उमेश चौहान लेख्छन् : नेताका काँध फेरि फेरि जनतामाथि शासन गर्ने दिक्कलाग्दो धारावाहिक शृंखलाबाट मुलुकले मुक्ति पाएको हो कि भन्ने शंकाको सुविधा अवश्य मिलेको छ
काठमाडौं २१ असार । हठात् लाग्नेगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत फागुन २१ गते राती कांग्रेसको सट्टा एमाले र रास्वपासँग गठबन्धन गर्ने निर्णयले नेपाली कांग्रेसलाई नराम्रो धक्का लागेको थियो । प्रचण्ड भने एमाले अध्यक्ष ओली र वालुवाटारमा घेरा हालेर लखनउ लुट मच्चाउनेहरुको प्रशांशाबाट ५ वर्ष प्रधानमन्त्री बन्ने भएँ भनेर दंग थिए । असार १७ गते प्रचण्डमाथि भएको सर्जिकल स्ट्राइक त्यही फागनु २१ को जबाफ र २०७९ साल फागुनमा एमाले लत्याएको बदला थियो । २० महिने कार्याकालमा प्रचण्डले एमाले र रास्वपासँग गठबन्धन गर्ने निर्णय नै उनको आत्मघाती मन्त्रमुग्धता थियो भन्ने पुष्टि हुन धेरै समय नै लागेन । यो बीचमा प्रचण्ड सवैभन्दा बढी बद्नाम भएका छन् । कुनै पनि काममा उनले सफलता प्राप्त गर्न सकेनन् । यही बीचमा स्वर्ग गए पनि संगै नर्क गए पनि संगै भन्दै केपी शर्मा ओलीले सम्भवत यो संसदको कार्यकालमा बन्नै नसक्ने प्रधानमन्त्री बन्ने तयारीमा पुगेका छन् । प्रचण्डलाई खुमलटार पठाउने सहयात्रीका रुपमा ओलीले योगदान गर्न पुगे । अझ विडम्वना त रास्वपा जस्तो सर्वत्र बद्नाम र रवि लामिछाने जस्तो फौजदारी र आर्थिक अपराधको भारीले थिचिएको पात्र र समूह प्रचण्डको सहयोगी बन्ने अवस्था खडा भएको छ । ओलीले भने आफ्नो काउछो पन्छाएर प्रचण्डकै टाउकोमा हालिदिएका छन् ।
५ वर्षे संसदको अवधिलाई विभाजन गरेर हेर्ने हो भने प्रचण्ड बालुवाटारमा विराजमान सवैभन्दा भाग्यमानी सावित भएका छन् । अब ओली र देउवाले बांड्ने आधा आधा समय यथार्थ हुने हो भने पनि जम्मा १६–१६ महिना हुनेछ । तर ओली र देउवा गठबन्धन सरकारले हनिमुन अवधि पूरा नगर्दै ब्रेक भयो भने पनि अचम्म नमाने हुन्छ ।
जे होस् प्रचण्डलाई विलखबन्दमा पार्ने सहमतिबाट समाजिक सञ्जालमा कांग्रेस र एमाले समर्थकमा पनि उत्साह देखिएको छैन । ओली देउवालाई भूटानी शरणार्थी र गिरिवन्धु गठबन्धन भन्दै बद्नाम गर्न शुरु भइसकेको छ ।
तर केहीलाई भने प्रचण्ड अपदस्थ भएकोमा धेरै मजा आएको देखिएको छ । जुन स्वभाविक र आशातित नै हो । धोकेबाजको श्रेणीमा सवैभन्दा पहिला देउवाले चुनावपूर्व गरेको बाचा पूरा नगरेर प्रचण्डलाई धोका दिएपनि उनी बालकोट पुगेका थिए । फेरि कथित राष्ट्रिय सहमतिको नाममा प्रचण्ड देउवाको पोल्टामा गएका थिए । देउवाले आफ्नो बेइमानी सच्चाएको थिए उतिबेला । पुनः प्रचण्डले देउवालाई फागुन २१ गते धोका दिएपछि असार १७ गते देउवाले बदला लिए भने ओलीले पहिलो प्रहरको बदला र दोस्रो धोका दिएर तीनै जना बराबरी भएका छन् र अब यी तीन जनामा कसैले कसैलाई आरोप लगाउनुको कुनै तुक छैन । यस्ता विषयमा बहस त हुंदै गर्ला ।
