ट्रम्पको विजयपछि विद्यार्थीहरू आत्तिए, तर हाम्रो अधिनायकवाद सम्बन्धी अनुसन्धानले प्रजातन्त्रको दृढतामाथि विश्वास दिलाउँछ ।
निर्वाचनको रात मध्यरातमा, हाम्रो एक विद्यार्थीले अमेरिकी प्रजातन्त्रको भविष्यलाई लिएर भयभीत हुँदै इमेल लेखिन् । हामीले तुरुन्तै जवाफ दियौं र उनलाई आश्वस्त पा¥यौं कि परिस्थिती राम्रो नदेखिए पनि, संयुक्त राज्य अमेरिका टर्की, हंगेरी, ट्युनिसिया, वा भेनेजुएलाको बाटोमा लाग्ने सम्भावना कम छ । भोलिपल्ट अरू धेरै विद्यार्थीले पनि यस्तै चिन्ता व्यक्त गरे, र हामीसँगैका केही सहकर्मीले पनि ।
हामीलाई यो स्पष्ट भयो कि यो त्रासलाई रोक्नु जरुरी छ । डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपति निर्वाचित हुने अप्रत्याशित नतिजाले निश्चित रूपमा चासोहरू बढाएको छ, एक अधिनायकवादी झुकाव भएका प्रभुत्वशाली लोकप्रियतावादी (Populist) नेता के गर्न सक्छन् । तर, ल्याटिन अमेरिका, मध्यपूर्व, युरोप र एसियामा लोकप्रियतावाद र प्रजातन्त्र–विरोधीकरण (De–democratisation)सम्बन्धी हाम्रो अनुसन्धानले देखाएको छ– यसलाई अत्यधिक भयभीत रूपमा हेर्नु आवश्यक छैन ।
लोकप्रियतावादी नेताहरूले आफ्नो इच्छाले मात्र प्रजातन्त्रलाई समाप्त गर्न सक्दैनन्, निश्चित संस्थागत कमजोरीहरू यसका लागि आवश्यक पूर्वसर्त हुन् । यस्तै कमजोरीहरूलाई ह्युगो चावेजले भेनेजुएलामा, नयिब बुकेलेले एल साल्भाडोरमा, भिक्टर ओरबानले हंगेरीमा, रेसेप तय्यिप एर्दोगानले टर्कीमा, र कैस सईदले ट्युनिसियामा फाइदा उठाएका थिए । तर, संयुक्त राज्य अमेरिकाको संस्थागत संरचना बलियो र लचिलो छ।
यो संरचना एक सत्तालोभी राष्ट्रपतिका महत्वाकांक्षाहरूलाई नियन्त्रणमा राख्न सक्षम छ र प्रजातन्त्र–विरोधीकरणको बिरूद्ध एक दृढ सुरक्षा कवचको रूपमा काम गर्न सक्छ ।
अमेरिकी प्रजातन्त्रको रक्षा गर्न महत्वपूर्ण संरक्षणहरू
संविधानको चरित्रमा अन्तर्निहित सुरक्षा
कतिपय देशहरू—जस्तै पेरू, बोलिभिया, इक्वेडर, टर्की, हंगेरी, र ट्युनिसियामा—संविधानलाई सहजै परिवर्तन गरेर कार्यकारी शक्तिलाई केन्द्रित गर्न र शक्ति सन्तुलनलाई कमजोर पार्न खोजिएको छ । उदाहरणका लागि, हंगेरीका भिक्टर ओरबानले आफ्नो संसदको विशाल बहुमत प्रयोग गरेर अधिनायकवादतर्फको संवैधानिक बाटो प्रशस्त गरे—आफ्नो अनुकूल न्यायालयको पुनःसंरचना गर्दै, चुनावी नियमहरू फेरबदल गरेर आफ्नो दलको निरन्तर प्रभुत्व सुनिश्चित गरे ।
