काठमाडौं १२ मंसिर । राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट आउने सामानमा थप शुल्क लगाउने धम्कीले एउटा युगको अन्त्य र अर्को युगको सुरुवातको संकेत गरेको छ । अब सहकार्यको ठाउँमा अब आपसी द्धन्द्ध प्रमुख भएको छ।
ट्रम्पको दोस्रो कार्यकाल पनि उको पहिलो कार्यकाल जस्तै आर्थिक र कूटनीतिक विवादहरूले भरिने देखिएको छ । उनले मित्र राष्ट्रहरू र शत्रुहरू दुवैलाई चुनौती दिनेछन्। अन्य देशहरूलाई आफ्नो इच्छाअनुसार झुकाउन उनले दण्डात्मक शुल्कको प्रयोग गर्छन्, जुन यूरोप र एसियामा सहमति निर्माण गर्न बाइडेन प्रशासनले अपनाएको सहकार्यको नीतिबाट निकै भिन्न छ।
ट्रम्पको ‘अधिकतम दबाब’ रणनीति
ट्रम्पले वार्ताका साझेदारहरूलाई डराउन र झुकाउन सधैं कडा अडान लिएका छन्। पहिलो कार्यकालमा उनले यो रणनीति इरानको आक्रमण र उत्तर कोरियाको आणविक कार्यक्रमलाई चुनौती दिन प्रयोग गरेका थिए। यसले मिश्रित नतिजा दिएको थियो—इरान आर्थिक रूपमा कमजोर भए पनि मध्यपूर्वमा आफ्ना प्रोक्सीहरूलाई समर्थ गरिरह्यो भने उत्तर कोरियाले आणविक शस्त्र विकासलाई झन तीव्र पारेको वाशिंगटन पोष्ले लेखेको छ ।
सन् २०१९ मा ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग दुई कोरियाबीचको असैन्य क्षेत्रमा भेट गरेका थिए।
सीमा सुरक्षा र शुल्क
सोमबार ट्रम्पले क्यानडा र मेक्सिकोबाट आउने सामानमा २५ प्रतिशत र चीनबाट आयातित सामानमा १० प्रतिशत अतिरिक्त शुल्क लगाउने घोषणा गरेका छन् । उनले आफ्नै सोसल मिडिया कम्पनी ट्रुथ सोसलमा लेखेका छन् , “यी तीन सरकारहरूले यो समस्या सजिलै समाधान गर्न सक्छन्। जबसम्म उनीहरूले समाधान गर्दैनन्, उनीहरूले ठूलो मूल्य चुकाउने समय आएको छ।”
यदि ट्रम्पको सपथ ग्रहणकै दिन यो कार्यकारी आदेश लागू गरियो भने यसले विश्वव्यापी व्यापारलाई अव्यवस्थित बनाउने र अमेरिकी उपभोक्ताहरूका लागि मूल्य वृद्धि गर्ने सम्भावना छ। तर ट्रम्पका समर्थकहरूका अनुसार यसको उद्देश्य वार्तामा लाभ हासिल गर्नु हो।
विश्वव्यापी दबाब रणनीति
ँयगलमबतष्यल ायच म्भाभलकभ या म्झयअचबअष्भक का प्रमुख कार्यकारी मार्क डुबोविट्ज भन्छन्, “सहयोगीहरूमा शुल्क लगाउनु शत्रुहरूमा प्रतिबन्ध लगाउनुजत्तिकै प्रभावकारी छ। दुवैको उद्देश्य एउटै हो—अमेरिकी चासोलाई अगाडि बढाउन वार्तामा अमेरिकी दबाब बढाउनु।”
पुरानै शैली
ट्रम्पले पहिलो कार्यकालमा पनि ह्वाइट हाउसको परम्परागत नीतिगत प्रक्रियालाई तोडेका थिए। धेरैजसो निर्णय औपचारिक समीक्षा बिना नै घोषणा गर्थे, जसले कङ्ग्रेसलाई पन्छाएर आफ्नो टिमलाई चाँडो आदेश कार्यान्वयन गर्न दबाब दिन्थ्यो।