यहाँ प्रचण्डलाई देखाइदिएको मा केही मिडिया र सामाजिक सञ्जालमा देखिएका रोचक टिप्पणी दिइएको छ ।
कान्तिपुर दैनिकको सम्पादकीयले पनि कांग्रेस र एमालेका भाषामा प्रधानमन्त्रीको राजीनामा मागेको छ। –’राजनीतिक धरातल भासियो, प्रधानमन्त्री राजीनामा दे’ऊः आफ्नो पक्षमा बहुमतका लागि पुग–नपुग सिट संख्या भएको भए, थप एक–दुई दलको विश्वास जुटाउन सक्दा पद सुनिश्चित हुने अवस्था रहेको भए उनले अपनाउने रणनीतिको अर्थ रहन्थ्यो । तर, प्रतिनिधिसभामा न्यून सिट संख्या रहेका तेस्रो र चौथो ठूलो दल मिलेर राजनीतिमा सनसनी मच्याउन खोज्नु दुवै दल र लोकतन्त्रका लागि हानिकारक छ ।
अन्नपूर्ण पोष्ट दैनिकले सम्पादकीयमा स्थिर सरकारको बाटोमा भन्दै लेखेको छः स्थिर सरकारको अपेक्षाः मध्यरातमा प्रमुख दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचमा सरकार फेरबदल र संविधान संशोधनसहितका एजेन्डामा सहमति भएसँगै नेपाली राजनीति तरंगित बनेको छ । यद्यपि नेपालको राजनीतिक इतिहासमा भने यो कुनै नौलो र आश्चर्यजनक विषय होइन । तर सांसदको संख्याले बलिया दलको गठजोडको सत्तामा साना दलको लुछाचुँडीलाई अन्त्य गरेको छ ।(असार १९, (यो प्रकाशनका सञ्चालक रामेश्वर थापाको घरमा नै मध्यराती नेका र एमालेबीच सहमतिमा हस्ताक्षर भएको थियो । )
नागरिक दैनिकले पनि नयाँ बन्न लागेको गठबन्धनको समर्थनमा नयाँ समीकरणको औचित्य शिर्षकको सम्पादकीय लेख्दै विचित्रको तर्क अघि सारेको छः वाक्कदिक्क भएका जनतासामु यतिबेला नयाँ गठबन्धन बनेको छ शासन सञ्चालनका लागि। जसमा संसद्मा सदस्य संख्याका आधारमा पहिलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले सामेल छन्। यो यसअघिका गठबन्धनका तुलनामा प्राकृतिक छ। प्राकृतिक यस अर्थमा कि सत्ता चलाउने नै पहिलो र पहिलोले नसके दोस्रोले हो। पहिलोले एक्लै चलाउन नसकेको अवस्थामा दोस्रोलाई साथ लिएर चलाउनु अस्वाभाविक हैन।
दोस्रो महत्त्वपूर्ण पक्ष यो हो कि यी दुई ठूला दल मिल्दा सुविधाजनक बहुमत, त्यो पनि स्वतः प्राप्त हुन्छ। यस्तो अवस्थामा जनादेशमा पछिल्लो स्थानमा रहेका दललाई विशेष उपहार दिइरहनु पर्ने छैन। त्यसैगरी गठबन्धनमा आइसकेपछि पनि उसका घुक्र्याइ बेहोरिरहनु पर्दैन। अनि उसका जस्तासुकै खत पनि माफ गर्नुपर्ने अवस्थाबाट मुलुक मुक्त हुन्छ। अहिले त संसद्मा संख्याको बनावटका कारण जस्तोसुकै सानो दलमा पनि सरकार आफैँले मात्र थामिदिए जस्तो भ्रम पलाउन थालेको हो।…मुलुकमा जहिल्यै संकटमा यी दुई दल एक ठाउँमा उभिएका छन्, अहिले पनि तिनले यसलाई महसुस गर्न सकेनन् भने पछुतोबाहेक केही पनि हात लाग्ने छैन। (असार १८)
