गाजापछिको अवस्थाबाट, प्यालेस्टिनीहरूले आफ्नो राज्य कसरी निर्माण गर्न प्रयास गर्नेछन् त ?
लन्डनको केन्द्रमा रहेका बैंकहरू, कानूनी फर्महरू र विलासी होटलहरूको बीचमा, प्यालेस्टाइनको एउटा अंश उठ्दै छ। एक छेउमा रहेको फलफूल पसलबाट जन्मिएको प्यालेस्टाइन हाउस अहिले पाँच तलासम्म फैलिएको छ। प्रत्येक तल्लाले प्यालेस्टिनी इतिहासको फरक कालखण्डलाई चित्रण गर्दछ। एउटा तलाको पर्खालले परम्परागत आँगनको काठको जालीलाई पुनः सिर्जना गर्दछ भने अर्को तलामा गाजाको भग्नावशेषलाई देखाइएको छ। बाहिरका पर्खालहरू र फुटपाथमा प्यालेस्टिनी झण्डा र नरसंहारविरूद्धको विरोध प्रदर्शन गर्ने ब्यानरहरू सजिएका छन्। यस वर्षको अन्त्यसम्म यसका संस्थापक ओसामा कासूले भवनमा पत्रकारहरूको क्लब, रेडियो स्टेशन, स्टार्टअप हब, प्रदर्शनी हल र सांस्कृतिक सैलून खोल्ने योजना बनाएका छन्। ‘इजरायलले गाजामा फालेको प्रत्येक बम एक प्रकारको प्रवर्धक हो’ मिस्टर कासू भन्छन् , जो वेस्ट बैंकको नब्लस शहरबाट निर्वासनमा छन्ः ‘हामी यो सुनिश्चित गर्नका लागि वाहक बनेका छौं कि प्यालेस्टाइनको कथा जिउँदो रहोस्।’
मिस्टर कासू प्यालेस्टिनीहरूका नयाँ पुस्ताका कार्यकर्ताहरूको हिस्सा हुन्, जसको पहिचानको भावना कमजोर हुँदै गइरहेको थियो। गाजामा भएको भयानक रक्तपात र विनाशले उनीहरूलाई सक्रिय बनाएको छ। उनीहरू वृद्ध र अविश्वसनीय प्यालेस्टिनी नेतृत्वलाई खारेज गर्दै, नयाँ तरिकाहरू खोजिरहेका छन् जसले उनीहरूको शताब्दी लामो संघर्षलाई अघि बढाउन सकियोस्। मिस्टर कासूको दृष्टिकोण भनेको प्यालेस्टिनी राज्यको बाटो शान्तिपूर्ण छ। अन्यहरू भने रक्तपातप्रति बढी निराश देखिन्छन्। ‘मूर्ख परेवा बिर्स’ भन्छिन् न्युयोर्कमा गाजाको समर्थनमा आयोजित कवितावाचन कार्यक्रमकी युवा कवि जैना हाशेम बेक। गाजामा युद्धले युवा प्यालेस्टिनीहरूलाई नयाँ संघर्षको रूपमा जागरुक बनाउँछ कि थप हिंसालाई उत्प्रेरित गर्छ भन्ने प्रश्न उठिरहेको छ।
पछिल्ला वर्ष विश्वंस कहालीलाग्दाका घटना अनगिन्ती छन्। गाजामा करिब ४२,००० जनाको मृत्यु भएको छ। गाजाको झण्डै ७० प्रतिशत घरहरू ध्वस्त भएका छन्। धेरैलाई महसुस भएबको छ कि यो झट्का सन् १९४८ को नाक्बाजस्तै भयानक छ, जब इजरायलको स्थापना भयो र करिब १५,००० प्यालेस्टिनी मारिए, र ७५०,००० भन्दा बढी आफ्नो घरबाट लखेटिए वा भागे। अन्यले यसलाई १९६७ को नक्बा जस्तैगरी तुलना गर्छन्, त्यतिबेला इजरायलले वेस्ट बैंक र पूर्वी जेरुसेलम कब्जा गरेको थियो। मृत्यु हुनेको संख्याले र युद्धको अवधि अनुसार, यो वर्ष प्यालेस्टिनीहरूको हालैको इतिहासमा सबैभन्दा खराब भएको छ।
