प्रधानमन्त्री तथा केही दिनमा नै नेपाल कम्युनिस्ट पार्टीका शक्तिशाली अध्यक्ष बन्ने केपी शर्मा ओलीले दीर्घकालीन उद्धेश्य र सन्देशका लागि नै आफूले सबै काम गर्ने गरेको बताउने गर्दछ । डेढ वर्षअघि आफ्नो सरकार अपदस्थ भएपछि उनले संसदमा निकै अर्थपूर्ण मन्तव्य दिंदै भनेका थिए, “म लहडमा काम गर्दिन, दूर क्षितिजसम्म हेर्ने गर्दछु ।“ गत असोज १७ गते बाम तालमेल हुंदा धेरैलाई पत्यार लागेको थिएन । के तालमेल कामयावी होला भन्ने प्रश्नहरु थिए । यस्ता प्रश्न बाहिरमात्र होइन एमाले र माओवादीको हाइकमाण्ड कहलिएकाहरुमा पनि थिए ।
कम्युनिस्ट सरकार बनेपछि बोल्न त के रुन पनि पाइंदैन भन्ने कांग्रेसको मुख्य नारा नै थियो । ओलीले प्रत्युत्तरमा कम्युनिस्टको सरकार बनेपछि रुनै नपर्ने अवस्था सिर्जना गर्ने जबाफ दिने गरेका थिए । बास्तवमा व्यवहारिक रुपमै त्यही हुनु पर्दर्छ ।
एकथरि मानिसहरु जतिसुकै राष्ट्रबादको कुरा गरेपनि सरकारमा गएपछि उही ताल त हो नि भनेर आत्मसन्तोष लिन्थे । ओलीलाई सत्तारोहणबाट रोक्न अनेक हथकण्डा अपनाइए । अन्तत निर्वाचन भएको ७०दिन पछिमात्र ओली प्रधानमन्त्री बन्न सफल भए । मन्त्रिपरिषद गठनको पहिलो प्रहर उत्साहजनक हुन सकेन सहयात्री माओवादीका कारण ।
ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्नै नसकिने निश्कर्षमा पुगेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई पटक टेलिफोन मार्फत बधाई र भारत भ्रमणको निम्तो दिए । यसो गरिरहंदा मोदीले जानेमानेको कुटनीतिक प्रोटोकलको बेवास्ता गरेका थिए । त्यसभन्दा अझ अघि बढेर ओलीकै आग्रहमा विदेशमन्त्री सुस्मास्वराजलाई काठमाडौं पठाएर भारत ओलीसंग मिलेर काम गर्न तयार रहेको दिनसक्ने जति सन्देश र गेष्चर देखाए । पहिले पहिले जस्तो अवस्थामा नेपालमा नयां प्रधानमन्त्रीले सत्तारोहण नगरेको गहिरो ऐहसास ओलीमा थियो । त्यही कारण ओली विदेश जानुभन्दा विदेश नगइकन विदेशीलाई काठमाडौंमा नै स्वागत गर्ने मुडमा थिए । त्यही मेसोमा पाकिस्तानी प्रधानमन्त्रीले ओलीलाई भेट्न आउने चाहना देखाउने वित्तिकै एक निमेष पनि नसोचीकन ओलीले हार्दिकतापूर्वक स्वागत गरे । सम्भवत नेपालका राजनीतिक र कुटनीतिक पण्डितहरुले अनुमान गर्न सक्ने विषय यो पक्कै पनि थिएन । उनीहरुले ओली यो तहसम्म जालान् भन्ने अनुमान गर्नै सक्दैनथे ।
