शुभशंकर कँडेल
पोल म्याकगारको नयाँ पुस्तक स्पाइङ इन साउथ एसियाः ब्रिटेन, अमेरिका, र भारतको गोप्य शीत युद्ध ले शीत युद्धको समयमा भारतमा पश्चिमी गुप्तचर एजेन्सीहरूको गतिविधिलाई गहिरो अध्ययनमार्फत उजागर गरेको छ । पल एम. म्याकगार, भारतमा पश्चिमी गुप्तचर एजेन्सीहरूको कार्यको इतिहास र देशका राजनीतिक नेतृत्वको कडा प्रतिक्रिया विश्लेषण गर्ने इतिहासकार हुन् ।
पुस्तकले ब्रिटेन र अमेरिका दुवैका गुप्तचर हस्तक्षेपहरू प्रायः असफल मात्र भएनन्, बरु ती प्रयासहरूले भारतको राजनीतिक संस्कृतिमा स्थायी रूपमा अविश्वास र षड्यन्त्रको मानसिकता विकास गराएको निश्कर्ष पस्केको छ ।
पुस्तकका मुख्य विषयवस्तु र रोचक सन्दर्भहरु यस्ता छन् ।
Spying in South Asia: Britain, the United States, and India’s Secret Cold War, Paul M. McGarr, Cambridge University Press, 358 pp., $39.99, Sept. 2024.
३६० पृष्ठको पुस्तक जवाहरलाल नेहरु र आनन्द निवासका कठोर उद्धरणबाट शुरु गरिएको छ ।
‘अब, एसियाका समस्याहरू … समाधान गर्नुपर्छ, र ठूला शक्तिहरू र अरूले यसमा अनिवार्य रूपमा चासो राख्नु पर्छ, किनकि उनीहरू ठूला शक्तिहरू हुन्, यसलाई समाधान गर्नको लागि, तर यदि ठूला शक्तिहरूले सोच्छन् कि एसियाका समस्याहरू एसियालाई छुट्याएर, वा एसियाली देशहरूको दृष्टिकोणलाई छुट्याएर समाधान गर्न सकिन्छ भन्ने, यो थोरै अजीब जस्तो लाग्छ – -जवाहरलाल नेहरू (१९५४)
‘यो विचारधाराको संघर्ष, जसलाई आजका मानिसहरूले रूसी तरिका र अमेरिकी तरिका भनेर वर्णन गरिरहेका छन्, मलाई त्यति चासो छैन । म यसबारे चिन्ता गर्न चाहन्न‘ – आनन्द निवास (१९५२)
नेहरु को हुन् भन्ने बारेमा कुनै नौलो व्यक्ति भएनन् । तर यी आनन्द निवास को हुन् । जसलाई लेखकले यति धेरै महत्व दिएर नेहरुकै बराबरीमा उनको भनाई उल्लेख गरेका छन् ।
आनन्द निवास (१९१०–१९९१) एक भारतीय बौद्धिक, लेखक र राजनीतिक व्यक्तित्व थिए । उनी स्वतन्त्रता पश्चात् भारतीय राजनीतिक परिवेशमा बौद्धिकताका कारण निकै प्रसिद्ध व्यक्ति हुन् । उनले भारतीय सिविल सेवा (आइसीएस) समेत काम गरेका थिए । विशेषत उनी पश्चिमी उपनिवेशवाद र सोभियत शैलीको कम्युनिजमको कडा आलोचक थिए। उनका दृष्टिकोण प्रायः भारतलाई आफ्नो स्वतन्त्र मार्ग तयार गर्नु पर्छ भन्नेमा केन्द्रित थिए । बाह्य नीति दृष्टिकोणबाट, जसमा उनले शीत युद्धको समयमा प्रमुख वैश्विक शक्तिहरू जस्तै संयुक्त राज्य अमेरिका र सोभियत संघ बीचको वैचारिक संघर्षमा नअड्किएर भारतको आफ्नै समस्याहरूलाई समाधान गर्न आफ्नै मौलिक नीति हुनु पर्छ भन्थे ।
