ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनको चुल्होमा पिज्जा, परदेशमा एक नेपालीको सफलताको यात्रा


admin
१५ फाल्गुन २०७४, मंगलबार   ३ : ०६   बजे

पोर्चुगल, १५ फागुन । कुनै बेला विदेशीको रेष्टुराँमा सामान्य कामदारका रुपमा काम गर्ने एक नेपाली युवक यतिबेला भने आफ्नो कला, सीप र सिर्जनशीलताका कारण युरोपभर चर्चित बन्न पुगेका छन् ।

घरमा बिहेको कुरा चलेपछि आफ्नो अध्ययनलाई बीचमै छाडेर ढाई दशक अगाडि युरोप हानिएका बाग्लुङ्ग दमके–६, पोखरीका ४३ वर्षीय टंक सापकोटा इटालियन खाना बनाएरै युरोपमा चर्चित बनेका हुन् ।

इटालियन खानाका लागि सापकोटा युरोपमा बादशाह जतिकै प्रख्यात छन् । इटालियन सेफका रुपमा चर्चित सापकोटा युरोपेलीमाझ निकै लोकप्रिय छन् । इटालियन खानाका पारखीहरुलाई उत्कृष्ट स्वाद पस्किएर चकित नै पारेका सापकोटा सेफ मात्र होइनन् युरोपका एक सफल व्यवसायी पनि हुन् । सापकोटाले आफ्नै लगानीमा पोर्चुगलको राजधानी लिस्बनमा तीन वटा इटालियन र दुई नेपाली गरी पाँच ठूला रेष्टुराँ पनि सञ्चालन गरेका छन् ।

आफैंले केही गरेपछि मात्र बिहे गर्ने सोच बनाएका सापकोटालाई बुबाआमाले बिहे गर्न करकाप गरे तर उनी बिहे नगरी १८ वर्षकै उमेरमै विदेशिए । उच्च शिक्षा हासिल गरी नेपालमै केही गर्ने सोच बनाएका कानुनका विद्यार्थी सापकोटा सन् १९९२ मा गाउँकै एक छिमेकी दाइसँग जर्मनी छिरेका थिए । बिहान जर्मनी ओर्लेका सापकोटाले त्यही दिन साँझदेखि एक इटालियन रेष्टुराँमा काम गर्न थाले ।

केही सीप नभएकै कारण शुरुमा सापकोटाले दैनिक १२ घण्टा भाँडा माझ्ने काम गरे । उनलाई यो कामदेखि निकै ग्लानि भयो । तर युरोपमा श्रमको उच्च सम्मान भएकै कारण काम गर्दै जाँदा सामान्य जस्तै लाग्यो ।

नयाँ ठाउँ, भाषाको समस्या, त्यसमाथि सीप नभएकै कारण निकै दुःख भोग्नुपरेको स्मरण गर्दै सापकोटाले विगत सुनाउनुभयो । “सीप नभएकै कारण करिब डेढ महिना भाँडा माझ्ने काम गरेँ, भाषा नबुझेर कति दिन त भोकै पनि सुतें,”  कुराकानीका क्रममा सापकोटाले भने – “धेरै दुःख भोगें । विदेश आएकामा कता कता पश्चाताप पनि लाग्यो । त्यसबखत स्वदेश फर्केर अध्ययनलाई निरन्तरता दिऊँ कि जस्तो पनि भयो ।” श्रमको उच्च सम्मान अनि सबैले उस्तै मेहनत गरेको देख्दा आफूलाई पनि काम गर्ने जोश, जाँगर र उत्साह आएको सापकोटा सम्झिन्छन् ।

उनी दायाँबायाँ नलागेर पाक कलामै आफ्नो भविष्य खोज्न तल्लीन भए । सानो छँदा आमाले मीठो–मीठो पकाएर खुवाएको स्मरण गर्दै सापकोटाले भने – “बाल्यकालदेखि नै आमासँग खाना पकाउन सिकेको थिएँ । यसैकारणले पनि मलाई विदेशी खानाबारे थप जिज्ञासा, रुचि र मोह बढ्दै गयो । पाक कलामै सफल हुने अठोटका साथ मेहनत गर्दै गएँ ।” काम गर्ने फरक शैली, इमान्दारिता, लगनशीलता र जिज्ञासु स्वभावका कारण सापकोटा रेष्टुराँ सञ्चालकको नजरमा उत्कृष्ट ठहरिँदै गए ।

