उनका प्रतिद्वन्द्वीहरूले उनलाई संविधानलाई विद्रुप पारेको आरोप लगाएका छन्।
“हामी दृढतापूर्वक अघि बढ्नेछौं…. संसदको सहयोग होस् या नहोस्,” स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले गत महिनाको सुरुमा आफ्नो सत्तारुढ दल समाजवादी पार्टीको बैठकमा भनेका थिए। उनका कट्टर आलोचकहरूका लागि, यो घोषणा तानाशाहीको उद्घोष जस्तै सुनियो। वास्तवमा, यो उनी पदमा टिकिरहन गरेको संघर्षरत अवस्थाको स्वीकृति थियो। २०१८ देखि सत्तामा रहेका सान्चेज युरोपेली राजनीतिका एक चतुर र निर्दयी रणनीतिकार मध्येका महान् जीवित पात्र हुन्, । तर, उनको अल्पसंख्यक गठबन्धन सरकार क्याटालान र बास्क कट्टरपन्थी राष्ट्रवादीहरूको सहयोगमा चलेको छ, जसको मूल्य स्पेनको लोकतन्त्र र यसका संस्थाहरूको गुणस्तरमा प्रभाव पारिरहेको छ।
स्थानीय चुनावमा वामपन्थीहरूले पराजय भोगेपछि, सान्चेजले जुलाई २०२३ मा आकस्मिक राष्ट्रिय चुनावको आह्वान गरे। मुख्यधारको रूढिवादी पिपुल्स पार्टी (पीपी) जित्यो, तर कट्टर दक्षिणपन्थी दल भोक्सको समर्थनका बावजुद पनि ३५० सीटको संसदमा ६ सीटले बहुमतबाट टाढा रहन पुग्यो। धेरै मतदाताहरूले चाहेको पीपी सँगको व्यापक गठबन्धनलाई अस्वीकार गर्दै, सान्चेजले आठ वटा फरक फरक दलहरूको समर्थन जोडेर सत्तामा रहिरहने निर्णय गरे।
तीमध्ये एक थियो जुन्ट्स, जो क्याटालानका पूर्व क्षेत्रीय अध्यक्ष कार्लेस पुज्डेमोन्टको पार्टी हो, जो २०१७ मा स्पेनबाट अलग हुन अवैध प्रयास गरेपछिको न्यायिक प्रक्रिया सामाना गर्नबाट भागेका छन्। उनको प्रमुख माग थियो, स्वतन्त्रता प्रयासमा संलग्न सबैको लागि आममाफी। सान्चेजले यो मागलाई सधैं विरोध गरेका थिए। तर उनले यसलाई संसदबाट पाँच मतले पारित गराए।
अहिले उनी क्याटालान राष्ट्रवादलाई अर्को सम्झौता प्रस्ताव गर्ने तयारीमा छन्। बार्सिलोनामा समाजवादी साल्भाडोर इल्लाको क्षेत्रीय अध्यक्षको पद सुरक्षित गर्नुको बदलामा, सान्चेजले अर्को पृथकतावादी पार्टी एस्क्वेरालाई क्याटालोनियाका लागि आर्थिक सार्वभौमिकता दिन सहमति जनाएका छन्, जुन स्पेनका धनी क्षेत्रमध्ये एक हो। आममाफी जस्तै, यो पनि ‘संविधान सुधारको पछाडिको ढोकाबाट प्रवेश’ गर्नु हो, एक शंकास्पद पूर्व समाजवादी मन्त्रीले भने। यसले सामान्य कोषमा रहेको पैसाको कमीलाई जनाउँछ, त्यसैले यसलार्य आममाफी दिने कुरा भन्दा बढी असन्तोष जगाएको छ।
