विश्व महाशक्ति अमेरिकामा हुने राष्ट्रपतिय निर्वाचनले दुनियाभरलाई असर गर्दछ । अघिल्ला चुनावहरु भन्दा वास्तवमै अहिलेको चुनावले विश्वलाई सवैभन्दा बढी हल्लाइदिएको छ । अघिल्लो वर्ष सन् २०२३ को सेप्टेम्वरबमा द इकोनोमिष्ट पत्रिकाले यो वर्ष विश्वका ७० भन्दा बढी देशमा हुने चुनाव र ती चुनाव लोकतन्त्र र अधिनायकतन्त्रबीचको छनोटजस्तो बन्ने विश्लेषण गरेको थियो । त्यसयता, चुनाव, लोकतन्त्र, कुटनीति र समसामयिक राजनीतिप्रति चासो राख्ने दुनियाभरका सवैलाई उद्धेलित पारेको छ । सम्भवत नेपालमा पनि यसअघिका अमेरिकी निर्वाचनहरुमा भन्दा अलिक बढी नै कभरेज पाएको हुनु पर्दछ । यसो हुनुको मुख्य कारण अमेरिकामा पहिलोपटक दुईजना बृद्ध पुरुषहरुबीच प्रतिस्पर्धा हुने भनिएकोमा पहिलो नम्वरका बृद्ध राष्ट्रपति जो वाइडेन पछि हटेर गैरश्वेत महिला उपराष्ट्रपति कमला ह्यारिस प्रतिस्र्धामा आउनु र विश्व दक्षिणपन्थीय लोकिप्रयतावादका बादशाह डोनाल्ड ट्रम्प दर्जनौं अभियोगमा दोषी, दर्जनौ मुद्धाको तारेखमाथि तारेख र उनको स्वभाविक अमेरिकी लोकतान्त्रिक चरित्र भन्दा विलकूल फरक प्रबृत्ति र डंकाका कारण यो निर्वाचन विशेष रुचि र रोमाञ्चक बन्दै आएको भन्न सकिन्छ ।
जतिबेला विश्वका झण्ड ६ दर्जन बढी देशमा निर्वाचन हुने तयारी चल्दै थियो, त्यही बेला हमासले इजरायली एउटा शहरमा गरेको आतंकवादी हमलाका कारण मध्यपूर्व झण्डै विश्व युद्धको द्धार खट्खटाउने तहमा खडा भएको छ । गाजामा भइरहेको नरसंहारले विश्व मानवतावादको अनुहारमा मोसो दललिदिएको छ । पहिलोपटक इजरायल र इरानबीच प्रत्यक्ष युद्धको व्यवहारिक सवाल–जबाफ शुरु भएको छ । त्यसमाथि सन् २०२२ बाटै भड्केको रुस–युक्रेन युद्ध कुन विन्दुमा पुगेर विश्राम लिने हो भन्ने कुरामा सिंगो विश्व नै अन्योलग्रस्त छ । यी दुवै घटनामा अमेरिका प्रत्यक्षरुपमा संलग्न भएको छ । युक्रेनको पक्षमा उभिएर अमेरिकाले सिंगो युरोपलाई आफ्नो जुवामुनि जोतिरहेको छ भने मध्यपूर्वको सन्त्रास र गाजा नरसंहारमा पनि अमेरिकी प्रशासन संलग्न भएको छ, इजरायली कसाहीतन्त्रका पक्षमा अमेरिका उभिएको मात्र छैन, इजरायलमा अमेरिकी व्यालेस्टिक मिसाइल प्रतिरक्षा प्रणाली थाड सहति १०० भन्दा बढी सेनासहित प्रत्यक्ष युद्ध मैदानमा उत्रेको छ । गाजा नरसंहारले सिंगो अमेरिकी समाजलाई चर्को धु्रवीकरणको दिशामा लगेर सन् १९६८ ताका भियतनाम युद्धका बेलामा देखिएको परिदृश्य संयुक्त राज्यका विभिन्न विश्वविद्यालय र सार्वजनिक मञ्चहरुमा प्रदर्शित भइरहेको छ ।
यो चुनावमा अमेरिकी नीति निर्माताहरु केवल आठवटा यी विषयमाहरुमा जुधिरहेका छन् ।
१. रुस युक्रेन युद्ध– ट्रम्पको झुकाव मस्कोतिर मानिएको छ भने ह्यारिस भइरहेको स्थितिलाई अरु बढी चर्काउनेमा केन्द्रित छन् । जसलाई ‘नियममा आधारित विश्व व्यवस्था‘को रक्षा कवच भिराइएको छ । यसमा अमेरिकी सैन्य गठबन्धन नेटोलाई अरु बढी विस्तार बलियो बनाउन अमेरिकालो लगानी गर्ने कि अरु देशको रक्षाका लागि सहयोग गरेवापतको भुक्तान उनीहरुले नै गर्नु पर्ने भन्नेमा ह्यारिस र ट्रम्पले क्रमशः प्रतिनिधित्व गर्दछन् । जसले गर्दा अमेरिकाभित्रको ‘डिप स्टेट'(कर्मचारीतन्त्र, खुफिाया प्रणाली, सुरक्षा संगठन र वन्दोवस्ता लागयत) लाई समेत यो निर्वाचनले नराम्रोगरी तरङ्गित पारिदिएको छ ।
