परिणाम पूर्वनिर्धारित जस्तो देखिन्छ। १४ वर्ष सत्तामा रहेर मृतप्रायः बनेको र नियमित भ्रष्टाचार र आर्थिक कुव्यवस्थापनको रेकर्ड बचाउन संघर्षरत बेलायती कन्जरभेटिभ पार्टी बिहीबारको आम निर्वाचनमा मतदाताको केवल २० प्रतिशतको समर्थनमा खुम्चिंदैछ । विपक्षी लेबर पार्टीले सरकारप्रतिको असन्तुष्टिलाई क्यापिटलाइज गर्ने मुख्य उद्देश्यका साथ रंगहीन अभियान चलाएको छ र संसदमा ठूलो बहुमत जित्ने अनुमान गरिएको छ। यसको अर्थ लेबर पार्टीका नेता केइर स्टार्मर देशको अर्को प्रधानमन्त्री हुनेछन्।
उनले कसरी शासन गर्ने सम्भावना छ ? एक पूर्व वकील जसको नीरस भाषण शैली र आफ्ना नीतिहरू परिवर्तन गर्ने प्रवृत्ति छ, स्टार्मरलाई वाम र दक्षिणपन्थी दुवैखाले आलोचकहरूले विश्वास नभएको भन्ने आरोप लगाउँछन्। उनलाई एक रहस्यमय व्यक्ति, केही नबुझ्ने मानिस, कुनै योजना र सिद्धान्त नभएको व्यक्तिको रूपमा चित्रण गरिन्छ। उनको निर्वाचन घोषणापत्र, जसलाई दि टेलिग्राफले ‘रेकर्डमा सबैभन्दा नीरस’ भनेर व्याख्या गरेको छ, यसले उनी एक शून्य बराबर हुन् र उनको प्रशासनको चरित्र अनुमान गर्न नसकिने खालको छ भन्ने धारणालाई पुष्टि गर्दछ।
तर स्टार्मरको पृष्ठभूमिलाई नजिकबाट हेर्दा यो कथालाई झुटो साबित गर्छ। वास्तवमा, उनको राजनीति अपेक्षाकृत सुसंगत र स्थिर छ। यसको मुख्य विशेषता बेलायती राज्यप्रति उनको वफादारिता हो। व्यवहारमा, यसको अर्थ प्रायः यसलाई खतरा पुर्याउनेहरूमाथि कडा कारबाही गर्नु हो। आफ्नो कानुनी र राजनीतिक करियरभर, स्टार्मरले गहिरो अधिनायकवादी प्रवृत्ति प्रदर्शन गरेका छन्, शक्तिशालीहरूको पक्षमा काम गर्दै। उनी अब त्यो प्रवृत्तिलाई सरकारमा लैजान तयार छन्। नवीकरण होइन पुनर्स्थापनाको खाँचो भएको बेलायतका लागि यसका निहितार्थहरू भयावह छन्।
स्टार्मरले आफ्नो कानुनी करियरको विशेषताहरूमा कहिल्यै ध्यान दिएका छैनन्, र उनको व्यक्तिगत उद्देश्यहरू अवश्य अज्ञात छन्। तर उनको ट्र्याक रेकर्डको आधारमा, स्टार्मरको दृष्टिकोण सहस्राब्दीको मोडतिर आकार लिन थालेको स्पष्ट देखिन्छ। त्यस बेलासम्म, उनले ट्रेड युनियनिस्ट र पर्यावरणवादीहरूका लागि निःशुल्क काम गर्ने प्रगतिशील बैरिस्टरको रूपमा ख्याति कमाइसकेका थिए। तर सन् १९९९ मा उनले धेरै सहकर्मीहरूलाई आश्चर्यचकित पार्दै बेलफास्टमा एक क्याथोलिक किशोरलाई गोली हानेर मारेको बेलायती सैनिकको बचाउ गर्न सहमत भए। चार वर्षपछि, उनलाई उत्तरी आयरिस पुलिसिङ बोर्डको मानव अधिकार सल्लाहकारको रूपमा नियुक्त गरियो – जुन भूमिकामा उनले प्रहरी अधिकारीहरूलाई बन्दुक, पानीका तोप र प्लास्टिकका गोलीहरूको प्रयोगलाई उचित ठहर्याउन मद्दत गरेको बताइन्छ।