इजरायलले फेरि सबै ७० लाख प्यालेस्टिनीहरूको जीवन नियन्त्रणमा लिएको छ, जसका पुर्खाहरूको घर यही भूमि थियो। गाजामा २२ लाख प्यालेस्टिनीहरू १९४८ मा जस्तै भ्रमित र त्रासित छन्। अनुसन्धान संस्था जोगबीको सर्वेक्षणले गाजाका आधाभन्दा बढी जनताले आफन्त गुमाएको र झन्डै तीन चौथाइले यो युद्धका क्रममा कम्तीमा तीन पटक विस्थापित भइसकेको देखाएको छ। पश्चिम तटका प्यालेस्टिनीहरूले आफ्नो अवस्था युद्धपूर्वको गाजासँग तुलना गर्छन्। चेकपोइन्टहरूले उनीहरूलाई घेराबन्दीमा राख्छन् र इजरायलको श्रम बजारमा प्रवेश गर्नबाट रोक्छन्। गाजामा सामान्य भएको ड्रोन आक्रमण पश्चिम तटमा पनि बारम्बार हुन्छ। यहूदी बस्तीवालाहरूको हिंसा ७ अक्टोबरदेखि तीव्र रूपमा बढेको छ।
त्यसैबीच, गाजामा रहेका आफ्ना दाजुभाइहरूसँग सहानुभूति प्रकट गर्दा इजरायलका अरबहरूलाई प्रहरीले लक्षित गर्न सक्ने जोखिम छ। जब इजरायलको दक्षिणी शहर बेर्शेभास्थित हिब्रू–भाषा विद्यालयकी १२ वर्षीया प्यालेस्टिनी छात्राले गाजामा भोकमरीमा बांचिरहेका बालबालिकाहरूको चिन्ता व्यक्त गरिन्, उनका सहपाठीहरूले उनको गाउँ जलाउने धम्की दिए। शिक्षा मन्त्रालयले उनलाई सेनाविरुद्ध उत्तेजना फैलाएको आरोप लगायो र प्रधानाध्यापकले उनलाई निलम्बन गरिन्। ‘हामी रिसाएका छौं, तर उनीहरूले तपाईलाई मुख खोल्नुभन्दा अघि हजार पटक सोच्न बाध्य बनाउँछन्,’ हाइफाका एक अरब राजनीतिज्ञले भने, जुन शहरलाई प्रायःसह अस्तित्वको मोडलको रूपमा प्रशंसा गरिन्छ।
इजरायलले प्यालेस्टिनीहरूको आवाज दबाएपछि, विदेशमा बस्ने प्यालेस्टिनीहरूले, जुन कुल १ करोड ४० लाखको जनसंख्याको आधा हो, आफ्नो राष्ट्रिय संघर्षलाई आकार दिइरहेका छन्। पश्चिमी देश र ल्याटिन अमेरिकामा बसोबास गर्ने करिब १० लाख प्यालेस्टिनीहरूले आफ्नो भूमिका प्यालेस्टिनीहरूको दुःखमा प्रतिक्रिया जनाउनेका रूपमा देख्छन्। अमेरिकाको मिशिगन राज्य, जहुँदा ठूलो अरब जनसंख्या छ, अमेरिकी राष्ट्रपतिको चुनावमा निर्णायक हुन सक्छ। विस्थापितहरू संसारलाई यस द्वन्द्वको बारेमा सोच्नका लागि नयाँ तरिकाले बुझाउन खोजिरहेका छन्। १९९३ मा ओस्लोमा हस्ताक्षर गरिएका शान्ति सम्झौताहरू इतिहासमा हराउँदै गर्दा, प्यालेस्टिनीहरू अब दुई राष्ट्रिय आन्दोलनहरूको बीचको संघर्षको सट्टा ‘बस्ती उपनिवेशवाद’ विरुद्धको पुस्तान्तरण मुक्तिको संघर्षलाई अगाडि ल्याउने प्रयास गर्दैछन्।