उनको पहिलो कार्यकालको पहिलो हप्तामा उनले सात मुस्लिम–बहुल देशका नागरिकहरूलाई ९० दिनको लागि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
पहिलो कार्यकालमा विवादास्पद निर्णयहरू
ट्रम्पको पहिलो कार्यकालमा यस्ता विवादास्पद निर्णयहरू बारम्बार देखिए। २०१७ को यो प्रतिबन्धले देशभर विरोध प्रदर्शनको लहर ल्यायो, जसमा न्युयोर्क सिटीमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिए। यो कदमले प्रशासनभित्रै पनि भ्रामक स्थिति पैदा गरेको थियो । उच्च अधिकारीहरूलाई ती आदेशबारे पूर्ण जानकारी दिइएको थिएन।
अन्तर्राष्ट्रिय रूपमा, ती निर्णयलाई आप्रवासीहरू र मुस्लिम देशहरूप्रति कठोर व्यवहार भएको भन्दै आलोचना भएको थियो । तर ट्रम्पले यसलाई ूअमेरिकी सुरक्षा र स्वायत्तता सुनिश्चित गर्न आवश्यक कदमू भनेर आफ्ना आदेशको बचाउ गरेका थिए ।
दोस्रो कार्यकालका चुनौतीहरू
ट्रम्पको दोस्रो कार्यकाल भने पहिलोभन्दा अझ जटिल परिस्थितिहरू बीच हुनेछ।
युक्रेनमा रुसको आक्रमण र त्यसमा उत्तर कोरियाली सैनिकहरूको संलग्नताले शान्ति वार्तामा थप अवरोध खडा गरेको अमेरिकी रणनीतिकारहरुको बुझाईलाई ट्रम्पले कसरी प्रतिक्रिया जनाउँछन् भन्ने कौतुहल अभै बांकी छ ।
मध्यपूर्वको अशान्ति
इजरायलले अक्टोबर ७ को हमास आक्रमणको जवाफमा गाजा क्षेत्रमा व्यापक सैन्य कारबाही गरेको छ। यसले ४४ हजार भन्दा बढी प्यालेस्टिनीहरूलाई मारिएको र २० लाखभन्दा बढी गाजा बासिन्दाहरूलाई विस्थापित गरेको छ।
इरान र इजरायलबीचको द्वन्द्वले थप युद्धका खतराहरू बढाइरहेको छ। इरानले परमाणु हतियारको लागि आवश्यक सामग्री प्राप्त गर्ने प्रयास जारी राखेको छ।
भूमिकामा फेरबदल
नयाँ प्रशासनले यी सबै चुनौतीहरूको सामना गर्दै अमेरिकालाई पुनः विश्व नेतृत्वमा स्थापित गर्ने उद्देश्य राखेको छ। तर यो कार्य ट्रम्पको ूअधिकतम दबाबू रणनीति मा आधारित हुनेछ, जसले गर्दा मित्र राष्ट्रहरूलाई पनि असहज स्थितिमा पार्न सक्छ ।
ट्रम्पको आलोचना र समर्थन
ट्रम्पका आलोचकहरूले उनीमाथि परम्परागत कूटनीतिको उल्लङ्घन गरेको आरोप लगाएका छन्। उनीहरूले ट्रम्पको एकपक्षीय निर्णयहरू विश्वव्यापी अस्थिरता निम्त्याउने र अमेरिकी सहयोगीहरूसँगको सम्बन्ध कमजोर पार्ने चेतावनी दिएका छन्।
तर उनका समर्थकहरू यो रणनीतिलाई ‘कठोर तर आवश्यक’ भनेर समर्थन गर्छन्।
अब, ट्रम्पले ह्वाइट हाउसमा पुनः प्रवेश गर्दा विश्व पहिलेभन्दा धेरै खतरनाक देखिन्छ। उनका निकट सहयोगी माइकल वल्ट्जले सामाजिक सञ्जालमा लेखेका छन् “राष्ट्रपति ट्रम्पको विजयले विश्वलाई स्पष्ट सन्देश दिएको छ—अराजकता स्वीकार्य छैन।”
