काठमाडौं ६ कात्तिक । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–९ स्थित मुख्य बजार क्षेत्रमा बैजु साह स्वर्णकारको दुई तल्ले पक्की घर छ । भुइँतल्लामा उनको खुसी ज्वेलर्स सुन पसल छ । पसल राम्रै चलेको छ । बजारमा उनको परिवार एक राम्रो परिवारमा गणना गरिन्छ । मुख्य बजार क्षेत्र भएको र अग्लो स्थानमा पक्की घर रहेकाले गत असोज ९ गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षा र बाढीको पानी उनको घरसम्म पुगेन ।
तर विश्व खाद्य कार्यक्रमले बाढीपीडितलाई राहत स्वरूप हनुमाननगर कंकालिनी नगरपालिकामा नगद १५ हजार वितरण गर्दा बैजु साह स्वर्णकारको नाम पनि सूचीमा पर्यो । उनले पनि राहतको १५ हजार रुपैयाँ बुझे । ‘हामीले कसैलाई नाम लेखाउन गएको होइन, नाम आयो अनि १५ हजार लिएँ,’ बैजु साहका छोरा दीपकले भने ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–९ स्थित इलाका प्रहरी कार्यालय हनुमाननगरदेखि केही उतर घर छ, सत्यनारायण साहको । हनुमाननगर बजारमा राजनीतिक अगुवाका रूपमा उनी चिनिन्छन् । उनको हनुमाननगर बजारस्थित घरमा गत असोजको दोस्रो हप्ताको अविरल वर्षामा पानी गएको थिएन । तर विश्व खाद्य कार्यक्रमको १५ हजार नगद राहत कार्यक्रममा उनको पनि नाम पर्यो । उनले पनि १५ हजार बुझे । ‘मेरो घरमा त पानी परेन, गोवरगाढा टापुतिर रहेको जग्गामा पानी गएका कारण हुन सक्छ मेरो नाम परेको, सरकारी राहत थियो लिएँ,’ सत्यनारायणले भने ।
हनुमाननगर–राजविराज सडक खण्डअन्तर्गत रहेको राष्ट्रिय वाणिज्य बैंक हनुमाननगर शाखाको छेउमा घर छ, नेहादेवी सोनारनीको । उनका पति विनोद भन्छन्, मेरो घरमा पानी आएको थिएन, बारीमा हल्काफुल्का पानी थियो, मैले कसैलाई नाम लेखाउन गएको थिइनँ तर १५ हजारवाला राहतमा मेरो नाम थियो, मैले लिएँ ।’
हनुमाननगर कंकालिनी नगरपालिका–१२ स्थित कोसी नदीको किनारमा घर रहेका शिवन पण्डितको घरमा कोशी र वर्षाको पानी चार दिनसम्म चार फिटसम्म बगिरह्यो । परिवारका सदस्यहरू कोशी बाँधमा आएर ओत लागे । तर विश्व खाद्य कार्यक्रमको राहतमा उनको नाम छैन । पण्डित भन्छन्, ‘हाम्रो घरमा पानी पसेर चार दिनसम्म नदी झै बग्यो तर राहतमा नाम ठूलाबडाको संगतमा भएकाहरूको मात्र छ, यो त अन्याय हो ।’ वडा नम्बर १२ का कासिम दर्जीको अवस्था पनि शिवन पण्डितकै जस्तो छ ।
यी पाँच उदाहरण मात्र हुन्, विश्व खाद्य कार्यक्रमले सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा बाढीपीडितका लागि वितरण गरेको राहतमा चरम अनियमितता भएको देखिएको छ । विश्व खाद्य कार्यक्रमले सेवक नेपाल नामक संस्थासँगको समन्वयमा हनुमाननगर कंकालिनी नगरपालिकामा बाढीपीडितलाई नगद १५ हजार रुपैयाँ राहत स्वरूप वितरण गर्दा अनियमितता देखिएको हो ।
घरमा पानी पसेर समस्यामा परेका परिवारको नाम छुटाएर घरमा पानी नै नपसेका, आर्थिक रूपले सवलहरूको नाम पीडितको सूचीमा समावेश गरी १५ हजार रुपैयाँका दरले राहत वितरण गरिएको हो । राहत वितरण गरिएका मध्ये धेरै जना फर्जी पीडित रहेको स्थानीयहरूले नै बताएका छन् । यो नगरपालिकाका १ हजार ६ सय ९० परिवारलाई १५ हजारका दरले २ करोड ५३ लाख ५० हजार रुपैयाँ नगद वितरण गर्ने कार्यक्रम रहेको छ ।