असफल आशाहरू कतिपय सपनाहरू जस्तै हुन्छन् सुरुमा, प्यालेस्टिनीहरूले यो युद्ध पनि गाजाका अघिल्ला युद्धहरू जस्तै चाँडै सकिने आशा गरेका थिए। इजरायलका पश्चिमी सहयोगीहरूले युद्धविरामका लागि इजरायललाई दबाब दिनेछन्। गाजा पुनर्निर्माण हुनेछ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू सत्ताबाट हट्नेछन्। र संसारले अन्ततः दुई–राज्य समाधानको व्यवस्था गर्नेछ, जसको पहिलो हप्ताहरूमा युद्धको लागि वाचा गरिएको थियो। वेस्ट बैंक र इजरायलका प्यालेस्टिनीहरूले यस युद्धको अन्त्यको प्रतीक्षामा सहनशीलता अपनाए।
एक वर्षपछि, त्यो आशा मरेको छ। यसमा कुनै युद्धविराम भएको छैन। पश्चिमी सरकारहरूले इजरायललाई नरम बनाउन बाध्य पारेका छैनन्। इरान र यसका प्रतिनिधिहरूले गाजालाई उद्धार गर्न प्रतिज्ञा गरेका छन्। तर इजरायलले हमास र हिजबुल्लाहलाई ध्वस्त पारेको छ, र इस्लामिक गणराज्यलाई पनि हानि पुर्याउन सक्छ। इजरायलीहरूले यहूदी सर्वोच्चतावादीहरूलाई समावेश गर्ने नेतान्याहू र उनको मन्त्रिपरिषद्लाई प्रतिस्थापन गर्ने कुनै संकेत देखाएका छैनन्। धेरै प्यालेस्टिनीहरू डराउँछन् कि गाजामा भएको विस्थापन र विनाश पश्चिम तटको लागि इजरायलका बासिन्दा र सेनाका योजनाहरूको अग्रदूत हो। उनीहरूलाई ‘अस्तित्वको खतरा’ महसुस हुन्छ, यरूशलेममा रहेका एक प्यालेस्टिनी–अमेरिकी ओमर दाजानी भन्छन् । शायद सुरक्षित ठाउँको चाहनाले प्रेरित भएर, युद्धले प्यालेस्टिनी राज्यको समर्थनलाई मजबुत बनाएको छ। सेप्टेम्बरमा भएको एक प्यालेस्टिनी सर्वेक्षणले १९६७ को सिमानामा आधारित राज्यको लागि समर्थन ६० प्रतिशत देखाएको थियो, जबकि यहूदी र प्यालेस्टिनीहरूका लागि समान अधिकार भएको एकल राज्यको लागि समर्थन १० प्रतिशत मात्र थियो। दाजानी, जो खुला सिमानासहितको यहूदी र प्यालेस्टिनी राज्यको महासंघको समर्थन गर्ने ए ल्यान्ड फर अलको विदेशस्थित प्यालेस्टिनी प्रतिनिधि हुन्, भन्छन् यस आन्दोलनको लागि प्यालेस्टिनी (तर यहूदी होइन) समर्थन गत वर्षदेखि ढलेको छ। उनी चिन्तित छन् कि उनलाई ‘सामान्यीकरणकर्ता’ भनेर अलग गरिनेछ। ‘तपाईंका साथीहरू र परिवारका मानिसहरूलाई मार्नेहरूका साथ उज्यालो भविष्यको कल्पना गर्नु गाह्रो छ’ उनले स्वीकार गर्छन्।
प्यालेस्टिनीहरूले कसरी राज्य प्राप्त गर्ने भन्ने कुरामा अझ धेरै विभाजित देखिन्छन्। केहीका लागि प्रतिरोध शान्तिपूर्ण हुन सक्छ। उनीहरूले यसलाई आफ्नो ठाउँमा रहने दृढतामा देख्छन्। उत्तर इजरायलमा रहेका प्यालेस्टिनीहरू, हिजबुल्लाहका रकेटहरूले उक्त क्षेत्रमा बमबारी गर्दा र यहूदी इजरायलीहरूलाई त्यहाँबाट बाहिर निकालेको भए पनि, आफ्नो गाउँहरूमा बसेका छन्। ‘सधैं यो डर हुन्छ’ हाइफामा प्रधान कार्यालय रहेको एक संयुक्त इजरायली–प्यालेस्टिनी पत्रिका, प्लस ९७२ की सम्पादक घुसुन बिशारत भन्छिन् ‘यदि तपाईं जानुभयो भने, तपाईंलाई फिर्ता आउन दिइन्छ कि दिइँदैन भन्ने थाहा छैन।’ अरूहरूले मात्र जीवित भएको उत्सवलाई प्रतिरोधको रूपमा देख्छन्। ‘यो बियर पिउनु प्रतिरोधको एक कार्य हो’ भन्छन् २९ वर्षीय ट्याटु भएका प्यालेस्टिनी बारटेंडर, जो इजरायलको जाफाबाट वेस्ट बैंकको प्यालेस्टिनी सरकारको मुख्यालय रमल्लाहमा सरेका छन्।
तर हिंसाले पनि आफ्नो आकर्षण पुनः प्राप्त गर्दैछ। ‘यस इजरायलले अरू केही बुझ्दैन’ भन्छन् एक प्यालेस्टिनी, जसले दुई दशकअघि नागरिक–अवज्ञा आन्दोलन सुरु गरेका थिए, तर अहिले शान्तिपूर्ण दृष्टिकोणप्रति विश्वास गुमाएका छन्। इजरायली दाबीहरूको विपरीत, कि बल प्रयोगले प्यालेस्टिनीहरूलाई दबाउनेछ, सर्वेक्षणहरूले देखाउँछन् कि इजरायलले गाजामा आक्रमण गरेपछि यसको उल्टो देखिएको छ। यरूशलेम मिडिया र कम्युनिकेसन सेन्टरले वेस्ट बैंकमा गरेको सर्वेक्षणमा, ‘सैन्य प्रतिरोध’को समर्थन यस वर्ष मेमा ४० प्रतिशतबाट सेप्टेम्बरमा ५१ प्रतिशत पुगेको छ, जबकि ‘शान्तिपूर्ण राजनीतिक कार्य’ को समर्थन त्यही अवधिमा ४४ प्रतिशत बाट ३६ प्रतिशत मा घटेको छ। रमल्लाहमा रहेका एक सर्वेक्षकसँग पनि मिल्दोजुल्दो तथ्याङ्क छः वेस्ट बैंकमा हिंसाको समर्थन सेप्टेम्बर २०२२ मा ३५ प्रतिशतबाट यस वर्षको सेप्टेम्बरमा ५६ प्रतिशत मा पुगेको छ, जब कि त्यो बेला याइर लापिड इजरायलका प्रधानमन्त्री थिए। सर्वेक्षकहरू भन्छन् यो परिवर्तन ती प्यालेस्टिनीहरूमा सबैभन्दा प्रबल छ, जसले दोस्रो इन्टिफाडा (विद्रोह) र विगतका प्यालेस्टिनी युद्धहरूको लागत सम्झने उमेरका भएका छैनन्।
यसको फाइदा हमासले लिएको छ। वेस्ट बैंकमा बिरलै देखिने प्रजातन्त्रको झलकमा, प्यालेस्टिनी प्राधिकरण (पीए) को वार्ता र संलग्नताका लागि प्राथमिकताभन्दा हमासको सैन्य संघर्षको कार्यक्रमले गत वर्ष वेस्ट बैंकको बिर्जेत र हेब्रोन विश्वविद्यालयमा विद्यार्थी चुनाव जित्न मद्दत पुर्यायो। यस क्षेत्रको सबैभन्दा शक्तिशाली सेनामाथि सबैभन्दा लामो युद्ध लडिरहेको हमासले अझै पनि हानि पुर्याउन सक्छ भन्ने क्षमताले उसको समर्थन बढाएको छ। गएको महिना जोर्डनमा यो समूहको भगिनी संगठन, इस्लामिक एक्सन बोर्ड, सामान्य चुनावमा सबैभन्दा ठूलो दलको रूपमा उदायो, जसले २२ प्रतिशत सिट जित्यो। एक सर्वेक्षण अनुसार, वेस्ट बैंक र गाजामा हमासको समर्थन गत सेप्टेम्बरमा २२ प्रतिशत बाट एक वर्षमा ३६प्रतिशत मा पुगेको छ।
