिएको असमन्जस्यता थप कारक छँदैछ ।
फागुन २१ गते बालुवाटारमा बैठक चल्दै गर्दा एउटा अनलाइनले लेख्न भ्याइहाल्यो ‘ देउवालाई एक वर्षमा दुई पटक धोका दिएका प्रचण्ड‘ शिर्षकमा समाचार । तर विचार गर्नुपर्ने तथ्य के थियो भने गत वर्षको पुस १० मा आइपुग्दा प्रचण्डले नभएर देउवाले नै प्रचण्डलाई धोका दिएका थिए भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । त्यसका लागि सवै कांग्रेसीहरुले आत्मआलोचित भएर पुस २६ मा प्रचण्डलाई विश्वासको मत दिएको होइन् र ? कि जो प्रधानमन्त्री भएपनि विश्वासको मत दिनु कांग्रेसको धर्म हो ? त्यसो हो भने अब पनि प्रचण्डले विश्वासको मत लिंदा कांग्रेसले फेरि मत दिनु पर्नेहुन्छ । अवश्य नै यसपटक कांगे्रसले सनातनी धर्म पालना गर्ने छैन ।
कोशी प्रदेशमा माओवादी उम्मेद्वारलाई मुख्यमन्त्री बनाउने भन्ने निर्णय गरेको कांग्रेस र देउवाले किन कथित बागी उठाएर माओवादीलाई धोका दिए ? अझै प्रचण्डलाई समेत तिनै बागीलाई प्रचण्डबाट समर्थन गराउन देउवा सफल भए । के यो प्रचण्डको धोका हो ? देउवाले आफूसँगै शेखर कोइरालालाई बालुवाटारमा लगेर कांग्रेसशैलीकै चिर्कटोमा शेखर कोइरालको हस्ताक्षर गरेर कुन बहादुरी गरेका थिए ? त्यो धोकामाथिको धोकाधडीको प्रहसन होइन र? केहीले ‘पटक पटक काँध फेरेका प्रचण्ड‘ भन्दै टिप्पणी गरेर विद्ध्वता छाँटिरहेका छन् । काँध प्रचण्डले फेरेको हो कि काँध थाप्न कांग्रेस र एमाले लगायतका नयाँ भनिने दलले प्रतिस्पर्धा गरेको हो ? योे कोणबाट हेर्ने हो कि ? के प्रचण्डले चाहँदैमा सजिलै काँध फेर्न सम्भव छ र ? काँध हाल्नेहरुको प्रस्पिर्धा चलुन्जेल उनले नयाँ नयाँ तरिकाले काँध चढाइको मजा लिनु त संसदीय राजनीतिको स्वभाविक मजा होइन र ? हो यस्तो प्रवृत्तिले राजनीतिमा बढीरहेको अरुचिलाई झन बढाउने छ नै । सत्ताको चास्नीले लठ्ठिएका दल र तिनका नेताहरुलाई यस्ता कुराले कुनै असर गर्दैन ।
जसरी प्रचण्डलको छलाङकारी विम्व बन्दैछ । ठिक त्यहींनेर विचार गर्नु पर्ने के छ भने उनी बचनका कति पक्का छन् भन्ने पनि हेर्नु आवश्यक छ कि ? त्यसका लागि अर्कोले पनि बचन त पालना गर्नै पर्छ । फागुन २० गते राती त कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष, मन्त्रिपरिषद पुनर्गठनको म्यान्डेटदेखि अर्थ र गृह दुवै मन्त्रालय उनैलाई राख्न दिनेसम्मको उदारताको ललिपप पनि पठाएकै थियो नि । तर प्रचण्ड त्यसमा लोभिएनन् । उनले ओलीसहितका नयाँ सहयात्री दललाई दिएको बचनमा अडिए । यता एमाले पंक्ति भने कांग्रेसी ललिपपबाट केही हुने हो कि भन्ने डरबाट प्रताडित भइरहेको थियो । यस हिसाबले हेर्दा एमाले नेतृत्व र मुख्यतः केपी ओलीले समेत अझै पनि प्रचण्डलाई चिन्न नसक्नु विडम्वना नै हो ।
प्रचण्डको उदारता र कठोरताको सीमा नबुझेमा आगामी दिनमा धेरैपटक काँध फेराइको चक्र दोहरिन सक्छ । जुन नहोस् भन्नकै लागि ओलीबाट आएको बाँकी चार बर्ष नै प्रचण्ड प्रधानमन्त्री हुने अफरलाई प्रचण्डले गठबन्धनको मर्म र संसदको अंक गणितअनुसार अनुचित हुने भन्दै आधा–आधा गर्ने जबाफी प्रस्ताव गरेका हुन् भन्ने कुरा सवैभन्दा बढी ओलीले आत्मसाथ गर्न सक्नुपर्दछ । अन्यथा कुनै पनि बेला फेरि प्रचण्ड–ओली ‘ट्र्जेडी‘ नदोहोरिएला भन्न सकिन्न ?