गत असोज ९ देखि १२ सम्म निरन्तर वर्षा भइरहेपछि विश्व खाद्य कार्यक्रमले स्थानीय साझेदार संस्था सेवक नेपालसँग मिलेर हनुमाननगर कंकालिनी नगरपालिकाका बाढीपीडितलाई राहत वितरण गर्ने योजना सहितको पत्र नगरपालिका कार्यालयमा पठाएको थियो । नगर प्रमुख वीरेन्द्र माझीको अध्यक्षतामा भएको बैठकले बाढीपीडितहरूको तथ्यांक संकलन गर्न वडा प्रतिनिधि, वडा सचिव, सुरक्षाकर्मी, समुदायमा आधारित विपद् व्यवस्थापन समितिका प्रतिनिधि र दातृ निकायका तर्फबाट सेवक नेपालका प्रतिनिधि रहने गरी तथ्यांक संकलन समिति गठन गर्ने निर्णय गरेको थियो । हनुमाननगर कंकालिनी नगरपालिकाको कुल १४ वटा वडामध्ये १३ वटा वडाबाट १ हजार ८ सय ७४ जनाको नाम संकलन गरिएको थियो । वडा नम्बर २ मा यो कार्यक्रम लागू छैन ।
संकलित नामावलीलाई अन्तिम रूप दिन नगर प्रमुखको साटो उपप्रमुख सरिता सिपलिया यादवको अध्यक्षतामा बैठक बसी १ हजार ८ सय ७४ मध्ये १ हजार ६ सय ९० जनालाई नगद १५ हजारका दरले राहत प्रदान गर्ने निर्णय गरेको थियो । ‘संकलित नामको भेरिफाइ गर्न भन्दा उपप्रमुख र केही वडाध्यक्ष राखेर बैठक गरी नामावली फाइनल गरियो,’ नगर प्रमुख वीरेन्द्र माझीले भने, ‘त्यहीबाट अनियमितताको सुरुवात भयो ।’
घरमा पानी नै नगएकाहरूलाई नगद राहत वितरण गरिएको, पानी पसेका वास्तविक पीडित छुटाएको तथा राहतमा नाम परेकाहरूमध्ये केहीबाट रकम असुलीसमेत गरिएका गुनासोहरू नगरपालिकामा आउन थालेको नगर प्रमुख माझीले सुनाए ।
‘राहत वितरणमा अनियमितता भएको गुनासोपछि नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरी वितरण कार्य रोकेर छानबिन गरी मात्र प्रक्रिया अघि बढाउन आग्रह गरेको थियो । तर दसैं बिदामा रोकेर पुनः जिल्ला प्रशासन कार्यालयले नै सोही सूचीका आधारमा राहत वितरण कार्यका लागि अनुमति दिएपछि अनियमित तरिकाले वितरण गरिंदै आएको राहत प्रक्रियामा सामेलहरू थप हौसिएका थिए ।
हनुमाननगर कंकालिनी नगरपालिकाका १ हजार ६ सय ९० जनामध्ये १ हजार ३ सय जनाले राहत स्वरूप १५ हजार रुपैयाँ पाइसकेका छन् । बाँकी मध्ये वडा नम्बर ७ र वडा नम्बर १२ वाट सूचीमा नाम रहेकाहरू अहिले १५ हजारको कुपन पाएका छैनन् । अनियमितताको विषय चर्को रूपमा उठेपछि अहिले कुपन दिने कार्य रोकिएको छ ।
‘नगरपालिकासँग कुनै समन्वय नै गरिएन्, वडाध्यक्षहरूसँगको समन्वयमा मात्र वितरण प्रक्रिया सुरु गरियो,’ नगर प्रमुख माझीले भने, ‘१५ हजार नगद वितरणमा चरम अनियमितता भयो भन्ने गुनासो दैनिक बढ्दो छ । निष्पक्ष छानबिन गरी दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्छ ।’
बाढीपीडितको सूचीमा घरमा पानी नै नपसेकाहरूको नाम समावेश रहे पनि वडाध्यक्षहरू अझै पनि वास्तविक पीडितहरूको नाम मात्र सूचीमा समावेश रहेको दाबी गर्छन् । विश्व खाद्य कार्यक्रमका मधेश प्रदेश संयोजक कृष्ण माझीले आफूहरूलाई वडाले उपलब्ध गराएको नामका आधारमा १५ हजारको कुपन दिएको बताउँदै अनियमितता भएको भए तथ्यांक संकलनमा लागेकाहरू नै त्यसको दोषी हुने बताए ।
विश्व खाद्य कार्यक्रमको स्थानीय साझेदार संस्था सेवक नेपालका जिल्ला संयोजक मुरारी शुक्लाले वडा कार्यालयले दिएको नाम अनुसार आफूहरूले नगद दिएको बताउँदै पन्छिन खोजे । जबकि पीडितको तथ्यांक संकलनमा विश्व खाद्य कार्यक्रमको साझेदार संस्थाका रूपमा रहेको सेवक नेपालका प्रतिनिधिसमेत सामेल थिए ।
प्रतिक्रिया दिनुहोस्