शुभशंकर कँडेल : अमेरिकी कमेडियन रोबिन विलियमले आफ्नो स्ट्यान्ड–अप प्रहसन गर्दा राजनीतिक दर्शनको मूलमै प्रहार गरेर दर्शकलाई पेटी मिचिमिची हसाँएको प्रसंग समकालीन राजनीतिक दुनियका लागि सवैभन्दा सटिक जस्तो लाग्दछ । रोबिनले ‘राजनीति‘ शब्दको अर्थलाई यसरी अथ्र्याउँछन्, ‘पोलिटिक्स‘, ल्याटिन शब्द ’पोली’ बाट आएको हो, जसको अर्थ ‘धेरै‘ हुन्छ, र ’टिक्स’ को अर्थ ‘रगत चुस्ने प्राणी‘ हो ।‘ ठ्याक्कै नेपालको प्रशासन सम्हाल्नेहरु यस्तै प्रवृतिका अनुयायी बन्नु दुखद संयोग हो । (तर दुर्भाग्यवस, पोलिटिक्स शव्द प्राचीन ग्रीकको पोलिटिसबाट आएको हो, जसको अर्थ नागरिक हो भने पोलिसको अर्थ सहर वा समुदाय हो । ईसापूर्व चौथो शताब्दीमा लेखिएको एरिस्टोटलको पोलिटिक्स पुस्तकले समुदायहरूलाई शासन गर्ने तरिकाहरूको बारेमा बताउँछ । यो पुस्तकमा राजनीतिका सबै तत्वहरू शक्तिको प्रकृति, राजनीतिक प्रणालीका प्रकारहरू, क्रान्तिका कारणहरू, र यस्ता यावत कुरामा छलफल गरिएको छ । राजनीति वास्तवमै ती दुर्लभ मानव उद्यमहरू मध्ये एक हो, जुन सहस्राब्दीहरूसम्म त्यति धेरै परिवर्तन भएको छैन । यसको बाह्य रूपहरू परिवर्तन भएपनि शक्तिका लागि हुने तुच्छ सङ्घर्ष र संघर्षको ‘मोडअफ अपरेन्डी‘ कस्तो हुने भन्ने केन्द्रीय विषय उस्तै छ ) ।
नेपालमा यतिबेवेला सामान्य दैनिक ज्यालादारी मजदुरी गर्ने, डोकोमा साग, दूध र फलफूल बेच्ने, सडक पेटीमा मकै पोलेर जिविका चलाउने दुखीहरुले सहकारीमा बचत गरेको रकममाथि राजनीतिका ठूला पदमा पुगेकाहरुले चुसेको घटनाले संसदको हिउँदे र वर्षे अधिवेशन तमासामा परिणत भएको छ । ‘जान्नेलाई छान्ने‘ भन्दै परम्परागत राजनीतिलाई कमेडियन रोविन विलियमले जस्तैगरी गाँड फुलाएर चिच्याउनेहरुले गरिबको रगत–पसिना कसरी चुसीरहेका रहेछन् भन्ने छताछुल्ल भएको छ । त्यसलाई अझै रवि लामिछानेको संसद आक्रोश लगत्तै कान्तिपुर प्रकाशनमाथिको आक्रमण र अध्यक्ष कैलाश सिरोहियालाई नक्कली मुद्धा खडा गरेर कथित नागरिकताको विषयको सोधपुछको बहानामा गरिएको गिरफ्तारीले संसदीय खेलाडीहरुले गर्न बाँकी कुकृत्यमा पनि रेकर्ड बनाएका छन् । यतिसम्म कि ‘तिमिहरु सवैले वर्षौंदेखि जे पनि गर्न हुने, मैले केही सहकारीको रकम खान नपाउने‘ भन्ने दोहोरीमा संसद त गिरेकै थियो । ‘हाम्रो बारेमा प्रश्न गर्ने‘ भन्दै सत्ताको दुरुपयोग र क्षणिक आवेगको भष्मासुर प्रवृत्तिको पुलिसराज शुरु भएको छ । सिरोहियालाई निश्चित कुनै मुद्धामा गरिएको पक्राउ नभएर सत्ता विरोधी आवाजलाई दबाउने बृहत प्रपञ्चको ‘ट्रेलर‘ प्रहसन हो । यस्तो पुलिसराज सत्ताका प्रमुख नेता केपी शर्मा ओलीकै शब्दको ‘भँगेरे‘ पुलिसराज हो । ओलीले यतिबेला देशको गृहप्रशासन सञ्चालनको जिम्मा आफूजस्ता हात्ति पार्टीले नलिएर दुनियाकै सवैभन्दा विकृत पात्र ‘भँगेरा‘लाई सुम्मेका छन् । यसै हप्ता सार्वजनिक रुपमै ओलीजीले रवि लामिछानेलाई भँगेरोको मिठो उपमा दिएका हुन् ।
