शारदा शर्मा : कानुनको विद्यार्थी नभएकोले पनि केही दिन यता कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको विषयमा मिडियाहरुले किन यति धेरै बिरोध जनाए भन्ने कुरामा अलि बढी नै रुचि जागेको थियो । नागरिकताका विषयमा मिडिया हाउसबाट नै पक्राउ गरिएका सिरोहियाको गिरफ्तारी मलाई पनि मन परेको थिएन । । मलाई मन नपर्नु उनी नागरिकताको विषयमा पक्राउ पर्नु भन्दा पनि मिडिया हाउसबाट राजाको पालामा जस्तै दलबलसहित पक्राउ गरिएकोमा थियो । बजारमा सिरोहियाको बिषयमा धेरै प्रश्नहरु उठाइए । उनी भारतीय हुन् । उनी यहाँका मानिसनै हैनन्, के के हुन ? यसो गर्ने, उसो गर्ने, सिरोहिया नेपाली नै हैनन् । बिदेशी माडे आएर नेपालमा जे पनि गर्न पाइन्छ ? उसले जफाव दिनैपर्छ । यावत खालका प्रश्नहरु उठेपछि मलाई पनि लाग्यो । हैन, कतै न कतै नागरिकतामा गडबडी रहेछ कि ? नभए त उनको विषयमा यतिधेरै प्रश्नहरु किन उठ्थे ? जनताको प्रधानमन्त्री भएको समयमा शाह ज्ञानेन्द्रकै शैलीमा पक्राउ गर्नुको कारण पक्कै पनि उनी नेपाली नभएर होला जस्तो देखिन्थ्यो ।
हाम्रा प्रधानमन्त्री र सत्ता गठबन्धनलाई बिदेशी नागरिकले आएर नेपालमा मिडिया अम्पाएर खडा गरेर, जनताका आवाज भन्दै सहकारीका कुरा उठाउने पक्कै पनि यो मन परेन होला । किनकी उहाँहरु त राष्ट्रको लागि बलिदान दिएर आएको नेतृत्व । किन एकजना बिदेशीलाई देशमा दादागिरी गर्न दिने ? मलाई पनि लाग्यो । हाम्रो गठबन्धनले गरेको काम गलत छैन होला । पक्कै पनि कैलाश भारती नै होलान् । उनले यहाँ आएर दादागिरी देखाउन मिल्दैन । मैले सोच्दै गएँ । दोहोरो नागरिकता विषय र दुइवटा पासपोट बोकेर अनेक झमेला गर्दै हिंडेका रवि लामिछानेलाई त गृहमन्त्री बनाएको उदार गठबन्धनले किन सिरोहियालाई पक्राउ गथ्र्यो भन्ने पनि लाग्यो । यति उदार, यति धेरै लचिलोपन भएका पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीको गठबन्धनमा सहकारीमा जनताले ठग भनेर आवाज उठाएको मानिस भएपनि विदेशी नागरिकता छाड्ने महान त्याग गरेर नेपाली भएको कारण रवि लामिछानेलाई देशको गृह सुम्पिएका बेला कोमल मनका पुष्पकमल र केपी ओलीले कैलाशलाई इगोको रुपमा नै पक्राउ गरे भन्ने सोच्न पनि सकिन । लाग्यो उनले जवाफ दिनैपर्छ, उनी भारतीय नै हुन् ।
यता मेरो मनमा सिरोहिया र देशको कानुनको बिषयमा सवाल उठिरहेका बेला मिडियाहरु सबैले कैलाशकै पक्षमा वकालत गर्दै प्रेसमिट गरिरहेका थिए । यही बिषयमा मानवअधिकारवादी, मिडियाका अन्तराष्ट्रिय संघसंस्थाले पनि कैलाशको पक्राउको बिरोध गरिरहेका थिए । सहकारी पिडितको बिषयमा लगातार समाचार आएपछि संसदमै रबि दाइले दिएको खरो स्पिच मलाई पनि इन्ट्रेष्टिंग नै लागेको थियो । पटक पटक उहाँले अरु मिलाउन सक्छु, मिडिया मिलाउन सक्दिन सभामुख महोदय भनेका कुराहरु ध्यान दिएर सुनिरहँदा युवा जोश र नयाँपन भनको यही होला भन्ने पनि लाग्यो ।
