‘भारतीय प्रधानमन्त्री मनमोहन सिंहले फरक फरक समयमा तीन पटक वान–अन–वानमा नेपालका मुख्य दललाई विश्वासमा लिएर सँगै हिंड्न दिएको सुझाव ज्ञानेन्द्रले स्वीकार गरे, तर कार्यान्वयन गरेनन्’
काठमाडौं १० चैत । ड्याब्लिङ इन डिप्लोमेसी नामक प्रध्यापक एस डी मुनिको पुस्तकले एउटा बौद्धिक स्कलरको सम्पर्कले राजनीतिक संकटका सन्दर्भमा कसरी सहजीकरण गर्न सकिन्छ भन्ने राम्रोसँग देखिएको छ । यो पुस्तक प्राज्ञिक मन्थन होइन, नेपाल र श्रीलंका तथा लाओसका सन्दर्भ सम्पर्कमा आएका सवै व्यक्तित्वहरुलाई मुनिले उल्लेख गरेर निकै ठूलो क्रेडिट दिएका छन् । हालैमात्र सार्वजनिक भएको र काठमाडौंमा समेत मुनिको उपस्थितिमा परिचर्चा भएको पुस्तकको मुख्य भाग नेपाल नै छ ।
राजनीतिक डिस्कोर्समा लिङ्केजले निकै ठूलो महत्व राख्छ । मुनिको भारतीय कूटनीतिक मामिला रचनात्मक हुनुपर्दछ, यथास्थितिवादी भएर मात्र चल्दैन भन्ने बुझाइलाई समयक्रममा नेपाल मामिलाबाट पुष्टि भएको देखाएका छन् ।
प्राज्ञिक व्यक्तित्व मुनिलाई राजनीतिक घटनाक्रमको विकासले जर्बजस्ती राजनीतिक खेल मैदानमा तानेको छ । उनले कुनै कुरा मागेर वा चाहेर भन्दा बढी राजनीतिक रुचि र अध्ययनका आवश्यकताले त्यता पुगेको देखाएका छन् । भारतीय नीतिका सन्दर्भमा मुनिले नेहरु, इन्दिरादेखि उनलाई नै राजदूत नियुक्त गर्ने आइके गुजरालको पनि आलोचन गर्न पछि परेका छैनन् । यस्तो गर्नसक्ने कुटनीतिज्ञले नभएर प्राज्ञिक व्यक्तित्वले मात्र हो, जुन मुनिले देखाएका छन् ।
‘लेनिनको क्रान्तिबारे लेख्नुभन्दा क्रान्ति गर्नु ठूलो आनन्दको कुरा हो‘ भन्ने कुराबाट धेरै प्राज्ञिकहरु जस्तै मुनि व्यवहारमा उत्रंदैनन् । तर एसडी मुनिका प्रशंसक र उनको सन्निकटतामा रहेका बाबुराम भट्टराई लगायतका केही नेताहरुले त्यसको प्रयोग गरेको सगर्व बताउने गर्दछन् । बाबुरामले निरन्तर पुरानो राज्यसत्ता परिवर्तन गर्न राजनीतिक हिंसाको अनिवार्यतालाई दोहराउँदै आएका छन् । मुनि भने त्यति प्रखर नदेखिए पनि नेपालको सशस्त्र हिंसालाई देशको बस्तुगत आवश्यकता रहेको अस्वीकार गर्न भने सक्दैनन् ।
भारतको दुई खम्बे नीति
भारतले नेपाल नीतिको मुख्य आधार भन्ने गरेको दोस्रो जनआन्दोलनको अन्तिम विन्दुमा पुग्दासम्म पनि ‘संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र (राजा र संसदवादी दलको एकता)‘ भन्ने नै रहेको कुरालाई मुनिले आफ्नो पुस्तकमा ऐतिहासिक सिलसिलासहति उल्लखे गरेका छन् । ‘माओवादी दमन गर्ने भन्दै राजाले चीन र पश्चिमी देशहरुबाट हतियार ल्याउन थालेपछि बल्ल भारतीय (संस्थापन) का लागि रातो बत्ती बलेको हो (पृ.७०) ।