राष्ट्रपति निर्वाचित सेनबाउमले राष्ट्रपति लोपेज ओब्राडोरको नीतिबाट प्रभावित ध्रुवीकृत राष्ट्रलाई शासन गर्ने चुनौती सामना गर्नुपर्नेछ
मेक्सिकोमा महिलाले मतदान गर्ने अधिकार पाएको करिब ७० वर्षपछि मेक्सिकोले पहिलो महिला राष्ट्रपति पाएको छ । मेक्सिको सिटीकी पूर्वमेयर एवं ऊर्जा इन्जिनियरिङमा विद्यावारिधि गरेकी क्लाउडिया सेनबाउम क्याथोलिक बाहुल्य राष्ट्रको नेतृत्व गर्ने पहिलो यहुदी पनि हुन् । मुख्यतया दुई महिला उम्मेदवारबीच प्रतिस्पर्धा भएको चुनावमा वामपन्थी गठबन्धन ‘लेट्स किप मेकिङ हिस्ट्री’ (मोरेना, ग्रिन पार्टी र लेबर पार्टीको गठबन्धन) को प्रतिनिधित्व गर्ने सेनबाउम अग्रपंक्तिमा आएकी छिन् । उनकी मुख्य प्रतिद्वन्द्वी सोचिल गाल्भेज आधिकारिक मतगणनामा करिब ३० प्रतिशतले पछाडि परेकी थिइन् । उनले ‘स्ट्रेन्थ एन्ड हर्ट मेक्सिको’ गठबन्धन अर्थात् पिआरआई, प्यान र पिआरडी गठबन्धनको प्रतिनिधित्व गरेकी थिइन् ।
यो मेक्सिकोको सबैभन्दा ठूलो चुनाव थियो । नौ करोड ८० लाखभन्दा बढी सूचीकृत मतदाता र करिब २० हजार पदमा राष्ट्रपति, कंग्रेसका दुवै सदन र हजारौँ स्थानीय सिटसहित प्रतिस्पर्धा भएको थियो । र, मेक्सिकोको यो सबैभन्दा हिंसात्मक चुनाव पनि थियो, जसमा ३० भन्दा बढी नेता मारिए । नयाँ राष्ट्रपतिले दुई ठूला चुनौतीको सामना गर्नुपर्नेछ– व्यापक हिंसा एवं बढ्दो सैन्यकरणलाई सम्बोधन गर्ने र कार्यकारी शक्तिमा नियन्त्रण एवं सन्तुलनको बिग्रिएको अवस्थामा व्यापक सुधार ल्याउने । उनका राजनीतिक गुरु एवं वर्तमान राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्राडोरले उल्लिखित पहिलो समस्या समाधान गरेनन् र दोस्रोलाई थप बल्झाए ।
एक लोकप्रियातावादी नेता : गाल्भेजको पराजय आंशिक रूपमा पिआरआई, प्यान, पिआरडीको बिग्रिएको प्रतिष्ठाको कारण हो र यी पार्टी मेक्सिकोको सन् १९८८ देखि २०१८ सम्मको लोकतान्त्रिक संक्रमणसँग जोडिएका छन् । यस अवधिमा स्वतन्त्र चुनावी अभ्यासका लागि नयाँ कानुन बनाइए । तर, कमजोर राजनीतिक नेतृत्व र बढ्दो असमानताले लोकतन्त्र प्रभावित हुन पुग्यो । यसबाहेक बिग्रँदो लागुपदार्थविरुद्धको युद्धको समयमा कानुन प्रवर्तनमा बढेको सैन्य संलग्नताले अभूतपूर्व हिंसा निम्त्यायो ।
दुई असफल चुनावी अभियानपछि सन् २०१८ मा निर्वाचित ओब्राडोरले चुनावमा धाँधली भएको आरोप लगाउँदै आफ्नो सन् २००६ को पराजयलाई कहिल्यै स्वीकार गरेनन् । उनले २०१२ को चुनावमा पनि धाँधली भएको दाबी गरे । उनले आफ्नो शासनलाई मेक्सिकोको ‘चौथो रूपान्तरण’को संज्ञा दिएका थिए ।
ओब्राडोरले मेक्सिकोको लोकतान्त्रिक संक्रमणका उपलब्धिलाई नवउदारवादी नीति र भ्रष्टाचारले चिन्हित विश्वासघातका रूपमा हेर्छन् । यसविरुद्ध कानुन भए पनि उनले बारम्बार प्रतिपक्षको निन्दा गर्दै आएका छन् । ६५ प्रतिशत अनुमोदन मूल्यांकनसाथ धेरै मेक्सिकनले छात्रवृत्ति र निम्न आय भएका बासिन्दालाई निवृत्तिभरणजस्ता आर्थिक र सामाजिक कार्यक्रम सफल रूपमा हेर्छन् । उनको लोकप्रियताले सेनबाउमको चुनावी अभियानलाई फाइदा पु¥यायो । तर, उनको प्रभावले अब सेनबाउमको सरकारलाई ओझेलमा पार्नेछ ।