हामीले ग्राउन्डबाट नै परिवर्तनका छिर्काहरुले पटक पटक आफैलाई कोपेको सहेर आयौं । तर रबिदाइ एकैपटक देशको सच्चा नागरिक भएर होला, जनताले उहाँको अनुहार हेरेर पत्याइदिए । समयले उहाँलाई उहाँले नै सोच्न नसकेका अवसरहरु दियो । चाहे जतिवटा नागरिकता पासपोर्टको कुरा आओस् । उहाँका कुराहरु बिकिरहे । जसको कारण अनेक काण्डहरु आउँदा पनि उहाँले थाहा छैन र म त्यो हैन भनेर अवसरहरु प्राप्त गर्दै आउनुभयो । नयाँ आएको खहरेले आफुलाई नै बगाउने होकी भनेर पुराना पार्टीका परिवर्तनका बाहाकहरु भित्र–भित्र मक्किंदै, कमजोर बन्दै गएपनि शासन सत्ताको रस र रबिले लगाइदिएको अडेसमा दौरा उचाल्दै बिचरा बनेर हिंडिरहनु भएको छ ।
खैर छोडौं । यहाँ अनागरिक कैलाश सिरोहियाको कुरा हुँदै थियो । मलाई पनि प्रष्ट थिएन । मन नपरेको बिषयमा सवाल राख्नु स्वभाविक हो । तर त्यसको जवाफ पनि त जान्नुपर्यो । सन्जालमा कैलाशको पक्राउको बिरोध गर्नेहरुलाई भारतीय दलाल, उनीहरुले पैसा दिएर खाएको ? के के अनेक भनेर गाली आइरहेको थियो । यति धेरै सवाल उठेको, उनको नागरिकता र नागरिकताको कारण नै उनलाई पक्राउ गरिएको हो त भन्ने बिषमा जान्नु थियो ।
पक्राउ परेपछि जनकपुर कारागारमै रहेका सिरोहियालाई अदालतमा पेश गरिंदैछ भन्ने थाहा पाएपछि मलाई पनि जनकपुर जान मन लाग्यो । अदालतमा शम्भु थापा, रमण श्रेष्ठ, गोन्दि बन्दी, टिकाराम भट्टराई, शेरबाहादुर केसी, दीपेन्द्र झा, रमण कर्ण, लगाएतका दशजना भन्दा बढी देशका स्थापित वकिलहरुले बहस गर्दैछन् भन्ने थाहापाए पछि मलाई पनि जान्न मन लाग्यो । एकजना भारतीय नागरिक भनिएका सिरोहियाको नागरिकताको बिषयमा देशका मै हुँ भन्ने वकिलहरुले कुन मुखले बहस गर्ने रहेछन् हेरौं न त । अनि उनी साँच्चै नागरिक हुन् या के रहेछन् भन्ने पनि चासो भयो । सुनेकै भरमा बिरोध गरिहाल्ने परिपाटी भएको समाजमा भएकाले दोधारमा म पनि थिएँ । कतै सन्जालमा आएजस्तो त हैन, बिषयत बुझ्नुपर्छ । कैलाश इगो र रिसिबीको कारण भिक्टिम भए या नागरिकताको कारण ? यही जान्नको लागि शुभसँग म पनि जनकपुर हिंडे ।
एरपोर्टमा शम्भु दाई र टिकाराम भट्टराईसँग भेट भयो । हाम्रो पेलेन पनि एउटै रहेछ । हामी जनकपुर झर्यौ । जनकपुर काठमान्डुभन्दा धेरै तातो थियो । पहिलो पटक सिंगापुर झर्दा जुन अनुभव भएको थियो, जनकपुरले पनि त्यति मलाई त्यस्तै ताताले स्वागत गर्यो । हामीसंगै एउटा होटलमा पुगेर खाना खायौं । जुन होटलमा हामी गयांै त्यहाँ पहिले नै रमण दाइ शेरबाहादुर केसी लगाएत धेरै ववीलहरु पुगिसक्नु भएको रहिछ । सबैले सँगै खाना खायौ । जिल्ला अदालतमा सिरोहियालाई पेस गरेर बहस हुने कुरा थियो ।