‘ राजाका परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेका छोरा निश्चलनाथ पाण्डेको पहलमा नेपाली दूतावास दिल्लीसमेतको प्रर्वधनमा आयोजना भएको संविधान क्लवको एक कार्यक्रममा पाण्डेले ‘राजाले सजिलै माओवादीलाई दबाउन सफल हुने‘ धारणा राखेको जबाफमा मुनिले खण्डन गर्दै सुझाव दिएका थिए । ‘यदि राजा सक्रिय राजनीति गर्न चाहन्छन् र अझै सान्दर्भिक बन्न खोज्छन् भने उनले आफ्नै राजनीतिक दल खोलेर लोकप्रिय जनमत प्राप्त गरे हुन्छ, त्यो बेला भारतका राजा रजौटाहरुले पनि उनलाई सघाउनेछन् (पृ.७१) । भारतका तर्फबाट राजालाई दल खोल्न चेतावनी दिएको शायद मुनिको व्यंग्य नै पहिलो हुनुपर्दछ । त्यो बेला पनि भारतले राजासँग कुरा गर्नका लागि श्याम शरणलाई काठमाडौं पठाएको थियो । श्याम शरणले काठमाडौंमा राजासँग कुरा गरेपछि तत्कालीन प्रधानसेनापति प्यारजङ्ग थापालाई समेत राजालाई सम्झाउन आग्रह गरेका थिए । सन् १९६८ मा आफ्नो विद्यावारिधिका सन्दर्भमा नेपाल आएपछि भारतीय नीति निर्माताहरुले सर्वकालिकरुपले अनिवार्यरुपमा पढिनुपर्ने व्यक्तित्वको रुपमा एसडी मुनि नेपालसँग जोडिएको कुरालाई यो पुस्तकले देखाएको छ ।
ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा ‘भारतीय प्रधानमन्त्री मनमोहन सिंहले फरक फरक समयमा तीन पटक वान–अन–वानमा नेपालका मुख्य दललाई विश्वासमा लिएर सँगै हिंड्न दिएको सुझाव ज्ञानेन्द्रले स्वीकार गरे, तर कार्यान्वयन गरेनन् (पृ.६९) ।‘ मुनिले लेखेका छन् ‘राजाको यसप्रकारको व्यवहारबाट आजित भएर भारतले दल–माओवादी बीचको १२ बुँदे सहमतिलाई सघाएको हो ।‘
भारतले राजा र दलहरुबीचको मिलन नै नेपाल नीति भन्ने सन् १९५० देखिकै यथास्थितिवादी मान्यतामा पुनर्विचार गर्न थालेको जब सन् २००३ मा ‘माओइष्ट इनसर्जेन्सी इन नेपालः द च्यालेन्ज एण्ड द रेस्पोन्स‘ भन्ने मुनिको पुस्तिका निस्केपछि मात्र शुरु भएको उनको दावी छ । यसबारेमा मुनिले नेपालका पूर्व राजदूत एम एस रसगोत्राा र अर्का ओआरएफ सञ्चालक समितिका सदस्य के के नारायणसँग छलफल गर्दा उनीहरुले असहमति जनाए । पछि उनीहरुले नेपाल गएर राजालाई पनि भेटे । त्यहीबेला मुनि एक कार्यक्रममा काठमाडौं आएका बेला तत्कालीन राजदूत श्याम शरणलाई आफ्नो अप्रकाशित सोही कार्यपत्र समेत दिए । ‘शरणले सोधे ‘तपाईंको सुझाव के छ ? मुनिले उही कार्यपत्रको एक प्यारा दोहराएपछि शरणले प्रतिक्रिया जनाए । ‘अहँ, हुँदै–हुँदैन, म त्यसप्रकारको कुनै पनि काम गर्न जानेवाला छैन । यतिबेला राजा चर्को दबावमा छन्, यहीबेला हामीले बढीभन्दा बढी सुविधाहरु लिनुपर्दछ । मैले राजालाई बीरगन्जमा महावाणिज्य दूतावास खोल्न अनुमति दिन भनेको छु । उनले हामीलाई त्यो अनुमति पनि दिएका छन्‘ (पृ.५९) ।
