काठमाडौं । नेपाली सेनाको प्रमुख सेनानीबाट अवकाश प्राप्त मणिन्द्र गुरुङ फुटबल खेलाडी र खेलप्रेमीका लागि नयाँ नाम होइन । अझ नेपाली सेनाको खेल जीवनमा त मणिन्द्र गुरुङको योगदान अतुलनीय नै छ । कर्णेल गुरुङले आफ्नो वृत्तिविकासतिर ध्यान नदिएरै पनि सैनिक खेल जीवनका लागि भने योगदान दिएकै व्यक्ति हुन् ।
२०३२ सालमा तत्कालीन शाही नेपाली सेनाको सेकेण्ड लप्टनबाट सेवा प्रारम्भ गरेका गुरुङले नेपाली सेनामा संगठित खेल विकासमा महत्वपूर्ण योगदान दिएका छन् । उनले यो अवसर भने त्यत्तिकै पाएका भने होइनन् । उनले बाल्यकालदेखि नै खेलप्रति देखाएको लगाव र उत्कृष्ठ प्रदर्शनकै कारण सेनाको जागिरे जीवनमा पनि खेल क्षेत्रकै उन्नति प्रगति गर्ने अवसर पाएका हुन् ।
यसरी सुरु भयो फुटबल यात्रा
उनी देहरादुनमा २००६ सालमा बाबा क्या. बृत्तसिंह गुरुङ र आमा विष्णुमाया गुरुङको कोखबाट जन्मिएका हुन् । उनको पुख्र्यौली घर भने कास्कीको तत्कालीन विजयपुर पोखरी गाविस हो । देहरादुनमा कक्षा ६ सम्म पढे । त्यसपछि उनको बाबा भारतीय सैनिक सेवाबाट अवकासपछि आफ्नै थातथलोमा फर्किए । पोखराको अमरसिंहचोकमा रहेको सोल्जर्र बोर्ड भोकेशनल ट्रेनिङ हाइस्कुलमा आएर कक्षा ६ मा भर्ना भए । सोही स्कूलबाट २०२३ सालमा एसएलसी उत्तीर्ण गरे । सोही स्कूलमा पढ्दापढ्दै फुटबल खेल्न थालेका थिए ।
छालाको ‘ठूलो फुटबल’ त त्यो बेला पाउनै मुस्किल थियो । स्कूलको होस्टलमा बस्दा थाङ्ना र मोजाको फुटबल खेल्दाखेल्दै रुची बढ्यो । सुरुवाती चरणमै अरुको तुलनामा मणिन्द्र अब्बल थिए ।
पोखरामा ब्रिटिश र भारतीय आर्मीहरुको जगजगी थियो । छुट्टीमा आएका बेला उनीहरु फुटबल खेल्थे । उनीहरु सिनियर खेलाडी हुन्थे । त्यो देखेर पनि मणिन्द्रले ‘यसरी फुटबल खेल्नुपर्दो रहेछ’ भन्ने सिक्थे । त्यसबेलासम्म भलिबल बाक्लै खेल्थ्यो । फुटबलचाहिँ त्यति खेल्दैनथे । छुट्टीमा आएका लाहुरेहरुले फुटबल खेलेको देखेर सबै छक्क पर्थे ।
लाहुरेहरुले फुटबल खेलेको देखेपछि उनीहरुले पनि प्रतियोगिताकै रुपमा फुटबल खेल्न थाले । उनीहरुले सेती वारि र सेती पारि टीम बनाएर फुटबल खेल्थे । मणिन्द्रचाहिँ सेती वारि टीमबाट खेल्थे । भद्रकाली साइटतिरकालाई सेती वारि भन्थे । फुलबारीतिरका लागि सेती पारि टीम भन्थे ।
रानीपौवाका राधेश्याम दाइको नेतृत्वमा फुटवल खेल्थे । उनीहरुको टीममा कल्याण शेरचन, हेम गुरुङ, शिवशंकर पालिखे लगायत मणिन्द्रको टीममा थिए । टीममा सबैभन्दा फुच्चे थिए । मणिन्द्र फरवार्डका रुपमा खेल्थे । कुनै पुरस्कारको रुपमा खेल हुदैनथ्यो । जसले जित्छ, हार्ने टीमलाई टीन ठटाएर लखेट्ने चलन थियो । रमाइलाका लागि खेलिन्थ्यो । त्यहीँबाट उनको खेल यात्रा सुरु भयो । यो २०२४ सालको कुरा हो ।
नर शमसेर जबराको स्मृतिमा नर ट्रफी हुँदै आएको थियो । २०२४ सालमा भने काठमाडौंमा भइरहने सो प्रतियोगिता वीरगञ्जमा आयोजना भएको थियो । पोखराबाट पनि एउटा टीम बनाएर सहभागी भएको थियो । टीमले हा¥यो तर मणिन्द्रले भने ‘बेष्ट प्लेयर’ उपाधि जिते ।