न्यायिक प्रतिष्ठानद्वारा सम्मानित, स्टार्मरलाई सन् २००८ मा क्राउन प्रोसिक्युसन सेवा सञ्चालन गर्न नियुक्त गरिएको थियो, जसले उनलाई इंग्ल्याण्ड र वेल्समा आपराधिक अभियोजनको जिम्मेवारी दिएको थियो । पेशागत सफलताले उनलाई राज्यको नजिक ल्यायो, जसलाई उनले पटक–पटकको जाँचबाट जोगाउन खोजे। उनले जीन चार्ल्स डी मेनेजेसलाई मारेका प्रहरी अधिकारीहरूविरुद्ध मुद्दा चलाएनन्, जो एक ब्राजिलियाई आप्रवासी थिए जसलाई आतंकवादी शंकास्पद ठानेर गल्ती गरी टाउकोमा सात पटक गोली हानिएको थियो। न त स्टार्मरले M15 र M16 का एजेन्टहरूमाथि मुद्दा चलाए जसले यातनामा संलग्नताको विश्वसनीय आरोपको सामना गरेका थिए। न त तथाकथित जासूस प्रहरीहरू – वामपन्थी कार्यकर्ता समूहहरूमा घुसपैठ गरेका र तिनका केही सदस्यहरूलाई दीर्घकालीन यौन सम्बन्धमा हेरफेर गरेका गुप्तचर अधिकारीहरू – लाई जवाफदेही बनाइयो।
उनले कानून र व्यवस्थाका लागि खतरा देखेकाहरूसँग फरक तरिका अपनाए। सन् २०१० मा शुल्क वृद्धिको विरोधमा भएको विद्यार्थी प्रदर्शनपछि, उनले शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि मुद्दा चलाउन सजिलो बनाउने कानुनी दिशानिर्देशहरू तयार गरे। अर्को वर्ष, जब मार्क डगनको प्रहरी हत्याको प्रतिक्रियामा दंगा भड्कियो, स्टार्मरले रातभरि अदालतमा बैठकको आयोजना गरे र सहभागी भएको आरोप लागेका व्यक्तिहरूको सजायलाई बढाउने काम गरे। उनको कार्यकालमा, राज्यका अभियोजकहरूले गैरी म्याकिनन नामक एक अटिज्म भएका आईटी विशेषज्ञलाई प्रत्यर्पण गर्ने लडाईं लडे, जसले अमेरिकी सैन्य डाटाबेसमा पहुँच प्राप्त गरेर उसलाई लज्जित तुल्याएका थिए, र विकिलिक्सका सम्पादक जुलियन असान्ज विरुद्धको मुद्दालाई लम्ब्याउन समेत उनले काम गरेका थिए ।
उनको सेवाका लागि स्टार्मरलाई सन् २०१४ मा नाइट उपाधि प्रदान गरियोः त्यसको एक वर्षपछि, उनी संसदमा प्रवेश गरे। त्यहाँ आफ्नो समय कुरेपछि, उनले युरोपेली संघमा आफ्नै दलको स्थितिलाई नष्ट गर्न केन्द्रीय भूमिका खेले, गुटबाट बाहिरिने मतदानलाई स्वीकार गर्नुको सट्टा दोस्रो जनमत संग्रहका लागि लेबर पार्टीको समर्थन सुनिश्चित गर्न कुटनीतिक चाल चाले । यस अवस्थाले धेरै ब्रेक्जिट मतदाताहरूलाई अलग्यायो र सन् २०१९ को चुनावमा उनको दलको पराजय सुनिश्चित गर्न मद्दत गर्यो। त्यसपछि जेरेमी कोर्बिनका वामपन्थी समर्थकहरूबाट लेबर पार्टीलाई पुनः कब्जा गर्ने र यसलाई अतिवादबाट शुद्ध गर्ने जिम्मेवारी स्टार्मरमा सर्यो, मुख्य अभियोजकको रूपमा उनले विकास गरेको उही दमनकारी तरिका उनले पार्टीमा पनि प्रयोग गरे ।
स्टार्मरले आफ्नो जिम्मेवारी पूरा गर्ने भन्दा बढी नै गरे। नेता बनेयता, उनले आन्तरिक असहमतिका सबैभन्दा हल्का रूपहरूमाथि पनि निर्दयी कडाई सुरु गरेका छन्। उनले आफ्ना पूर्ववर्तीलाई निष्कासित गरे, वामपन्थी उम्मेदवारहरूलाई संसदमा उभिनबाट रोके, विभिन्न समाजवादी समूहहरूलाई प्रतिबन्धित गरे, राजनीतिज्ञहरूलाई पिकेटिङमा सामेल हुनबाट रोके र नेतृत्वको चुनावका लागि अप्रजातान्त्रिक नियमहरू लागू गरे। उनले वैचारिक अनुरूपताको एक घुटन पैदा गर्ने स्तर पनि माग गरेका छन्। नाटोको आलोचना गर्ने सांसदहरूले तत्काल निष्कासनको सामना गर्छन्, र इजरायलका कार्यहरूको विरोध गर्ने सदस्यहरूलाई कुटिल रूपमा यहूदी विरोधीको आरोप लगाइन्छ।