मुनिको उपरोक्त कार्यपत्रलाई साउथ ब्लकले त्यति महत्व नदिए पनि त्यहीबेला भारत भ्रमणमा आएकी अमेरिकी राष्ट्रिय खुफिया अधिकृत न्यान्सी पावेल (जो पछि नेपाल र भारतका लागि समेत राजदूत भइन्)ले मुनिलाई ‘तपाईंले भारतीय विदेश मन्त्रालयको तर्फबाट त्यो पेपर तयार गरेको हो भनेर सोध्दा अफ्नो अस्वीकृतिलाई उनले पत्याइनन्‘ (पृ.उही) । यसले के देखाउँछ भने नेपालको मामिलामा अमेरिकीहरु कति मिहिन तरिकाले अवलोकन गरिरहेका छन् भन्ने बुझ्न पर्याप्त छ ।
नेपालको माओवादी जनयुद्ध र लोकतन्त्रका बीचमा मेल हुने कुरालाई प्राज्ञिकरुपले भारतीय नीति निर्मातालाई बुझ्न बाध्य बनाउने राजनीतिशास्त्री मुनि नै रहेको तथ्यलाई सन्दर्भसहित यो पुस्तकमा पढ्न पाइन्छ । नेपालको लोकतान्त्रिक गणतन्त्रको पक्षमा अन्तिम प्रहरमा नेपालका लागि राजदूत समेत बनेका तत्कालीन विदेश सचिव श्याम शरण र हर्मिश थाराकान (तत्कालीन रअ प्रमुख) सहमत भएको सन्दर्भ रोचक तरिकाले मुनिले उल्लेख गरेका छन् ।
बाबुराम –मुनि छटपटी
सन् २००३ मा एक दिन बाबुराम भट्टराई मुनिको निवासमा पुगेर लामो छलफल गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापना हुने शर्तमा माओवादीले हतियार विसाएर शान्तिपूर्ण राजनीतिमा आउन चाहेको बताउँदै मुनिलाई भारतीय संस्थापनसँग आफूहरुले कुरा गर्न चाहेको र त्यसमा सघाउन आग्रह गरेका थिए । त्यसभन्दा पहिले पनि भट्राईले भारतीय म्यागजिन आउटलुकमा मुनिको लेखक प्रकाशित भएपछि भेटेर लामो कुरा गरेका थिए । बाबुरामले भारतीय वामपन्थी नेताहरु सीताराम येचुरी र डिपी त्रिपाठीसँग भेट्न खोज्दा नमानेपछि मुनिको सहयोग खोजेका थिए । मुनिको आग्रहलाई पनि उनीहरुले ‘परिस्थिति संवेदनशील भएको‘ भन्दै बाबुरामसँग भेट्न अस्वीकार गरे ।
मुनिले विभिन्न सम्पर्क सूत्र खोज्ने क्रममा ओआरएफका अध्यक्ष आर के मिश्रको सहयोगमा तत्कालीन प्रतिपक्षी दल कांग्रेसका नेता प्रणव मुखर्जीलाई(जो १२ बुंदे सहमतिदेखि दोस्रो जनआन्दोलन पूरा हुँदासम्म प्रभावशाली मन्त्री र पछि भारतको राष्ट्पति भए) भेट्छन् । मुखर्जीले भारतीय हितमा असर नपर्ने लिखित पत्र चाहिने बतएपछि मुनिले बाबुरामलाई उनको सन्देश दिएको केही समयमा बाबुरामले प्रचण्डको समेत सहमतिमा दिएको माओवादी पत्र मुनिले मिश्रमार्फत नै प्रणव मुखर्जीलाई दिए । तर पनि त्यसको जबाफमा मुखर्जीले कुनै पहल नगरको विवरण मुनिले पुस्तकमा लेखेका छन् ।
ब्रजेश मिश्रसँग नोकझोंक