म कानुन त्यती बढी नबुझ्ने मान्छे । कानुनका दिग्गजहरु नै जनकपुर देख्दा अचम्म लाग्यो । सबै बहस गर्न आएका । त्यही पनि सिरोहियाको पक्षमा । हैन, यी वकिलहरुलाई पनि कैलाशले किनिसकेछन् कि क्या हो । कि समाचार बनाइदिनेहुन कि भन्ने डरले बहस गर्न आएका हुन् ? मनले सोच्यो । रमण दाई पनि छन् शम्भु दाइू टिकाराम पनि छनु पुर्वकानुन मन्त्री गोबिन्द बन्दी पनि छन् । कम्युनिष्टको उदार सरकार पुष्पकमल दाहाल प्रचन्ड प्रधानमन्त्री भएको बेला त्यही सरकारले नागरिकताको केसमा पक्रेका सिरोहिया ठिक छन् ? उनलाई नागरिकताको कारण हैन लगातार सहकारीका समाचार लेखेको कारण पक्राउ गरिएको हो भनेर बहस गर्न तम्सिएर आएका वकिलहरु पनि कुनै समय पार्टीमा योगदान गरेकै मानिसहरु रहेछन । रमण श्रेष्ठ त यिनै प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा उनकै महान्यायधिवक्ता भएका समत सुप्रसिद्ध वविक पनि हुन् । उनी बागलुंगे भएका कारण हामी एउटै जिल्लावासी त हौं नै ।
लाग्यो म गलत छु । मैले कैलाशको नागरिकताको बिषयमा जे सोचें । त्यो त हैन होला । र पनि अदालतको बहस सुन्न र र सिरोहिया भारतिय हुन् या हैनन् भन्ने जान्नु पनि थियो । प्रधामन्त्रीज्यू । परिवर्तन गरेर ल्याएको ब्यवस्थामा एउटा नागरिकलाई कसैको रिस र आवेग, अनि उस्को ठुलो अम्पाएर देखेर गरिखाएको रिसले नै तपाइँको नेतृत्व भएको सरकारले पक्राउ गरे होला भन्ने त मलाई लागेकै थिएन । यतिधेरै मानिसहरु छन् । ग्राउन्डमा जस्लाई सत्य के हो भन्ने थाहा नै हुँदैन हल्ला र सुनेकै बिषयमा मानसिकता बनाएर जे पनि बोल्छन् ।
प्रधानमन्त्रीज्यू ! यस्तो बेलामा यति धेरै रगतले साटेको ब्यवस्थाका मालिकले एउटा नागरिकलाई रिस सांध्नको लागि नै पक्राउ गर्नपरेको हो भन्ने सोच्ने त कुरा पनि भएन । त्यसैले मभित्र जिज्ञासा बढ्दै थियो ।
साढेचार बजे फर्किने टिकट थियो । दुइ बजेसम्म पनि सिरोहियालाई अदालतमा पेश गर्न ल्याइएको थिएन । मनमा लाग्यो कतै बहस नसुनी फर्किन पर्ने त हैन ? वकिलहरु षडयन्त्र छ, टाइम सकाएर यहां ल्याइंदैछ, माथिकै डिजाइनमा यो गरिएको छ । एकजना नागरिकमाथि राज्यनै लागेपछि हुने नै यस्तै हो भन्दै एकआपसमा कुरा गरिरहेका थिए । आफुभन्दा उमेर खाएका र कानुनका केस्रा केस्रा केलाउन सक्ने मानिसहरु भएको ठाउँमा म बोल्ने कुरा पनि भएन । साढेदुई बज्दा एकजना आएर सरलाई अदालतमा ल्याइयो भनेपछि हामी सबै अदालत तिर लाग्यौं । बाहिर सयौंको भिड लागेको थियो ।