जसरी अमेरिकामा डोनाल्ड ट्रम्पले खुलेआम करको कुशल व्यवस्थापन गरेको डंका पिट्दै कर चोरेको बहादुरीपूर्वक बताउँछन् । ठीक त्यसैगरी यहाँ रबि लामिछानेहरु ‘त्यसरी रकम झिक्न पाइन्न भन्ने मलाई के थाहा ? खोई मैले सहकारीमा गएर निवेदन दिएको प्रमाण ?‘ जस्ता पाङदुरे कुतर्क गर्दै संसदको रोष्ट्रम दुरुपयोग मात्रै गरेनन् । ओलीका भँगेराले मिडिया कार्यालयमाथि बुट बजारेर उनीसहित प्रचण्डको निधारमा विष्ट्याइदिएका छन् । यो दाग इतिहासमा सदा स्मरण हुनेछ । गरिब–दीनदुखीको बचत रकम चुसुवा डकारलाई प्रवर्धन गर्नेमा विकृत वामपन्थका अगुवा पप्रचण्ड र ओली टुप्पी कसेर लागेपछि उनीहरुको बचेखुचेको लोकतन्त्र र जनहितवादी राजनीतिको पर्दा पनि च्यातिएको छ । रवि लामिछाने हुन् वा पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुन, वा एमाले कार्यकर्ता देवकुमार नेपालीहरु यी सवैले जनताको रगत पसिनाको कमाई चुसीरहेको अब कतैबाट ढाकछोप हुन सम्भव छैन । बजारभरि प्रमाण छरिएका छन् । लाखौं सहकारी पिडितको आर्तनादको चिच्याहटले देश नै कोलाहलपूर्ण भएको छ ।
सामाजिक असन्तोषका अनेक कारणहरुको पृष्ठभुमिा विश्वव्यापी सन् २०१० को वरिपरिबाट पपुलिष्ट राजनीतिको विश्वव्यापी लहरले लोकतन्त्रिक विश्वलाई तर्र्साउन थालेकोे हो । विश्व राजनीतिमा श्रीलंकाका महिन्दा राजापाक्षे जातिय अहंकारसहित सत्तामा पुगेका थिए । उनी देशबाट रातारात भाग्नु परेको धेरै भएको छैन । टर्कीका रिसेप एर्डोगन, ब्राजिलका जैर बोल्सोनारो, फिलिपिन्सका रोड्रिगो डुटेर्टे पछिल्लोपटक अर्जेन्टिनाका जेभियर मिली पपुलिष्ट नारा र आकर्षणले सत्तामा पुगेका र शासकीयरुपमा अधिनायकवादी पदचापका उदाहरण हुन् । यिनीहरुलाई आधार बनाएर निर्वाचित तानाशाह वा बलियो शासकको नेपालमा चर्चा भइरहेका बेला रवि लामिछानेमार्फत ओली र प्रचण्डले भँगेरे पुलिसराज शुरु गरेका छन् । निर्वाचित तानाशाहको आकर्षण खोजिने विकासे मृगतृष्णाले सवैभन्दा पहिले तिरस्कृत, बहिस्कृत, वञ्चित एवं स्थायी अल्पसंख्यकमाथि प्रहार गर्ने निश्चित छ । जुन एक्काइसौं शताव्दीको समावेशी लोकतन्त्रको आत्मा हो । प्रेस स्वतन्त्रालाई ग्यारेन्टी गरिएको संविधानको प्रस्तावना र समावेशी लोकतन्त्रमाथि यतिबेला पपुलिष्टलाई अघि सारेर सत्ताधिशहरुले चीरहरण गर्न थालेका छन् । आशा गरौं परिस्थिति यस्तो नआओस् उनीहरुको कुर्सी निरन्ततरताको मृगतृष्णामा गणतन्त्रको मलामी बन्ने साइत नगरुन् ।
