काठमाडौं १७ असोज । परराष्ट्र मन्त्रालयले लेबनानमा कार्यरत नेपालीहरूले उद्धार गर्न नभनेको र उनीहरूले चाहेको अवस्थामा सरकार उद्धार गर्न तत्पर रहेको जनाएको छ ।
‘अहिलेसम्म लेबनानमा कार्यरत नेपाली सुरक्षित छन् । उहाँहरूले उद्धारको आवश्यकता भएको भन्नुभएको छैन,ु परराष्ट्र प्रवक्ता अमृतबहादुर राईले इकान्तिपुरसँग भने, ‘यदि उहाँहरूले उद्धार चाहनुभयो भने सरकार उद्धार गर्न तयार छ ।’ प्रवक्ता राईले नेपालले उद्धारको लागि सबै तयारी भने गरिएको बताए ।
‘नेपाली लेबनानको राजधानीमा केन्द्रीत छन् । अहिलेसम्म कसैले संकटमा परेको सुचना दिएको छैन । कसैलाई केही समस्या परेमा हामीले सर्म्पक गर्न अनुरोध गरिसकेका छौं,’ उनले भने ।
इजरायलले हेजवुल्लाह विरुद्ध बुधबारदेखि लेबनानभित्र प्रवेश गरेर स्थलगत आक्रमण सुरु गरेको छ । इजरायलले २४ वर्षपछि बुधवार राति बेरुतको मध्यभागमा क्षेप्यास्त्र आक्रमण गरेको थियो । यो आक्रमणमा ६ जना मारिएका छन् ।
बेरुत आसपासमा करिब एक हजार नेपाली घरेलु श्रमिकका रुपमा कार्यरत छन् । उनीहरूले पछिल्लो समय अवस्था नाजुक बन्दै जान थालेको अनुभव गर्न थालेका छन् । बेरुतमा घरेलु श्रमिक ९हाउसमेड०मा कार्यरत माया तामाङले दिनप्रतिदिन जोखिम बढ्दै गएको बताइन् ।
‘एयरपोर्टतिर त पुरा धुवाँधुवाँ भइरहेको छ । हिजोअस्ति तिर खासै डर लाग्दैनथ्यो। बुधबारदेखि त मलाई सार्है डर लाग्न थाल्यो,’ उनले इकान्तिपुरसँग भनिन्, ‘रातभरि ढ्याङ–ढ्याङ क्षेप्यास्त्र झरेको आवाज आउँछ । घर थर्केको थर्कै छ । अस्ति नै तिर म्याड्यमलाई केको आवाज आएको भनेर सोध्दाखेरि उनीहरूले प्लेनको आवाज भन्थे । अहिले त इजरायलबाट पनि आर्मी आएको छ रे । खै के हुने हो थाहा छैन ।’
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार विभिन्न देशहरूले आफ्ना नागरिकलाई लेबनानबाट बाहिर निकाल्ने प्रयासहरू बढाइरहेका छन् । अमेरिका, क्यानडा, फ्रान्स, चीन लगायत देशहरूले आफ्ना नागरिकलाई लेबनान छोड्न आग्रह गरेका छन् । ती देशहरूले सरकारी चार्टर उडान र ब्यवसायिक उडानमा सिट सुरक्षित गर्न थालेका छन्।
उनीहरूले उद्धारको लागि साइप्रस र टर्कीलाई ट्रान्जिट बिन्दुको रूपमा हेरिरहेका छन् । अमेरिकाले आफ्ना नागरिकको उद्धार गर्न दर्जनौं अमेरिकी सेना साइप्रसमा तैनाथ गरिएको छ । लेबनानमा झन्डै ८६ हजार अमेरिकी नागरिक छन् । बेलायतले बिहीबार बेरुतबाट एकसय ५० जना नै नागरिकको उद्धार सुरु गरेको छ ।
उसले साइप्रसबाट चार्टर उडान गर्ने तयारी गरेको छ । अष्ट्रेलियाले ५ सय जनालाई उद्धार गर्न ब्यवसायिक सिट सुरक्षित गरिसकेको छ । चीनले दुई सय जना नागरिकलाई उद्धार गरिसकेको छ । क्यानडाले ८ सय जनाको सिट सुरक्षित गर्नुको साथै चार्टर उडानको लागि साइप्रस, ग्रीस र टर्कीसँग सम्झौता गरेको छ ।
स्पेन, नेदरल्यान्ड्स, दक्षिण कोरिया र अन्य धेरै देशहरूले आफ्ना नागरिकहरूलाई स्वदेश ल्याउन लेबनानमा सैन्य विमान तैनाथ गरिरहेका छन् । लेबनानस्थित अवैतनिक नेपाली महाबाणिज्य दूत मोहम्मद गोजायलले नेपाली श्रमिकको बाहुल्यता रहेको लेबनानको उत्तरी क्षेत्रमा कुनै घटनाहरू घटिनसकेको बताए ।
‘अहिले लेबनानको दक्षिणी क्षेत्रमा इजराइली सैन्य कारवाही तीव्र छ । नेपालीको बाहुल्यता रहेको उत्तरी क्षेत्रमा शान्त छ । कुनै घटनाहरू घटिसकेको छैन,’ गोजायलले इकान्तिपुरलाई भने, ‘वर्तमान अवस्थाबारे हामीले विभिन्न माध्यमबाट सूचना प्रवाह गरिरहेका छौं । नेपालीलाई कुनै सहयोग चहिएमा हाम्रो सर्म्पकमा आउन प्रोत्साहित गरिरहेका छौं । अहिलेसम्म नेपालीले कुनै आपतकालीन सहयोग खोजेका छैनन् । सबैजसोले वर्तमान सुरक्षाको स्थिति र भविष्यमा आइपर्ने जोखिम र तयारीबारे सोधपुछहरू गरिरहेका छन् । हामी अहिलेको स्थितिलाई नजिकबाट अनुगमन गरिरहेका छौं ।’
प्रतिक्रिया दिनुहोस्