सेतोपाटीले दुई ठूला दलको सत्ता साझेदारीको खतरा सम्पादकीयमा माओवादी र प्रचण्डलाई सकेको दनक दिंदै लेखेको छ –’सही औषधि पनि अनावश्यक मात्रामा प्रयोग गर्यो भने कि त्यसले काम गर्न छाड्छ, कि हानि गर्छस प्रचण्डले त आफैंलाई घात गर्ने औषधि नै बारम्बार चलाइरहे।
संसदमा कांग्रेस र एमाले प्रत्येकको आकार माओवादीको तुलनामा दुई गुणाभन्दा पनि बढी छ। माओवादीको दाँजोमा नेपाली समाजमा उनीहरूको प्रभाव र राजनीतिमा उनीहरूको कद झनै बढी छ। यी दुई दलले बाध्यतावश् प्रचण्डलाई पटकपटक प्रधानमन्त्री बनाएको कुराले उनमा यस्तो भ्रम र घमन्ड चढ्यो, मानौं दुई ठूला दलको नियति नै उनलाई काँध थाप्नु हो र त्यो काँधमा उनले जतिपटक फोहोर गरे पनि उनलाई बोकिराख्नु हो ।….यहाँसम्म कि, यी दुई ठूला दललाई प्रयोग गर्ने र धोका दिने कुरालाई प्रचण्डले पछिल्लो समय आफ्नो बहादुरीझैं प्रस्तुत गर्न थालेका थिए। कहिले उनले आफूमा उथलपुथल गर्ने क्षमता भएको भन्दै गर्व गरे, कहिले आफू गतिशील भएकाले त्यो सम्भव भएको भने। त कहिले संसदमा आफ्नो ‘जादुयी’ नम्बरका कारण प्रधानमन्त्रीका रूपमा आफ्नो विकल्प नभएको दाबी गरे। यो भ्रममा उनी यतिविघ्न मग्न भए, कांग्रेस(एमाले सहमतिपछि सत्तामा रहने उनको ‘नम्बर र नैतिकता’ दुवै गुमिसक्दा पनि उनी संसदमा विश्वासको मत ‘फेस’ गर्ने हठमा छन् ।(असार १९) ।
संविधान संशोधन गर्ने भन्ने प्रचार गरिएको सन्दर्भमा कांग्रेस नेता तथा एमाले नेका मिल्नु पर्ने आइडियाका पक्षधर डा. मिनेन्द्र रिजाल ट्विट गर्छन्ः हाल प्रतिनिधिसभामा ११० जना सांसद समानुपातिक प्रणालीबाट चयन हुने गरेकामा त्यसलाई घटाएर ६० जना मात्र समानुपातिकबाट चयन हुने व्यवस्था गर्दा सबैभन्दा उपयुक्त हुने देखिन्छ। त्यसले समावेशी प्रतिनिधित्व सुनिश्चित पनि गर्ने र एउटै दलले बहुमत ल्याउने वा बहुमत निकट पुग्ने अवस्था बन्छ।(असार २०)
देशसन्चारका सम्पादक युवराज घिमिरेले लेखेका छन्ः मार्चको सुरुमा यस्तै चलखेलमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुलुकप्रति चिन्ता देखाउँदै प्रचण्डकै नेतृत्वको सरकारलाई समर्थनसँगै त्यसमा प्रवेश गर्ने निर्णय गरे। त्यसपछिका चार महिना उनले आफूलाई त्यो गठवन्धनको अभिभावकका रुपमा प्रस्तुत गरे। सत्ता गठवन्धनवाट नेपाली कांग्रेस विस्थापित भयो। अहिले आएर विस्थापित नेपाली कांग्रेस र एमालेबीच एउटा स्वार्थ अथवा सत्ताको विवाह भएको छ। तर, यो विवाहलाई नेपाली जनताले कुनै उत्सवका रुपमा हेरेका छैनन्, हेर्नै छैनन्।
