पश्चिमी उदार लोकतन्त्रहरूमा सबैभन्दा धूर्त खतरा चीन वा रूसबाट आउँदैन, बरु अमेरिका भित्रैबाट आउँछः जब जनसांख्यिकीय परिवर्तनले तिनको शक्तिको पकडलाई जोखिममा पार्छ, श्वेत बहुसंख्यकहरूले महसुस गर्ने डरबाट। अश्वेत तथा अन्य जातीय अल्पसंख्यकहरू र बढ्दो रूपमा गैर–ख्रिस्टियन आप्रवासीहरूविरुद्ध श्वेत, ख्रिस्टियन स्वदेशी जनसंख्याले आफूलाई घेराबन्दीमा राख्ने प्रवृत्तिले संयुक्त राज्य अमेरिकादेखि यूरोपसम्म अनुदार राजनीति भड्काएको छ, जसले जनतालाई सुरक्षा दिने वाचा गर्ने अधिनायकवादी राजनीतिज्ञहरूलाई प्रवेश मार्ग खोलेको छ।
यसले उदार व्यवस्थाका अघि विशेषरूपमा जटिल चुनौती खडा गरेको छ, किनभने जनसांख्यिकीय परिवर्तनलाई रोक्न सकिँदैन।
संयुक्त राज्य अमेरिकामा, गैर–हिस्पानिक श्वेत जनसंख्या केही दशकहरूमा अल्पसंख्यक स्थितिमा पुग्नेछ—भविष्यको आप्रवासन प्रवृत्तिहरू जे देखाए पनि। पश्चिमी यूरोपमा बाहिरकालाई रोक्ने सबै प्रयासहरूका बाबजुद पनि आप्रवासन बढिरहेको छ । यो अवश्यम्भावी जनसांख्यिकीय पुनःसंरचनालाई ध्यानमा राख्दै, उदार लोकतन्त्रलाई बचाउनका लागि हामीले साझा नागरिकताको भावना निर्माण गर्नुपर्नेछ, जुन शक्तिको पुनर्वितरणको स्थितिमा टिक्न सक्ने होस्।
तर यो अत्यन्त असम्भव देखिन्छ। पश्चिमी लोकतन्त्रहरू मध्ये संयुक्त राज्य अमेरिका सबैभन्दा जातीय विविध राष्ट्र हो, यो राष्ट्रको जातीय विभाजनको बहसको कुनै केन्द्र छैन। बामपक्षका विभिन्न समूहहरूले सामना गरेको शताब्दीयौँको उत्पीडनको लागि श्वेत मानिसहरूबाट क्षतिपूर्ति माग गर्छ। दक्षिणपन्थीपक्षलाई ती समूहहरूले वैध दाबी गरेका छन् भन्ने विश्वास छैन।
यूरोपेली देशहरूमा रङ्गीन समुदायहरूले उनीहरूको बलियो सामाजिक सुरक्षात्मक जालबाट लाभ उठाउन सक्छन्। तर सार्वजनिक वस्तुहरूमा आप्रवासीहरूको दाबीलाई आलोचना गरिन्छ, र व्यापक नागरिकता र समावेशिताको तिनको दाबीलाई स्पष्ट रूपमा अस्वीकार गरिन्छ।
समस्याहरूको पहिचान गर्न सजिलो छ, तर प्रभावकारी उपाय प्रस्ताव गर्न गाह्रो छ। अमेरिकी बामपक्षका केही कार्यकर्ताहरूले प्रस्ताव गरेको जातिवाद विरोधी अभियान विभाजनकारी छ— जोबाट राष्ट्रलाई जातिवादी र जातिवाद विरोधी समूहहरूमा विभाजन गर्ने डिजाइन गरिएको छ। दासत्वमा पारिएका व्यक्तिहरूका सन्ततिहरूलाई क्षतिपूर्ति दिने माग नैतिक हुन सक्ला, तर यो पनि अत्यधिक विवादास्पद छ। स्पष्टरूपमा, थप एकीकृत राष्ट्र निर्माण गर्न संयुक्त राज्य अमेरिकाको आय र सम्पत्तिको विशाल असमानतालाई कम गर्न आवश्यक छ।