नेकपाको बहुमतको सरकार भएका बेला सञ्चारगृहमा सिधै सेना पठाउने शाहीकालीन स्वभावको विकल्पमा प्रहरी पठाएर प्रेसको आवाज मुख बन्द गर्न कानुनको आवरणमा ५ वर्षदेखि १५ वर्षसमम जेल सजाय र दश लाखदेखि एक करोडसम्म जरिवाना गर्न सक्ने प्रस्तावित मिडिया काउन्सिल विधेयकको यति बेला ओली–प्रचण्डले व्यवहारिक ट्रायल त गरिरहेका छैनन ? गम्भीर प्रश्न उठ्को छ । सम्पूर्ण प्रेसमाथि कब्जा गर्न नसकेपछि आतंक सिर्जना गरेर सबैको मुख बन्दा गराउने संसारभरका अनुदारवादी शासकको शैलीलाई प्रचण्ड–ओली भँगेरो गठबनधन मार्फत् शुरु गरिसकेको छन् । सिरोहियाको गिरफ्तारी लगत्तै भँगेरे दलका प्रवक्ताले खुलेआमा वक्तव्यमार्फत नै भनेका छन् ‘कोहीकोहीलाई छुनै हुन्न’ भन्नु सामन्ती कायरता हो ।’ उनले भन्न खोजेको हामी सत्तामा भएपछि हामीलाई मन लागेको जोकसैलाई जेसुकै बहानामा पनि मुन्ट्याउँर्छौं भन्ने कथित बहादुरीको राजनीतिक कायरता प्रदर्शन हो भन्ने कुरा त प्रष्टै छ । अब जान्नेलाई छान्ने, पुराना दललाई सत्तोसराप गर्ने, कुनै पनि विचार वा आस्थाको लेसमात्र पनि केही नभएका आल्लारेहरुको राजनीतिमा प्रवेश र शक्ति प्राप्त गरेपछि हुने यस्तै हो ।
आफूप्रति खडा भएका प्रश्न पन्छाउन उल्टै वाहियात र भड्काउ प्रश्न गर्ने प्रवृति ‘ह्वाटअबाउटरी’ सिन्ड्रोम हो । विश्व राजनीतिमा यस्तो प्रवृत्ति नयाँखाले बद्मासी भने होइन । तर यति नै बेला हामीकहाँ त्यो शैलीलाई सत्ताधीहरुको धापमा भंगेरे गृहमन्त्रीले अनुसरण गरिरहेका छन् । आफूमाथि उठेका प्रश्नहरूलाई विषयान्तर गर्ने नियत र विश्वसासकासाथ लामिछानेले ‘ह्वाटअबाउटरी’ को सहारा लिएका छन् । ह्वाटअबाउटरी’को बासी शैली अपनाएर लामिछानेले आफ्ना मतदातालाई प्रभावित पार्ने दुष्प्रयास गर्दै आएका छन् । ह्वाटअबाउटरी’को आत्मघाती जोखिममा भने स्वयं लामिछाने पर्ने वा पारिने खतराको डिलमा पुगेको उनले कति बुझेका छन् ? जसको बारेमा प्रहरीले अनुसन्धान गरिहेको छ, उसलाई नै गृहमन्त्री बनाउने घटना पटक पटक दोहरिंदा नेपालीकै शीर निहुरिएको छ । देशको गृहमन्त्री संसदको रोष्ट्रममा उभिएर विपक्षी दलको एकजना सांसदको तेजोवध गर्न आफ्नो सम्पूर्ण उर्जा खर्च गर्छ, र भन्छ ‘मैले चलाएको कम्पनीमा जतिसुकै रकम जहाँसुकैबाट आएपनि मेरो हस्ताक्षर छैन, अनि मलाई के को डर ?‘ तिमिले बाख्रा पाल्न लगेको पैसा खोई ? के त्यसको छानविन गर्न पर्दैन? यही हो ‘ह्वाटअबाउटरी’ ।