घिमिरेले थप अगाडि लेखेका छन्ः ओली भारतले रुचाएका व्यक्ति हैनन्, यता आएर सबैले बुझेका छन्। भारतका लागि उनी महाकाली सम्झौताताकाका ओली होइनन्। तर, अरुले रुचाएर वा नरुचाएर हैन, नेपाली जनताले रुचाएर प्रधानमन्त्री बनेका हुन् भन्ने सन्देश जान सकेको छैन यसपल्ट। के गिरिवन्धु टी स्टेट, ओम्नी या भुटानी शरणार्थी काण्ड, वाइडवडी खरिद अनियमिततालाई ढाक्न यो समीकरण बनेको हो रातारातरु देउवा र ओलीको स्वार्थ राष्ट्रिय स्वार्थ हैन।
माओवादी केन्द्रीय सदस्यले चलाएको अनलाइन रातोपाटीले भारतीय मिडियामा नेपालको राजनीतिक ‘उथलपुथल’लाई कसरी गरिएको छ व्याख्या ? लेख्दै लामो चर्चा गरेको छः भारतीय मिडियामा नेपालको राजनीतिक ‘उथलपुथल’लाई कसरी गरिएको छ व्याख्या ? अहिले कांग्रेस र एमाले गठबन्धनको सरकार बन्न लागेको अवस्थामा पनि भारतीय सञ्चारमाध्यमले चाइना कार्डको आरोप लगाएका छन् । भारतका नवभारत टाइम्सले एमाले अध्यक्ष ओलीप्रति तुच्छ टिप्पणी गर्दै समाचार लेखेको छ । ओलीलाई समाचारमा चिनियाँ ट्याग लगाइएको छ ।
यस्तै, अर्को अखबार दैनिक भास्करले नेपालमा प्रचण्ड नेतृत्वको सरकार सङ्कटमा परेको भन्दै समाचार प्रकाशित गरेको छ, जसमा ओलीलाई चीन समर्थकका रूपमा व्याख्या गर्दै चार महिनामै समर्थन फिर्ता लिएको भनेर प्रचार गरिएको छ ।
२०७९ पुसमा एमालेको सहयोगमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि हिन्दुस्तान दैनिकले नेपालमा चीनको इशारामा प्रचण्ड नाचेको भनेर समाचार प्रकाशित गरेको थियो ।
भारत सरकारका लागि थिंक ट्याङ्कको रूपमा काम गरिरहेको अव्जर्भर रिसर्च फाउण्डेशन (ओआरएफ)ले पनि त्यति नै बेला ‘भूराजनीतिको छायाँमा नेपाल र चीनको बन्दै बिग्रिँदै गरेको सम्बन्ध भनेर लेख लेखेको थियो । त्यो लेख नेपालका डा।हरिवंश झाले लेखेका थिए ।
त्यतिमात्र होइन, भारत सरकारका लागि काम गरिरहेको ‘विवेकानन्द इन्टरनेशनल फाउण्डेशन’ले पनि नेपालको वाम सरकारमाथि चीनको दबाब भनेर लेख प्रकाशित गरेको थियो । सो लेख भारतीय लेखक डा.ऋषि गुप्ताले लेखेका थिए ।
जी न्यूजले नेपालमा चीन समर्थक सरकार आउना साथ भारतप्रति नेपालको ठुलो बयान भनेर एउटा रिपोर्ट नै प्रसारण गरेको थियो ।
दुई ठूला दल सरकार बनाउने मध्यराति मिलेको खबर सुन्ने वित्तिकै काठमाडौं महानगरका मेयर बालेन्द्र साहले ट्विट गरेका छन्–’यो समय गिरिबन्धु चियाको हो ।
सहमति भएको भेलिपल्ट पूर्व सभामुख दमनाथ ढुंगानाको जिज्ञासा छः आजको कान्तिपुर दैनिकमा यस्तो पढन पाइयो (‘रास्ट्रपतिबाट नै यस बारेमा आस्वस्त भएपछि मात्रै हस्ताक्षर भएको हो’।के यस्तै हो ?
