सरकारसँग दमन बाहेक केही विचारहरू छैनन्
क्युबालीहरू पहिले सोभियत संघ र यसको उदारताको अन्त्यपछि फिडेल क्यास्त्रोले ‘विशेष अवधि’ भनेको समयलाई फर्केर हेर्थे र त्यो नै सबैभन्दा खराब अवस्था हुन सक्छ भन्ने सोच्थे। उनीहरू धेरै आशावादी थिए। आज अधिकारीहरू ‘युद्ध अर्थतन्त्र’ को कुरा गर्छन्। राजधानी हवानाको सडकमा आम मानिसको बुझाईमा अहिलेको अभाव १९९० को दशकको सुरुवातको भन्दा खराब छ। क्युबाले पर्याप्त मात्रामा केही उत्पादन गर्दैनः चिनी, जुन यसले एक समय संसारलाई आपूर्ति गर्थ्यो, न अण्डा, जुन यसले हालै कोलम्बियाबाट आयात गरेको थियो, न दूध पाउडर, जुन यसले संयुक्त राष्ट्रसंघबाट प्राप्त गर्छ, न बिजुली, जसको बढ्दो लोडसेडिंगले देखाइरहेको छ । सरकारसँग आयातका लागि विदेशी मुद्रा छैन। मुद्रास्फीति अधिक छ,स आधिकारिक विनिमय दरमा एक डलर बराबरको क्युबाली पेसो अनौपचारिक दरमा सात सेन्ट मूल्य बराबर छ। एक कार्टन अण्डाको मूल्य मासिक न्यूनतम ज्यालाभन्दा बढी छ।
आर्थिक संकटले हालैका दुईटा प्रवृत्तिहरूलाई स्पष्ट पारिरहेको छ। पहिलो, साम्यवादी सरकारले देशमाथिको नियन्त्रण गुमाउँदै छ – यसको अर्थ शासन ढल्न लागेको होइन। ‘यहाँ हामी सबैले क्रान्ति र समाजवादलाई बचाउने छौं’ क्युबाका राष्ट्रपति मिगुएल डिआज–क्यानेलले यस महिनाका भनेका थिए । तर थोरैले मात्र वैचारिक धारणामा विश्वास गर्छन्। सरकार आफ्ना जनताका लागि आधारभूत कानास्ता (टोकरी) वस्तुहरू पनि प्रदान गर्न असमर्थ छ, अरू कुरा त परै जाओस्। परिणामस्वरूप बढ्दो असमानता, अशान्ति र आप्रवासन गम्भीर भएको छ। दोस्रो, सहायताको खोजीमा सरकार चीन र रूसको अझै नजिक जाँदैछ। यी बढ्दो आर्थिक र सुरक्षा सम्बन्धहरू यस्तो समयमा आएका छन्, जब अमेरिकी अधिकारीहरू ती देशहरूको ल्याटिन अमेरिकातिर बढ्दो प्रभावबारे चिन्तित छन्।
क्युबाका अधिकारीहरू द्वीपको दुर्दशाको लागि अमेरिकी प्रतिबन्धहरूलाई दोष दिन रुचाउँछन्। निश्चय नै तिनीहरूले मद्दत गर्दैनन्। बराक ओबामा अन्तर्गत एउटा खुलापनलाई क्युबाले प्रतिक्रिया नदिएपछि, डोनाल्ड ट्रम्पले प्रतिबन्धहरू कडा बनाए, क्युबाली अमेरिकीहरूले आफन्तहरूलाई पठाउन सक्ने रकम घटाए। जो बाइडेनको प्रशासनले यसलाई केही खुकुलो बनाएको छ तर ट्रम्पले अपनाएका अन्य लगभग सबै क्युबा सम्बन्धी उपायहरू यथावत राखेको छ। समस्याहरू थप्दै, भेनेजुएलाको २०१४ को पतनले द्वीपमा सब्सिडी गरिएको इन्धनको आपूर्ति कटौती गर्यो, र महामारीले पर्यटकहरू र उनीहरूको महत्त्वपूर्ण विदेशी मुद्राको प्रवाहलाई बन्द गरिदियो।