लामिछाने मिडियामा रहेका बखत के कस्ता कृत्य गर्दै आएका रहेछन् भन्ने कैलाश सिरोहियामाथिको आक्रमणपछि थप उदाङ्गिएको छ । उनले जतिसुकै सोसल मिडिया इन्फुल्एन्सरको प्रयोग गरेर सत्ता र स्रोतको दोहन गरे पनि नेपाली समाजमा उनी नांगिएको दुनियाका सामु प्रष्टै भएको छ । जसको न आचारणको कुनै मानक छ, न कुनै राजनीतिक विचार र सिद्धान्तको आड । केवल धाप छ केपी शर्मा ओलीको, निरिहता छ प्रचण्डको, सत्ता र शक्तिका लागि मोलमोलाई छ खहरे २१ सिटको । सत्ता बाहिर रहँदाको छट्पटी र भय बोकेका ओलीको सत्ता गुम्ने त्रास र प्रचण्डको प्रधानमन्त्री पदका लागि जुनरुपमा पनि उभिन तयार हुने छालङकारी उथलपुथको सिद्धान्त भएपछि रवि लामिछानेले मिडियामाथिको आक्रमणबाट सुशासनको पुलिसराज शुरु नगरेर के गर्छन् त ? जो दुई वटा नागरिकता बोक्ने अपराधको प्रमाणि त दोषी हो, जो दोहारो राहादानी दुरुपयोग गर्दै सम्वन्ध विच्छेद गरेकी श्रीमतिलाई अनाधिकृत रुपमा हुण्डीमार्फत् रकम पठाउने अपराधको खातमा उभिएको छ । उसले कैलाश सिरोहियको रङ मधेशी भएकै कारण आफैमा संस्था बनिसकेको लोकतन्त्रको पहरेदारमाथि हात हालेको छ ।
सिरोहियालाई देशको मुख्य मिडिया हाउसको कार्यालयमा बर्दीधारी पठाएर गिरफ्तार गर्दै गरेका बेला एमाले नेता महेश बस्नेतबाट बलात्कृत भएको भन्दै उनले आफूलाई मार्न लागेको विलौनासहति पुलिस कार्यालय धाइरहेकी पाठक थरकी महिलाको आर्तनाद किन भँगेरे गृहमन्त्री दबाइरहेका छन् ? पाठकको बयान यतिबेला सोसल मिडियामा भाइरल भएको छ । यस्तो काइते प्रपञ्च र निचताको पराकाष्ठामा एमालेजस्तो देशभर तल्लोतहका जनतामा आधार बनाएकोे दल र त्यसका नेताहरु किन गिर्दैछन् ? महिला हिंसा र सहकारी ठगहरुको पक्षमा टुप्पी कस्दै दौराको इजार फुस्काउँदै एमाले उभिइरहेको दृश्य देशभरका एमाले कार्यकर्ताहरुलाई कस्तो लागेका होला, के नेतृत्वलाई थोरै पनि हेक्का छ ?
नेपालमा पहिलोपटक नारावाजीका बीच विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई कलंकको भारी बोक्नुपर्ने भन्दै दिएको चेतावनीको जबाफमा कांग्रेसले जंगलबाट ल्याएको भन्ने बासी डकार र उही ‘ह्वाटअबाउटरी’ शैली देखायो । त्यतिनै बेला मिडियाको कार्यालयमा बर्दीधारी पुलिसको हस्तक्षेप र निरपराध स्वाभिमान नागरिकमाथिको आक्रमणबाट लगाएको कलंकको टिका एकैपटक गठबन्धनका तीनै जना मठाधिशले भने इतिहासभरि मेटाउन सक्ने छ्रैनन् ।
प्रचण्डले आफ्नो सत्ताको निरन्तरताका लागि महान्याधिवक्ताको कार्यालयलाई खुलेआम लामिछानेकै लागि दुई पटक दुरुपयोग गरेको आरोप त छँदैछ । एकपटक दोहोरो राहदानी प्रकरणमा मुद्धा नचलाउने फर्मान जारी गरेर २०८० चैत ६ गते । अर्कोपटक सहकारीमा लामिछानेमाथि कहींकतै कुनै अभियोग नलागेको भन्दै दिउँसै रात पार्ने लेखोट जारी गराएर । तर यी दुवै दुरुपयोगलाई सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ । राहदानी प्रकरण र सहकारी ठगी प्रकरणबारेको पत्र लेख्ने महान्याधिवक्ताको बेइमानीका बावजुद पनि गैरसरकारी रिट दर्ता भएका छन् । क्रान्तिकारी