तर कल्पना गर्नुहोस्, १० ट्रिलियन डलरको क्षतिपूर्ति विधेयकले सन् २०२० मा पूर्व–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मतदान गर्ने ६३ मिलियन गैर–हिस्पानिक श्वेत मतदाताहरुको राजनीतिलाई कसरी आकार दिनेछ, जसमध्ये धेरैले आफ्नो देशको जातीय रूपान्तरणबाट आफैलाई खतरा महसुस गर्छन्।
ती ६३ मिलियन अमेरिकी मतदाताहरू—फ्रान्समा मारिन ले पेनको नेशनल रैली, नेदरल्यान्ड्सको स्वतन्त्रता पार्टी, वा स्वीडेन डेमोक्र्याट्सका लागि मतदान गर्ने लाखौँ मतदाताहरू जस्तै—वार्ताको हिस्सा हुनुपर्छ। उदार लोकतन्त्रलाई बचाउन, यसलाई धम्क्याइरहेका र रिसाएका नागरिकहरूलाई समावेश गर्ने उत्तम तरिका खोज्न आवश्यक छ।
हामी त्यो कसरी गर्छौं ? आवासीय विभाजनलाई रोक्नका लागि नीतिहरू, जस्तै गेन्ट्रीफाइ हुँदै गरेका छिमेकहरूमा किफायती आवास निर्माणको प्रोत्साहन मार्फत मद्दत गर्न सकिन्छ। त्यसैगरी, जातीय र वर्गका आधारमा बढ्दै गइरहेको विद्यालयहरूको एकीकरणको प्रयास पनि उपयोगी हुन सक्छ। हरेक १८ वर्षका युवा व्यक्तिहरूलाई सामुदायिक परियोजनामा काम गर्न र सार्वजनिक वस्तुहरू निर्माण गर्न आवश्यक पर्ने राष्ट्रिय सेवाको कार्यक्रमले सबै पृष्ठभूमिका व्यक्तिहरूलाई समावेश गर्न र पहिचानका सीमाहरू पार गर्ने वार्तालापहरू सुरु गर्न मद्दत गर्न सक्छ।
व्यापक उद्देश्य भनेको समावेशी नागरिकता निर्माण गर्नु हो। एक–अर्काको छेउमा बस्ने, सँगै स्कुल जाने, र जीवनका सूक्ष्म चुनौतीहरू बाँड्न थाल्नु नै एक–अर्कालाई मानविकीकरण गर्न थाल्ने केही तरिकाहरू हुन्।
स्वतन्त्र संसारमा, राष्ट्रिय बहसहरूले हामीलाई लोकतन्त्रहरूले सामना गरिरहेको महान चुनौतीमा अन्धो बनाइरहेका छन्ः विश्वभर उदार लोकतन्त्र घट्दो क्रममा छ, र अधिनायकवादीहरू अझ बढी उसत्साही हुँदै गइरहेका छन्।
त्यस्तो हुनुपर्ने होइन। विश्वका लोकतन्त्रहरूले विश्वव्यापी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ७० प्रतिशत भन्दा बढीको प्रतिनिधित्व गर्छन्। यदि त्यो शक्ति उपयोग गरियो भने, बेइजिङ र मस्कोले बुझ्ने भाषा त्यही हुनेछ। तर सबैभन्दा महत्वपूर्ण कुरा, हामीलाई थाहा छ कि मानव स्वतन्त्रताको शक्ति संसारकै सबैभन्दा शक्तिशाली शक्ति हो। मानिसहरू प्रायः थप अधिनायकत्वको माग गर्दै सडकमा आउँदैनन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनको लोकतन्त्र शिखर सम्मेलन एकपटकको घटना मात्र रहनु हुँदैन। बरु, यसले लोकतान्त्रिक पुनर्जागरण र आशावादको व्यापक अभियान सुरु गर्नुपर्छ। उद्देश्य भनेको स्वाधीन विश्वलाई एकजुट गरेर घरमा लोकतान्त्रिक पछि हटाइलाई रोक्न र बाहिरका अधिनायकवादीहरूको विभाजन र त्यस्ता शासनको रणनीतिलाई परास्त गर्नु हो।