कानुनविद विपिन अधिकारी ट्विट गर्छन्ः राष्ट्रिय सहमतिको सरकार हाम्रो संविधानले चिन्दैन किनभने प्रतिपक्ष हाम्रो व्यवस्थाको महत्त्वपूर्ण हिस्सा हो नि, यतिबेला देश न युद्धमा छ, न कुनै त्यस्तो सङ्कटमा । त्यसैले प्रतिपक्ष समाप्त हुने राष्ट्रिय सहमतिको सरकारचाहिँ बनाउनु हुँदैन। प्रतिपक्ष हुनैपर्छ ।
‘प्रचण्ड जान्छन् भनेर रौंबराबर पनि मन खुसी छैन । उनीपछि आउने ओली र देउवाको अनुहार सम्झियो कि रिसले पुर्पुरो चड्किन्छ । सत्ताका लागि सर्वस्व दाउमा राख्न तयार यी दुर्योधनका बानहरू शकुनीको आत्मा बोकेर बाँचिरहेका कपुत हुन् ।’ – रन्जु दर्शना
‘नालायक कलंकीत भ्रष्ट गठबन्धन को तारीफ गर्ने
गिरीबन्धु र भुटानी शरणार्थी संग तालमेल गर्ने
कुन मुखले गर्छो संविधान संसोधन जनता ले हेरी रहेका छन
बिस्तारै मास्सिदै छौ हेर्दै जाऊ हुडॅार हरु हो ।’– अर्जुन घिमिरे
‘कांग्रेस, एमाले मिलेपछि चीनको प्रतिक्रिया के आयो ? एमालेका एक नेताले चीनियाँ राजदुतलाई स्कर्टिंग गरेर् किन बालकोट पुर्याए ? ओली र चीनियाँ राजदुतबीच के कुराकानी भयो ? चीन भ्रमणमा रहेका एमाले नेता बिष्णु रिमालले आत्तिदै के म्यासेज पठाए ? समाचार र कथित बिश्लेशण कुरेको केटो मो’ –पत्रकार अनिल गिरि
‘लोकतन्त्रमा ठूला दल सरकारमा जाँदा देश अराजकतातिर जान्छ ‘: शेखर कोइराला (असार २०)
प्रचण्डको चकचक धेरै भइसकेको थियो, प्रचण्डले उपद्रो गरेपछि कांग्रेस एमाले एक ठाउँमा आयौः गगन थापा(असार २०)
उही दिन गगन थापा थप भन्छन् –हामीलाई सम्हालेर लैजाने ओलीले हो, कांग्रेसलाई हेप्न थाले समस्या आउँछ ।
‘आदरणीय केपि बा
शिक्षकले राम्रो नपढाँउदा क्भ्भ् को नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिनुभएछ।
अनि राजनितिमा लागेका शिक्षकलाई कारवाही गर्छु भनेर मैले फाइल अगाडि बढाँउदा सरकारनै परिवर्तन गर्न खोज्ने। तपाइँको शिक्षकले तपाइँकै पार्टीको सिद्धान्त पढाए मात्र हो अब।’– सुमना श्रेष्ठ(शिक्षामन्त्री) ।
ओली र देउवाले एउटा कुनै कार्यक्रममा चियाको कप समातेको संयुक्त तस्वीर राख्दै धरानका मेयर हर्क लेख्छन् –दुईतिहाई यो गठबन्धनको पनि देश बनाउने कुनै दुर दृष्टि छैन , मात्रै दुईटा दृष्टि हो ।
१. शरणार्थी २. गिरिबन्धु – असार १८
उनले दुई दिन पछि लेख्छन् –८१ साल भित्र नयाँ राजनीतिक शक्तिको घोषणा गर्नेछौँ १ मन परे साथ दिएर जोडिनु होला – हर्क सांगपांग (असार २०)
माओवादी केन्द्रका सांसद माधव साप्कोटा कान्तिपुर टिभीमा भन्छन् – बेचन झा पक्राउ गर्नु र रबि लामिछाने सुशान को लागि सुस्म अध्यन गरेको ले आज सरकार ढल्नु को कारण ।
एमालेको पक्षमा ट्विटमा सक्रिय प्रदीप भट्टराई लेख्छन् – एमाले अध्यक्ष को १८ महिनाको ३ महत्वपूर्ण काम
१. गठबन्धन बाट प्रचण्ड लाई बाहिर निकाल्नु
२. प्रचण्ड लाई काधमा राख्नु र भ्यागुतो पछारेको जसरी पछार्नु
३. काङ्रेसलाई सम्बिधान सम्सोधनको लागि सहमति गर्न लगाएर आफूले सरकारको नेतृत्व गर्नु
पत्रकार गजेन्द्र बुढाथोकी व्यंग्य गर्छन्ः सरकारी निवासमा जम्मा एक हप्ता बस्ने रे, २९ गते खुमलटार सर्ने ।
प्रतिक्रिया दिनुहोस्