बाङ्ग्लादेशमा हिन्दू मन्दिरमा पहरा दिइरहेका मुस्लिमहरू
बीबीसी ग्लोबल डिस्इन्फर्मेसन टीम र बीबीसी भेरिफाई
बाङ्ग्लादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेको केही घण्टामै प्रदर्शनमा उत्रिएका मोइनउल हिन्दू मन्दिरको पहरा दिन खटिए।
उनले हिन्दू मन्दिरहरूमा हिंसात्मक आक्रमण भएका सामाजिक सञ्जालका भाइरल भिडिओहरू देखेपछि यस्तो कदम चालेका थिए।
“तीनको सुरक्षा गर्ने हाम्रो जिम्मेवारी हो,” चिटगोङ्गको हथराजीमा रहेको श्रीश्री सीता काली माताको मन्दिरमा पहरा दिइरहेका उनले भने।
“हामी सबै सरकारी पूर्वाधारहरू, मन्दिर, गिर्जाघर र उनीहरूका सबै स्थानहरूको सुरक्षा गर्छौँ।”
मोइनउलले सामाजिक सञ्जालमा भाइरल भइरहेका पोस्टहरू आफूले त्यही स्थानमा पुगेर देखेको दृश्य भन्दा फरक पाएको बताए।
सामाजिक सञ्जालका पोस्टहरूले बाङ्ग्लादेशलाई बाहिरी विश्वमा अस्थिर देखाउन खोजेको उनको दाबी छ।
बाङ्ग्लादेशको स्वतन्त्रता आन्दोलनमा लडेका व्यक्तिहरूका परिवारका लागि सरकारी जागिरमा ३० प्रतिशतसम्म आरक्षणको व्यवस्था खारेजीको माग गर्दै उनी पनि सडक प्रदर्शनमा भाग लिएका थिए।
तर उक्त प्रदर्शनमाथि सरकारको कठोर दमनले उनीहरूको माग प्रधानमन्त्री हसिनाको राजीनामातर्फ सोझियो।
हप्तौँसम्मको हिंसाले विपक्षी पार्टीका अभियानकर्मीहरू थप आक्रोशित भए। त्यसमध्ये धेरै जनालाई हसिनाको शासनकालमा राज्यले दुस्ख दिएको थियो।
योसँगै कम जनशक्तिमा चलिरहेका प्रहरी चौकीहरूबाट प्रहरीहरू भागे पछि बाङ्ग्लादेशमा हिंसा मात्रै फैलिएन लुटपाट पनि मच्चियो।
त्यसको निसानामा सत्ताधारी अवामी लीगका कार्यकर्ता र समर्थकहरू परे।
स्थलगत विवरणहरूले प्रदर्शनमा सहभागी नभएका सर्वसाधारणहरू पनि हिंसा र लुटपाटबाट प्रभावित भएको देखाएको छ।
मुस्लिमबहुल देशमा हिन्दू अल्पसङ्ख्यकहरू आक्रमणको हुने डरले त्रसित देखिएका छन्।
सामाजिक सञ्जालमा गलत कथन
विभिन्न स्थानमा अराजकता बढ्दै जाँदा भारतका अति दक्षिणपन्थी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यसलाई मसला बनाए।
उनीहरूले बाङ्ग्लादेशमा हिन्दूहरूमाथि हिंसा भएको दाबी गर्दै भ्रामक सूचना शेअर गरे।
यसले प्रदर्शनकारीहरू “इस्लामिक चरमपन्थी” थिए र हिंसात्मक उद्देश्य भएका थिए भन्ने हल्लामा थप बल पुग्यो।
यस्ता गलत कथनबारेका पोस्टहरूमा प्रयोग गरिएको ह्यास्ट्यागका आधारमा सामाजिक सञ्जालको निगरानी गर्ने अनलाइन ब्रान्डवाचबाट जाँच गर्दा अगस्ट ४ यता ७,००,००० पोस्टहरू भएका देखिन्छन्।
सबैभन्दा धेरै यस्तो जानकारी फैलाउने खाताहरू भारतबाट सञ्चलन भएका देखिन्छन्।
एउटा भाइरल पोस्टमा बाङ्ग्लादेशका हिन्दू क्रिकेटर लिटन दासको घर जलाइएको दाबी गरिएको छ।
