तीव्र प्रतिबन्धका बाबजुद यसले अझै धेरै समर्थकहरू आकर्षित गरिरहेको हुनसक्छ
बेइजिङको उत्तर–पश्चिमी भागमा रहेको अल सेजेस पुस्तक पसलमा प्रवेश गर्दा, तपाईं फरक दुनियाँमा प्रवेश गर्नुहुन्छ। यहाँ तपाईंले चीनका नेता सी जिनपिङका भाषणहरूको सङ्ग्रह भेट्नुहुन्न, जुन सरकारी पुस्तक पसलहरूमा प्रायःएउटै अनुहार, एउटै कृपामय मुस्कान भएका कभरहरूको पङ्क्तिहरूका साथ हुने गर्दछ। अल सेजेसका संस्थापक, लिउ सुलीले १९८९ को थियानआनमेन स्क्वायर आन्दोलनमा आफ्नो भूमिकाको लागि २० महिना जेल सजाय भोगे। उनको पुस्तक पसलमा स्वतन्त्र विचारकहरु जस्तै अर्थशास्त्रीहरू, राजनीतिकशास्त्रीहरु, इतिहासकारहरू, र कानूनी विद्वानहरूका कृतिहरूले भरिएको छ ा। लिउका अनुसार, चीनमा उदारवादीहरूको सङ्ख्या बढ्दै गएको छ।
तर यो दृष्टिकोण एक अर्को स्पष्ट प्रवृत्तिसँग मेल खाँदैनः चिनियाँ राष्ट्रवादको उदय। सार्वजनिक मञ्चहरूमा उदारवादी विचारहरू पाउन गाह्रो हुन्छ। इन्टरनेटमा सत्ताको पक्षमा बोल्नेहरू उदारवादको विरोध गर्नेहरूलाई लक्षित गर्छन्। सी जिनपिङले उदारवादीहरूलाई चुप गराउन निरन्तर प्रयास गरेपछि राष्ट्रवादीहरूलाई सहज भएको छ। १९८० को दशकको तुलनामा चीनको बौद्धिक परिदृश्य एकरूपता र उत्साहविहीन देखिन सक्छ, जुन सी जिनपिङद्वारा पुनजार्गित पार्टीले कमजोर बनाएको छ।
तर उदारवाद आश्चर्यजनक रूपमा लचिलो देखिन्छ। मिस्टर लिउले विश्वास गरेझैं, यो सूक्ष्म तरिकाले अझ बढी समर्थकहरू तान्न सक्ने सम्भावना छ। यसको मतलब यो होइन कि सक्रिय असहमति फैलिँदैछ। वास्तवमा त्योभन्दा धेरै टाढा छ। नेता सीको कडा नियन्त्रणले जो कोहीले लगातार र खुलेर चीनको राजनीतिक प्रणालीको आलोचना गर्न असम्भवजस्तै बनाएको छ। उच्च–प्रविधि निगरानी र ठूलो आन्तरिक–सुरक्षा संयन्त्रको मद्दतले पार्टी सशक्त रूपमा नियन्त्रणमा देखिन्छ। अर्को तियानआनमेनको कल्पना गर्नु पनि कठिन छ।
तर उदारवादीहरूका अनिवार्य रूपमा असहमतिहरू हुँदैनन् (र तिनीहरू अनिवार्य रूपमा वामपन्थी पनि हुँदैनन्, जस्तो कि प्रायः लेबलको अर्थ लाग्छ)। उनीहरूले पार्टीलाई पनि समर्थन गर्न सक्छन्, यसको पतनलाई अराजकताको सूत्रको रूपमा देखेका पनि हुनसक्छन्। उनीहरू व्यक्तिगत र आर्थिक स्वतन्त्रता चाहने व्यक्ति हुन्। उनीहरू सरकारको इच्छासँग ठोक्किँदा पनि व्यक्तिगत अधिकारहरूका समर्थक छन्। उनीहरू पश्चिमी लोकतन्त्रहरूले समर्थन गर्ने भनिएको मूल्यहरूको प्रशंसा गर्छन्, भलै उनीहरूले पश्चिमी प्रणालीमा पनि केही कमजोरी देख्छन्। असहमतिको पर्यायवाची नभए पनि, उदारवाद त्यसको एक स्रोत हुन सक्छ।