जबसम्म जनकपुर रहन्छ, तवसम्म सिरोहिया रहन्छ । सिरोहिया थर हुँदैमा उ हाम्रो भुमिको मानिस हैन, नेपाली हैन भन्नु हामी मधेसीलाई हेपेको हो । आज पनि उनको बाउले चलाएको मिलको नाम बाटै राखिएको मिल्स एरियामा बस्छौं । घांसिरामलाई हामी कहाँ बिर्सेका छौं ? यो नागरिकताको कुरा हैन हामीलाई मधेसी भनेर हेपिएको हो । बुढाखाडाहरु यही भन्दै नारा लाउंदै थिए । सायद काठमान्डुमा उनको पत्रिकाले लगातार सहकारीको समाचार लेखेको कारण र त्यसमा गृहमन्त्रीको संलग्नता भएको कारण उनलाई पक्राउ गरिएको भन्दा हामीलाई मधेशका मानिस भनेर भारतिय भन्छन् । आज पनि भैया भन्छन भन्ने बिषय धेरै दर्दनाक देखिन्थ्यो ।
हामी अदालत भित्र गयौं । सिरोहियालाई पहिले नै ल्याइएको थियो । समय कम र धेरै वकिलहरु भएको कारण बहस पनि सुरु भैहाल्यो । मैले टेलिभिजनमा हुने फरक खालका बहस देखेकी थिएँ। तर हामीकहाँको अदालतको इजलाशमा देखेको बहस यो सायद तेस्रो पटक थियो । कानुनका किताब, सिरोहियाका नागरिकता र अनेक खेस्राहरु खोल्दै वकिलहरुले बहस सुरु गरे ।
मलाई पनि सिरोहियाको नागरिकताको केस नै होला भन्ने उत्सुकताले बहसमा हरेक शब्द र वकिलले दफा र धारा कोट गरेर नागरिकताको बिषयमा गरेको बहस सुन्नु थियो । सन्जालमा आएजस्तै भ्रममा म पनि थिएँ । मैले सिरोहियाको पक्राउको बिरोध प्रक्रियाको कारण गरेकी थिएं । नागरिकताको बिषय त हुनसक्छ भन्ने लागेकोले वकिलका कुराहरु नछुटाइ सुन्नुपर्ने थियो । वकिलहरु बहस गर्दै गए । कानुनका कुनै पनि धारा र दफामा सिरोहियाले मिस्टेक गरेका थिएनन् । उनका बाबुले नागरिकता लिए.पछि उनी जन्मेकाले कानुनी रुपमा नै उनी वंशजको नागरिक भएका रहेछन् । नागरिकता लिनु भन्दा पहिला जन्मेकाहरु अंगिकृत हुने रहेछन, नागरिकता ऐन २०२० अनुसार । यस्ता धेरै कुराहरु वकिलहरुले प्रष्ट पार्दै गए । पालो शम्भु दाइको आयो ।
यतिधेरै रिसिइवी सांधेर समाचार लेखेकै भरमा एकजना ब्यक्तिलाई पक्राउ गर्ने हो भने खै नागरिकको सुरक्षा श्रीमान ? भनेर उहाँको बहस सुरु भयो । शम्भु दाइको नागरिकता पनि सिरोहियाको जसरी नै जारी भएको र प्राप्त गरेको रहेछ । आफ्नो नागरिकता देखाएर बिषय राख्नु भयो । यहाँसम्म आइपुग्दा सात जना वकिलहरुले बहस गर्नुभैसकेको थियो । कहीं कतै र कुनै कारणले पनि नागरिकताको कारण पक्राउ गर्न पर्ने कारण थिएन । सोधपुछ गर्ने र के हो भनेर सिडियो कार्यालयले नै मिलाउन सक्ने बिषय रहेछ । कसरी यो देशमा कानुनी राज्य छ भन्दै प्रश्न सबै वकिलहरुले गर्नुभयो । गाँजा खाएको मान्छेले पनि गर्न नसक्ने रिसइवी गृहमन्त्री लामिछानेले सांधेको भन्दै न्यायधिशलाई सिरोहिया विरुद्ध कुन कानुनको धारा वा व्यवस्था अनुसार मुद्धा चलाएको भन्दा उनी नाजबाफ भए । पक्राउ पुर्जीमा केवल नागरिकता विषयको कसुर भनिएको थियो । हाम्रो कुनै पनि काननुमा नागरिकता विषयको कसुरको व्यवस्था नै रहेनछ ।