यो उद्धरणमा पनि निवास सोभियत र अमेरिकी सरकारका व्यवस्थाहरू बीचको वैचारिक संघर्षप्रति अरुचि प्रकट गर्दै भारतले आफ्नै मार्ग अपनाउन र आफ्ना समस्याहरूलाई स्वतन्त्र रूपमा समाधान गर्नु पर्छ भन्नेमा निहित रहेको छ । आनन्द निवासको एक प्रमुख रचनामध्ये “द आइडिया अफ इन्डिया“ रहेको छ । यसमा उनले भारतको राजनीतिक र सांस्कृतिक पहिचानको अन्वेषण गरेका छन्, विशेषगरी स्वतन्त्रतापछिको अवस्थाका बारेमा ।
आनन्द निवास प्रायः निबन्ध, भाषण र जर्नलहरूमा लेख्ने व्यक्तित्व थिए । र उनको प्रमुख योगदान भारतीय विदेश नीतिका सन्दर्भमा र पोस्ट–उपनिवेशकालीन अध्ययनमा आधारित थियो।
अब लागौं म्याकगारको पुस्तकतिर । यो पुस्तकले निवासकै विचारको खण्डन गर्न कोशिश गरेजस्तो पनि देखिन्छ ।
सीआईए र आधुनिक षड्यन्त्र सिद्धान्तहरू
पुस्तकको प्रकाशनको समयसँगै भारतमा पुनः षड्यन्त्र सिद्धान्तहरूका बारेमा बहस शुरु भएको छ । विशेष गरी, २०२४ को अगस्टमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आश्चार्यजनक विद्यार्थीहरू आन्दोलन र बाह्य दबाबका कारण पदत्याग गरेपछि यस्ता सिद्धान्तहरूले चर्चा पाएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीका हिन्दू राष्ट्रवादी समर्थकहरूले प्रमाणबिना नै यो घटना सीआईएले गराएको “कलर क्रान्ति” भएको दाबी गरेका छन् ।
यी दाबीहरूले भारतभित्रको राजनीतिक विपक्षलाई बदनाम गर्न र मोदीविरुद्ध सम्भावित विरोधहरूलाई कमजोर पार्ने प्रयास स्वरुप भएका हुन् ।
शीत युद्धको प्रतिध्वनि
म्याकगारले वर्तमान षड्यन्त्र सिद्धान्तहरू र शीत युद्धको समयमा भारतमा प्रचलित “विदेशी हस्तक्षेप” को डरबीचको समानता देखाएका छन् । त्यो समयमा, भारतीय सरकार र मिडियाले आन्तरिक अशान्तिको कारण प्रायः पश्चिमी गुप्तचर एजेन्सीहरूको उक्साहट मान्ने गरेका थिए ।
म्याकगारले शीत युद्धको समयमा ब्रिटेन र अमेरिकाका गुप्तचर एजेन्सीहरूका हस्तक्षेपहरूलाई यसरी उल्लेख गरेका छन्ः
- भारतको लोकतन्त्रलाई कमजोर बनाएको ।
राष्ट्रवादी कथालाई बलियो बनाएको ।
भारतको राजनीतिक परिवेशमा षड्यन्त्रको संस्कारलाई प्रवर्धन गरेको उनको दावी छ ।
पश्चिमसँगको भारतको जटिल सम्बन्ध
पुस्तकले शीत युद्धको समयमा भारत र पश्चिमबीचको जटिल सम्बन्धलाई गहिरो रूपमा अन्वेषण गरेको छ । भारतको रणनीतिक महत्व हुँदाहुँदै पनि, विशेष गरी जवाहरलाल नेहरू र पछि इन्दिरा गान्धी को नेतृत्वमा, भारत पश्चिमी विश्वको उद्देश्यप्रति सधैं शंकास्पद थियो ।
भारतको गुप्तचर प्रणालीलाई पश्चिमी हस्तक्षेपको प्रतिकार गर्ने आवश्यकता अनुसार निर्माण गरिएको थियो ।