तर, अमेरिकी संविधान परिवर्तन गर्न अत्यन्त कठिन छ । यसका लागि कांग्रेसको सुपरमेजरिटी र तीन चौथाइ राज्यको विधानसभाको अनुमोदन आवश्यक पर्छ ।
संघीय प्रणालीको बलियो संरचना
संयुक्त राज्य अमेरिकामा स्वतन्त्र राज्य र स्थानीय सरकारहरूको व्यापक प्रणाली छ, जसले कार्यकारी प्रमुखका अलोकतान्त्रिक निर्देशनहरूको विरोध गर्न वा तिनको प्रभाव सीमित गर्न सक्ने अधिकार र स्रोतहरू राख्छ । विशेषगरी, अमेरिकी राष्ट्रपतिले एकलौटी रूपमा देशको जटिल र क्षेत्रीय रूपमा सञ्चालित चुनाव प्रणालीलाई हेरफेर गर्न सक्दैनन् । यस्तो रणनीतिले अन्यत्रका धेरै लोकप्रियतावादी नेताहरूलाई सत्तामा चढ्न सहयोग पु¥याएको छ ।
स्वतन्त्र न्यायालय प्रणाली
अमेरिकाको स्वतन्त्र अदालत प्रणाली अर्को महत्वपूर्ण सुरक्षा कवच हो । भिक्टर ओरबान र रेसेप तैयप एर्दोगानजस्ता नेताहरूले न्यायालयलाई नियन्त्रणमा लिएर यसको शक्तिलाई सीमित गर्न सफल भए । तर, अमेरिकामा यस्तो सम्भावना कम छ ।
सत्य हो कि सर्वोच्च अदालतमा दक्षिणपन्थी बहुमत छ, तर संघीय अदालत प्रणालीको धेरै हिस्सा नियन्त्रणमा पर्नबाट बचेको छ । बाइडेन प्रशासनले २१९ संघीय न्यायाधीशहरूको नियुक्ति गरिसकेको छ, जुन ट्रम्पको पहिलो कार्यकालमा नियुक्त २३४ न्यायाधीशहरूसँग तुलनायोग्य छ ।
साथै, एसीएलयूसहितका नागरिक समाजका संगठनहरूले वाक स्वतन्त्रता र सभा गर्ने अधिकारको रक्षा गर्न मुद्दा दायर गर्न सक्षम छन्, र यदि ट्रम्पले राजनीतिक विपक्षलाई लक्षित गरेर मुद्दा चलाउन खोजे भने त्यसलाई चुनौती दिन सकिन्छ ।
सेनाको लोकतान्त्रिक प्रतिबद्धता
पेरू र ट्युनिसियामा, लोकप्रियतावादी राष्ट्रपतिहरूले संविधान परिमार्जन, संसद विघटन, र राजनीतिक विरोधीहरूको गिरफ्तारीको घोषणा गरे, र सेनाले तिनको समर्थन ग¥यो ।
तर, संयुक्त राज्य अमेरिकामा सेनाका सदस्यहरूले संविधानप्रति निष्ठाको शपथ लिन्छन्, राष्ट्रपति मात्र प्रति होइन । तिनीहरूको संस्थागत संस्कृति लोकतान्त्रिक संस्थाहरू र मान्यताहरूको सम्मानमा आधारित छ ।
अमेरिकाले तीव्र आर्थिक संकट वा अस्तित्वलाई नै चुनौती दिने अस्थिरता पनि सामना गरिरहेको छैन, जसले अन्यत्र सेनालाई अधिनायकवादको समर्थन गर्न प्रेरित गरेको थियो । ट्रम्पको पहिलो कार्यकालमा उनले हिंसात्मक प्रदर्शनलाई दमन गर्न सेनालाई आह्वान गर्दा सेनाले अस्वीकार ग¥यो, र त्यो फेरि पनि दोहोरिने सम्भावना छ ।
स्वतन्त्र सञ्चारमाध्यम र नागरिक समाज