नामकै हिसाबले सही, एमाले र माओवादी एउटै जात–सम्प्रदायका भएको हुनाले जातिय हित प्रवर्धन गर्न पनि एउटै वंशावली बनाउने दिशामा काम गर्दा मात्र ‘फर्जाइल‘ संसदभित्रबाट पुनः स्थिर सरकार बन्न सक्छ । मिशन ८४ ले पटक पटकको अस्थिरताको दुष्चक्रलाई फेरि एकपटक खण्डन गर्ने सम्वभत यो अन्तिम अवसर पनि हो । यसबारेमा नै ओली–प्रचण्डको ध्यान केन्द्रित हुनु बाहेक देउवाशैलीमा दैनिकी प्रशासनिक कामकारवाही चित्त दुखाउनु हुँदैन । सत्ता गठबन्धनको फेरबदलको समाचारसँगै शेयर बजारमा देखिएको उछालको संकेत बामपन्थी बलियो सरकार आवश्यक छ भन्ने पनि हो । अंशमा जाँदा अब विष्णु पौडेल अर्थमन्त्री हुनेछन् र राष्ट्र बैंकका गर्भरनरसँगको झगडा बन्द हुनेछ भन्ने पनि हो । डेलिभरि र बजार ‘फ्रेन्डली‘ बन्नुपर्ने वाध्यताका यी साना–मासिना कुराहरुलाई पनि प्रचण्ड–ओलीले त्यत्तिकै मसिनोगरी समात्न सक्नुपर्दछ । अन्यथा जुनसकै बेला दुर्घटना निम्तिन सक्छ ।
जहाँसम्म रबी, उपेन्द्र वा सिके राउतदेखि महन्थ ठाकुरसम्मको झमेला छ, यो त सरकार बनाउनका लागि तपाईंहरुले ऐतिहासिकरुपले चुकाएको मूल्यका कारण तपाईंहरुको भाग्यमै लेखिन पुगेको दायित्व हो । त्यो झेल्ने नै हो, त्यसमा खेल्ने होइन भन्ने पनि तपाईंहरुले बुझ्नु बढी उपयोगी हुनेछ । दुनियाभरीमै ‘पपुलिजम्‘सँग केवल जुधेर मात्र सही राजनीति स्थापित हुने उदाहरणबाट दिशा भ्रमित हुनु हँुदैन । ‘पपुलिजम्‘ले अनिश्चय र अराजकता फैलाउँछ । राजनीतिक व्यवस्थाको सुस्थिर निर्माण गर्दैन । दुनियाभरमा देखिएका ‘पपुलिजम्‘का अनेक रुप र रङका बाछिटा नेपालमा आइपुगिसकेकै छन् । यसको सामना गर्न योजनावद्ध राजनीतिक अभियानले मात्र सम्भव छ, उनीहरुकै बहकाउमा बहकिएर सम्भव छैन ।
जहाँसम्म बाह्य हस्तक्षेप, असहयोग वा घेरावन्दीको कुरा छ । यो त आन्तरिक शक्ति एकीकृत भएसम्म गौण हुन् । प्रचण्ड– ओलीले निर्णय क्षमता र आपसी विश्वास नगुमाउँदासम्म कुनै बाह्य शक्तिले पनि घुनपुत्लो लगाउन सक्दैन र शायद चाहँदैन पनि । तर जब यी दुई जनाका बीचमा दरार देखा पर्दछ, त्यो बेला त विदेशीहरुले पनि आफ्नो ‘कम्फर्टेवल‘ पात्रको खोजीमा लागिहाल्छन् । यो संसारभरको भूराजनीतिक नियम नै हो । अन्यथा गाजामा बम बर्साउन इजरायललाई अमेरिकाले युद्धपोत विमान र हतियार दिने तथा मानवीयताको ढाेंग प्रदर्शन गर्न गाजामाथि सैन्य जहाजबाट खानाका प्याकेट खसाल्ने जस्तो भद्धा दुःख किन गर्नुपथ्र्यो ? जेभएपनि जसरी अमेरिका, चीन र भारतलाई कुटनीतिक स्वतन्त्रता र स्वायत्तताको लाभ छ, त्यस्तो न त लाभ, न त अवसर नै नेपालले पाउँछ । यो साना र दुई ‘जाइन्ट‘बाट च्यापिएका मुलुकको बाध्यता नै हो । भारत र चीनजस्ता छिमेकीलाई कसरी बढीभन्दा बढी लाभका क्षेत्र वा शक्तिका रुपमा सुमधुर व्यवहार गर्ने भन्नेमा थोरै पनि कमजोरी गर्न नमिल्ने हाम्रो वाध्यतालाई पटक्कै विर्सनु हुँदैन । यो पक्षमा सबैभन्दा बढी एमालेतर्फका नेताहरुले सुविचारित रुपमा लिनु आवश्यक छ ।
जहाँसम्म सरकारको विरोध वा आक्रोश हुने कुरा छ, यो त प्रचण्डले वा कुनै वामपन्थी प्रधानमन्त्रीले नेतृत्व गरेसम्म सनातनी विरोध चलिरहन्छ नै । तर प्रशासनिक वा शासकीय कमजोरी सकेसम्म कसरी कम गर्ने भन्नेमा ध्यान केन्द्रित गर्नु पर्दछ । पुरानो गठबन्धनका ठाउँमा नयाँ गठबन्धन बन्नु आवश्यक थियो भनेर प्रचण्ड–ओलीले व्यवहारबाटै प्रमाणित गरेमात्र नयाँ सरकारको औचित्य पुष्टि हुृनेछ । त्यसका लागि को भन्दा को ठूलो भन्ने कुरालाई केपी शर्मा ओलीले गत वर्षको पुस १० देखि फागुन १२ सम्म भएका घटना नदोहराउन सचेतनता अपनाउनु आवश्यक छ । यसका लागि शंकर पोखरेल, विष्णु रिमालहरुको भूमिका सवैभन्दा बढी हुनेछ । अहिलेलाई यति नै ।
प्रतिक्रिया दिनुहोस्