भारतका नेताहरूले पश्चिमबाट आर्थिक र सैन्य सहयोग खोजे पनि राजनीतिक हस्तक्षेपलाई दृढतापूर्वक प्रतिरोध गर्दै आएका छन् ।
पश्चिमी राजधानीहरूमा मात्र होइन, भारतीय नीति निर्माताहरू र टिप्पणीकारहरूले पनि यो पुस्तकलाई गम्भीरतापूर्वक अध्ययन गर्ने विश्वास गर्न सकिन्छ । गुप्तचर अपरेसनलाई शासनको एक अभिन्न अंगका रूपमा लिन आवश्यक छ भन्ने पुस्तकको सार हो ।
म्याकगार सुझाव दिन्छन् – आजका पश्चिमी नीति निर्माताहरूले भारतसँगको गुप्तचर सहकार्यमा सतर्कता अपनाउनुपर्छ । चीनको सामना गर्ने र क्षेत्रीय स्थिरता सुनिश्चित गर्ने अभियानमा महत्वपूर्ण साझेदार भारत भए तापनि, अतीतका हस्तक्षेपले अक्सर उल्टो परिणाम दिएको देखिन्छ ।
पश्चिमी सरकारहरूले भारतसँगको सम्बन्धलाई प्रभावकारी बनाउन आवश्यक रहेको म्याकगारेको सुझाव छ ।
भारतमा राष्ट्रवादी प्रतिक्रियालाई ट्रिगर गर्ने कार्यहरूबाट बच्नु पर्ने र भारतको इतिहास र बाह्य हस्तक्षेपप्रतिको संवेदनशीलतालाई बुझेर यथार्थपरक राजनीतिक लक्ष्यहरू निर्धारण गर्नु पर्ने उनले पश्चिमी रणनीतिकारहरुलाई सुझाव दिएका छन् ।
अन्ततः, स्पाइङ इन साउथ एसिया पुस्तकले शीत युद्धका बेलाको अनुभवले आज पनि भारतको घरेलु र बाह्य नीति निर्माणमा गहिरो प्रभाव पार्छ, र पश्चिमले भारतसँगको सम्बन्धलाई इतिहासको यस सन्दर्भलाई ध्यानमा राखेर सम्बोधन गर्न आवश्यक छ भन्ने सन्दर्भ विस्तृत रुपमा अघि सारेको छ । ३६० पृष्ठको पुस्तकमा ८० पृष्ठ त फुट नोट्स र सन्दर्भ सामग्रीको उल्लेखले पुस्तकको गहनालाई प्रमाणित गर्दछ ।
१९४७ मा ब्रिटेनबाट स्वतन्त्रता प्राप्त गरेपछि, भारतले कुनै पनि शक्ति गुटमा संलग्न नहुने नीति अपनायो । सोभियत संघको नेतृत्वमा रहेको कम्युनिस्ट गुट होस् वा अमेरिकाको नेतृत्वमा रहेको तथाकथित ‘मुक्त विश्व,’ भारतले कुनै पनि पक्षसँग संलग्न हुन अस्वीकार ग¥यो । यस असंलग्न नीतिले नयाँ दिल्लीलाई ती दुई शक्तिहरूबीचको गुप्त संघर्षको अनौठो केन्द्र बनाएको रोचक घटना कितावमा निकै रोचक तरिकाले वर्णन गरिएको छ ।
पोल म्याकगारको पुस्तक स्पाइङ इन साउथ एसियाः ब्रिटेन, अमेरिका, र भारतको गोप्य शीत युद्ध ले तेस्रो विश्व भनिएको क्षेत्रमा यस संघर्षको सूक्ष्म ऐतिहासिक विवरण प्रस्तुत गरेको छ ।
सोभियत र अमेरिकी गुप्तचर एजेन्सीहरूको केही महत्वपूर्ण घटनाहरू नयाँ दिल्लीलाई केन्द्र बनाएर भएका घटनाहरुको पुस्तकमा विस्तृत विवरण छ ।