त्यसपछि रमण दाइले पुनः कानुनका केस्रा केस्रा केलाउँदै हामीले दुख गरेर ल्याएको परिवर्तनमा यस्तो पनि हुन्छ ? के हामीले यतिधेरै बुहार्तन र क्षति ब्यहोर्नु पर्दथ्यो र श्रीमान ? रमण दाइले परिवर्तन गरेर ल्याएको ब्यवस्थामा कसैको सनकको भरमा एउटा ब्यक्ति माथि यतिधेरै प्रतिशोध सांध्नु कति जायज हो भन्दा मेरो आंखाबाट आंशु झरे ।
प्रधानमन्त्रीज्यु, हुनत कति मानिस मरे, कति मर्दै जान्छन्, कति मिचिए यस्ता मिचिंदै जान्छन् तपाईहरुले यही सोच्नुहुन्छ ? एउटा नागरिकको संवेदनशिलतालाई ध्यानमा राखेर काम गर्ने मानिसले यसरी आम मानिसमाथि गलत अभियोग लगाउँदैन ।
म पनि कन्फ्युजमा थिएँ । मारवाडी भएकोले उनको नागरिकताकै इसुमा पक्राउ गरियो होला । काग कराउने र चल्ला हराउने समय एउटै पर्यो । तर जव मैले नागरिकता सम्बन्धी नेपालको कानुन तपाइँकै वकिलहरुबाट सुन्ने मौका पाएँ । मलाई राज्य ब्यवस्थाप्रति नै घृणा लागेर आयो । प्रचण्ड सरकार भएको समायमा यस्तो नीचच हर्कत पनि हुन्छ ? तपाइँहरुले समाचार लेखेकै निहुमा अनि आफ्ना गलत धन्दाहरु पर्दाफास गर्यो भन्दैमा यस्तो नीच हर्कत गर्नुभयो ? सबैलाई सोध्न हुने, पक्रन हुने, उस्लाई पक्रन नहुने ? के आकाश खस्यो ? यही हैन तपाईहरुको जवाफ ? यो प्रक्रिया हो । कैलाशलाई के भएको छ र ? उस्ले पनि त समाचारले मानिसलाई झटारो लगाउँछ उस्लाई हुने यस्तै हो । आज तपाइँ र तपाइँको गठबन्धनले यही सोचेर उनलाई यो केसमा ठोक्दा हुन्छ, सबैले पत्याइहाल्छन् भनेर नै यस्तो नांगो नाच देखाउनु भएको रहेछ । त्यो पनि मैले तिनै कानुनका खेस्र केलाउनेहरुबाटनै थाहा पाएँ ।
समाजमा अनेक थरीका मानिसहरु छौ । सबैका बिचार सोच र शैली एउटै प्रकारका छैनन् । हामी चिन्दै नचिनेका मानिसहरुको पनि सुनेकै भरमा बिरोध गछौं । मलाई जस्तै कैलाशको नागरिकताको बिषयमा डाउट लाग्नेहरु धेरै हुनुहुन्छ । मैले बुझें । मलाई उहाँको नागरिकताको केसमा सत्ताले यस्तो प्रकारको नांगो नाच देखाएछ भन्ने थाहा भयो । धेरैले बुझ्नु पनि भएको रहेछ र कतिले अझै पनि बुझ्नुभएको छैन ।
प्रधानमन्त्री ज्यु । न्युज लेखेको कारण पक्राउ गरेको भन्न पक्कै पनि तपाइँहरुलाई लाज लाग्यो । बालुवाटारमा कानुनमन्त्री र आइजी राखेर आइजीले यस्तो त गर्नहुंदैन हजुर भन्दा गृहमन्त्रीले प्रधानमन्त्रीले भनेको नमान्ने भन्दै निर्देशन दिंदा हजुरले टाउको हल्लाएर सहमति दिनुपर्ने के त्यस्तो संकट आइपर्यो ? के तपाइँले आफुले जनताको लागि लडेको बिर्सिनु भएकै हो ? सबै जनतालाई कानुन, न्याय एउटै भनेर तपाइँले गरेको युद्धमा कतिले ज्यान गुमाए हजुरलाई त थाहा छनी । त्यतिखेर कलमले तपाइँहरुलाई कति सहयोग गरेको थियो ।