नेपाल र पाकिस्तानको इतिहासमै जम्मा एकपटक सन् १९९४ मा तात्कालीन पाक प्रधानमन्त्री बनेजीर भुट्टो नेपालको मात्र भ्रमण आएको बाहेक पाक प्रधानमन्त्री शाहिद खाकान अव्वासीको यो भ्रमण पहिलो हो । त्यसमा पनि कुनै नेपाली प्रधानमन्त्रीलाई बधाई दिने अवसरमा पाक प्रधानमन्त्रीले नेपाल भ्रमण गरेको त निर्विवादित रुपमा यो पहिलो घटना हो । यसरी ओली र उनका पाक समकक्षी अव्वासीले बधाई आदनप्रदान गर्ने भ्रमणका रुपमा पहिलो हुने ऐतिहासिक कुटनीतिक अवसर प्राप्त गरेका छन् ।
सन् २०१४ मा भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सपथ ग्रहण समारोहमा सार्क देशका सबै सरकार प्रमुखलार्ई निम्ताएर नयां चर्चा बटुलेका थिए । तर मोदीको ४ बर्षे कार्यकाल पुग्दा नपुग्दै सार्कका प्राय सबै मुलुकलाई गहिरो पीडा दिएका छन् । उनले संविधान आफ्ना एजेन्सीले भनेअनुसार नभएको बहानामा नेपालमा ५ महिनाभन्दा लामो नाकावन्दी लगाए । पाकिस्तान विरुद्ध सर्जिकल स्ट्राइकको नाटकदेखि युद्धोन्मुख अवस्थामा पु¥याएका छन् । स्लामाबादमा हुनुपर्ने सार्क सम्मेलन रोकेको छन् मोदीले । आफ्नो उपग्रह जस्तै बनाएको भूटानलाई दोक्लाम विवाद सिर्जना गरेर भुटानीहरुमा शंका बढाइदिएका छन् । श्रीलंकामा चीनको प्रभाव बढेको बहाना बनाएर सुमधुर सम्बन्ध विगारिहेका छन् । मालदिभ्सको संकटमा चीनसंग पौंठेजोरी खेलेर आफै विवादमा तानिएका छन् मोदी । पाकिस्तानलाई हैरान पार्न बलुचिस्तानमा गडबढी मच्चाइरहेको भारतले आफगानिस्तानसंगको मित्रतामा समेत चिसो पानी खन्याउन पुगेका छ । अफगानिस्तान चीनसंगको राण्नीतिक र आर्थिक साझेदारीको बाटोमा अग्रसर भएको छ । यही बीचमा असम्भव भनिएको काराकोरम रोड सम्पन्न भएर चीन इरानको ग्वादर पोर्टसम्म पुगेको छ बेल्ट एण्ड रोड इन्सिएटिभ अघि बढाउंदै ।
यस्तो स्थितिमा झण्डै दुई तिहाईको जनादेश सहित प्रधानमन्त्री बनेका केपी ओलीले नेपाललाई दक्षिण एशियाकै महत्वपूर्ण देश र हैसियत प्रदान गर्ने बाटोमा अघि बढ्नै पर्ने थियो । ओलीको दूर क्षितिजको ढोका खोल्ने काममा पाकिस्तानी समकक्षी अव्वासीले ऐतिहासिक योगदान गरेको मान्न सकिन्छ । पाक प्रधानमन्त्रीको काठमाडौं भ्रमण सुरुवात हो भन्न सकिन्छ । यस लगत्तै नेपाली प्रधानमन्त्रीको कुनै विदेशको भ्रमण पहिले नै चिनिया प्रधानमन्त्री र अन्य दक्षिण एशियाली देशका सरकार प्रमुखले काठमाडौंको भ्रमण गर्ने तयारी भइरहेको बुझिएको छ । ओलीले नाकावन्दी देखि चुनावी अभियानसम्म भन्ने गर्थे “कुनै पनि देशको भुगोल र जनसंख्या सानो वा ठूलो हुनसक्छ तर सार्वभौमसत्ता बराबरी हुन्छ ।“ सांच्चिकै ओलीले सत्तारोहणको पहिलो प्रहरमै व्यवहारिक रुपमै यसलाई पुष्टि गर्न लागेका छन् ।