एम एस रसगोत्रा र केभी राजनको अवरोधका बाबजुद एकदिन मुनिले तत्कालीन प्रधानमन्त्री अटल विहारी बाजपेयीका सुरक्षा सल्लाहाकार ब्रजेश मिश्रलाई भेट्न सफल भएको रोचक विवरण पनि पुस्तकमा पढ्न पाइन्छ । ‘उनीहरु के चाहन्छन् ? ब्रजेश मिश्रले प्रश्न गरे । मैले भनें– उनीहरुले राजतन्त्रको अन्त गरेर नेपालको मूल प्रवाहको राजनीतिमा सहभागी हुन चाहन्छन् ।‘ राजतन्त्रको प्रश्न सुन्नेवित्तिकै मिश्र नराम्रोसँग च्याँठिंदै कुर्सीबाट उठे । ‘यो संभव छैन । यसभन्दा बढी तपाईंले मलाई केही नसुनाउनुस् ।‘ मैले उनलाई नम्रतापूर्वक बस्न अनुरोध गर्दै कृपया मलाई एउटा जबाफ दिनुस्, त्यसपछि म यहाँबाट निस्कनेछु भनें । मेरो प्रश्न थियो –‘राजाले भारतीय राष्ट्रिय स्वार्थ प्रवर्धन गर्न के गरेका छन् ? के उनले चीनलाई आमन्त्रण गरेनन्, पाकिस्तान र पश्चिमी शक्तिलाई भारतको काउन्टर गर्न नेपालमा आमन्त्रण गरेनन् ?‘ एकछिनको स्तव्धतापछि उनी कुर्सीमा बस्दै भने—‘के उनीहरुले लिखितरुपले नेपालमा भारतीय स्वार्थलाई हानी गर्ने छैनन् भन्ने दिन सक्छन् ?(पृ.६२) ।‘ त्यसभन्दा पहिले कांग्रेस नेता प्रणव मुखर्जीले पनि त्यही भनेका थिए । केही समयपछि मुनिले माओवादीको पत्र मिश्रलाई दिए ।
पत्र दिएको केही हप्तापछि हैदरबाद हाउसमा भएको एक दिवाभोजमा प्रधानमन्त्री अटल विहारी बाजपेयीसँग मुनिको जम्काभेट हुँदा बाजपेयीले भने ‘मुनीजी, हामीले तपाईंको नेपाल बारेको सन्देश पाएका छौं । केही गर्नेछौं‘(पृ.उही) ।‘ यस्ता विवरणले पुस्तकलाई पढ्न शुरु गरेपछि नसिध्याएसम्म छोडन् नमिल्ने रोचक बनाएको छ ।
मुनिको सवैभन्दा निकट कोइराला परिबार
नेपालको कोइराला परिवारसँँग सवैभन्दा पहिलेदेखि न्यानो सम्वन्ध बनाएका मुनिले सन् १९९१ को संसदीय निर्वाचनपछि दमननाथ ढुंगानाले नै आफूलाई सभामुख बन्नका लागि गिरिजा बाबुलाई भनिदिन गरेको आग्रहलाई मुनिले सहजीकरण गरिदिएका छन् । त्यतिमात्र होइन, त्यतिबेला कांग्रेसको बहुमतप्राप्त सरकारमा पञ्चायतका मन्त्री तथा कट्टर दरबाररिया पात्रका रुपमा कहलिएका रमेशनाथ पाण्डे समेत मुनिकहाँ पुगेर गिरिजाबाबुको क्याविनेटमा मन्त्री बन्न दुई वटा याकको ऊनका कुर्सीमा राख्ने कुशन उपहार टक्राएको प्रसंग रोचक छ ।
कांग्रेसभित्र देखिएको गिरिजा–गणेशमा–भट्टराई बीचको दरार कम गराउन समेत मुनिले प्रयत्न गरेको प्रसंगदेखि पछिल्लो समय माओवादीभित्र प्रचण्ड–बाबुरामबीचको विवादमा समेत मुनिले आफ्नै तरिकाले उनीहरुलाई अलग–अलग तरिकाले सम्झाएका छन् । मुनिले ‘प्रचण्ड–बाबुराम एकअर्काका परिपूरक हुन्, प्रतिद्धन्द्धी होइनन्(पृ.