छिङसेन । सिचुवान युनिभर्सिटी जिनजियाङ कलेजको विशाल गेटमै नेपाली टोलीलाई उपाध्यक्ष हे जिवे (HE Zhiwei) स्वागत गर्न आइपुगे । अत्याधुनिक गेट हुँदै कलेजभित्र प्रवेश गर्नासाथ अनौठो दृश्य देखियो । कलेजका आँगनभरि आर्मी पोशाकमा हजारौं परेड खेलिरहेका थिए । उनीहरु आर्मी नभएर विद्यार्थी रहेछन् । कलेज सुरु गर्नेहरुका लागि पहिला यस्तो तालिम दिइने रहेछ । सैनिक पोशाकमा लेफ्ट राइट गर्दै परेड खेलेको हेर्दै हामी कार्यक्रम स्थल पुग्यौं । कार्यक्रम थियो – चाइना (सिचुवान) नेपाल ग्रामीण पुनर्जागरण कार्यशाला २०२४ ।
कार्यशालामा प्रोफेसर वाङ छिउलु (Wang Xiaolu) ले चाइनिज संस्कृति, इतिहास, परम्पराका विषयमा प्रस्तुति दिए । प्रोफेसर याङ साओपिङ (Yang Shaoping) ले गरिवी उन्मुलन ग्रामीण पुनर्जागरणका सन्दर्भमा प्रष्ट पारे । प्रस्तुतिका क्रममा चीनमा बाँस खेती र त्यसबाट बनेका सामग्रीले ग्रामीण जीवनमा ल्याएको परिवर्तन, आर्थिक समृद्धिसम्वन्धी प्रस्तुति नेपालका लागि अति उपयोगी थियो । गाउँ–गाउँमा उत्पादन बढाएर जनताको जीवनस्तर उकास्ने मात्र नभई वातावरणीय सन्तुलनका लागि समेत बाँस खेतीको योगदानको बारेमा चर्चा भयो । यो चर्चासँगै जानकारी दिइयो– भोलिपल्ट बाँसकै कारणले बदलिएको छिङसेन काउन्टीको स्थलगत भ्रमण ।
बाँसले बदलिएको छिङसेन काउन्टी कस्तो होला त ? भन्ने उत्सुकता हामीमा थियो नै । मेइसान सिटीबाट हाम्रो यात्रा त्यसतर्फ अघि बढ्यो । आधा घण्टाको यात्रापछि बाँसैबासको जंगल, सडक किनारामा पनि विभिन्न थरिका बाँस, बाँसकै सजावट भएका घरहरु देख्न पाइन्छ । प्रोफेसर याङले हामीलाई जानकारी गराए– ‘हामी छिङसेन काउन्टी प्रवेश ग¥यौं ।’
सडक किनाराको सजावट नै बाँसैबासले गरेका छन् । बाँसको हरियालीले सडकको सुन्दरता बढाएकै छ । घरहरु अनि मान्छेहरु हेर्दा हामी कुनै नेपालकै गाउँ पुगे जस्तो लाग्ने रहेछ । भाषा बाहेक सबै मिल्दोजुल्दो ।
सडक किनाराका हरियाली, बन्दै गरेको विकसित शहरका बस्ती, ठाउँ ठाउँमा रहेका सुन्तलाका बगैंचाको अवलोकन गर्दै हामी बाँस कला संग्रहालय पुग्यौं ।
चीनले दुई हजार वर्ष पहिले कसरी बाँसको काम गरेका थिए भन्नेबारेमा म्युजियमबाट जानकारी लिन सकिन्छ । म्युजियममा परापूर्व कालमा प्रयोग गरिएका सामग्रीदेखि अचेल लाखौं रुपिँया पर्ने पेन्टिङ राखिएका छन् । जनसेनाले लगाएका बाँसले बुनेका ह्याटदेखि बाँसको धागोले बुनेका आकर्षक आधुनिक पोशाकसम्म सजिएका छन् । विश्वका अन्य मुलुकबाट उत्पादित बाँसका सामग्रीहरु राखिएको म्युजियममा नेपालले पठाएको एउटा ‘टोकरी’ राखिएका छन् । सोही टोकरीको छेउमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको तस्वीर समेत राखिएका छन् ।