यसको परिणामस्वरूप, इजरायल र हेजबोल्लाहबीचको संघर्षमा बाइडेन प्रशासनद्वारा सम्झौता गरिएको युद्धविरामलाई पनि ट्रम्पको दबाब रणनीतिले सहयोग गरेको दाबी गरिएको छ।
व्यापारिक युद्धको पुनरावृत्तिः
आगामी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्न अझै केही हप्ता बाँकी छ, तर व्यापार शुल्क सम्बन्धी उनीद्वारा प्रस्तावित कार्यकारी आदेशले वैश्विक व्यापार सम्बन्धलाई पुनः अशान्त बनाउने संकेत दिएको छ।
सन् २०१६ को अभियानको पुनरावृत्ति
ट्रम्पले आफ्नो पहिलो राष्ट्रपतिको चुनावी अभियानमा पनि अमेरिकाका व्यापारिक अभ्यासहरूको कडा आलोचना गरेका थिए। उनले उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता नाफ्टा पुनःवार्ता गर्ने वा सम्झौताबाट बाहिर निस्किने धम्की दिएका थिए।
तर अन्ततः उनले यूएस–मेक्सिको–क्यानडा सम्झौता मा हस्ताक्षर गरेका थिए । यो सम्झौता सन् २०२० मा लागू भको थियो। यो नयाँ सम्झौताले अमेरिकी कामदारहरूको लागि सुधारहरू ल्याएको र व्यापारमा बृद्धि गरेको अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले जनाएको छ।
युरोप, क्यानडा र मेक्सिकोमाथि व्यापार शुल्क
२०१८ मा, ट्रम्पले युरोपेली युनियन (ईयू) लाई २५प्रतिशत स्टील र १० प्रतिशत एल्युमिनियम शुल्क लगाएका थिए । यसको प्रतिक्रियामा ईयूले केन्टकी बोरबोन जस्ता महत्त्वपूर्ण अमेरिकी उत्पादनहरूमा कर लगाएको थियो।
उनले युरोपबाट आयात गरिने गाडी र गाडीका पार्टपुर्जामा पनि २०प्रतिशत शुल्क लगाउने धम्की दिएका थिए। तर, ईयू र अमेरिकाबीच सम्झौता भएपछि स्थिति थप जटिल हुनबाट जोगिएको थियो ।
चीनमाथि मुख्य ध्यान
ट्रम्पको पहिलो कार्यकालमा सबैभन्दा ठूलो व्यापार लक्ष्य भने चीन थियो ।
२०१८ मा, उनले एल्युमिनियम, १०प्रतिशत शुल्क , ३०प्रतिशत सोलार प्यानल र वासिङ मेसिनमा शुल्क २५प्रतिशत शुल्क सबै प्रकारका चिनियाँ सामानहरूमा लगाएका थिए।
यो कदमले अमेरिका–चीन व्यापार युद्ध सुरु गर्दै ट्रम्पको पहिलो कार्यकाललाई परिभाषित गरेको थियो ।ट्रम्पको नीतिलाई बाइडेन प्रशासनले पनि जारी राखिरहेको छ ।
तर, व्यापार शुल्कले अमेरिकी रोजगारमा मिश्रित प्रभाव पारेको थियो।
ब्रुकिङ्स इन्स्टिच्युटको २०२० को विश्लेषण अनुसार स्टील उद्योगमा केही हजार रोजगार सिर्जना भए पनि, अमेरिकी निर्यात गिरावटले समग्र रोजगारमा घाटा भएको थियो।
फेडरल रिजर्भ बोर्डको २०१९ को अध्ययन ले पनि २०१८ मा लागू भएका शुल्कले अमेरिकी उत्पादनमा रोजगार घटाएको र उत्पादक मूल्यहरू बढाएको निष्कर्ष दिएको थियो।
मेक्सिकोको प्रतिक्रिया
ट्रम्पको प्रस्तावित शुल्कले मेक्सिकोमा पनि कडा प्रतिक्रिया निम्त्याएको छ।