तर केन्द्रीय योजना र राज्य नियन्त्रणप्रति शासनको प्रतिबद्धता नै दुःखको मूल कारण हो। एक साम्यवादी सरकारको लागि, आफ्ना जनताको लागि प्रबन्ध गर्न नसक्नु घातक हो। ‘आधारभूत कुराहरू छैनन् र जब आउँछन् तब पनि संकास्पद हुन्छन्ः पहेंलो रङको जर्दी नभएका अण्डाहरू,’ आफ्नो नाम नबताउन अनुरोध गर्दै एक महिला भन्छिन् । नवजात निजी क्षेत्रको कारण, लिन्ड्ट चकलेटदेखि फिलाडेल्फिया चीजसम्म सबै कुरा उपलब्ध छ, तर अधिकांशको पहुँचभन्दा धेरै बाहिरको मूल्यमा। मुद्रास्फीतिको कारण, जुन आधिकारिक रूपमा ३० प्रतिशत जति छ, क्युबा वास्तवमा डलरीकरण गर्दैछ – तर थोरै डलरहरूसँग। हवानाका रेस्टुरेन्टहरूले ग्रीनब्याकमा भुक्तानी पाउँदा आफ्नो खुशी मुश्किलले लुकाउँछन्।
क्युबालीहरू बढ्दो रूपमा अशान्त छन्। जुलाई २०२१ मा भएका ठूला विरोध प्रदर्शनहरूलाई दबावउन ७०० भन्दा बढी मानिसहरूलाई कठोर जेल सजाय दिएर सामना गरियो। त्यसपछिका विरोधहरू साना र शासनको पतनको माग नगर्ने खालका भएका छन्। मार्चमा केही क्युबालीहरू खाद्यान्नको अभाव र बिजुली कटौतीको विरोधमा सडकमा उत्रिए, यस्तो समस्या राजधानी बाहिर घण्टौंसम्म रहन्छ। ‘डर कम हुन थालेको छ’ निर्वासित कार्यकर्ता क्यारोलिना बरेरा भन्छिन्।
आधिकारिक प्रतिक्रिया संकोची र कल्पनाहीन रहेको छ। फिडेल क्यास्त्रोको २०१६ मा मृत्यु भयो र उनका कान्छा भाइ राहुल ९३ वर्षका छन् र स्वास्थ्य खराब छ। कम्युनिस्ट पार्टीको सामूहिक नेतृत्व सुधार र प्रतिक्रियाको बीचमा हल्लिन्छ। २०२१ मा सरकारले निजी व्यवसायहरूलाई विस्तार गर्न र सीमित दायराका गतिविधिहरूमा १०० जनासम्म कामदार राख्न अनुमति दियो। तर उनीहरूलाई धेरै रकम प्राप्त गर्न गाह्रो छ। सरकारले हालै उनीहरूको दायरालाई थप सीमित गरेको छ र उनीहरूमाथि कर बढाएको छ, एक खाद्य–डेलिभरी फर्म चलाउने मार्था डेउस भन्छिन्। व्यवसाय मालिकहरूलाई विदेश यात्रा गर्न अनुमति दिइएको छैन,स केहीलाई आक्रामक रूपमा सर्भिलेन्सलस गरिएको छ।
पर्यटनले मद्दत गर्न सक्छ, तर क्युबाले डोमिनिकन गणतन्त्र र क्यानकुन जस्ता देशहरूसँग कडा प्रतिस्पर्धाको सामना गर्नुपर्छ, अर्थशास्त्री ओमार एभरलेनी भन्छन्। पर्यटकहरूको आगमन हालै बढेको छ, तर अझै पनि २०१९ को वार्षिक ४ मिलियनभन्दा धेरै कम छ। रूसीहरू, जो हवानामा सेनाद्वारा सञ्चालित होटलहरूमा घुमफिर गर्छन्, र ल्याटिनोहरूले युरोपेलीहरू वा ओबामाले प्रतिबन्धहरू खुकुलो बनाएपछि त्यहाँ आएका अमेरिकीहरूभन्दा कम खर्च गर्ने गर्छन्। थोरै चिनियाँहरू आउँछन्।
शासन फेरि पनि आफ्ना मित्रहरूलाई उद्धार गर्न हेरिरहेको छ। चिनी उत्पादन र फार्मास्युटिकल उद्योगमा रूसी लगानीको कुरा भइरहेको छ। सुरक्षा सम्बन्धहरू पनि बढ्दै छन्। गत महिना, युक्रेनमाथि पूर्ण स्केलको आक्रमण भएपछि पहिलो पटक क्युबाले हवानामा रूसी जहाजहरूको आगमनलाई स्वागत गर्यो । यसले बढ्दो रूपमा चीन प्रभुत्व भएको उदीयमान देशहरूको समूह ब्रिक्सको सदस्य बन्ने बारे विचार गरिरहेको छ। वाशिङ्टन डीसीको एक थिंक–ट्यांक सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडीजले दाबी गरे अनुसार चीनले संयुक्त राज्य अमेरिकामाथि जासुसी गर्न प्रयोग गरिरहेको हुन सक्ने गरी केही स्थापनाहरूको विस्तार गरिरहेको छ।