बेष्ट प्लेयरको उपाधि जितेपछि मणिन्द्रमा थप हौसला बढ्यो । क्याम्पस पनि पढने र फुटबल पनि खेल्ने नियमित प्रक्रिया चलिरह्यो । २०२९ देखि २०३१ सालमम्म भने गण्डकी टीमकै नेतृत्व उनले गरे । गण्डकी टीमको तर्फबाट उनले नै नेतृत्व गरेर राजा वीरेन्द्रको जन्मोत्सवमा खेले । उपविजेता बन्यो उनको टीम । वीरगञ्जले उपाधि जितेको थियो । मणिन्द्रले भने कोरोनेसन मेडल (राज्यभिषेक) हात पारे ।
राजाको जन्मोत्सव लगत्तै अर्को प्रतियोगता पोखरामै भएको थियो । त्यो टीममा लक्षिमीप्रसाद गुरुङ, कृष्ण आले, चेतबहादुर आले, एलबी गुरुङ, गणेश गुरुङ लगायत राखेर मणिन्द्रले टीम बनाएका थिए । उनीहरु लाहुरे भएकाले स्थानीय खेलाडी भएकाले टीम क्याप्टेन बन्ने सौभाग्य मणिन्द्रले पाएका थिए ।
नेशनल टीममा मणिन्द्र तर सेनामा भर्ती
फुटबल प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आएका थिए । तर, खास प्रशिक्षण भने उनीहरुले पाएका थिएनन् । पोखरामै तालिम गराउन केन्द्रबाट पदम श्रेष्ठ र केदार श्रेष्ठ प्रशिक्षकका रुपमा पोखरा आए । उनीहरुले प्रशिक्षण गराए ।
प्रशिक्षणसँगसँगै उनीहरुले खेल पनि हेरे । मणिन्द्रको खेल उत्कृष्ट देखेपछि प्रशिक्षकहरुले उनलाई राष्ट्रिय टीमका लागि छनौट भए । तर, उनले राष्ट्रिय टीमबाट भने खेल्न भ्याएनन् । उनले आफ्नो करिअरका लागि नेपाली सेनामा भर्ती हुनेतिर ध्यान दिए । २०३२ सालमा उनले स्नातक उत्तीर्ण गरेका थिए । सोही बेला तत्कालीन शाही नेपाली सेनामा सेकेण्ड लप्टनमा भर्ना खुलेको थियो ।
‘खेल भनेको त पछि पनि खेलौला, आफू सक्षम बन्नुपर्छ’ भन्ने भावना उनमा आयो । त्यसपछि उनी तत्काललाई फुटबल छाडेर सहायक सेनानी (सेकेण्ड लप्टन) पदमा भर्ना भए । सेनामा भर्ना भएपछि उनी फुटबलको नेशनल टीममा गएनन् । त्यसबेला उनका नेशनल टीमका साथीहरु रुपक शर्मा, अशोक केसी लगायत थिए ।
त्यसबेला सेनामा किङ्स ब्यानर कम्पीटिसन हुन्थ्यो । गणको अलग्गै, गुल्मको अलग्गै प्रतिस्पर्धा हुने गर्दथ्यो । त्यो व्यानरमा फुटबल, भलिबल, एथलेटिक्स, व्याडमिन्टन लगायत खेलका प्रतिस्पर्धा हुन्थ्यो ।
वगतदेखि नै फुटबल खेलेकाले पनि मणिन्द्रले सेनाको पहिलो फुटबल टीममा खेल्ने मौका पाए । २०३४ सालमा मणिन्द्र सेनाले बनाएको पहिलो फुटबल टीमा छनौट भए । सेनाले चीनबाट मैत्रीपूर्ण फुटबल खेल्न आउने भएपछि सेनाले टीम बनाएको थियो । थप सैन्य तालिममा नपठाइ मणिन्द्र लगायत फुटबल खेल्न जान्नेहरुसहितको सो टीम बनाएको थियो । त्यसबेला फुटबल सिकाउनका लागि भारतबाट प्रशिक्षक आएका थिए । सो टोलीमा गजेन्द्र लिम्बू, यम, कृष्ण थापा, भीम राई, श्याम सापकोटा, अर्जुन बोहरा, निरन्जन राणा, विनोद राणा लगायत थिए । ११ बेसिकका १७ जनामध्ये तीन जना मणिन्द्रसहित निरन्जन राणा र विनोद राणा फुटबल टीममा छनौट भएका थिए ।
चीनका खेलाडीसँग पहिलोपटक अन्तर्राष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धामा उत्रने मौका मणिन्द्र पाएका थिए । चीन खेलाडी राम्रा थिए । उनीहरुसित खेल्न नेपाली टोलीले धेरै सिक्ने मौका पनि पाए । सो मैत्रीपूर्ण खेल चीनले नै जित्यो । यो प्रतियोगिता सकिएलगत्तै टीम भंग भयो । सेनाको जागिर । विभिन्न जिम्मेवारीमा खटाइए ।
सेनाले चीनसँग मात्र होइन, भारतसँग पनि धेरैपटक मैत्रीपूर्ण फुटबल खेलेको थियो । मनिन्द्र सहभागी भएर नै दिल्ली, देहरादुन र लखनउमा मैत्रीपूर्ण फुटबल खेलेका थिए ।
फुटबलप्रति लगावका कारण सेनाले २०४२ सालमा उनलाई प्रशिक्षकको तालिम लिन भारत पठायो । उनले भारतको पटियालास्थित ‘एनआइएस’मा नौ महिना प्रशिक्षक तालिम लिएर नेपाल आए । त्यसपछि आर्मीको टीमलाई नै प्रशिक्षण दिन थाले । २०४३–४४ सालमा बनेको फुटबल टीमलाई उनले कोच गर्ने मौका पाए । त्रिभुवन आर्मी क्लबका खेलाडीहरुलाई रेखदेख गर्ने, प्रशिक्षण दिने र सक्षम खेलाडी बनाउने काममा उनी दत्तचित्त भएर लागे ।
लामो समय त्रिभुवन आर्मी क्लबमा
सैनिक जीवनको ३२ वर्षको सबैभन्दा लामो समय मणिन्द्रले त्रिभुवन आर्मी क्लबमा बिताए । उनले निरन्तर नभए पनि पटक पटक गरेर १५ वर्षभन्दा बढी समय क्लबमा काम गरे । त्यसबेला दुई–दुई वर्षमा सरुवा हुने गर्दथे । त्यही भएर उनले क्लबबाट सरुवा भएर जाने र फेरि क्लबमै फर्केर खेल क्षेत्रलाई योगदान दिइरहे । क्लबमा कोच मात्र नभई सम्पूर्ण जिम्मेवारीमा रहेर उनले काम गर्ने अवसर पाए ।
सेनानी पदमा रहँदा विभिन्न गुल्मको नेतृत्व गरेर काठमाडौं बाहिर रहँदा उनी क्लबमा रहेर फुटबलतिर ध्यान दिन त्यति भ्याएनन् । तर, दुई वर्षमा उनको सरुवा भने क्लबमै हुने गर्दथ्यो ।
जर्नेलहरुमा भिक्टर राणा, आमोद नरसिंह राणा, मेजर नरेन्द्र प्रताप महतले पनि प्रशिक्षकको तालिम लिएर आएका थिए । तर, उनीहरुले प्रशिक्षण गर्ने जिम्मेवारी भने मणिन्द्रलाई नै दिए । बढी फुटबलप्रति लगाव रहेकाले पनि मणिन्द्रले जिम्मेवारी पाएका थिए ।
अत्यन्त अनुशासित टीम थियो । हुन पनि नेपाली सेना भनेकै अनुशासनको पर्याय नै हो । अझ खेलाडी त झन अनुशासित नहुने कुरै भएन् । मणिन्द्रको अनुभव पनि त्यस्तै छ । सानैदेखि फुटबल खेल्ने इच्छा पूरा मात्र भएन, मणिन्द्रले नेपाली सेना जस्तो गौरवशाली संगठनको खेल क्षेत्रमा आफूले योगदान गर्न पाएकोमा खुशी छन् । उनले भने, ‘खेल क्षेत्रमा लागेर खेल्ने मात्र नभई कोचको रुपमा सिकाउने अवसर पाउँदा मलाई गौरव लाग्छ ।’
सधै १० नम्बरको जर्सीमा खेल्ने मणिन्द्र सबैभन्दा आनन्दचाहिँ पेनाल्टी सुट हान्दा हुन्थयो । किनकि, उनले हानेको पेनाल्टी सुट कहिल्यै असफल हुदैनथ्यो । खेललाई सकेसम्म खेललाई ड्र गराएर पेनाल्टीमा पु¥याउने ध्याउन्नमा उनी हुन्थे । खेलाडीलाई पनि पेनाल्टी सफल कसरी गर्ने भन्ने विषयमा राम्रो प्रशक्षिण दिन्थे ।
त्यसबेलादेखि राम्रो प्रशिक्षण पाएको सेनाका खेलाडीहरुले अहिले झनै राम्रो गरेको पाउँदा मनिन्द्र दंग छन् । सेनाका खेलाडी दोहोरो फाइदाका लागि खेल्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘सेनाका खेलाडीले जित्यो भने पहिलो त सेनाको इज्जत रहने, दोस्रो देशकै गौरव बढ्ने । त्यसैले खेलाडीले सेना र देशको शान बढाएको छ । म खुशी छु ।’
नेपाली सेनाको सेवाबाट २०६४ मा अवकासपछि पनि उनी फुटबल र खेल क्षेत्र नियालिरहेका छन् । श्रीमती कृष्ण गुरुङका साथमा रहेका मणिन्द्रका छोरी पुनम गुरुङ गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष भइसकेका छन् भने ठूलो छोरा दीपेन्द्र गुरुङ बेलायत बिजनेस गर्छन् । कान्छा छोरा नेपाली सेनामै मेजर छन् ।
प्रतिक्रिया दिनुहोस्