सार्कको अध्यक्ष राष्ट्रका हैसियतले समेत नेपालले यतिबेला क्षेत्रीय भुमिका खेल्नु पर्ने आवश्यकता छ । भारतकै कारण एक वर्ष पहिले इस्लामाबादमा हुनु पर्ने सार्क सम्मेलन रोकिएको छ । दक्षिण एशियाली स्तरमा हुनुपर्ने दुई पक्षीय तथा क्षेत्रिय साझेदारीमा समेत अवरोध बढेका बेला ओली विदेश नीतिले सबै प्रकारका अवरोध पन्छाउने दिशामा अघि बढ्नका लागि पाक प्रधानमन्त्रीको भ्रमणले क्षेत्रिय सन्देश दिएको मान्न सकिन्छ । दक्षिण एशियाका दुई आणविक राष्ट्रका बीचको तनाव पक्कै पनि क्षेत्रिय चिन्ताको कुरा हो । त्यसभन्दा बढी सबैभन्दा ठूलो देशका हिसावले भारतले चिन्ता जाहेर गर्नु पर्ने र समाधानका लागि कुनै पनि प्रकारको इगो पाल्नु आफ्नै लागि बढी घातक छ भन्ने बुझ्न ढिलाई भइसकेको छ । यस दिशामा भारतलाई अघि बढ्न समेत पाक प्रधानमन्त्री अव्वासीको काठमाडौं भ्रमणले योगदान गर्न सक्छ । त्यही रुपमा भारतले शिक्षा लिएमा क्षेत्रिय शान्ति र आशातित पाकिस्तानसंगको शान्ति वार्ता अघि बढाएमा अरु बढी हितकारी हुनेछ स्वयं मोदीका लागि पनि । पक्कै पनि आसन्न मोदीको नेपाल भ्रमणका बेला ओलीले यो विषय पक्कै पनि उठाउने आशा गरिएको छ । किन कि सार्क सम्मेलन सम्पन्न गर्नु एक औपाचारिकता मात्र नभएर नेपालको कर्तव्य पनि हो ।
सन् २०१९ मा भारतमा हुने आम निर्वाचन र यही वर्षको मध्येमा हुने पाकिस्तानी आम निर्वाचनमा समेत पाकिस्तान र सार्क मामिला जबर्जस्त चुनावी विषय बन्ने छन् आआफ्नै तरिकाले । मोदीको विदेश नीति दक्षिण एशिायमा मात्र नभएर समग्रमा नै असफल भएको छ । मोदीको छिमेक पहिले भन्ने नीति छिमेक तनावमा परिणत भएको छ यतिबेला । यो विषयलाई मोदीका विपक्षीहरुले आम चुनावका बेला चर्को रुपमा उठाउने निश्चित प्राय छ । त्यो बेलामा पनि ओली–अव्वासी भेट समेत एउटा राम्रो उदाहरण र सन्दर्भ बन्ने निश्चित छ । त्यसका अलवा आगामी लामो कालखण्डसम्म दक्षिण एशियामा मात्र नभएर विश्व मामिलामै बहसको विषय बन्ने छ ओली–अब्बासी काठमाडौं वार्ता । किन कि दक्षिण एशियामा अब चीन पनि एक अनिवार्य शक्ति बनेको छ । एक त चीन सार्कको समेत पर्यवेक्षक देश हो । त्यसका अलवा चीनको बेल्ट रोड इन्सिएटिभ्सले सबैभन्दा बढी दक्षिण एशियालाई बेरेको छ । भारतमा स्वयं मोदीको गृह राज्यलाई हाइटेक सिटी बनाउन चिनिया सहयोग खनिएको छ भने बंगलादेशका लागि हालैमात्र राष्ट्रपति सि चिन फिङले २४ विलियन डलर सहयोग घोषणा