कदको पहिचान बनाएका प्रचण्डका लागि पदको सुरक्षाका लागि यस्तो हर्कत शोभनीय पटक्कै होइन । यद्यपि विश्लेषक सिके लालकै शब्दमा भन्दा प्रचण्ड पनि देउवा, ओली, नेपाल जस्तै दाहाल बनिसक्दा आमतहबाट उनमा क्रान्तिकारी प्रचण्डनै खोजिनु अर्को बेवकुफी पनि हुनसक्छ । पपुलिष्टहरुको रोजाइनै हुँदैन, उनीहरुको सिद्धान्त नै सबै खराब हुन् र जस्तो र जो पनि आफ्नो भन्ने नै हो । यही अन्धकारको भूमरीमा प्रचण्ड गमन पटक्कै सुहाउने कुरा होइन ।
अष्ट्रेलियाका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक माइकल बारले संसदीय राजनीतिका खेलाडीहरुको चरित्र र जनताको निरिहताबारे मार्मिकरुपले निश्कर्ष निकालेका छन् । बार भन्छन् ‘तपाईंले केवल उनीहरूलाई विश्वास गर्नुपर्छ । उनीहरूले आफ्नो सार्वजनिक विश्वासको भण्डारलाई नष्ट गरिरहेका छन । तर तपाईंले गर्ने यसखाले प्रवृत्ति सरकार र नेताहरुका लागि खतरनाक र नयाँ घटनाक्रम हुनेछ । शक्तिशाली मानिसहरूलाई जवाफदेही बनाउनका लागि कुनै बलियो संयन्त्र छैन, सरकारको उच्च स्तरको पर्फमेन्समा आधारित वैधता हालका वर्षहरूमा तिनीहरुले रेकर्डस्तरमै गिराएका छन् ।‘ कांग्रेससँगको गठबन्धनबाट एमालेको काँधमा सर्नेबेला शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने भनिए पनि त्यसयता टिआरसी विधेयकबारेको चर्चालाई प्रधानमन्त्रीले मुलतवीमा पठाइदिए जस्तोे छ । न्यूनतम इमान र नैतिकताको राजनीतिक बाटो हिंड्ने हो भने जस्तासुकै ‘फटिचर‘ र ठगहरुसँग सरकार बनाउने कुरा कल्पनाभन्दा बाहिर हुनुपर्ने हो ।
नानीमैया दाहाल प्रकरणको नवीन विस्फोटलाई भावी राजनीतिको मूलधार मान्ने जस्तो बचकना र राजनीतिक अल्लारेपनले नेपाली राजनीति ग्रसित हुँदैछ । तर प्रचण्ड, देउवा र ओलीहरुले न्यूनतम भएपनि संसदीय राजनीतिमा सरकार गठन र सहयात्री चयनमा अपनाउनु पर्ने मर्यादापूर्ण व्यवहारको पर्खाल समेत नाघ्ने वितण्डाले नेपाली राजनीतिको मुहान धमिल्याइरहने कृत्यको निरन्तरतालाई बल पु¥याएको छ । ‘भविष्यलाई लोकतान्त्रिक राजनीतिबाट बाहिर निकाल्ने हो भने चुनाव मतपत्र वा कहिल्यै अन्त्य नहुने व्यवस्थापनकासाथ गम्भीर सङ्कटमा परिणत हुनेछ(ह्वाट जोनाथन, इन दि लङ रनः २०२४) । हाम्रो चुनाव र जनप्रतिनिधको छनोटको दिशाले यस्तै दुर्गति भोग्न थालेको प्रभाव अहिल छताछुल्ल हुँदैछ ।