टर्कीमा एर्दोगान र हंगेरीमा ओरबानले स्वतन्त्र सञ्चारमाध्यमलाई आर्थिकरूपले कमजोर बनाउन जरिवाना र विज्ञापन रोक्ने उपायहरू अपनाए, त्यसपछि आफ्ना व्यावसायिक सहयोगीहरूले ती सञ्चार गृहहरू किनिहाले । सन् २०१८ सम्ममा, एर्दोगानका सहयोगीहरूले देशको ९० प्रतिशत सञ्चारमाध्यमलाई नियन्त्रण गरेका थिए ।
त्यस्तै, यी नेताहरूले गैरसरकारी संगठनहरू, ट्रेड युनियनहरू, र व्यावसायिक समूहहरूमा प्रतिबन्ध लगाएका थिए ।
तर, अमेरिकामा स्वतन्त्र, विविध, कहिलेकाहीँ असहमतिपूर्ण सञ्चारमाध्यमहरूको बलियो उपस्थिति छ, जुन एकल अधिनायकवादीको नियन्त्रणमा पर्न असाध्यै प्रतिरोधी छन् ।
पहिलो संशोधनले उनीहरूको वाक स्वतन्त्रताको रक्षा गर्दछ । नागरिक समाजलाई दबाउन गरिएको कुनै पनि प्रयासले कडा र शक्तिशाली जनविरोध निम्त्याउनेछ, र अदालतहरूले उदार स्वतन्त्रताको रक्षा गर्न तयार हुनेछन् ।
निस्सन्देह, भविष्यको ग्यारेन्टी कसैले गर्न सक्दैन । निर्वाचित राष्ट्रपति सरकारका निकायहरूलाई पुनर्संरचना गर्ने, सेनाका जनरलहरूलाई हटाउने, र आफ्ना शत्रुहरूलाई अभियोजन गर्ने उपायहरू खोजिरहेका छन् । सरकारका तीनवटै निकायहरू आफ्नो पक्षमा हुँदा, उनले राजनीतिक अस्तव्यस्तता सिर्जना गर्ने ठूलो अवसर पाउनेछन् । तर, पूर्व सांसद म्याट गेएट्सले महान्यायाधिवक्ताको उम्मेदवारीबाट जबरजस्ती पछि हट्नुपरेको घटनाले देखाएको छ कि सञ्चारमाध्यम र संविधानजस्ता सुरक्षा संयन्त्रहरूको परिचालन ट्रम्पको महत्वाकांक्षालाई रोक्न सक्छ।
हाम्रो तुलनात्मक अनुसन्धानको मुख्य पाठ यो होः अमेरिकी प्रजातन्त्रका अगाडि कठिन समय हुन सक्छ । तर हामी विश्वस्त छौं कि संयुक्त राज्य अमेरिका एउटा बलियो जहाज हो, जसलाई कुनै पनि असन्तुलित कप्तानले डुबाउन सक्दैन । यसको संरचनाले वाक स्वतन्त्रता, प्रदर्शन, कानुनी चुनौती र प्रतिकूल शक्तिको परिचालन सम्भव बनाउँछ, जसले कुनै पनि राष्ट्रपतिको लोकतन्त्रविरोधी महत्वाकांक्षालाई सीमित गर्न सक्छ ।
हामीमाथि यिनै उपकरणहरूको उपयोग गरेर लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी छ ।
नोभेम्बर २६, २०२४,वाशिंगटन पोष्ट
-एभा बेलिन ब्रान्डिस विश्वविद्यालयमा अरब राजनीतिका मायरा र रोबर्ट क्राफ्ट प्रोफेसर हुन्। कर्ट वेइल्यान्ड टेक्सास विश्वविद्यालय (अस्टिन) मा लिबरल आर्ट्सका माइक होग प्रोफेसर हुन्।
(शिर्षक हाम्रो –एबीसी ओपिनियन पेज)
प्रतिक्रिया दिनुहोस्