हमासलाई समर्थन गर्ने धेरैले यसको परिणामहरूबारे सचेत छन्। ूमेरा धेरै साथीहरू मर्नेछन्,ू निराश मुद्रामा भन्छन् उत्तरी वेस्ट बैंकको जेनीन शिविरमा बस्ने एक युवक । अगस्टमा वेस्ट बैंकमा हमासले वर्षौँपछि इजरायलभित्र आफ्नो पहिलो आत्मघाती बम विस्फोट गरायो। ‘मानिसहरू स्वर्गमा धेरै कुमारिकाहरू पाइने भएकाले नभएर, आफ्ना परिवार र आमाबुबालाई गर्व गराउनको लागि सहिद हुन चाहन्छन्’ नब्लसका एक विद्यार्थी नेताले भन्छन्। हमासको लागि समर्थन कत्ति मात्राको औपचारिक छ र कत्तिको वास्तवमै आक्रमण गर्ने प्रतिबद्धता हो भन्ने निर्धारण गर्न गाह्रो छ। धेरैजसो युवा प्यालेस्टिनीहरू आफ्नो लडाइँमा सामेल हुने इच्छा गर्वका साथ भन्छन् तर दिनभर क्याफेमा बसेर अलजजीराले इजरायलको तेल अवीव ध्वस्त पार्ने हिजबुल्लाहको प्रतिज्ञा बारम्बार प्रसारण गरेको देख्दै बस्छन्। जिहादवादको दार्शनिकता पुनरुत्थान भएको छैनः शरिया राज्यको लागि समर्थन गर्ने युवा प्यालेस्टिनीहरू आफ्ना अभिभावकहरूभन्दा कम सम्भावना भएका छन्। र केही प्यालेस्टिनीहरू हिंसाको व्यर्थताविरुद्ध चेतावनी दिन्छन्ः प्रत्येक चरणले इजरायललाई थप भूमि कब्जा गर्ने बहाना दिन्छ, इस्राएलको सबैभन्दा ठूलो अरब शहर नजारथकी पत्रकार मकबुला नास्सरले चेतावनी दिन्छिन्। प्यालेस्टिनीहरूले रक्तपातबाट टाढा रहने कारणहरू छन्। वेस्ट बैंकमा बढ्दो हिंसाका बावजुद पनि, धेरैलै अझै धेरै गुमाउन बाँकी छ।
तर पनि, धेरै प्यालेस्टिनीहरूले सशस्त्र प्रतिशोध आउँदैछ भन्नेमा शंका गर्दैनन्। अक्टोबर १ मा इरानले इजरायलमाथि मिसाइल प्रहार गर्दा, तेल अवीवमा कम्तिमा सात व्यक्तिको गोली हानी हत्या गरिएको थियो। हमासले जिम्मेवारी लिएको छ, भनिएको छ कि आक्रमणकारीहरू वेस्ट बैंकको हेब्रोनबाट आएका थिए। प्यालेस्टिनीहरूको कुनै प्रभावकारी सरकार छैन। गाजामा हमासको सत्ताको सयम समाप्त हुँदैछ जस्तो देखिन्छ। ८८ वर्षीय प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासको स्थितिमा पनि उस्तै अन्योल छ। र उनका अभिभावकहरूभन्दा फरक रूपमा, अधिकांश युवा प्यालेस्टिनीहरूको कुनै गुटीय निष्ठा छैन। आउने महिनाहरूमा पीए ले वेस्ट बैंकको थोरै क्षेत्रमा नियन्त्रण गर्न कठिन हुन सक्छ, किनकि बासिन्दा र सेनाको आक्रमणहरू तीव्र हुन्छन् र प्यालेस्टिनीहरूले बदला लिन्छन्। यसलाई अन्त्य गर्ने राजनीतिक इच्छाशक्ति बिना, इजरायली–प्यालेस्टिनी द्वन्द्वमा यो चक्र सबैभन्दा घातक हुनेछ भन्ने अपेक्षा धेरैले नगरि बस्न सक्दैनन्— न त अन्तिम हुनेछ भन्ने ठान्छन्। ■
इकोनोमिष्टबाट
प्रतिक्रिया दिनुहोस्