परापूर्व कालमा बाँस उपयोगको इतिहास झल्कने संग्रहालयको अवलोकनपछि हामी आधुनिक रुपमा बाँसको उत्पादन गर्दै आएको सिचुवान भानोभ न्यू मेटराइल कम्पनी पुग्यौं । त्यहाँ अत्याधुनिक प्रविधि प्रयोगबाट उत्पादित सामग्रीहरु थिए । सोही कम्पनीले उत्पादन गरेका बाँसकै कपडा, ब्याम्बो फाइबर, रक्सी, पेपर, पेपर कप, प्लेट, बाँसकै कपास, फर्निचर लगायतका सामग्री देख्न सकिन्छ ।
छिङसेनमा बाँसबाटै गाउँलेको जीवनस्तर उकासिएको लान्जाउ गाउँ (Langou Village)को परिवर्तनबाट पनि नेपालले केही सिक्न सक्दछ । यो सानो गाउँमा पर्यटकका लागि आकर्षण गर्ने विभिन्न सामग्री राखिएका छन् । चिटिक्क परेका रेष्टुरेन्टहरु छन् । बाँसबाट बनेका खानेकुरा मात्र नभएर घरेलु उत्पादन बिक्रीका लागि राखिएका छन् । गाउँ सफा छ, सुन्दर छ । स्थानीय समुदायले यो गाउँबाट आएका आम्दानी एकै ठाउँमा जम्मा गरेर फाइदा बाड्ने गरेका छन् ।
सोही गाउँसँगै रहेको ब्याम्बो आर्ट सिटीमा महिलाहरु बाँसबाट बनाइने विभिन्न सामग्री बुन्दै गरेका भेटिए । उनीहरु कोही बाँसको धागो कातिरहेका थिए भने कोही विभिन्न हस्तकलाका सामग्री बुनिरहेका थिए ।
उनीहरुले बुनेका सामग्री बिक्री कक्षमा सजाएर राखिएको छ । फर्निचर, खेलौना, सजावट सामग्री, ढक्की, छत्री, फुर्लुङ, नाङ्लो, झोला, भाँडा, कप लगायत आकर्षक सामग्री राखिएका छन् । त्यहाँ अधिकांश हातले बनाइएका सामग्री राखिएका छन् ।
बाँसबाट भएको छिङसेनको परिवर्तनबाट सबैले सिक्न सक्दछ । नेपालमा पनि बाँसको उत्पादन, प्रशोधन र बजारीकरण गर्न सक्दा ग्रामीण जनताको जीवनस्तर उकास्न सक्दछ । भ्रमण टोलीमा रहेका बागमती प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र श्रेष्ठ पनि बाँसबाट गाउँमा आएको आर्थिक परिवर्तनबाट नेपालले सिक्नसक्ने बताउँछन् ।
छिङसेन काउन्टी बाँस उत्पादन तथा बाँसमा आधारित उद्योगहरूका लागि परिचित छ । बाँसको संरक्षण गर्दै यसकै उपयोगले नै छिङसेनका जनताको जीवनस्तर उकासिएको छ । बाँसमा आधारित उद्योगमा महिलाले रोजगारी पाएका छन् । सामान्य नागरिकले मासिक पाँच हजार युआनभन्दा बढी कमाउने गरेका छन् । अन्तर्राष्ट्रिय बाँस तथा रटन संगठनसँग मिलेर सन् २०२२ मा चीन सरकारले ‘प्लास्टिकको विकल्प बाँस’ अभियान सुरु गरेसँगै बाँससँग सम्वन्धित उद्योगले व्यापकता पाएको छ । आर्थिक उपार्जन मात्र नभएर बाँसको संरक्षण र उद्योग व्यवसायले वातावरण जोगाउन समेत महत्वपूर्ण भूमिका खेलेको छ । यसको सिको नेपालले पनि गर्न सक्दछ ।
(एबीसी टेलिभिजनका लागि पूर्ण जिसी र डण्ड गुरुङ, छिङसेन चाइना ।)
प्रतिक्रिया दिनुहोस्