सरकारले सत्तामा रहेको १० महिनामा पारित गरेको एक मात्र महत्त्वपूर्ण उपाय भनेको आममाफी हो। तर यस वर्षको बजेटको स्वीकृति गराउन असफल भयो र आउँदो वर्षको बजेट पारित हुने सम्भावना पनि कम छ। परिसिस्थतिलार्य थप खराब बनाउने सन्दर्भमा, प्रधानमन्त्रीकी पत्नी बेगोना गोमेजमाथि न्यायाधीशले अनुसन्धान गरिरहेका छन्। उनले कुनै गल्ती गरेको कुरा अस्वीकार गर्दै आएकी छन् । सान्चेजले ‘आफ्नी पत्नी राजनीतिक पूर्वाग्रहको सिकार भएको दाबी गर्छन्। तर धेरैले प्रश्न गरेका छन्, उनले कसरी आफू स्पष्ट रूपमा योग्य नभएको अवस्थामा विश्वविद्यालयमा पद प्राप्त गरिन्। जब यो काण्ड विस्फोट भयो, माफी माग्नुको सट्टा, सान्चेजले ‘कट्टर दक्षिणपन्थी दललाई ‘आरोप लगाए, र राजनीतिक जीवनको मूल्यमा पुनर्विचार गरिरहेको बताएका थिए। उनले स्पेनी जनतालाई पाँच दिने ‘चिन्तन अवधि’ मा राखे, तर फेरि उनले यथावत काम सुरु गरे ।
यसको मतलब उनी तत्काल खतरा मा छन् भन्ने होइन। स्पेनी प्रधानमन्त्रीलाई हटाउनको लागि वैकल्पिक बाटो भनेको संसदीय बहुमत जुटाउनु पर्छ, जुन केवल संसदमा अविश्वासको प्रस्ताव जित्नुभन्दा गाह्रो चुनौती हो। पीपी का नेता अल्बर्टो नुनेज फेजोले हालै एक पत्रिकासँग भने कि अविश्वास प्रस्ताव ‘अत्यावश्यक जत्तिकै असम्भव’ छ। यद्यपि केही वरिष्ठ समाजवादीहरूले पृथकतावादीहरूसँग गरिएको सम्झौतामा निजीरुपमा असन्तुष्टि व्यक्त गर्छन्, सार्वजनिक रूपमा मात्र दुई जनाले यस्तो प्रतिक्रिया दिएका छन् । सान्चेजको आफ्नो पार्टीमा फलामको जस्तो पकड छ, जो एक दलभन्दा बढी फ्यान क्लब जस्तै देखिन्छ, एक सदस्यले भने।
प्रधानमन्त्रीले उपलब्धिहरू देखाउन सक्छन्। २०१८ देखि उनले न्यूनतम ज्याला वृद्धि गरे र रोजगारीलाई असर नगरी अस्थायी सम्झौताहरूको दुरुपयोगमा कटौती गरे, रोजगार छिटो बढिरहेको छ। उनले व्यावसायिक तालिमलाई विस्तार गरेका छन्। महामारीमा आफ्ना छिमेकीहरू भन्दा नराम्रोसँग पीडित भएपछि, २०२३ देखि अर्थतन्त्र युरोजोनको औसत भन्दा दोब्बरले बढेको छ। केही वृद्धि महामारीपछिको पर्यटनको उल्लेख्य बृद्धिबाट आएको छ, जुन अब विस्तारै कमजोर देखिन थालेको छ, र केही यूरोपीय संघको कोभिड–पुनः प्राप्ति कोषबाट, जुन २०२६ मा समाप्त हुन्छ, र विस्तारित वित्तीय नीतिबाट आएको हो, जुन लामो समयसम्म चल्न सक्दैन। तर स्पेनसँग लचकता देखाउने शक्तिहरू छन्, जस्तै अरकानोका इग्नासियो डे ला टोरेले भने, योसँग तुलनात्मक रूपमा उच्च बचत दर र सन्तुलित चालु खाता अधिशेष छ, जसलाई सेवा क्षेत्रका निर्यात, जस्तै डेटा व्यवस्थापन र इन्जिनियरिङ परामर्शले बढावा दिएको छ।
सान्चेजको सबैभन्दा ठूलो सम्पत्ति भनेको कमजोर र विभाजित विपक्ष हो। गालिसियामा एक सफल क्षेत्रीय अध्यक्ष रहेका फेजोले राष्ट्रिय मञ्चमा संघर्ष गरेका छन्। यद्यपि भोक्स बिस्तारै घट्दैछ, पीपी को आफ्नो संसदीय मतको सम्भावित निर्भरताको मतलब अन्य दलहरूले यसलाई टाढा राख्छन्। सामाजिक सञ्जालद्वारा प्रचारित र पार्टीको अन्त्य भनिने नयाँ देशभक्त पार्टीले गत जूनको युरोपेली संसदको चुनावमा ४.६प्रतिशत भोट प्राप्त गरेको छ।