अरू कतिपय सामाजिक सञ्जालका खाताहरूमा “इस्लामिक” मानिसहरूले आगो लगाएको दाबी गर्दै उक्त जानकारी शेअर गरिएको छ।
एक्समा राखिएका भ्रामक पोस्टतस्बिर स्रोत,
तस्बिरको क्याप्शन, सामाजिक सञ्जाल एक्समा राखिएका कतिपय पोस्टहरूले हिन्दू अल्पसङ्ख्यकमाथि आक्रमण भएका विवरण फैलाएका थिए।
तस्बिर स्रोत, X
तस्बिरको क्याप्शन, सामाजिक सञ्जाल एक्समा राखिएका कतिपय पोस्टहरूले हिन्दू अल्पसङ्ख्यकमाथि आक्रमण भएका विवरण फैलाएका थिए
बीबीसी भेरिफाइले स्थानीय विवरणका आधारमा यसको तथ्य जाँच गर्ने प्रयास गर्यो।
त्यस क्रममा के पत्ता लाग्यो भने आगो लगाइएको घर वास्तवमा पूर्व क्रिकेटर मशरफ बिन मुर्तजाको थियो।
बाङ्ग्लादेशको सत्ताधारी अवामी लीगका सांसद रहेका मुर्तजा मुस्लिम हुन्।
अर्को भाइरल भएको भिडिओमा “बाङ्ग्लादेशमा इस्लामिक भीड”ले मन्दिरमा आक्रमण गरेको दाबी गरिएको छ।
चिटगोङ्गको नवग्रह मन्दिर नजिकै आगो देखिएको छ तर मन्दिर जलेको देखिएको छैन।
उक्त भिडिओ पोस्ट भएपछि बीबीसीलाई पठाइएका तस्बिरहरूमा मन्दिरमा कुनै पनि क्षति पुगेको देखिँदैन।
आगजनीको निसानामा मन्दिर नभई अवामी लीगको कार्यालय जस्तो देखिन्छ।
मन्दिर प्रशासनका अनुसार मन्दिरको पछाडिपट्टि कुर्सी र टेबलहरूमा आगो लगाइएको थियो।
आगजनीपछि लिइएका तस्बिरहरूमा अवामी लीगका नेताहरूका अनुहार देखिने होर्डिङ र पोस्टरहरू भग्नावशेषमा देखिन्छन्।
“अगस्ट ५ को अपराह्न मन्दिरको पछाडि रहेको अवामी लीगको कार्यालयमा आक्रमण भएको थियो।
उनीहरूले फर्निचरहरू कार्यालय बाहिर ल्याएर आगो लगाएका थिए,” मन्दिरका कर्मचारी स्वपन दासले बीबीसी भेरिफाइसँग भने।
दासका अनुसार उक्त दिन मन्दिरमा आक्रमण नभए पनि अवस्था तनावग्रस्त बनेको थियो। मन्दिर बन्द गरेर मानिसहरूले २४सै घण्टा पहरा दिएका थिए।
तस्बिरको क्याप्शन, स्थानीयवासीका अनुसार मन्दिरमा कुनै क्षती पुगेको थिएन, तस्बिर स्रोत, X
यस बाहेक पनि थप दुई वटा पोस्टमा हिन्दूहरूमाथि आक्रमण भएको दाबी गरिएको छ।
तर हामीले के पत्ता लगायौँ भने आक्रमणमा परेका नेताहरू वास्तवमा मुस्लिम थिए र अवामी लीगसँग आबद्ध थिए।
भारतका कैयौँ दक्षिणपन्थी सामाजिक सञ्जालका खाताहरूले हिन्दूहरूमाथि आक्रमण भएको दाबी गरिएका सूचनाहरूलाई व्यापक बनाएका छन्।
भेरिफाइड सामाजिक सञ्जालका खाताहरूबाट ३कबखभदबलनबिमभकजष्जष्लमग अर्थात् बाङ्ग्लादेशका हिन्दूहरूलाई बचाऊँ भन्ने ह्यास्ट्यागसहित यस्ता सूचना शेअर गरिएका छन्।
यस्तो प्रवृत्ति निकै व्यापक छ। अर्को एउटा भाइरल पोस्टमा त “इस्लामिक” भीडले एउटा हिन्दू गाउँमा आक्रमण गरेर एक जना हिन्दूलाई पोखरीमा पौडिएर भाग्न बाध्य बनाएको दाबी गरिएको छ।