यसको प्रभावले नेता सीले यससँग लड्न धेरै नै ध्यान केन्द्रित गरेको बुझ्न सकिन्छ। अगस्त ३१ मा, नयाँ शैक्षिक वर्षको सुरुवातमा, कम्युनिस्ट पार्टीको मुख्य सैद्धान्तिक जर्नल, क्वासी ले २०१८ मा नेता सीले दिएको भाषण पुनः प्रकाशित गर्यो। त्यसमा उनले चीनमा ूरंग क्रान्तिू को उकास्नका लागि पश्चिमले युवाहरूलाई लक्षित गरिरहेका निरन्तर प्रयासहरूबारे चेतावनी दिएका थिए। ूयुवाहरूको लागि लडाई लामो र कडा संघर्ष हो,ू नेता सीले भने। ूहामी हार्न सक्दैनौं, र हामीले हार्न हुँदैन। हामी सधैं सतर्क रहनुपर्छ १ू
विदेशी विद्वानहरूद्वारा गरिएका अध्ययनहरूले केही जानकारी दिन्छन् ूचिनियाँ नागरिकहरूको राय ुअपेक्षाभन्दा बढी विविध र उदारवादीु छ,ू वाशिंगटनस्थित सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडिजका स्कट केनेडी र इलारिया माज्जोकोले २०२२ मा स्ट्यानफोर्ड विश्वविद्यालयका जेनिफर पान र यिक्विंग जूले संकलन गरेका डाटालाई उद्धृत गर्दै लेखेका छन् । ूयहाँ धेरै राष्ट्रवादीहरू छन्, तर आर्थिक सुधार र राजनीतिक उदारवादको पक्षमा एउटा मौन बहुमत पनि छ।ू
केही अनुसन्धानकर्ताहरू यसबारे निश्चित छैनन्। यस वर्ष प्रकाशित गरिएको बहुप्रतिनिधि काम ूचाइना एज नम्बर वनः द इमर्जिङ भ्यालुज अफ अ राइजिङ पावरू मा क्यान्सस विश्वविद्यालयका जोन जेम्स केनेडीले लेखे अनुसार २०१८ मा गरिएको एक सर्वेक्षणले—विश्व भ्यालुज सर्वे भनिने अन्तर्राष्ट्रिय परियोजनाको श्रृंखलाको पछिल्लो—चिनियाँ दृष्टिकोणमा समलैंगिक अधिकार, लैंगिक समानता, र अधिकारको सम्मानजस्ता मुद्दाहरूमा ूअझ रूढीवादी प्रवृत्तिू देखा परेको संकेत गरेको थियो।
तर २०१८ पछि धेरै परिवर्तन भएको छ। महामारीको पहिलो दुई वर्षमा, पार्टीले स्पष्ट रूपमा समर्थनको वृद्धि महसुस गर्यो, किनकि चीनले सफलतापूर्वक कोभिड–१९ को फैलावट नियन्त्रण गर्यो, जबकि पश्चिमी देशहरू त्यसमा असफल भए। चीनका प्रचारकहरूले यसको फाइदा उठाए र पश्चिमी लोकतन्त्रको कमजोरीलाई हाँसोमा उडाए। धेरै चिनियाँहरूले सरकारको धारणासँग सहमति देखाए। तर, २०२२ मा, मनोवृत्तिमा परिवर्तन देखा पर्न थालेको थियो। सन् २०२२ मा, शीले ओमिक्रोन भेरियन्टको संक्रमण नियन्त्रण गर्नको लागि आफ्नो शून्य–कोभिड रणनीति कडाईपूर्वक पालन गराउन खोज्दा, दिन वा हप्तौंसम्म घरभित्रै रहन बाध्य लाखौं व्यक्तिहरूको आक्रोश बढ्यो।
शीले सत्तामा आएपछि पहिलो पटक धेरै सहरमा विरोध प्रदर्शन भए। ती प्रदर्शनहरू साना भए पनि, साहसी थिए। सहभागीहरूले लकडाउन अन्त्यको माग गरे र राजनीतिक असन्तुष्टि पनि व्यक्त गरे। उनीहरूले सेन्सरसिपको आलोचना गरे, सेता प्लेकार्डहरु प्रदर्शन गरेर आफ्नो कुरा व्यक्त गरे। केहीले शी र पार्टीलाई हटाउन आह्वान गरे। यद्यपि छोटै समयको लागि भएपनि, उदार धारणा प्रकट भयो।
प्रदर्शनहरूलाई ‘सेतो पेपर आन्दोलन’ भनेर नाम दिइयो, जसले शीलाई असहमतिको चिन्ता सही भएको देखायो। त्यसपछि केही हप्तामा, प्रहरीले ती प्रदर्शनमा संलग्न व्यक्तिहरूलाई ट्र्याक गर्न थाले, चेतावनी दिए र कैयौंलाई गिरफ्तार गरे।