२. चीनसँग प्रतिद्धन्द्धिता र दुश्मनी – यो विषयमा ट्रम्प र ह्यारिस एउटै लाइनमा तर अभिव्यक्तिमा नरम र गरम तरिकाले प्रस्तुत भएका छन् । । तर ताइवान प्रकरणमा ट्रम्पको अस्थिरतावादी रुझानका कारण अमेरिकी वर्चस्व प्रशान्त एशिया क्षेत्रबाटै गुम्ने हो कि भन्ने डर ‘नियममा आधारित विश्व‘वाला नीति निर्माताहरुलाई छ । यसका लागि उनीहरुको रोजाइ ह्यारिसतर्फ सोझिएको छ ।
३. इजरायल–गाजा नरसंहारबाट मध्यपूर्वको युद्ध महामारी – यसमा पनि ट्रम्प अस्थिर छन् भने ह्यारिस यथावत इजरायलको पक्षमा उभिएर प्योलेष्टिनी जाति र देशलाई सिध्याउनेमा प्रतिवद्ध छन् । यतिबेला दुनियाभरका अमेरिकी पिछलग्गुहरु सवैको नीति नै यहीजस्तो देखिन्छ । ट्रम्प पनि चाँडो काम सकेर(प्यालेष्टीनीहरुलाई सखाप गरेर) सकेर फर्कन वेन्जामिन नेतान्याहुलाई उकासिरहेका छन् । सम्भावित बनाउन खोजिएको इरानविरुद्धको आक्रमणलाई ह्यारिस प्रशासनले चर्काउन खोज्दैछ भने ट्रम्प मौन बसेर अमेरिकी युद्धवाजहरुलाई निराश बनएका छन् ।
४. आप्रवासन र मेक्सिको – कागजात नभएका सवै आप्रवासीहरुलाई घेरा हालेर डिटेन्सन क्याम्पमा थुन्ने र थोकका थोक डिपोटेशन्(देश निकाला )गर्ने मुख्य नीतिको डंका ट्रम्पले पिटिरहेहका छन् । ह्यारिस र उनको दल डेमोक्र्याटहरु शान्त तरिकाले आप्रवासी समस्या समाधान गर्ने भन्ने नरम रुझानमा छन् । मेक्सिको सीमामा पर्खाल लगाउने शुरु गरेको ट्रम्पको पहिलो प्रशासनकालले पुनः त्यसलाई अघि बढाउने, मेक्सिकोमा रहेका अमेरिकी उद्योग र लगानीलाई फिर्ता गर्ने नीति अघि सारेर मेक्सिकोसँग ऐतिहासिक तनाव निम्तिने अवस्थामा पु¥याइदिएको छ । त्यसैपनि ट्रम्पलाई मन नपर्ने वामपन्थी रुझानको प्रशासन छ, मेक्सिकोमा । उनलाई अर्जेन्टिनाका राष्ट्रपति जेभिएर मिली र ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोले उक्साइरहेका छन् । युरोपमा ट्रम्पको मुख्य प्रशंसक हंगेरीका भिक्टर अर्बान छन् भने ट्रम्पले मोदीलाई ‘माइ डियर फ्रेन्ड’ भन्छन् ।
५.व्यापार – ट्रम्पले विश्व व्यापार र विशेषगरी आयातमा २० देखि ६० प्रतिशतसम्म अन्त शुल्क लगाउने, चीनलाई ६० देखि ३०० प्रतिशतसम्मको भन्सार शुल्क लगाएर अमेरिकी उद्योग र सामानको प्रवर्धन गर्ने उदण्ड नीतिको पैरवी गरेका छन् । ह्यारिस प्रशासन ट्रम्पले भनेकै नीति लागू गरेपनि शान्त रुपमा कार्यान्वयन गरेर दुनियालाई बेकुफ बनाउने पक्षमा छ । केवल फरक भनेको अमेरिकी लगानीलाई फिर्ता गर्न नयाँ कुनै प्रतिवन्ध लगाउने पक्षमा ह्यारिश प्रशासन नरहने बताइएको छ । ट्रम्प राष्ट्रपति भएमा विश्व व्यपार संगठन र दुई पक्षीय व्यापर नीति तथा अमेरिका र युरोपका बीचमा पनि व्यापार द्धन्द्ध बढ्न सक्छ ।