मेक्सिकन राष्ट्रपति क्लाउडिया शेनबाउम ले ट्रम्पलाई लेखेको पत्रमा भनिन्, ‘हरेक शुल्कको जवाफ दिनु हाम्रो बाध्यता हुनेछ, जसले हामीबीचका साझा उद्यमहरू जोखिममा पार्न सक्छ।’
उनले मेक्सिकन सीमा सुरक्षाका लागि आफ्नो पूर्ववर्ती एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर को रणनीतिलाई स्मरण गरेकी छन । त्यो नीतिले ट्रम्पको २५ प्रतिशत शुल्कको धम्कीपछि अमेरिकी सीमामा राष्ट्रिय गार्ड तैनाथ गरेका थिए।
कूटनीतिक र उपभोक्तामाथि प्रभाव
पूर्व बाइडेन प्रशासनको व्यापार प्रतिनिधि कार्यालयकी प्रमुख हेथर हरलबर्ट ले भने, ‘प्रमुख व्यापार साझेदारहरूमाथि शुल्क लगाउनु कुनै पनि पक्षको हितमा छैन—न त उपभोक्ताको, न कामदारको, न त हामीले मेक्सिकोमा वैध उद्योगमा काम गरून् भन्न चाहने मजदुरहरूको।’
क्यानडाको प्रतिक्रिया
क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडो ले भने, उनले ट्रम्पसँग ‘राम्रै फोन वार्ता’ गरेको उल्लेख गर्दै भने, ‘हामीले दुई देशबीचको गहिरो र प्रभावकारी सम्बन्धको महत्वबारे कुरा गरेका थियौं।’ क्यानडाले हरेक वर्ष अमेरिकालाई ४०० अर्ब डलर को सामान निर्यात गर्दछ।
युरोपेली युनियनको चासो
युरोपेली सहयोगीहरूले पनि ट्रम्पको नयाँ व्यापार शुल्कको योजनालाई संभावित व्यापार युद्धको संकेत मानेका छन्।
ईयूले ट्रम्प समर्थक क्षेत्रहरूका उत्पादनहरूलाई लक्ष्य बनाउने योजनामा छलफल गरेको छ, जसले ट्रम्पलाई राजनीतिक दबाबमा पार्न सक्ने सम्भावना छ।
ट्रम्पको रणनीति जारी रहने सम्भावना
तर अन्तर्राष्ट्रिय चेतावनी र संकेतहरूले ट्रम्पलाई आफ्नो रणनीति फिर्ता लिन प्रेरित गर्ने सम्भावना भने न्यून रहेको न्यूयोर्क टाइम्सले लेखेको छ।
यो व्यापार शुल्क र कूटनीतिक दबाब ट्रम्पको राजनीतिक सफलताको प्रमुख आधार हो । उनले आगामी दोस्रो कार्यकालमा पनि यो रणनीति जारी राख्ने देखिन्छ।
आगामी नीतिहरू
ट्रम्प प्रशासनले आफ्नो दोस्रो कार्यकालमा केही गम्भीर कदमहरू लिन सक्ने अनुमान गरिएको छः
व्यापक व्यापारिक शुल्कहरूलाई कायम राख्दै वार्तामा लाभ हासिल गर्ने प्रयास।
मध्यपूर्वमा इरान र इजरायलबीचको तनावलाई कम गर्ने प्रयास, तर अमेरिकी चासोलाई प्राथमिकतामालाई बढी प्रथामिकता दिने नीति लिइने छ ।
रुस–युक्रेन द्वन्द्वमा कूटनीतिक हस्तक्षेप गर्ने, जसमा युक्रेनलाई सीमित सहयोग र रुसमाथि कडा आर्थिक प्रतिबन्ध लाग्न सक्छ।
चीनसँगको व्यापार युद्धलाई थप तीव्र पार्दै प्राविधिक प्रभुत्वका लागि संघर्ष।
ट्रम्पको नीतिहरूले आगामी चार वर्षमा अमेरिकाको भूमिकालाई विश्वमा पुनः परिभाषित गर्नेछन्, जसले विश्वव्यापी आर्थिक तथा कूटनीतिक अवस्थालाई धेरै हदसम्म प्रभावित गर्ने सम्भावना छ।
प्रतिक्रिया दिनुहोस्