यसका लागि, हाम्रो हालका वैश्विक संस्थाहरू पर्याप्त छैनन्। संयुक्त राष्ट्रसंघलाई लिऔंः यसले धेरै राम्रो काम गरे तापनि, सुरक्षा परिषद, मानव अधिकार परिषद, र अन्य यूएन निकायहरूमा अधिनायकवादीहरू र तिनका मित्रहरूले लोकतन्त्रहरूको चासोमा बारम्बार अवरोध गर्छन्।
अझ लोकतान्त्रिक राष्ट्रहरूको ब्लकमा समेत, जस्तै यूरोपेली संघ, सामूहिक निर्णयहरू अक्सर चीन र रूसको प्रभावमा रहेका सदस्य राष्ट्रहरूद्वारा वा आफैं अधिनायकवादतर्फ फिसलिरहेका देशहरूले भिटो प्रयोग गर्छन्।
यदि लोकतन्त्र घरमा र बाहिर सफल हुनुपर्ने हो भने, स्वतन्त्र संसारलाई इच्छुकहरूको गठबन्धन चाहिन्छ—यस्तो समान विचारधारा भएका राष्ट्रहरूको औपचारिक गठबन्धन। यस्तो गठबन्धन जी–७ को विस्तार हुनसक्छ, जुन २०२१ मा अस्ट्रेलिया, भारत, दक्षिण अफ्रिका, र दक्षिण कोरियालाई अनौपचारिक रूपमा समावेश गरी विस्तार गरिएको प्रमुख औद्योगिक लोकतन्त्रहरूको समूह हो।
यस्तो गठबन्धन केवल शिखर सम्मेलन र घोषणामा मात्र केन्द्रित भएमा सफल हुँदैन। विशेषगरी, दुई प्रमुख चुनौतीहरू सबै लोकतन्त्रहरूको लागि अत्यावश्यक र अस्तित्वगत छन्ः आर्थिक दबाब र उदीयमान प्रविधिहरू।
विशेषगरी चीनले लोकतान्त्रिक राष्ट्रहरूलाई चुप गराउन वा कमजोर बनाउन् रणनीतिमा लगानी र आर्थिक दबाबलाई हतियारको रूपमा प्रयोग गर्दै आएको छ। क्यानबेराले कोभिड–१९ को उत्पत्तिको अनुसन्धानको लागि आह्वान गरेपछि अस्ट्रेलियाविरुद्धको आर्थिक प्रतिबन्धहरू जस्तो कार्यहरू लगाइएका छन्।
एक लोकतान्त्रिक गठबन्धनले उत्तेजकको सामना गर्न, क्रेडिट लाइनहरूको निर्माण गर्न, र नयाँ लोकतान्त्रिक आपूर्ति शृंखलाको पुनर्निर्माणमा द्रुत कदम चाल्न, एक आर्थिक पारस्परिक सहायता धारा, ल्ब्त्इ को अनुच्छेद ५ जस्तै विकास गर्न सक्छ।
हामीसँग न केवल नयाँ प्रविधिहरू विकास गर्न, तर ती नयाँ प्रविधिहरू कुन मापदण्ड र मापदण्डहरूमा सञ्चालन हुन्छन् भन्ने बारे परिभाषा गर्न पनि विश्वव्यापी दौड छ।
एडुआर्डो पोर्टर, न्युयोर्क टाइम्स का अर्थशास्त्र रिपोर्टर
: फरेन पोलिसी, १ जनवरी २०२२
प्रतिक्रिया दिनुहोस्