बाइडेन प्रशासनले यी घटनाक्रमहरूबारे चिन्ता कम गरेको छ। रूससँगको क्युबाको सम्बन्ध बढ्ने र घट्ने गर्छ। अमेरिकी अधिकारीहरू आफ्नो पछाडिको क्षेत्रमा चीनको प्रभावबारे बढी चिन्तित छन्। र कुनै पनि देशले धेरै प्रस्ताव गरिरहेको छैन। दुवैले सहयोगको रिटर्नमा भुक्तानी चाहन्छन्, जुन क्युबाबाट राम्रो हुनसक्दैन । रूस र चीन दुवै भियतनामी शैलीमा राज्य पुँजीवादलाई समेत विचार गर्न अस्वीकार गर्ने शासनको कठोर अयोग्यताबाट निराश भएको देखिन्छ। गत वर्ष पश्चिमी प्रतिबन्धहरूको अधीनमा रहेका रूसी अर्बपति ओलेग डेरिपास्काले हवानामा एक थिंक–ट्यांक स्थापना गरे । यसले राज्य स्वामित्वका उद्यमहरूलाई सानो वृत्तमा बेच्ने आफ्नो देशको मोडेललाई बढावा दिइरहेको बताइन्छ।
संयुक्त राज्य अमेरिकाले ती सम्बन्धहरूको विकल्प प्रस्ताव गर्न अझै बढी गर्न सक्छ। अमेरिकी अधिकारीहरू भन्छन् –उनीहरू त्यसो गर्न चाहन्छन्। मेमा, प्रशासनले आफ्नो नियमहरू परिवर्तन गरेर क्युबाली व्यवसायहरूलाई अमेरिकी डिजिटल वित्तीय सेवाहरू, बैंक खाताहरू सहितमा पहुँच दिन अनुमति दियो। तर लामो समयदेखि अन्तर्निहित समस्या क्युबाली सरकारको निजी क्षेत्रप्रतिको अविश्वास रहेको छ। यसले केही क्युबालीहरूको असहजतालाई प्रतिबिम्बित गर्छ जसले आफ्नो देशमा अभूतपूर्व सम्पत्ति देख्छन्, तर त्यस्तो केही मुठ्ठीभर हातहरूमा मात्र। राती, धेरै जना हवानाको तटीय घुमफिर स्थल मालेकोनमा निष्क्रिय रूपमा बसिरहँदा, अरूले आफ्ना टेस्लाहरू क्लब र बारहरू अगाडि पार्क गर्छन्। ‘सबै नयाँ व्यवसायहरू शासनसँग जोडिएका छन्,’ एक महिला गुनासो गर्छिन्। वास्तवमा, शायद ११,००० भन्दा बढी व्यवसायहरूमध्ये ५ प्रतिशत मात्र यस्ता छन्, वाशिङ्टनको एक दबाब समूह क्युबा स्टडी ग्रुपका रिक हेरेरोको अनुमान छ ।
धेरैले लामो समयदेखि शासनको पतनको सपना देखेका छन्। तर त्यो सम्भावना कम छ, र यसले अन्य समस्याहरू ल्याउनेछ। विपक्षमा संरचना, कार्यक्रम र मानिसहरूको अभाव छ, भित्र वा बाहिर, पूर्व क्युबाली राजनयिक कार्लोस अल्जुगाराय भन्छन्। ‘परिवर्तनको सबैभन्दा राम्रो मौका वर्तमान सरकारबाट आउँदैछ।’
तर यस्तो भइरहेको छैन। ‘हामी कुनै योजना नभएको, अगाडि बढ्ने कुनै बाटो नभएको, बाहिर निस्कने कुनै उपाय नभएको शासनसँग काम गरिरहेका छौं’ पूर्व अमेरिकी अधिकारी रिकार्डो जुनिगा भन्छन्। ‘यसले आर्थिक पतन मात्र होइन, सामाजिक पतनलाई पनि बलियो बनाइरहेको छ।’ क्युबालीहरू रेकर्ड संख्यामा आप्रवास गरिरहेका छन्। २०२३ को अन्तसम्मको दुई वर्षमा ११.२ मिलियन जनसंख्याको दशांश भागले देश छाडेको छ। ‘हाम्रो छिमेक युवाहरूबाट रित्तिँदै छ’ हवानाको उपनगरमा बस्ने जुनेइर भन्छन्। ‘यदि यो देशको ‘जमिनीे सीमाना भएको भए यहाँ कोही पनि बाँकी रहने थिएनन्।’ ■
: दि इकोनोमिष्टबाट
प्रतिक्रिया दिनुहोस्