सापकोटाको कामप्रतिको लगाव र मेहनत देखेर रेष्टुराँ मालिकले उनलाई एक पछि अर्को जिम्मेवारी दिँदै गए । भाँडा माझ्ने कामदारका रुपमा उक्त रेष्टुराँमा प्रवेश गरेका सापकोटा किचन हेल्पर, वेटर हुँदै तीन वर्षमै इटालियन सेफ बन्न सफल भए । परिश्रमले नै आफूलाई सफल सेफ बनाएको ठान्ने सापकोटाले भने – “यही क्षण नै मेरो जिन्दगीको सबैभन्दा महत्वपूर्ण क्षण हो । ५५० युरोबाट पारिश्रमिक वृद्धि भई एक हजार १०० युरोसम्म पुगेको थियो ।”

निरन्तर चार वर्षसम्म उक्त रेष्टुराँमा काम गरेपछि उनी नयाँ सोच र सपना बुनेर सन् १९९६ मा पोर्चुगल हानिए । पोर्चुगल आएपछि फेरि अर्को संर्घष शुरु भयो । मासिक ३०० युरोमा काम शुरु गरेका सापकोटाले तीन वर्षपछि आफ्नै लगानीमा इटालियन रेष्टुराँ खोले ।

उनमा खानाबारे व्यावहारिक ज्ञान भए पनि सैद्धान्तिक ज्ञान थिएन । त्यसपछि उनी इटालीको रोमस्थित गाम्बेरो रोस्सो एकेडेमीमा इटालियन परिकारसम्बन्धी दुई वर्षे कोर्ष पढ्न शुरु गरे । ज्ञानले खारिएका सापकोटाले पोर्चुगलको राजधानी लिस्बनमा थप दुई वटा इटालियन रेष्टुराँ सञ्चालन गरे ।

 

सापकोटाले सञ्चालन गरेका कोमे प्रिमा, र्फोनो दे ओरो र इल मेर्कातो युरोपमै चर्चित इटालियन रेष्टुराँ हुन् । सापकोटाका अनुसार र्फोनो दे ओरो रेष्टुराँ विश्वकै उत्कृष्ट २० पिज्जेरिया अर्थात् पिज्जा बनाउने रेष्टुराँमध्येको एक हो जहाँ सुनको चुल्होमा खाना पकाइन्छ ।

सुनको चुल्होमा खाना पकाइने उक्त रेष्टुराँ विश्वकै दोस्रो रेष्टुराँ भएको सापकोटाको दाबी छ । सोही सुनको चुल्होमा सापकोटाले दैनिक इटालियन पिज्जा पकाउँछन् । अन्य रेष्टुराँ भन्दा पृथक, दाउराको चुल्होको प्रयोग र विशुद्ध इटालियन परिकार पाइने भएकै कारण आफ्नो रेष्टुराँ इटालियन खानाका पारखीहरुको रोजाइमा परेको सापकोटाको भनाइ छ ।

सापकोटा स्वयं अहिले पनि दैनिक १६ घण्टा खट्छन् । सापकोटाले गरेको मेहनत देखेर पोर्चुगिज नागरिकहरुले समेत उनलाई उच्च सम्मान र प्रशंसा गर्छन् । उनलाई भेट्न आउने जो कोहीले पनि उनी सेफ पोशाकमै खाना पकाइरहेको देख्न सक्छन् । इटालियन खाना बनाउँदा छुट्टै आनन्द र रोमाञ्चको अनूभुति हुने उनको भनाइ छ । पछिल्लो समय अन्य उत्कृष्ट पेशामा झैं खाना बनाउने कलामा विशेषज्ञता हासिल गर्नेेहरुको मोह विश्वमै क्रमिक रुपमा बढ्दै गएको सापकोटाको अनुभव छ ।