राजा बीरेन्द्रको बंश नास भएपछि बाबुराम भट्टराइको लेखेको लेख छापेर हिरासतमा जाने तिनै सिरोहिया हैनन् ? हरेक परिवर्तनमा कलमको बलले तपाइँहरुलाई उर्जा दिने तिनै सिरोहिया हैनन् किन यति छिटै बिर्सनु भयो ? आज तिनै सिरोहिया राज्यको फर्जी र हास्यास्पद नागरिकता विषयको मुद्धाका नाममा पक्राउ पर्नु पर्यो ? अब के झण्डै डेढ करोड मधेशी जनसंख्यालाई पनि कैलाश सिरोहियालाई जसरी नै पक्राउ गरेर सोधपुछ गर्न शुरु गर्न लागेको हो ? तपाईंले जबाफ दिनै पर्छ ।आज नभए पनि तपाईंमाथि लामो कालखण्डसम्म यो प्रश्नले तपाईंलाई बेचैन बनाउने छ ।
प्रधानमन्त्रीज्यु ! सिरोहिया हाम्रो केही पर्दैनन् । उनी हाम्रा नातेदार पनि हैनन् । अझै ब्यवसायको हिसाबले भन्ने हो भने उनी हाम्रा प्रतिस्पर्धी हुन् । उनलाई र उनको मिडिया हाउसलाई तहस नहस पार्न सके हामीलाई फाइदा नै हुन्छ । किनभने हाम्रा साना मिडियाले उनको मिडिया हाउस बन्द भयो भने उनकोमा आउने बिज्ञापन बाँडेर लिन पाउांछौं होला । उनको मिडिया तपाइँहरुले यही बाहानामा बन्द गराउन सक्नुभयो भने हामीलाई अलि राहात पनि हुन्छ ।
तर प्रधानमन्त्रीज्यु हामी मानिस हौं । मानिस भएपछि कसैले गरिखाएकोमा रिस डाहा र इष्र्या गर्नुभन्दा सत्य बोल्नुपर्छ । आफैले मेहनेत गरेर आफ्नो अम्पायर खडा गर्नसक्नु पर्छ भन्ने हाम्रो मान्यता हो । यही नै इथिक्स पनि हो । तपाईंहरुले सत्तामा गएर इथिक्स बिर्सिनुभयो । हामीले बिर्सेका छैनौ । आज धेरैले उनलाई उनी पावरफुल भए, नेपालमा मिडिया टाइकुन भएर शक्तिसाली बने भनेर बिरोध गर्छन् । कैलाशले तलब दिन्न, उ धनी भयो, उस्ले यस्तो गर्यो, उस्तो गर्यो भन्छन् । एकछिन छातीमा हात राखेर सोच्नुस् त, प्रधानमन्त्रीज्यु, तलबै नदिने उनकोमा काम गर्न किन मान्छे मरिहत्ये गरेर जान्छन् ? कहाँ काम गनर्,े कहाँ काम नगर्ने भनेर निर्णय गर्ने अधिकार ब्यक्तिको हो । जब महिनौं तलब पाउँदैनन्, त्यस्तो ठाउँमा पनि निरन्तर काम किन गर्छन् मान्छे ? आज यी बिषयहरु पनि उठ्ने गरेका छन् । सन्जालमा जे पनि बोल्न पाइन्छ भन्दैमा आफैलाई लाज हुने कुरा बोलेका छन् मानिसहरु ।
हामीले गर्दिएर हाम्रो रगत पसिनामा उ मालिक बन्यो रे, ए– बाबा अरुलाई मालिक बनाउन किन रगत पसिना बगाउनु पर्यो ? आफै मालिक भए भयो नि हैन । कुनै पनि ठाउँमा काम गर्न जाने आवश्यकताले हो । जब हामीले काम गरेर हाम्रा समस्याहरु टर्दैनन् भने त्यो ठाउँमा काम हामी गर्दैर्नौ । आवस्यकता टर्छन्, हामीलाई ठीक लाग्छ भने काम गर्छौं । अनि दशथरी कुरा किन ? हामीले काम गर्दिएर उ मालिक भयो भनेर आफुलाई नोकर सम्झिने र तथानाम बोल्ने मान्छेहरुले कहिल्यै राम्रो गर्न सक्दैनन् । जो अरुले राम्रो गर्यो, कसरी गर्यो ? म पनि उस्ले जस्तै गर्न के के गर्नु पर्छ ? पढ्ने लेख्ने काम गर्ने, कति घन्टा काम गर्ने, कति ठाउंमा काम गर्ने र आफुलाई कसरी म्यानेज गरेर अगाडि बढ्ने सोच्ने हो । हिजो मात्र शहर छिरेकोले आज कैलाश सिरोहीया बन्छु भनेर कसरी ख्वाप देख्नु ? त्यसैले हामीले सत्य बोल्न सक्नुपर्छ प्रधानमन्त्रीज्यु ।
प्रधानमन्त्रीज्यु ! बिषय अनेक हुँदा यी कुराहरु पनि आए । लेखेकै कारण सेनाको हिरासतमा बस्नुपरेका तीता यादहरु हामीले बिर्सेजस्तो गरेका मात्र हौं । बिगत र आफुमाथि भएका घटनाहरु न तपाईंले बिर्सन सक्नुहुन्छ । न हामीले, न त जनतालेनै बिर्सन सकेका छन् । तर यति छिटै सत्ताको उन्मादले स्खलित बन्नु त भएन नी । अरुले के गरे के गरेनन् छोडिदिउँ । हजुरले त विवेकको प्रयोग गर्नुपर्छ नी । कि हजुर पनि उनको नागरिकताको बिषयमा म जस्तै कन्फ्युज हुनुहुन्थ्यो र ? यदि कन्फ्युज हुनुहुन्थ्यो भने किन तपाइले रमण श्रेष्ठ शम्भु थापा जस्ता वकिलहरुसंग बुझ्ने कोशिस गर्नुभएन । किन प्रधानमन्त्रीज्यु ? आशा त्यही मानिससँग गरिन्छ । विश्वास पनि त्यही मानिसलाई गरिन्छ, जस्ले राम्रो गर्छ भन्ने लाग्छ । जस्ले बुझ्न सक्छ भन्ने लाग्छ । आलोचना सहन सक्ने क्षमता भएको तपाईंजस्तो जनताको भावना बुझ्न सक्ने। तपाई किन स्खलित बन्दै जानुभयो ? किन तपाइले यस्ता निर्णय गर्नुपर्यो ? के सत्ता जान्छ भनेर नै हो ? हैन भने त विवेक पुर्याउनै पर्दथ्यो ।
वकिलको बहस सकिएपछि हाम्रो पनि हिंड्ने समय भैसकेको थियो । कुनै कारणले पक्राउ नै गर्न नपर्ने केसमा पक्राउ परेका सिरोहिया रिहा हुनेमा म पूरा बिश्वस्त थिएँ । तर एयरपोर्ट आउन नपाउंदै फेरि तीन दिनको म्याद थपिएछ । सबै वकिलहरु पनि संगै भएकोले मैले सोधें तपाइँहरुले पढ्ने कानुन र अदालतको इजलासमा बसेका ती न्यायधिसले पढ्ने कानुन एउटै हो की फरक हो ? तपाइँहरुको बहसमा त पक्राउ गर्नुपर्ने कारणनै थिएन भन्ने कुरा सबैले एकै स्वरमा भन्नुभयो ।
जब ब्यक्तिमाथि राज्य लाग्छ, हुने यही हो । यति निरिह राज्य र राज्य ब्यवस्थामा छौं हामी । को कतिखेर सत्ताधारीको सनकको निसाना बन्छ, त्यो थाहा छैन । कतिले अव यो ब्यवस्था बचाउनको लागि किन लाग्नु पर्यो भन्दै हुनुहुन्थ्यो भने कतिपयले हैन यही ब्यवस्था मजबुत बनाउने हो ब्यवस्थाको दोष हैन, ब्यवस्था चलाउने मानिसहरुको हो । उहाँहरुले यस्तै यस्तै भन्दै हुनुहुन्थ्यो ।
कानुन ब्यवसायी भन्दा फरक प्रोफेसनका भएको भएर पनि होला हामीलाई पटक पटक भन्दै हुनुहुन्थ्यो तापईंहरु त क्लियर हुनुभयो नी । नागरिकता सम्बन्धी कानुन के रहेछ र यो पक्राउ नागरिकताको कारणले हैन भन्नेकुरामा । मलाई निकै दुःख लाग्यो ।
प्रधानमन्त्रीज्यु, सत्ता र शक्ति भनेको यही रहेछ । हामीले युक्रेनमा पनि देखेका छौ । कसरी सत्ता उन्मादमा एकजना सनकी सत्ताधारीले देशलाइ युद्धभुमिमा रुपान्तरण गर्नसक्छ । तर तपाईप्रति बिश्वास थियो । तपाइले नेतृत्व गरेको सत्ताले यतिधेरै नागों नाच देखाउन लाज मान्छ भनेर । तर यहाँ तपाई एक्लै पनि हुनुहुन्न ।
