देविका रेगेको पहिलो उपन्यास Quarterlifeले २१औँ शताब्दीको भारतका राजनीतिक सत्यलाई समेट्छ।
देविका रेगेको पहिलो उपन्यास Quarterlife का शुरुवाती पृष्ठहरूमा, पात्रमध्ये एक, नरेन आगाशे, कफी किन्न नेब्रास्काको लिंकन जूमा जान्छ। आफ्नो नियमित क्याफेमा एक वृद्ध मानिसले उसलाई धम्की दिएपछि, नरेनले कुनै जोखिम मोल्न चाहँदैनः उसले चिडियाखानाको उपहार पसलमा बेचिने स्वादहीन पेयलाई पिउन रुचाउँछ, जुन नजिकै कफी बेच्ने एक मात्र स्थान हो, त्यस वृद्ध नस्लवादी मानिसबाट फेरि अपमान सहनु भन्दा, उसले उक्साएर हतियार निकाल्न सक्छ भन्ने डर छ।
चिडियाखानामा हिँड्दै गर्दा, नरेनको ध्यान एउटा अनौठो जीवमा जान्छ। त्यो जीव एउटा ‘जागुआन‘ हो, त्यसको बासस्थानको अगाडि राखिएको तख्तामा लेखिएको छ, ‘कालो जागुआर र पोथी सिंहको आकस्मिक मिलनबाट जन्मिएको एउटा संकर प्रजाति।’ नरेनले उक्त जनावरलाई ‘उसको भान्साकोठा जत्रो साँघुरो पिंजडामाू हिँडिरहेको देख्दा उसको व्याकुलता महसुस गर्छ। यदि त्यो जनावर पिंजडाबाट फुत्केर भाग्न सके पनि, उसको ‘जनावर मस्तिष्क’ नरेन सोच्दछ, ‘अस्तित्वहीन बासस्थानको आकस्मिक कोषीय तृष्णाले अचम्मित हुनेछ।’
Quarterlife देविका रेगे, लिभराइट, ४१६ पृष्ठ, ४२९।, सेप्टेम्बर २०२४
जागुआनमा, नरेनले आफ्नो समस्या देख्छ, जुन उसले २०१० को दशकमा अमेरिकी ग्रीन कार्ड प्राप्त गरेको ह्वाइट कलर पेशेवरको रूपमा भोग्दै आएको छ। भारतको ३१ वर्षीय वर्टन स्नातकले आर्थिक मन्दीको बाबजुद पनि एउटा परामर्शदाताको जागिर समातेको छ। तर ऊ कर्पोरेट अमेरिकामा अगाडि बढ्न असमर्थ छ, र एउटा खराब ब्रेकअपले उसको अवस्था झन् बिगारेको छ। उसका सहकर्मीहरूका लागि ऊ करुणाको पात्र बनेको छ, आफ्नो मातृभूमिबाट बिछोडिएको, नरेन आफ्नो अस्तित्वहीन बासस्थानको लागि तड्पिएको छ—जबसम्म भारतमा भएको एउटा ऐतिहासिक निर्वाचनले घर फर्केर अप्रत्याशित आर्थिक अवसरको ढोका खोलिदिएको छैन।
नयाँ दिल्लीमा, दक्षिणपन्थी भारत पार्टीले व्यापक लोकप्रिय जनमतसहित सत्तामा आएको छ, जसले भ्रष्टाचार अन्त्य गर्ने र नयाँ भारतको सुरुवात गर्ने वाचा गरेर चुनाव जितेको थियो। छिटै, ब्रेन ड्रेन उल्टिन थाल्छ र नरेनजस्ता प्रवासी भारतीयहरू घर फर्किन थाल्छन्, एक ट्रिलियन डलरको अर्थतन्त्र र नव नियुक्त प्रधानमन्त्रीको वाचाले उनलाई लोभ्याउंछ । उदारवादी भारतीयहरूले नेतामाथि साम्प्रदायिक हिंसा भड्काएकोमा निर्दोषको रगत आफ्नो हातमा लागेको आरोप लगाउँछन्, तर उसका कट्टर हिन्दू समर्थकहरूले यसलाई प्रगतिको मार्गमा एउटा सामान्य घटना मात्र ठान्छन्।
भारतको २०१४ को राष्ट्रिय निर्वाचन र नरेन्द्र मोदीको भारतीय जनता पार्टीको उदयसँगको समानताहरू स्पष्ट छन्। तर रेगेले ती निर्वाचनहरूको राजनीतिक परिणाममा ध्यान दिँदैनन्, जस्तो कि त्यसपछि भएका वर्षहरूमा अल्पसंख्यकहरू विरुद्धको भीडको हिंसा वा देशको युवा बेरोजगारी संकट। बरु त्तगबचतभचषिभ ले १९९१ मा भारतको आर्थिक उदारीकरणको संघारमा जन्मिएको पुस्ताको मनोविज्ञानमा डुबान गर्छः २१औं शताब्दीमा राजनीतिक चेतनामा आउँदै गरेका युवा, उपनिवेशी धरोहरको बोझ र वैश्वीकरणबाट आएका गैर–भारतीय विचार र जीवनशैलीले अन्योलित भएको अवस्था।