६. जलवायु नीति – ट्रम्प र ह्यारिसका बीचमा आधारभूत रुपले जलवायु परिवर्तन र हरित उर्जाका बारेमा फरक छ । जुन तत्काल कसैले महसुस नगर्ने जस्तो बृहत र दीर्घकालीन योजना हो । यो सँगै विश्व मञ्च र संरासंघ जस्ता निकायको समेत ट्रम्पले उछितो काढ्छन् भने डेमोक्र्याटहरुले मौजुदा व्यवस्थालाई अरु बढी कसिलो पार्न चाहन्छन् ।
७. गर्भपतन अधिकार : यो अमेरिकाको घरेलु तर संवेदनशील नारा बनेको छ । डेमोक्र्याटहरु महिलाहरुको गर्भपतनसम्वन्धी नैसर्गिक अधिकार भएको आधारभूत नागरिक अधिकारको पैरवी गर्दछन् भने ट्रम्प यसको सख्त विरोधी छन् । महिलाको काम नै बच्चा उत्पादन गर्ने हो भन्नेमा ट्रम्पसँगै विश्व धन कुवेर एलन मस्क मिसिन आइपुगेका छन् । उनीहरु महिलाहरुलाई पुरुषको चाहनाको खेलौना भन्दा बढी मान्न तयार छैनन् । साथै रंग र जातिय विभेदमा पनि ट्रम्पवादीहरु ‘रेडनेक‘वाला र श्वेतहरु मात्र वास्तविक अमेरिकी भएको र अरु सबै बाहिया (यतिसम्मकी राष्ट्रपति ओवामा दम्पत्तिसमेत) भएको भन्दै तिरस्कार गर्छन् । यस्तो हिंसाको शिकार स्वयं उपराष्ट्रपति तथा उमेद्वार कमला ह्यारिस नै बनिरहेकी छन् ।
८. रोजगारी र करको मामिला : कमला ह्यारिस मध्यम वर्ग र कामदार वर्गको ज्यालाका बारेमा बढी नै मुखर छन् । उनले ठूला धनीहरुलाई कर बढाउने र मध्यम वर्ग तथा रोजगार समुदायलाई राहत दिने पक्षमा छन् भने ट्रम्प ठिक उल्टो ठूला धन कुवेरहरुमाथिको कर कटौती गर्ने र बांकीहरुमाथि यथावत दोहन गर्ने पक्षमा छन्। ह्यारिसको अभियानले घर नभएका र घर खरिद गर्न चाहनेलाई २५ हजार डलरसम्मको सहजीकरण गरिदिने नीति अघि सारेकी छन् भने ट्रम्पले यस्तो केही नभनीकन अझ उल्टो ओावामा केयरका नामले चिनिने स्वास्थ्य बीमा योजना रद्ध गर्ने, सरकारी अस्पाताल बन्द गर्ने र शिक्षा मन्त्रालय नै हटाएर शिक्षासम्वन्धी दायित्वबाट राज्य मुक्त हुनु पर्ने नीतिका पक्षमा ट्रम्प उभिएका छन् । वास्तवमा यो अमेरिकी खुला अर्थतन्त्र र नवउदारवादी नीति हो ।
यसबाहेक बाँकी नेपाल र भारतमा जसरी गाली गलौज र चरित्र हत्या हुनेगर्छ ती सबै प्रकारक बद्नाम मानकलाई यसपटक अमेरिकाले चरम विन्दुमा पु¥याएको छ । बहुलाहा, सनकी, तानाशाह, बोक्सी, काली, बच्चा जन्माउन नसक्ने अलिच्छनाहा, कम्युनिष्ट, कमरेड, पुटिनका साथी जस्ता शव्दहरुको विस्कुन यतिबेला अमेरिकाभरि छरिएको छ ।
सवैभन्दा डरलाग्दो धन कुवेरहरु नाङ्गो रुपले राजनीतिमा हाम फालेर अब राजनीति वास्तवमै औसत, औचित्यपूर्ण र विवेकशील नागरिकको क्षेत्राधिकार नभएर बहुलठ्ठपीवाला धनकुवेरहरुको बपौति बन्ने प्रवृत्तितर्फको नेतृत्व पनि उदार लोकतन्त्रको च्याम्पिएन भनिएको अमेरिकाले नै गर्ने तहमा आइपुगेको छ ।
यी र यिनै विषयमा मेरा आठ वटा भन्दा लेख कान्तिपुरमा प्रकाशित छन् भने अन्य मिडियामा पनि यसबारेमा मैले टिप्पणी गर्दै आएको छु । मेरा लागि विश्वभर भइरहेका निर्वाचन र विशेषगरी अमेरिकी निर्वाचन लोकतन्त्र, निर्वाचन प्रणाली, कुटनीति र मिडिया राजनीतिको विकल्पहीन विश्वविद्यालय बनेको महसुस गरेको छु । यथाशक्य मेरा यस अघिका टिप्पणीको लिंक यहाँ राखेको छु । जसले गर्दा कसैले पढ्न चाहेमा सहज हुनेछ ।
प्रतिक्रिया दिनुहोस्