८९) भन्ने उल्लेख गरेका छन् । शायद कुनै भारतीय उच्चस्तरको प्राज्ञिकमध्ये मुनि नै त्यस्ता बौद्धिक हुन् जसले पुस्तकमै माओवादी आन्दोलनलाई जस्ताकोतस्तै उल्लेख गरेका छन् । शायद मुनिले बाबुरामसँगको कुराकानी र इमान्दारिता तथा प्रचण्डसँगको सम्वादपछिको विश्वासका आधारमा नै हुनुपर्दछ ‘माओवादीहरु आतंककारी होइनन्, लोकतान्त्रिक शक्ति हुन्, उनीहरुले राजतन्त्रको अन्त गरेर लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर नेपालका अन्य लोकतान्त्रिक दलहरुसँग मिल्न तयार छन्‘ भन्ने बुझाइलाई लगातार पैरवी मात्र गरेनन् कि समयक्रमले नै प्रमाणित ग¥यो ।
दिल्लीमा भन्दा बढी सम्पर्क काठमाडौंमा
मुनिको नेपालका राजनीतिज्ञरुमा राजा बीरेन्द्र, ज्ञानेन्द्र, चिरनशमशेर थापा र रमेशनाथ पाण्डेहरुसँग दरबारिया क्षेत्रमा सम्वन्ध छ । दलहरुमा बीपीसहित कोइराला परिवारका प्रायः सवै सदस्यहरु, गणेशमान सिंह, कृष्णप्रसाद भट्राई, रामबरण यादवदेखि सागर शमशेर राणासम्मका नेता कार्यकर्ताहरुसँग घनिष्ठ सम्वन्ध छ । मुनिको नेपालमा अनन्य मित्रका रुपमा दमनाथ ढुंगाना र प्राज्ञिक सहकर्मीका रुपमा डा.लोकराज बराल रहेको मुनिले प्रष्ट गरेका छन् । वामपन्थी नेताहरुमा पुष्पलाल श्रेष्ठ, साहना प्रधान, माधव नेपाल, बामदेव गौतम र माओवादीमा भने प्रचण्ड–बाबुरामका अलवा, कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, सुरेश आलेमगर, राम कार्की, हिसिला यमीदेखि बामदेव क्षेत्रीसम्ममा उनको सम्वन्ध सिमीत छ । मुनिको पुस्तकबाट भारतीय नेताहरुको व्यक्तिगत स्वभाव, काम गर्ने शैली र कर्मचारी तन्त्रको रवैयालाई विना विश्लेषण गरेको उल्लेखबाट भारतलाई राम्रोसँग बुझ्न सहयोग हुन्छ ।
नेपालका निर्वँचनका बारेमा दिल्लीमा कति गहिरो रुचि हुने गर्दछ भन्ने समेत मुनिले सुन्दर तरिकाले उल्लेख गरेका छन् । सन् १९९१ को संसदीय निर्वाचनमा नेपालमा कांग्रेसले चुनाव जित्ने आंकलन सही प्रमाणित भएकोमा साउथ ब्लकले आनन्द मान्दछ । तर १९९४ को मध्यावधि निर्वाचनमा भारतीय दूतावास र खुफिया एजेन्सी रअको रिपोर्टले कांग्रेसले नै १०० भन्दा बढी सिट चुनाव जित्ने आंकलन गरेको रहेछ । नर्थ डेस्कका सह–सचिवले एक साँझ डिनरमा बोलाएर मुनिको अवजर्भेसन बुझ्दा मुनिले कांग्रेस र एमालेबीच चर्को प्रतिस्पर्धा रहेको, केही सीटले दुई मध्ये एक दल अगाडि हुने र राप्रपा तेस्रो दल बन्ने सुनाएपछि ती अधिकारीले अनुहार विगारको प्रसंग बडो रोचक छ । उनीहरुले छलफल गरेको तीन दिनपछि नेपालको चुनावी नतिजाले मुनिलाई सही र साउथ ब्लकलाई गलत सिद्ध गरेपछि मुनिलाई नै एमालेले सरकार बनेको सन्दर्भमा भारतसँगको सम्वन्ध कस्तो हुनेछ भन्ने बुझिदिन काठमाडौं पठाउँछ । मुनिले काठमाडौं आएर साहना प्रधान र मनमोहन अधिकारीसँग भेटेर दुई देशबीचको सम्वन्धमा केही तलमाथि नहुने आश्वासन पाउँछन् । त्यो बेला परराष्ट्र तथा रक्षामन्त्री बनेका माधव नेपालाई भेटेर मुनि दिल्ली फर्केका छन् ।