धेरै म्याड्रिडवासीहरू सोच्छन् कि सान्चेजले २०२७ सम्म पूर्ण कार्यकाल पूरा गर्न सक्छन्। तर बजेटको अभावले उनको विकल्पलाई सीमित बनाउन सक्छ। यदि दायाँ पक्ष तीन भागमा विभाजित रह्यो र अर्थतन्त्र बलियो रह्यो भने, उनलाई अर्को गर्मीमा चुनावको आह्वान गर्ने लोभ हुनसक्छ , राजनीतिशास्त्री क्रिस्टिना मोंजे भन्छिन्।
क्याटालान र बास्क राष्ट्रवादीहरूमा उनको निर्भरता महँगो साबित भइरहेको छ। ‘सान्चेजले एक अव्यक्त नियम तोडेका छन् कि तपाईं देशको स्थिरता र प्रशासनिकत लयमा विश्वास नगर्ने दलहरूको मतबाट प्रधानमन्त्री बन्न सक्नुहुन्न’ पीपी का प्रवक्ता बोरजा सेम्परले भने। पदमा रहनको लागि राज्य मामिलामा सान्चेजले अचानक गरेको यु–टर्नहरूले स्पेनको लोकतन्त्रप्रति जनतामा शंका र कटुताले जरा गाडेको छ।
उनले क्याटालोनियामा पृथकतावादी आन्दोलन अन्त्य गरेको दाबी गर्छन्। पक्कै पनि, २०२१ मा ब्रेकअवे प्रयासका लागि जेलमा रहेका राष्ट्रवादी नेताहरूलाई क्षमा गर्नु बौद्धिक निर्णय थियो। तर उनले धेरैले बुद्धिमानी ठानेभन्दा अगाडि आएका छन्। उनले फौजदारी संहितालाई कमजोर बनाएका छन्ः जुन्ट्स र एस्क्वेरासँग हस्ताक्षर गरिएका दस्तावेजहरूमा, उनको पार्टीले हालको इतिहासको राष्ट्रियताको कथालाई समर्थन गरेको छ। आममाफीको व्यापकता (जसले दंगा गर्नेहरूलाई मात्र नभई राजनीतिज्ञहरूलाई पनि समावेश गर्दछ) र यसको साँघुरो स्वीकृति बिना धेरै सार्वजनिक छलफलले कानूनी शासनका लागि यूरोपेली परामर्श निकाय भेनिस आयोगको सिफारिसहरूको प्रतिकूलता देखाउँछ। यसले अझै विभिन्न कानुनी चुनौतिहरूको सामना गरिरहेको छ।
सान्चेजले संवैधानिक ट्राइब्यूनल र स्पेनको बैंकजस्ता स्वायत्त हुनुपर्ने पदहरूमा राजनीतिक नियुक्तिहरू पनि गरेका छन्। उनले आफ्नी पत्नीमाथि अनुसन्धान गरिरहेका न्यायाधीशविरुद्ध मुद्दा हाल्न सरकारी वकिललाई निर्देशन दिएका छन्। ‘परम्परागत रूपमा स्पेनले शक्ति सन्तुलनमा केही कमजोरीहरू सामना गरेको छ’ कानूनी शासनको पक्षमा पैरवी गर्दै आएकी अभियानकर्ता एलिसा डे ला नुएजले भनिन्। ‘हालका वर्षहरूमा यो अझ धेरै बिग्रिएको छ।’
प्रधानमन्त्रीले देशलाई सञ्चालन गर्न कठिन बनाउने राजनीतिक विखण्डनको आविष्कार गरेका भने होइनन्। उनले तर्क गर्न सक्छन् कि उनी विशेष गरी क्याटालोनियामा परिवर्तन भएका वास्तविकताहरूलाई ध्यानमा राखेर राजनीतिक प्रणालीलाई अनुकूल बनाउँदैछन्। अन्यहरूले स्पेनलाई एउटा अस्पष्ट संघतिर धकेलिएको र देशलाई अलमलिएको अवस्थामा छोडिएको ठान्छन्। ■
: दि इकोनोमिष्टबाट, ३ अक्टोबार २०२४
प्रतिक्रिया दिनुहोस्