पछिल्लो पटक पनि प्रधानमन्ीले सिरोहियको गिरफ्तारीमा आफू असहमत रहेको भन्दै आफ्नो सचिवालयबाट प्रचार गराए । लगत्तै सिरोहिया निर्दोष भएको र तुरुन्तै छुट्ने घोषणा गरिदिए । त्यही दिन सम्पादकहरुको प्रतिनिधि मण्डलसँग सिरोहियालाई पक्राउको आदेश आफूले दिएको भन्दै काननु मन्त्रीलाई साथमा राखेर ओलीको भाषा बोले । अर्को दिन एमनेष्टी इन्टरनेश्नलकी महासचिवलाई दुई–तीन दिनमा छुटिहाल्ने बचन दिए । त्यसयता सिरोहियालाई थप दुई पटक गरेर ६ दिन हिरासतमा राख्ने फर्मान तामेली भयो । अन्तत नागरिक र प्रेसको दबावका कारण नवौं दिनमा सिरोहिया रिहा भएका छन् । फेरि दलहरुमा रिहा गराएको श्रेय लिने प्रतिस्पर्धा चलेको छ । यो भन्दा निचताको पराकाष्ठा अरु के हुन्छ ? यही हो विकृत वामपन्थको लोकप्रियतावादी सिद्धान्त । यतिबेला भइरहेका घटनामा लामिछाने त केवल मोहरा मात्र हुन् भन्ने कुरा उनको भँगरो नामबाट ओलीले न्वारन गरिदिएबाट स्पष्ट छ ।
अमेरिकी प्रसिद्ध पत्रकार तथा लेखक फारिद जाकरियाले डोनाल्ड ट्रम्पले गर्ने सम्पूर्ण भाषणलाई चार वाक्यमा संश्लेषण गरेका छन्,ः ‘चिनियाँहरूले तपाईँका कारखानाहरू खोसेर लैजान्छन् । मेक्सिकनहरूले तपाईँको जागिर खोस्दैछन् । मुस्लिमहरूले तपाईँलाई मार्न खोजिरहेका छन् । म ती सबैलाई हराउनेछु र अमेरिकालाई फेरि महान् बनाउनेछु । यो राष्ट्रवाद, उग्र राष्ट्रवाद, संरक्षणवाद र अलगाववादको सन्देश हो (एज अफ रिभोलुशनः प्रोग्रेस एण्ड ब्याकल्यास फ्रम १६०० टु दि प्रिजेन्टः२०२२) । ठीक त्यसैगरी त्यही प्रवृत्तिको नक्कली अभिनयमा लामिछाने, तिनका बा र काका मैदानमा उत्रेको देखिंदैछ । लामिछानेले यिनिहरुलाई टुँडिखेलमा लगेर नाकको डाँडी भाँच्ने भन्थे, पुरानाहरुलाई फाल्न ‘जान्नेलाई छान्ने‘ भन्थे । र व्यवहार पनि उनले गरेजतिको बद्मासी उनलाई थाहा नभएर हो, फेरि अरुले गर्न हुने आफूले किन नहुने भन्ने उनको सम्पूर्ण सिद्धान्त हो । तर व्यवहारमा उनले जान्नेलाई ठुँग्ने, सोझा सादा गरिबको बचत रकममा रार्इंदाईं गरेर सत्तामा पुग्न बा र काकाकै चरणदास बन्ने सुन्दर शैली अपनाएर विदेशमा बसेर देशलाई गाली गर्नेहरुलाई गजब मनोरन्जन दिए पनि नागरिकका आवाज बन्द गर्नेको अन्त्य अवश्यमभावी छ ।
अब शुरु भइसेको छ प्रचण्डको चौथो चरणको काँध फेराई । यसले ओली र भँगेरा र भँगेरा प्रवृत्तिलाई ठँुग्यो भने देशको लोकतन्त्रको हालत के हुन्छ ? के सत्ताधिश र पर्खाइमा रहेकाहरुलाई यसबारेमा कुनै हेक्का छ ? लोकतान्त्रिक आचारण भनेको आग्रह र बदलाको राजनीति नगर्नु हो । तर वाम वर्चस्व भएको गठबन्धनले कान्तिपुरमाथि हात हालेर एकैपटक मधेशी समुदायलाई लाञ्छित गर्ने र मिडियालाई आक्रोशित बनाउने दुष्कर्म गरेको छ । यो दुष्कर्मका भुमरीमा प्रचण्ड घेरिरहन सम्भव छैन । सम्भवत त्यसको तयारी भइसकेको छ । अबके केही दिन फेरि राजनीतिक रोचक रोटपिङको तमासा मञ्चनको यतिबेला रिहर्सल भइरहेको छ । त्यसको ट्रेलर माधव नेपालले बुढानिलकण्ठ पुगेर दिइसकेका छन् । यो माधव नेपालको एक्लो उपस्थिति पक्कै पनि होइन ।
Twitter @sskandel
प्रतिक्रिया दिनुहोस्