गरेका छन् । श्रीलंकामा यस्तै कैयौं आयोजना सम्पन्न भइसकेका छन् भने पाकिस्तानमा त विश्व चर्चित चीन पाकिस्तान करिडोरको काम सम्पन्न मात्र भएको छैन त्यहांको सरकारी कामकाजको भाषामा समेत चिनिया भाषा थपिएको छ । नेपालले ओलीको पहिलो इनिङमै रणनीतिक रुपमा चीनसंग जोडिने सम्झौता गरेको थियो भने दोस्रो इनिङमा एकाध महिनाभित्रै चिनिया परियोजनाका नेपाल उपयोगी क्रियाकलाप आश्चार्यजनक ढंगले बढ्ने निश्चित छ । तसर्थ अब चीन दक्षिण एशियाली देशको पर्यवेक्षक मात्र नभएर पार्टनर बनेको छ । यो दृष्टान्तले भारतीय एकाधिकारको युग समाप्त भएको प्रष्ट सन्देश दिएको मान्नु अन्यथा हुनेछैन । यसका लागि नेपालले नै सबैभन्दा बढी पहलकदमी गर्नु हाम्रो स्वाभिमानको द्योतक समेत हो । त्यसैले केपी ओलीको शव्दमा यस हिसाबले पनि व्याख्या गर्न सकिन्छ । “दिस मोमेन्ट इज नट इन्ड अफ टाइम, इट्स अ कन्टिन्यु प्रोसेस एण्ड वि आर हिअर, रिम्मेवर इट“ यो भनाई देशभित्रको राजनीतिमा मात्र नभएर ओलीको कुटनीतिक क्षेत्रमा समेत सुन्दर ढंगले लागू हुने तहमा विकास हुने सम्भावना बढाइदिएको छ अव्वासीको प्रोएक्टिभ कुटनीतिक मुभले ।
नेपाल र पाकिस्तानबीच फरक फरक सन्दर्भ, समाज, संस्कृति र स्वभाव भएतापनि राष्ट्रिय स्वाभिमान र समानताका दृष्टिमा एउटै चाहना रहेको स्पष्टै छ । ऐतिहासिक मित्रवत सम्बन्धको विकासमा लक्ष्य र उद्धेश्यकाप्रति समान भावको अर्थ हो कसैको थिचोमिचो नसहने र कसैलाई नहेप्ने । जसरी चीन र पाकिस्तान “अल वेदर फ्रेन्ड“का रुपमा छन् त्यसैगरी नेपालले पनि “सिजनल फ्रेन्ड“ बन्ने युगको अन्त गर्न सुरुवात गर्ने ठिक समय भएको छ । सम्भवत यही सन्देश नै ओली–अव्वासी अंकमालको गुढार्थ हुन पुग्नेछ इतिहासबाट सही शिक्षा लिन सकेमा । ओलीको कुटनीतिक मुभले पक्कै पनि नेपालको शिर उचो बनाउने दिशामा अघि बढेको संकेतका रुपमा नै अव्वासी भ्रमणलाई लिनु अन्यथा हुनेछैन । यसको अर्थ चुनौति सिद्धिए भन्ने पक्कै पनि होइन । अवसरजस्तैगरी चुनौतिका नयां नयां रुप पनि उद्घाटित हुने सहजै अन्दाज गर्न सकिन्छ । तर नेपालीले हिम्मतका साथ बाह्य चुनौतिको सामाना गर्ने आन्तरिक एकता कायम गर्नेमा अनेकन कीर्तिमान गरेका घटनाको कुनै कमी छैन । त्यही दिशाको सुन्दर पछिल्लो प्रयोग नै त हो दुई कम्युनिस्ट पार्टीबीचको एकता । त्यसको मनोवैज्ञानिक र सांगठनिक बलले ओलीलाई अरु बढी तेज गतिमा कुद्न बल पु¥याएको मान्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्