थप सैन्यकृत समाज : सन् २०१८ सम्म करिब दुई लाख २७ हजार मेक्सिकन पूर्वराष्ट्रपति फेलिपे काल्डेरोनले सुरु गरेको लागुपदार्थविरुद्धको युद्धका कारण मारिए । ओब्राडोरले ‘गोली होइन, अँगालो’को पैरवी गर्दै पहरेदारीबाट सेनालाई फिर्ता गर्ने वाचा गरे पनि उनले संघीय प्रहरीलाई नेसनल गार्डमा प्रतिस्थापन गरे, जसमा ठूलो मात्रामा सैन्य कर्मचारी थिए र यसलाई राष्ट्रपतिद्वारा प्रत्यक्ष नियन्त्रित राष्ट्रिय रक्षा सचिवालय (सेडेना) अन्तर्गत राख्न जोड गरियो ।
ओब्राडोरले भ्रष्टाचार र निष्पक्ष सुनुवाइविनाकै मृत्युदण्डको आरोपका बाबजुद सेनाले बफादारी र इमानदारीको प्रत्याभूति गरेको दाबी गर्छन् । गत ६ वर्षमा मेक्सिकोमा हिंसा निकै बढेको छ, जसमा सन् २०१८ देखि २०२३ बीच पाँच हजार स्त्रीहत्यासहित एक लाख ७१ हजारभन्दा बढी हत्या भएका छन् । त्यसैगरी सन् २०१८ देखि ५० हजारभन्दा बढी मेक्सिकन बेपत्ता भएका छन् सेनबाउमले सेडेनामा नेसनल गार्ड संलग्न गर्ने ओब्राडोरको योजनालाई निरन्तरता दिने वाचा गरेकी छिन् ।
शक्तिको केन्द्रीकरण : लोपेज ओब्राडोरले राष्ट्रपतिमा शक्ति केन्द्रित गर्दै आएका थिए । उनको दोस्रो कार्यकालमा विपक्षीले उनको विधायकीय पहलमा समर्थन जनाएनन् । सत्तारुढ गुट र साना दलको समर्थनमा विपक्षीलाई उपेक्षा गर्दै नियम परिवर्तन गरिएका थिए । जसलाई पछि सर्वोच्च अदालतले अमान्य घोषणा ग¥यो । राष्ट्रिय निर्वाचन प्राधिकरणको विधायकीय सुधारले ओब्राडोरको मोरेना पार्टीसँग सम्बद्ध अधिकारीलाई ठूलो अधिकार दिएको आलोचकहरूले तर्क गर्छन् ।
५ फेब्रुअरीमा मेक्सिकन संविधानको वार्षिकोत्सवका अवसरमा राष्ट्रपतिले न्यायपालिकाको संरचना परिवर्तन गर्न कंग्रेसमा संवैधानिक सुधारको प्रस्ताव गरेका थिए । कंग्रेससँग आवश्यक बहुमतको अभाव भए पनि ओब्राडोरले सुधार लागू गर्ने बताएका थिए, जसलाई सेनबाउमले लागू गर्ने वाचा गरेकी छिन् ।
आशाको पुनस्र्थापना : हालैको चुनावमा लेटिसिया हिडाल्गोले आफ्नो बेपत्ता छोरालाई राष्ट्रपतिका रूपमा मतदान गरेकी थिइन् । उनका छोरालाई सन् २०११ मा प्रहरीले बेपत्ता पारेको थियो । हिडाल्गोजस्ता कैयौँले मेक्सिकोमा बेपत्ताको मुद्दालाई जोड दिन चुनावको समयमा आफ्ना परिजनलाई मतदान गरेर विरोध जनाएका थिए । सेनबाउमले ओब्राडोरको नीतिबाट प्रभावित ध्रुवीकृत राष्ट्रलाई शासन गर्ने चुनौतीको सामना गर्नुपर्नेछ । उनले आफ्ना समर्थक र स्वतन्त्रता, समानता एवं शान्ति खोज्ने हिडाल्गोजस्ता असन्तुष्टका लागि शासन गर्नुपर्छ ।
(रोमेरो वोलोंगोङ विश्वविद्यालयका मानव अधिकार, संवैधानिक कानुन र कानुनी सिद्धान्तका वरिष्ठ लेक्चरर हुन्)
द कन्भर्सेसनबाट
प्रतिक्रिया दिनुहोस्