दोस्रो जनआन्दोलनपछिको पहिलो संविधानसभा निर्वाचनमा कुन दलको हैसियत के हुनेछ भन्नेबारेमा काठमाडौं, दिल्ली र पश्चिमी देशका राजधानीमा निकै ठूलो स्तरको मत सर्वेक्षण र अनुमान चलेको थियो । त्यहीक्रममा दिल्लीको सांग्रिला होटलमा पुगेर नेपालका लागि अमेरिकी राजदूत न्यान्सी पावेल (२००९–११) ले एक डिनरको आयोजना गरेर दिल्लीका नेपाल अवजर्भरहरुलाई बोलाएर नेपालको चुनावी समीक्षा गर्दछिन् । ८ जना भारतीय कुटनीतिज्ञहरु जसमा केभी राजन र जनरल अशोक मेहता समेतका विश्लेषक मात्र रहेको रात्री भोजमा मुनिले बाँकी ७ जनाले भन्दा फरक धारणा राख्दै भन्छन् ‘माओवादीले संविधानसभाको चुनावमा धेरै राम्रो गर्दैछ, विभिन्न आंकलन र सर्वेक्षणमा देखाएजस्तो माओवादी सानो खालको तेस्रो दल हुने भन्ने कुरामा मलाई विश्वास छैन ।‘ सुन्ने वित्तिकै आश्चार्य मान्दै पावेलले भनिन् ‘ यस्तो कसरी संभव हुन्छ ? उनीहरुको हिंसा र अमानवीय गतिविधि, जसमा चुनवाी अभिायनका क्रममा उनीहरुका अपहरण, फिरौती, हिंसात्मक अराजकता र भद्रगोल पूर्णरुपमा छताछुल्ल भएको छ । जनताहरु उनीहरुका काम र विचारधाराप्रति क्रुद्ध छन् (पृ.७५) ।‘ जबाफमा मुनिले सविस्ता बताए कि माओवादीको राम्रो संगठनात्मक अधार र जनपिरचालन नै मुख्य आधार हो । दोस्रो जनआन्दोलको निर्णायक र मुख्य शक्ति नै माओवादीको तल्लो तहदेखिको सुव्यवस्थित जनपरिचालन हो । उनीहरुको अपहरण र चन्दा जस्ता कुराले केही मुठ्ठीभर सम्पन्न एलिटहरुप्रति लक्षित थियो, ती घटनाले उद्योगका मजदुर र सामान्य मानिसलाई झन बढी आकर्षित गरेको वस्तुगत अवस्था बुझ्न आवश्यक छ । जहाँसम्म काठमाडौंका मिडिया रिर्पोट र विदेशी खुफिया एजेन्सीको रिपोर्टको कुरा छ, त्यस्ता विश्लेषण प्रायोजित छन्, ति संस्थाका बोसहरुले माओवादी कमजोर हुँदै गरेको भन्ने, जुन सुन्न चाहन्छन्, त्यही रिपोर्ट तयार गर्ने गरेका छन् (पृ.७५–७६)।‘
मुनिले अगाडि लेखेका छन् ‘राजदूत पावेलले मेरो मूल्याङ्कनलाई व्यक्तिगत आग्रह भन्दै खारेज गरिन् । त्यसको दुई –तीन दिनपछि सार्वजनिक चुनावी नतिजाले मेरो मूल्याङ्कन नै सही सवित भयो (पृ.७६)।‘
नेपाल अध्यायको अन्तमा मुनिले रोचक तरिकाले ओली बलियो प्रधानमन्त्री भएको बेला भारतसँग सम्वन्ध बनाउन वाशिंगटनमा नेपाली राजदूत रहेका डा. अर्जुन कार्कीमार्फत आफूसम्म सन्देश पठाएको देखि त्यही अनुक्रममा मोदी–ओली फोन वार्तापछि ओलीले बेइमानी गरेको आरोपदेखि नयाँ नक्सा जारी भएको प्रसंगसमेत उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्