तर भारतीय तथ्य जाँचमा संलग्नहरूले ती व्यक्ति मुस्लिम भएको पत्ता लगाएका छन्।
तस्बिर स्रोत, X : तस्बिरको क्याप्शन, पोखरिमा देखिएका व्यक्ति अवामी लीग आबद्ध मुस्लिम भएको पत्ता लाग्यो
विश्वव्यापी फैलावट
यूकेमा मुस्लिम आप्रवासीहरू लक्षित हिंसात्मक आक्रमण भएको भन्दै भड्किलो पोस्ट गरेका यूकेका एक प्रतिष्ठित चरम दक्षिणपन्थी इन्फ्लूएन्सर टमी रोबिन्सनले बाङ्ग्लादेशमा “हिन्दूहरूको नरसंहार भएको” दाबी गर्दै अपुष्ट भिडिओहरू सामाजिक सञ्जालमा शेअर गरे।
यसले स्थानीय स्तरमा मानिसहरूमा त्रास पैदा गर्नुका साथै धर्म-धर्मबीच तनाव पैदा गरेको विज्ञहरूले बीबीसीसँग बताए। बाङ्ग्लादेशमा दशकौँदेखि धार्मिक द्वन्द्व कायम छ।
“अगस्ट ५ देखि देशमा सरकार र कानुनी राज्य दुवै नभएका कारण हिन्दूहरूले आफूलाई असुरक्षित महसुस गरेको अवस्थामा यस्ता भ्रमहरू सफल भए,” घृणात्मक अभिव्यक्ति र भ्रामक सूचनाबारेका बाङ्ग्लादेशी विज्ञ प्राध्यापक शईद अल(जमान भन्छन्।
“त्यो त्रासदीपूर्ण अवस्था थियो। यस्ता इन्फ्लूएन्सरहरूले फैलाएको त्रासले तनावलाई बढाउने काम मात्रै गर्यो।”
आक्रमणका घटना
यसैबीच वास्तवमै हिन्दूहरूमाथि आक्रमण भएका घटनाहरू पनि देशका विभिन्न स्थानमा भएका छन्। तर यस्ता घटना धार्मिक कारणले नै भएका हुन् वा अन्य कारणले भन्ने पहिल्याउन निकै कठिन छ।
बाङ्ग्लादेशमा एएफपी समाचार संस्थाका तथ्य जाँचको काम गर्ने कदरूद्दिन शिशिरले हिन्दू स्वामित्वका सम्पत्तिहरूमाथि आक्रमण भएको बीबीसीलाई बताएका छन्।
“अधिकांश यस्ता आक्रमणहरू राजनीतिक रूपमा प्रेरित छन् र धर्मका कारण भएका होइनन्। तर भारतका चरमपन्थीहरूले राजनीतिक कारणबाट भएका आक्रमणहरूलाई पनि धार्मिक रूप दिएका छन्,” उनले थपे।
उनका अनुसार मुस्लिम अवामी लीगका कम्तीमा ५० जना नेताहरूको पनि मृत्यु भएको छ।
श्रीश्री मन्दिरको बाहिरपट्टि मुस्लिम र हिन्दू विद्यार्थीहरू एकता र भविष्यको आशाबारे कुरा गरिरहेका छन्।
“यस्ता हल्लाहरू हिन्दू र मुस्लिमबीच अव्यवस्था निम्त्याउन र हिंसा भड्काउनका लागि फैलाइएका छन्,” मोइनउल भन्छन्, “हामी त्यसबाट प्रभावित हुनेवाला छैनौँ।”
मन्दिर बाहिरको छलफलमा भेटिएका एक जना स्थानीय चेतन नामका हिन्दू व्यक्तिले आफ्ना मुस्लिम छिमेकीप्रति आभार प्रकट गरे।
“म उनीहरूप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु र यो संवेदनशील अवस्था पार नहुँदासम्म यसलाई निरन्तरता दिन आग्रह पनि गर्न चाहन्छु,” उनले भने।
“मलाई के आशा छ भने यो स्वतन्त्र बाङ्ग्लादेशमा हामी आगामी दिनमा पनि सँगसँगै मिलेर बस्ने छौँ।”
: बीबीसी नेपाली सेवाबाट
प्रतिक्रिया दिनुहोस्