यो शुद्धीकरणले लेबर पार्टीलाई कन्जरभेटिभहरूको छायांको प्रतिबिम्बमा परिणत गरेको छः ठूला व्यवसायप्रति आज्ञाकारी, घरेलु स्तरमा कठोर मितव्ययिता र विदेशमा सैन्यवादको वकालत गर्ने काम उनले गरिरहेका छन्। यसले स्टार्मरले डाउनिङ स्ट्रिटमा कसरी काम गर्नेछन् भन्ने कुराको पनि संकेत गरेको छ। उनले सार्वजनिक व्यवस्था ऐन कायम राख्ने इच्छा व्यक्त गरेका छन्, जसले प्रदर्शनहरूमा अभूतपूर्व प्रतिबन्ध लगाउँछ र कार्यकर्ताहरूलाई थुन्न सजिलो बनाउँछ। उनले जलवायु अभियन्ताहरूलाई ‘घृणित’ र ‘दयनीय’ भनेर टिप्पणी गरेका छन्, उनीहरूमाथि कडा सजाय लगाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले स्मारकहरूमा तोडफोड गर्ने प्रदर्शनकारीहरूलाई १० वर्षको जेल सजाय दिने प्रस्तावलाई समेत समर्थन गरेका छन्।
केहीले यस्तो आक्रामकतालाई केवल राम्रो समझ वा विश्वसनीयताको आवश्यक लागतको रूपमा क्षमा दिने तर्क गर्छन्। तर दमनकारी प्रतिक्रियाले स्टार्मरको बारेमा एक मौलिक सत्य प्रकट गर्दछः हरेक मोडमा, उनी शासन व्यवस्थालाई अवरोधबाट जोगाउन खोज्छन्। लेबर पार्टीको प्रस्ताव, जसले कुराहरूलाई यति कम परिवर्तन गर्ने वाचा गर्दछ कि यो प्रमुख व्यवसाय नेताहरूद्वारा उत्साहपूर्वक समर्थित छ, समग्र देशमा त्यस सिद्धान्तको विस्तारको रूपमा हेर्न सकिन्छ। स्टार्मरको वृद्धि र परिवर्तनको अस्पष्ट आह्वान, कुनै पनि स्पष्ट मार्ग बिनाको एक विशेषता हो, यो खराबी होइन। उनको छविमा बनेको लेबर पार्टीले यथास्थितिलाई खलबल्याउन थोरै योगदान गर्ने अपेक्षा गर्न सकिन्छ।
भाग्य प्रायः स्टार्मरमाथि मुस्कुराएको छ। सरकारले क्राउन प्रोसिक्युसन सेवामा उनको प्रदर्शनको प्रशंसा गर्यो। मिडियाले लेबर पार्टीको पुनर्निर्माणको सन्दर्भमा उत्सव मनायो। अब, कन्जरभेटिभहरूको पतनको कारण, उनी देशको उत्तराधिकारी बन्न तयार छन्। तथापि समकालीन बेलायत राम्रो अवस्थामा छैन। यो स्थिर वृद्धि र कमजोर सार्वजनिक सेवाहरूबाट पीडित छ, यसको कार्यबल घट्दो छ, यसका जेलहरू भीडभाडमा बदलिएका छन्, र यसको जनसंख्याको पाँचौं भागभन्दा बढी गरिबीमा बाँचिरहेको छ।
यस्ता समस्याहरू समाधान गर्न स्थापित संस्थाहरूप्रतिको श्रद्धा र तिनका आलोचकहरूलाई चुप गराउने संर्कीण मानसिकताका प्रयासहरूभन्दा बढी गर्नु पर्ने आवश्यक पर्दछ। तर यो, सम्भवतः, आगामी प्रधानमन्त्रीसँग प्रस्ताव गर्न सक्ने सबै कुरा भने छ ।
( इगलटन एक पत्रकार र : द स्टार्मर प्रोजेक्ट का लेखक हुन्।)
न्यूयोर्क टाइम्सबाट
प्रतिक्रिया दिनुहोस्