युनेस्कोले इटालीको प्रख्यात ‘न्यापोलितान पिज्जा’ बनाउने (दाउरा बालेर ईंटाको ताप्केमाथि पिज्जा बनाउने अद्वितीय सांस्कृतिक र खानपानको परम्परा) कलालाई हालै मात्र विश्व सम्पदा सूचीमा समावेश गरेको छ जसमा पोर्चुगलबाट छनौट भएका चार इटालियन पिज्जा रेस्टुराँमध्ये दुई वटा सापकोटाले सञ्चालन गरेका रेष्टुराँ परेका छन् । न्यापोलितान पिज्जाका दुई परिकार ‘मारिनारा र मागएरिता’ विश्वभरका पिज्जा पारखीहरुमाझ निकै प्रख्यात छ ।

सापकोटाका अनुसार मीठो, स्वादिष्ट, स्वस्थकर, पकाउने सरल विधि र सबैको पहुँचमा भएकै कारण विश्वबजारमा इटालियन खानाको माग दिनप्रतिदिन बढ्दो छ । विश्व बजारमा निकै महंगो संसारकै सीमित रेष्टुराँहरुमा पाइने च्याउका प्रजातिबाट बनाइने खाना, आधुनिक वैज्ञानिक विधिबाट निश्चित तापक्रममा पकाइने मासुका परिकार, पिज्जा, पास्ता, चाउचाउ लगायतका खानासापकोटाले बनाउने विशेष इटालियन परिकारहरु हुन् ।

उनको रेष्टुराँमा युरोपका शीर्ष नेता, प्रधानमन्त्री, विभिन्न देशका राजदूत, गायक, कलाकार र खेलाडी नियमित जस्तै खाना खान आउँछन् । पोर्चुगलका प्रधानमन्त्री त उनका नियमित ग्राहक नै हुन् । साउदी अरबकी राजकुमारीले समेत आफ्नो रेष्टुराँमा आएर खाना खाएको सापकोटा सुनाउँछन् । उनले इटालियन खानामा दर्जनौं पुरस्कारसमेत जितेका छन् । इटालियन खानामा अद्भूत कौशल प्रदर्शन गरेकै कारण इटाली सरकारले सापकोटालाई उत्कृष्ट अवार्ड नै प्रदान गरेको छ ।

 

सन् २०१६ मा उनी पोर्चुगलमा युवा सिर्जनशील व्यवसायी समेत घोषित भए । सापकोटाले आफूले आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई समेटेर इटालियन र नेपाली खानाका विषयमा ‘सिँ सेफ’ नामक पोर्चुगिज भाषामा पुस्तक समेत लेखेका छन् ।

आफ्नो यो सफलताको श्रेय भने जर्मनीका रेष्टुराँ मालिक सँगै आफ्नो बुबाआमा र श्रीमतीलाई दिन चाहन्छन् उनी । सपरिवार पोर्चुगल बस्दैआएका सापकोटालाई उनकी श्रीमती सीता सापकोटाले व्यवसायमा सघाउने गरेकी छन् । नेपालीहरुप्रति युरोपेलीहरुको हेराइ निकै राम्रो भएको उनको बुझाइ छ ।

समाजसेवीका रुपमा समेत परिचित सापकोटा गैर आवासीय नेपाली संघ पोर्चुगलका संस्थापक समेत हुन् । पोर्चुगल आउने धेरै नेपालीलाई रोजगारीको व्यवस्था मिलाइदिने, पीडित नेपालीहरुलाई सहयोग गर्ने जस्ता काममा पनि उनी अग्रसर हुन्छन् ।

आफ्नो सीप, क्षमता र कलामार्फत विश्वमाझ नेपाल र नेपालीलाई चिनाउन आगामी दिनमा थप प्रयत्न गर्ने अठोट उनी व्यक्त गर्छन् । आफूसँग रहेका पाक कलालाई नेपालमा समेत प्रवद्र्धन गर्ने उनको योजना छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu