ब्लुमबर्गन्यूज : विश्वयुद्धपछि १९५० को दशकमा संसार वासिङ्टन र मस्कोगरी दुई कित्तामा बाँडियो। तर, भर्खर स्वतन्त्र बनेको भारत कतै पनि लागेन। बरु तेस्रो कित्ता अर्थात् असंलग्न आन्दोलनको संस्थापक बन्यो।
प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले त्यो नीतिको केही तत्व अझै पनि कायम राखेको छ भने अरुलाई मिल्काइसकेको छ। सबैभन्दा उल्लेखनीय कुरा, मोदीले अमेरिकासँग गहिरो सम्बन्ध कायम गर्न खोजेका छन्। जसलाई आक्रामक चीनविरुद्ध खडा हुँदाको साझेदार मान्छ भारत। सँगसँगै मोदीले रुससँगको भारतको पुरानो सम्बन्धलाई पनि निरन्तरता दिएका छन्।
भारतसँग रुसको दिगो सम्बन्धको संकेतस्वरूप, मोदीले तेस्रो कार्यकालको शपथ लिएपछिको पहिलो विदेश भ्रमण रुसबाट सुरु गर्दैछन्। सोमबार उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन्। तर, उनीहरूको सम्बन्ध जटिल बन्दै गएको छ। किनकि रुसले युक्रेन युद्ध जारी रहँदा चीनसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै लगेको छ।
भारत अमेरिकाको सहयोगी हो?
दुई दशकयता भारत र अमेरिका रणनीतिक साझेदार रहँदै आएका छन्। यसको अर्थ हो, उनीहरूले सैन्य सम्बन्ध गाँस्न सक्छन् र सहकार्य गर्न सक्छन्। तर, उनीहरू औपचारिक र सन्धिले बाँधिएका सहयोगी होइनन्।
दुवै मुलुक विशाल छन्, विविध छन्, लोकतान्त्रिक छन्। यत्तिका समानताका बाबजुद नयाँ दिल्लीले आफ्नो राष्ट्रिय स्वार्थको रक्षा त्यसरी गर्दै आएको छ, जुन कहिलेकाहीँ अमेरिकाको स्वार्थसँग जुध्न पुग्छ। उदाहरणका लागि युक्रेनमा आक्रमण गर्ने रुसको भर्त्सना गर्न भारतले अस्वीकार गरेको छ। अर्कोतिर, अमेरिकी भूमिमा मानिसको हत्या गराउनमा भारत सरकारको हात रहेको आरोपपछि आपराधिक अनुसन्धान सुरु गराएको छ। जसमा वरिष्ठ भारतीय अधिकारीहरू मुछिने अमेरिकीहरूको भनाइ छ।
यी दुई मुलुकबीचको सम्बन्धको एउटा खम्बा क्षेत्रीय शक्तिका रूपमा चीनको उदय हो। चीन र भारतका बीचमा लामो समयदेखि सीमा विवाद छ। र, अमेरिका भारतलाई चीनको उदयको प्रतिभारका रूपमा उतार्न इच्छुक छ।
भारत क्षेत्रीय सुरक्षा संवाद क्वाडको हिस्सा हो, जसमा अमेरिका, जापान र अस्ट्रेलिया सदस्य छन्। हालै वरिष्ठ अमेरिकी अधिकारीहरूको टोलीले भारत भ्रमण गर्यो। सो क्रममा प्रविधि, सुरक्षा र वैदेशिक लगानीका विषयमा छलफल भएको छ।
रुससँग भारतको सम्बन्ध
शीतयुद्धमा असंलग्न नीतिमा प्रतिबद्ध रहे पनि भारतले मस्कोसँग सुमधुर सम्बन्ध राख्यो। भारत अमेरिकाप्रति चिन्तित रहन्थ्यो किनकि उसको कट्टर दुस्मन पाकिस्तानसँग अमेरिका नजिक थियो। हालसम्म पनि भारत र रुसको सम्बन्ध सुदृढ छ।
यो सम्बन्धको आधारस्तम्भ भनेको भारत रुसी हतियार र कच्चा तेलको विश्वासिलो ग्राहक हुनु हो। आज पनि भारतलाई सबैभन्दा बढी हतियार बेच्ने मुलुक हो रुस। भलै त्यसको मात्रा कम हुँदै गएको छ। एक दशकअघि भारतको हतियार आयातको दुई तिहाइ रुसबाट आउँथ्यो भने अहिले मात्र एक तिहाइ। भारतले हतियारको स्रोत विविधीकरण गर्दै लगेको छ।
रुस भारतको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता पनि हो। तर, युक्रेनमा रुसको आक्रमणपछि लगाइएको नाकाबन्दीका कारण त्यसमा पनि केही मात्रामा कमी आएको छ।
ठूला लोकतान्त्रिक मुलुकमध्ये पुटिनको आलोचना नगर्ने भारत मात्र हो। जो युक्रेन युद्धको भर्त्सना गर्न राष्ट्रसंघमा गरिएको मतदानमा पनि अनुपस्थित रह्यो।
चीनसँग भारतको सम्बन्ध
वर्षौंदेखि यी दुईको सम्बन्धमा तनाव छ। यो तनावको स्रोत उनीहरूको विवादित सीमा हो। त्यही विवादका कारण १९६२ मा उनीहरूबीच युद्ध पनि भएको थियो। पछिल्लो पटक २०२० मा उनीहरूबीचको तनाव फेरि चर्कियो र सीमामा हिंसक झडपहरू भए। बदलामा भारतले चिनियाँ एपमा प्रतिबन्ध लगाउनुका साथै चिनियाँ लगानीमा कडाइ गर्यो।
केही समययता सम्बन्ध सहज हुने आकलन गरिँदैछ। मेमा चीनले १८ महिनापछि दिल्लीमा राजदूत नियुक्त गर्यो। राजदूतले दिल्ली आइपुगेलगत्तै दुई मुलुकबीच सम्बन्ध सुधार्न चाहेको बताए। गत महिना मोदीले चुनाव जित्दा पनि चीनले बधाई दियो। उनीहरूले सीमा समस्या समाधान गर्न थप वार्ता गर्ने सहमति गरेका छन्।
रुस र चीनको सम्बन्ध कसरी बदलिँदैछ?
रुस र चीन शीतयुद्धमा भएको फुटदेखि नै प्रतिस्पर्धी रहँदै आएका थिए। त्यो फुटले भारत र रुसलाई निकट ल्याउन पनि भूमिका खेल्यो। तर, अमेरिका नेतृत्वको विश्व व्यवस्थाविरुद्ध यी दुवै मुलुक खडा भएपछि उनीहरूबीचको सम्बन्ध न्यानो बन्न पुग्यो।
राष्ट्रपतिका रूपमा नयाँ कार्यकाल सुरु गरेका पुटिनले बेइजिङलाई आफ्नो पहिलो गन्तव्य बनाए। यही महिना कजाकस्तानमा राष्ट्रपति सी चिनफिङ र पुटिनबीच पुनः भेट भयो। उनीहरूले आपसी सम्बन्ध ‘इतिहासमै उत्कृष्ट विन्दुमा रहेको’ भन्दै मिलेर क्षेत्रीय शान्ति र स्थायित्वको रक्षा गर्ने वाचा गरे।
चीन रुसी तेल, ग्यास र कोइलाको अर्को ठूलो क्रेता बनेको छ। जसले पश्चिमा नाकाबन्दी झेल्न पुटिनलाई सहयोग पुगेको छ।
भारत–रुस सम्बन्धलाई कसरी हेर्दैछ अमेरिका?
इन्डो प्यासिफक क्षेत्रमा चीनको प्रभाव रोक्ने किल्लाको रूपमा भारतलाई हेर्छ वासिङ्टन। कहिलेकाहीँ मानव अधिकार उल्लंघन र अल्पसंख्यकलाई गर्ने व्यवहारका विषयमा अमेरिकाले भारतको आलोचना गर्छ। तर, मस्कोसँगको सम्बन्धका कारण भारतलाई ठूलो राजनीतिक क्षति भएको छैन।
हालैको भ्रमणमा अमेरिकी उपविदेशमन्त्री कर्ट क्याम्पबेलले भारतसँग रुसको सम्बन्ध र अमेरिकी भूमिका अमेरिकी नागरिकको हत्या गराउने षड्यन्त्रबारे प्रश्न उठाएको बताए। तर, उनले भारतसँगको सम्बन्धप्रति आफूहरू विश्वस्त रहेको र सहकार्य अझ विस्तार गर्न चाहेको पनि बताए।
विश्लेषकहरूको नजरमा अमेरिका भारतलाई चीनलाई रोक्ने कार्यमा महत्वपूर्ण सहयोगी मान्छ। त्यसैले दिल्लीलाई चिढ्याउन चाहँदैन।
– ब्लुमबर्गबाट
प्रतिक्रिया दिनुहोस्