यस्तो डरको वातावरणमा, थोरै उदारवादीहरूले आफ्नो आवाज उठाउने साहस गर्छन्। तर, चीनका धेरै सहरका युवा शहरी चिनियाँहरूसँग भएका कुराकानीहरूले देखाउँछ कि सेतो पेपर आन्दोलन उदारवादीहरूको लागि ठूलो क्षण थियो, र शून्य–कोभिडबाट अकस्मात र अव्यवस्थित रूपमा बाहिर निस्कनुले शीको सत्तावादी विचारधाराका केही समर्थकहरूलाई झक्झक्याएको थियो। शीको नीतिमा समर्थन गर्नेहरूका केही वर्गले यो अनुभवलाई चेतावनीको रूपमा लिएको थिए।
यसले चिनियाँ समाजमा निराशाको वातावरण सिर्जना गरेको छ, यद्यपि एक पार्टी शासनको तत्काल अन्त्य चाहनेहरू अझै पनि कम नै छन्। तर देशको अर्थव्यवस्था कमजोर बन्दै गइरहेको र बेरोजगारी बढ्दो स्थितिमा, चिनियाँ नागरिकहरूको निराशा स्पष्ट देखिन्छ।
बेइजिङमा, श्री लिउको पुस्तक पसल एक दुर्लभ घटना हो। सम्भवतः अधिकारीहरूले यसलाई बन्द गर्दा धेरैमा आक्रोश बढ्ने र थोरै मात्र उपलव्धी हुने ठानेका छन्। इसाइया बर्लिन, फ्रेड्रिक हायेक र लुडविग भोन मिसेसका (लिउको पसलमा सर्वाधिक बिक्री हुने) पुस्तकहरू अनलाइन र पुस्तकालयहरूमा सजिलै पाइन्छन्। तर युवा चिनियाँहरूको छेन्ग्दु जस्ता कम दबाव भएका सहरतिरको यात्रा वा विदेश जान इच्छुकलाई देख्दा उदारवादी चाहनाहरूलाई महसुस गर्न सकिन्छ। ‘मलाई लाग्छ कोभिड प्रतिबन्धहरूले धेरै चिनियाँहरूलाई यो सोच्न बाध्य बनायोः अन्य देशहरूमा बसाइँ सर्नु आवश्यक छ’ बेइजिङमा मास्टर्स डिग्री पूरा गरेकी झाङ जिनपिङ (एक उपनाम) भन्छिन्। ‘हामीले नेताहरूले आफ्ना जनताको आवाज नसुनेको स्पष्ट देख्यौं।’
झाङका लागि २०१९ को महत्वपूर्ण बिन्दु थियो, जब हङकङमा प्रजातान्त्रिक प्रदर्शनहरू भयंकर रूपमा बढेका थिए। मुख्यभूमिमा, प्रदर्शनकारीहरूप्रति राष्ट्रवादी आक्रोश फैलियो। पार्टीले ती प्रदर्शनकारीहरूलाई सीआईए समर्थित विभाजकको रूपमा चित्रण गर्यो। धेरै युवा चिनियाँहरूले यो धारणा स्वीकार गरे। तर झाङले ‘ग्रेट फायरवाल’ पार गरेर फरक कथा भेट्टाइन्। उनी सरकारप्रतिको आफ्नो विश्वास १०० प्रतिशत बाट ८० प्रतिशत मा झरेको बताउँछिन्। शून्य–कोभिडका अन्तिम महिनाहरूले उनलाई सरकारप्रतिको विश्वास निकै घटायो।
छेन्दु दक्षिण–पश्चिमी सहर हो, जहाँ धेरै युवा उदार चिनियाँहरू राजधानीको दबाइपूर्ण राजनीतिक वातावरणबाट टाढा जान चाहन्छन्। यहाँ उदार पुस्तक पसलहरू छन्। एउटा पसलको शेल्फमा अल्बर्ट कामुसको ‘द प्लेग’ र जर्ज ओरवेलको ‘नाइन्टिन एटी–फोर’ का प्रतिहरू सजिएका छन्। यहाँ शालोन भनिने साना जमघटहरू पनि हुन्छन्। एक ठाउँमा, करिब तीन दर्जन मानिसहरू, जसको धेरैजसो २० र ३० को दशकमा थिए र एक–अर्कासँग अपरिचित थिए, उज्यालो प्रकाश भएको प्रदर्शनी ठाउँमा भेला भए। उनीहरूलाई वीच्याट—चीनको कडा निगरानी गरिएको व्हाट्सएपको बराबरी—मा प्रसारित एउटा सूचनाले आकर्षित गरेको थियो। बहसको विषय थियोः ‘इजरायलको हमासविरुद्धको युद्ध आत्म–रक्षाको सीमाभन्दा बाहिर गएको छ।” छलफल शान्तिपूर्ण थियो—सरकारी मिडिया र अनलाइनमा अमेरिकी हस्तक्षेपको उत्पादनका रूपमा हिंसालाई चित्रण गर्ने कोलाहलभन्दा धेरै फरक। न कुनै पक्षलाई विजेता घोषणा गरियो। एउटा आयोजकले जोड दिएझैं, यो शान्तिपूर्ण छलफलको विजय थियो। “चिनियाँहरूलाई अभिव्यक्तिको स्वतन्त्रता छैन,” एक सहभागीले भने। “यो बोल्न पाउने अवसर पाउनु एकदम राम्रो हो।”