Quarterlife, जुन २०२३ मा भारतमा प्रकाशित भएको थियो, तर गत महिना अमेरिकामा निस्किएको, भारतीय वा भारतीय मूलका लेखकहरूले लेखेका पछिल्ला केही पुस्तकहरू मध्ये एक हो, जसले हाल भारतको जनसंख्याको १.४ अर्बमा आधाभन्दा बढी रहेका युवाहरूमा हिन्दू राष्ट्रवादको उदयलाई अन्वेषण गर्छ। यसमा आतिश तासीरका उपन्यास र गैर–आख्यानहरू समावेश छन्, जसले कसरी भारतीय समुदायहरूले हिन्दू धर्मलाई राजनीतिक हतियारको रूपमा प्रयोग गर्न थाले भन्ने कुरा अध्ययन गरेका छन्, र पत्रकारहरू स्निग्धा पूनम र कुनाल पुरोहितको काम, जसको रिपोर्टिङले पछिल्लो दशकमा भारतीय युवाहरूले आफ्नो देशको राजनीतिक संरचना कसरी आकार दिएका छन् भन्ने कुरा बुझ्न प्रयास गरेको छ।
Quarterlife मा, रेगे मुम्बईको नयाँ धनीहरूको ड्रइङ रूमहरूमा के हुन्छ भन्नेमा रुचि राख्छन्—जसको उदाहरण नरेनको परिवार र यसको सामाजिक वृत्त हो। उनीहरू एक उदीयमान वर्गका हिस्सा हुन्, जो एउटा काल्पनिक परिसर इम्पेरियल हाइट्समा बस्छन् (‘एक हास्यास्पद नाम’ नरेन ठान्छ, ‘ठ्याक्कै यस्ता मान्छेहरूलाई आकर्षित गर्ने जो अनायासै धनी भएका छन्’)।
आगाशे परिवार, जसका सन्तान मुम्बई, पुणे, र ब्रिसबेनमा फैलिएका छन्, हालसालै पूर्वजहरूका जमिनलाई एक खानी व्यापारीलाई बेचेर धनी भएका छन्, जसको अपरेसनले वातावरणलाई बर्बाद गरिरहेको छ। केवल नरेनको काका, साना व्यवसायका मालिक, आफ्नो हिस्सा नबेच्ने अडानमा अडिएका छन्। लाखौं भारतीयहरूजस्तै, उनी विरोधाभासहरूको गुच्छा हुन्। उनी आफूलाई ‘वामपन्थी’ ठान्छन्, जो वातावरण र आफ्ना कामदारहरूको ख्याल राख्छन्, तर उनले सत्तारूढ सरकारलाई समर्थन गर्छन्, यसको वातावरणीय दृष्टिकोण र दक्षिणपन्थी नीतिहरूको बाबजुद, किनकि उनले अघिल्लो नाममात्रको समाजवादी प्रणालीमा विश्वास गुमाइसकेका छन्।
नरेन र उसको कान्छो भाइ रोहित भने आफ्नो राजनीतिक प्रतिबद्धताहरूमा स्पष्ट छन्, भारतलाई विश्वको महाशक्ति बनाउने नयाँ सरकारको वाचाले उनीहरूलाई मोहनी लगाउँछ। तर छिटै उनीहरू आफ्ना सहकर्मीहरूसँग विश्वको अनुभवमा गहिरो रूपमा विभाजित भएको महसुस गर्छन्।
आगाशे दाजुभाइ—जो उच्च हिन्दू जातीय पदानुक्रमको एउटा उपजाति, चितपावन ब्राह्मण हुन्—र तिनीहरूका विभिन्न मित्रहरू बीच, रेगेले भारतको सामाजिक स्तरका विभिन्न चरित्रहरू समेटेका छन्। यसमा ग्रामीण महाराष्ट्रका एक निम्न जातिका चलचित्र निर्मातास एक महिला, जो आफ्नो वर्ग विशेषाधिकार हुँदाहुँदै पनि मुस्लिम भएकै कारणले बहिष्कृत भएकी छिन्स एक युवा उदारवादी, जो भारतको संविधानका धर्मनिरपेक्ष मूल्यहरूले आकार दिएका (जसलाई भारतका दक्षिणपन्थीहरूले ‘सेकुलर’ भनेर मजाक गर्छन्) र भारतको फारसी समुदायका एक सदस्य, जसले धार्मिक पदानुक्रममा आफ्नो तुच्छतालाई आफूलाई हिन्दू विरोधी घृणाबाट बचाउँछ भन्ने ठान्छन्—जबसम्म प्रहरीले उसको हिन्दू प्रेमीलाई समलैंगिक भएको कारणले होइन, तर अल्पसंख्यक समुदायको कसैसँग डेट गरिरहेको भन्दै फटकार्छ।