सत्ताको मोहले ग्रसित बनेको समय नागरिकका दुख ब्याथाले महत्व दिन सक्दैनन् भन्ने कुरा त देखाइदिनु भयो । नागरिक जो जहाँ जेसुकै हुन् ? जे जस्ता प्रश्न उठे पनि संख्या पुग्यो भने सत्तामा नागों नाच देखाउन पाउने राम्रो ब्यवस्था निर्माण गरिएछ । यो पनि स्वभाविकै मानौ अब ।
समयले मानिसलाई हरेक कुरा सिकाउंदै जान्छ । समयले नै सबैकुरा दिन्छ, अनि यही समय हो ब्याजसहित हिसाब किताब गरेरै लिन्छ । हजुर धेरै पोख्त र मनकारी पनि हुनुुहुन्छ । मानिसलाई जानी जानी अन्यायमा पार्न हुंदैन भन्नेमा तपाईं पनि हुनुहुन्छ । सायद यो केसमा म जस्तै कन्फ्युज भएर पनि यस्तो भएको हुनसक्छ । हजुरले पक्कै बुझ्नु हुनेछ । राम्रो गर्यो, ठुलो अम्पायर खडा गरेर आफ्नै बलमा शक्तिशाली बन्यो भन्दैमा अर्को कुनै पनि नागरिकले अवका दिनमा यस्तो किसिमको सत्ताको नागों नाच र बर्बरता सहन नपरोस् । यस्तो गलत नजीर बस्न नहुने कुरामा सोच्नुहोला किनकी परिवर्तनको लागि रगत साट्नेमा तपाइले नै बढी जहर पिउनु भएको छ ।
एयरपोटमा त्यतिबेलै उपेन्द्र महतो दाइ पनि आइपुग्नु भयो । यही बिषयमा वकिलहरु कुरा गर्दै थिए । सवै प्रष्ट थिए । सवाल नागरिकताको थिएन । सवाल कैलाश सिरोहियालाई ठेगान लगाउने र देखाइदिने थियो । यो मेरो कुरा थिएन । त्यहां भएका वकिलहरुको थियो । यत्तिकैमा उपेन्द्र दाइले भन्नुभयो मैले आझसम्म धेरै देशमा ब्यापार गरें । जहां ब्यापार गरें । त्यो देशले मलाई सम्मान गर्यो । राम्रो गरिस् भनेर अवार्ड पनि दियो । तर मेरो देशमा मलाई माफिया, दलाल बिदेशी लगाएतका शब्दहरु प्रहार गरेर बिरोध गरिन्छ । हामीमाथि यस्तो भाष्य निर्माण गर्नुभएको छ तपाईंहरुले । उहाँका आँखामा देशका मै हुं भन्ने वकिलहरुको लागि धेरै प्रश्नहरु थिए । त्यहाँ कोही बोल्न सक्ने अवस्था थिएन । हुनत बोल्न नसक्ने मासिहरु पनि थिएनन् । तपाइँहरुले मन्त्री बनाएका, न्यायाधिबक्ता बनाएका लगाएतका दिग्गज वकिलहरु पनि थिए । तर यो केसले नाजवाफ भएर केही जवाफ दिन सक्ने अवस्थामा थिएनन् ।
प्रधानमन्त्रीज्यु ! के यो संकेत राम्रो हो ? के उपेन्द्र महतोले भनेको कुरा असत्य हो ? आज सन्जालमा जे भनेपनि हुन, जे गरे पनि हुने र त्यही स्थापित गर्ने प्रयास भएको छ । के देशमा कानुनी राज्य समाप्त भैसकेको हो ? के अब हजुर पनि केही बोल्न र गर्न नसक्ने अवस्थामा पुग्नु भएको हो । ? यदि यस्तै हो भने आम मानिसले गर्न नै के सक्छ र ? सकेसम्म गर्ने न हो । हामीले रामायण र महाभारत पनि पढेका छौं । युधिष्ठिर र धृतराष्ट्रहरुलाई पनि जानेका छौं हैन र ? आज युधिष्ठरको आचारण नभएर धृत राष्ट्र र कौरवको आचरणका शासन जो चलिरहेको छ ।
कैलाश सिरोहियाको नागरिकता विवादको कहानी र वास्तविकतालाई कानुन व्यवसायीले यसरी प्रस्ट्याए
प्रतिक्रिया दिनुहोस्