बेइजिङको दमनकारी वातावरण भए तापनि उदारवादी सोच यहाँ पनि व्यापक छ। खासगरी, महिलाका मुद्दाहरूमा छलफल गर्ने जमघटहरू बढेका छन्। शीले नारीवादी गतिविधिमा कडा प्रहार गरेका छन्, विशेषगरी २०१५ मा पाँच उच्च–प्रोफाइल नारीवादी कार्यकर्ताहरूलाई गिरफ्तार गरेपछि। तर अनलाइन र अफलाइन, महिलाहरू अझै पनि भेला भएर आफ्ना संघर्षहरूको बारेमा कुरा गरिरहेका छन्।
धेरै अनुसन्धानहरूले कलेजहरूमा पनि स्वतन्त्र सोच आकर्षक भएको देखाउँछन्। २०१९ मा हेनान प्रान्तका चार विश्वविद्यालयमा गरिएको एक सर्वेक्षणमा ४० प्रतिशत भन्दा बढी विद्यार्थीहरूमा उदारवादी सोचले विद्यार्थीहरूको मुख्य धारणालाई चुनौती दिएको बताएका थिए।
तर, शीको शासनमा, यी सबै स्वतन्त्रता चिन्ताजनक रूपमा कम भएका छन्।
१९८० को दशकमा विश्वविद्यालयहरूमा उदारवादको फैलावट आंशिक रूपमा राजनीतिक कारणले प्रेरित भएको थियो। नेतृत्वका सुधारकहरू चाहन्थे कि चीन माओवादको निरंकुशताबाट हटोस् र पार्टीले सञ्चारमाध्यम र शैक्षिक क्षेत्रमा गरेको नियन्त्रणलाई खुकुलो बनाओस्। आज त्यस्ता सुधारकहरू देखिँदैनन्। राष्ट्रपति शीले तिनीहरूलाई चुप गराएका छन्। उनीहरूले समर्थन गर्ने पत्रिका यानहुआङ चुनक्यु २०१६ मा बन्द गरियो।
बेरोजगारीको वृद्धिका बीच, सम्पत्ति बजारको अस्थिरता र सुस्त अर्थतन्त्रको अवस्थाले, पुलिसले अशान्तिका लागि उच्च सतर्कता अपनाउनेछन्। दुई अमेरिकी विद्वानहरू, स्कट रोजेल र मार्टिन व्हाइटले असमानताप्रतिका दृष्टिकोणहरूको बारेमा तथ्याङ्क विश्लेषण गरेका छन्। उनीहरूले फेला पारेअनुसार पहिले धेरै मानिसहरूले असक्षमतालाई गरीबीको कारण ठान्थे। अब उनीहरूले प्रणालीलाई दोष दिने सम्भावना बढेको छ । । तर तिनीहरूबाट प्रदर्शन गर्ने अपेक्षा भने गर्न सकिंदैन ।
उदारवादीहरूले यो दमनको अन्त्य नजिक देखिरहेका छैनन्। ७१ वर्षीय शीले पद त्याग गर्ने कुनै संकेत देखिँदैन। र जो कोही उनको उत्तराधिकारी बन्छ, उनी पार्टीको वैचारिक नियन्त्रण खुकुलो पारिएमा सम्भावित पतनको बारेमा शीले देखाएको चिन्ता बाँड्ने सम्भावना छ। १९८० को दशकमा, पार्टीमा सुधारक र कडा धारका व्यक्तिहरूबीचको विवादका कारण आन्दोलनहरू बढ्न पाएका थिए। शीपछिको युगमा पार्टीले यस्तै खालका विवाद फेरि पनि अनुभव गर्न सक्नेछ। यदि त्यसो भयो भने, उदारवादी असहमतिको लहर फेरि सडकमा आउन सक्छ। तर यस्तो प्रतीक्षा लामो हुन सक्छ। ■
इकोनोमिष्ट, ५ सेप्टेम्वरको अंकबाट
प्रतिक्रिया दिनुहोस्