‘Quarterlife’ को कथानक दुई मुख्य घटनाहरू वरिपरि केन्द्रित छः नरेनको अमेरिका बाट भारतमा सर्ने निर्णय र उसको अमेरिकी मित्र अमान्डाको एनजीओसँग काम गर्न उसलाई सँगै जाने निर्णय। नरेन ठूला व्यवसायहरूको गतिशीलतालाई सम्हाल्दै गर्दा, अमान्डा मुम्बईको बस्तीमा प्रवेश गर्छिन्, त्यहाँका महिलाहरू र बालबालिकाहरूको जीवनलाई कागजातमा उतार्न। नरेन र उनका मित्रहरूले बसोबास गर्ने विलासी जीवनका खल्तीहरूका सीमामा रहेको यो अर्को भारतले उनलाई अभिभूत बनाउँछ, जसले गर्दा उनी एउटा व्यक्तिगत संकटमा पर्छिन्, जसलाई रोहितसँगको अनपेक्षित रूपमा तीव्र प्रेम सम्बन्धले अझ जटिल बनाउँछ।
सतहमा, रोहित र अमान्डा पूर्णतया फरक पृष्ठभूमिबाट आएका छन्—एक उपनगरीय मुम्बईमा हुर्किएका, अर्को सानो टाउन न्यू ह्याम्पशायरमा। तर स्वतन्त्र व्यापार र आवागमनको युगमा, तिनीहरू दुवैलाई ‘वैश्विक नागरिकहरू’ को रूपमा समायोजन गरिएको छ। अमान्डा रोहितका अंग्रेजी बोल्ने, ककटेल पिउने, एडिडास लगाउने मित्रहरूसँग घरमै जस्तो महसुस गर्छिन्।
त्तगबचतभचषिभ एउटा संरचित कथानकलाई पछ्याउँछ, तर यो गहिरो रूपमा संवादात्मक उपन्यास पनि हो। घना संवादका पृष्ठहरू जताततै छरिएका छन्, जहाँ विचार र धारणाहरू तीव्र गतिमा उडिरहेका छन्। पात्रहरू स्पष्ट वक्ता छन् र मौखिक दोहोरीबाट नडराउने, जसका तर्कहरूले उनीहरूको मित्रताको तन्तुलाई पातलो बनाउँछ, विश्वासघातको खतरा ल्याउँछ, र प्रेमसम्बन्धका सम्भावनाहरू बिगार्छ। यी संवादहरू, प्रायः अत्यधिक शब्दाडम्बरयुक्त, पात्रहरूको भित्री जीवनमा झ्यालका रूपमा काम गर्छन्, जसले आफ्नो वर्ग र समुदायका लागि चिन्ता र आकांक्षाको माध्यम बनेर प्रस्तुत गर्छन्।
चन्द्रमुखी, गोरी अमेरिकी समाजसेवी अमान्डा आफ्ना समकक्षीहरूको लागि एक विरोधाभास ९ायष्०ि को रूपमा काम गर्छिन्। उनलाई दलित के हो भन्ने थाहा नहुन सक्छ, तर उनले भोक र गरिबी देख्छिन्, जहाँ उनका भारतीय साथीहरूले यसलाई बेवास्ता गर्छन्। ‘साँच्चै भन्ने हो भने, दुई छाकको जोहो गर्न संघर्ष गर्ने मानिसहरू हाम्रो यो छलफलको आधाजति कुरामा मतलब राख्दैनन्उ’ नी आगाशेहरूको घरमा भएको एक बौद्धिक प्रवचनलाई अवरुद्ध गर्दै आक्रोशित बन्दै भन्छिन्। उनको नैतिक दृष्टिकोण विशेषगरी रोहितलाई मन पर्दैन। उनलाई उनीहरूको त्यो आत्मधार्मिकताले आहत बनाउँछ, अरुले जस्तै उनैलाई अर्ध–गरिबीबाट भाग्य वा श्रमले भारतको १ प्रतिशतमा पुर्याएको छ।
रेगेको पात्रहरूमा गहिरो रूपमा प्रश्न उठाउने दुई अन्य पात्रहरू छन्। पहिलो, नरेनको भाइ केदार, जसलाई ूवर्नीू भनेर ठट्टा गरिन्छ—अर्थात् अंग्रेजीभन्दा मातृभाषा बोल्नेहरूका लागि प्रयोग गरिने अपमानजनक शब्द—उसका सहरमा हुर्केका भाइहरूले। केदार हिन्दी र मराठी पत्रिकाहरूको रिपोर्टर हो, जसले उद्योगपतिहरूले गरेको जमिन अतिक्रमणलाई उजागर गर्छ। केदारको आदर्शवाद स्फूर्तिदायक छ, अमान्डाको जस्तै, तर उसको अवस्थामा, यो विनाशकारी मूल्यमा आउँछ।
विपरित, रोहितको नयाँ मित्र ओमकार, नयाँ भारतमा आफ्नो बाटो बनाउन आतुर छ। महाराष्ट्रको एउटा सानो सहरबाट आएको यो युवक, माथिल्लो जातिका मराठाहरूलाई मन पराउँदैन, जसले उसको तल्लो सामाजिक स्तरका कारण उसलाई अस्वीकार गरे (पिछडिएका जाति, वर्ग, सबैथोकू)। उसको आकांक्षा गणेश उत्सवमा एउटा वृत्तचित्र बनाउनु छ, तर उदारवादी आर्टहाउस चलचित्र निर्माताहरूले उनलाई समर्थन गर्दैनन्, किनकि उनी भारत पार्टीको युवा शाखाका पैदल सैनिकको रूपमा पार्टीप्रति निष्ठावान छन्।
ओमकार हिन्दुत्वको चढ्दो लहरबाट उत्साहित छ। ऊ पार्टीको उदयलाई अल्पसंख्यक समुदायहरू विरुद्धको लक्षित हिंसाको सफल रणनीति नभएर, अभिजात्यवादको विरोधको विजयको रूपमा देख्छ। ‘केवल भारत पार्टी सबै हिन्दुहरूको ख्याल राख्छ’ ऊ गर्वका साथ भन्छ। ओमकारको विचारमा, ‘भारत’—जसले संस्कृत र हिन्दी भाषामा भारतलाई जनाउँछ—का लागि उनीजस्ता मानिसहरूले एक भएर बोल्ने समय आएको छ, ‘इण्डिया’ लाई प्रतिनिधित्व गर्ने अंग्रेजीकृत वर्गहरूले गरेको ऐतिहासिक उपेक्षालाई पार गर्दै। (मोदीले, संयोगवश, गत वर्ष नयाँ दिल्लीमा भएको जी–२० शिखर सम्मेलनको अध्यक्षता गर्दा आफ्नो राष्ट्रलाई ‘भारत’ भनेर पहिचान गरेका थिए।)
ओमकारसँगको रोहितको मित्रता नजिकको सम्बन्धलाई चकनाचुर बनाउने कारक बन्छ। रोहित ओमकारको ूधरतीपुत्रू शैलीबाट प्रभावित हुन्छस ऊ ओमकारको भारत पार्टीको सिद्धान्तमा अडिग विश्वासलाई आशाको संकेतको रूपमा देख्छ, विशेष गरी आफ्नो परिवेशका अरूहरूको राजनीतिक निन्दात्मकतासँग तुलना गर्दा। तर उसका साथीहरूले ओमकारको हिन्दू राष्ट्रवादको इमानदार समर्थनलाई आक्रमण गर्छन्। उनीहरू ओमकारलाई ठग र चालबाज भनेर आरोप लगाउँदै सहरिया अभिजात वर्गको सहानुभूति आफ्नो व्यक्तिगत फाइदाका लागि हेरफेर गरेको भन्दै उसमाथि हमला गर्छन्। अन्ततः भारत र ‘इण्डिया’ का दुई अनुहारहरूले एक अर्कालाई देशलाई सङ्कटको स्थितिमा पुर्याएकोमा दोषारोपण गर्दै तीतो दोषारोपणको खेलमा भिड्छन्।
यस वर्ष इन्डियन एक्सप्रेस मा लेखिएको एउटा लेखमा, रेगेले लेखे थिए– ‘Quarterlife ‘२०१४ को वरिपरि कसरी हाम्रो राजनीतिक पहिचान पहिलेभन्दा बढी सर्वव्यापी बन्यो, र यसले हिन्दू राष्ट्रवादको फैलावटका लागि के अर्थ राख्छ भनेर बुझ्ने प्रयासू हो। उनको खोजको परिणाम पूर्ण छैन, तर यसले २१औँ शताब्दीको एक मौलिक सत्यलाई समेट्छ, केवल भारतमा मात्र नभई सम्पूर्ण विश्वव्यापी संसारमाः कि जीवन नजिकका र टाढाका मानिसहरू बीचको संघर्ष र विषमतालाई लिएर भरिएको छ।
१८ अक्टोबर, २०२४ , फरेन पोलिसीबाट ।
प्रतिक्रिया दिनुहोस्