१९६७ मा, सोभियत नेता जोसेफ स्टालिनकी छोरी स्वेतलाना अलीलुइएभाले आफ्ना सुरक्षा अधिकारीहरूलाई छल्दै अमेरिकी दूतावासमा प्रवेश गरेको घटनालाई विशेष रुपमा लेखिएको छ । उनले मस्कोमा भेटेका भारतीय कम्युनिस्ट कुटनीतिज्ञ प्रेमीसँग विवाह नगरे पनि, उनी उनको निधनपछि भारत आएकी थिइन् । प्रेमीको अस्तु भारतमा विसर्जन गरेपछि, उनले सोभियत कम्युनिज्मप्रति निराशा व्यक्त गर्दै भारतमै बस्ने अनुमति मागिन् ।् तर, उनको अनुमति अस्वीकृत भएपछि, उनले तत्काल अमेरिका जाने निर्णय गरिन् ।
पोल म्याकगार लेख्छन्, जब पूर्वी युरोपमा सीमा नियन्त्रण कडा हुँदै गयो र ‘आइरन करटेन’ अर्थात् फलामे पर्दा खिचियो, भारत पश्चिमी गुप्तचरका लागि महत्वपूर्ण केन्द्र बन्यो।
एक ब्रिटिश गुप्तचर अधिकारी, जो पछि मस्को गएर त्यहाँका लागि काम गरे, उनका शब्दहरूमा भारतले “सोभियत नागरिकहरूसँग सम्पर्क स्थापित गर्नका लागि सबैभन्दा अनुकूल अवस्था” प्रदान गरेको सन्दर्भले पुस्तक अमेरिका–ब्रिटेन र भारतका जासुसी जालोको वरिपरि घुमेको छ।
यही कारणले सोभियत गुप्तचर एजेन्सीहरू पनि नयाँ दिल्लीतर्फ आकर्षित भए, यद्यपि उनीहरूलाई भाषागत र उपनिवेशीय सम्बन्धको भने अभाव थियो ।
गुप्तचर प्रणालीको पुनर्निर्माण
भारतका ब्रिटिश शासकहरूले गुप्तचर प्रणालीको संस्थागत सम्झना र तन्त्र स्वतन्त्र भारतलाई हस्तान्तरण नगरेको विषयलाई पुस्तकले नयाँ तरिकाले व्याख्या गरेको छ ।
भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूले लगभग एक दशक ब्रिटिश कारागारमा बिताएका थिए । यसैले, उनले ब्रिटिश गुप्तचर प्रणालीप्रति गहिरो अविश्वास राख्थे । यद्यपि, नेहरूले नयाँ राज्यले आफ्नो पूर्ववर्तीबाट केही सिक्न सक्ने कुरा भने स्वीकार गरेका थिए । १९४७ मा आफ्ना सुरक्षा सम्वन्धी मन्त्रीहरूलाई सम्बोधन गर्दै, उनले भने, “औपनिवेशिक गुप्तचर प्रणाली झन्डै ध्वस्त भएको छ । यो प्रणाली अन्य उद्देश्यका लागि बनाइएको थियो । नयाँ गुप्तचर सेवा फरक रूपमा निर्माण गर्नुपर्नेछ।” तर गुप्तचर क्षेत्रको खालीपनलाई पूरा गर्नु सजिलो भने थिएन ।
आफ्नो व्यक्तिगत शङ्कालाई पार गर्दै, नेहरूले ब्रिटेनसँग गुप्तचर सहकार्यको अनुमोदन गरेको सन्दर्भ पुस्तकमा शिक्षाप्रद छ । तर, उनी अमेरिकासँग सहकार्य गर्ने कुरामा बढी सतर्क थिए, यद्यपि उनका गुप्तचर प्रमुखहरूले अमेरिकी अधिकारीहरूसँग सम्बन्धलाई बढाइरहेका थिए । नेहरूले आफ्ना गुप्तचर अधिकारीहरूलाई पश्चिमी एजेन्टहरूप्रतिको अन्धो प्रशंसा कम गर्न र स्वदेशी क्षमताको विकासमा जोड दिन बारम्बार चेतावनी दिएको घटनाको उल्लेखले नेहरुको राष्ट्रवादको नयाँ आयाम झल्कन्छ।
भारतको गुप्तचर प्रणाली बाह्य शक्तिहरूसँगको सम्बन्धमा सावधानीपूर्वक विकसित भएको थियो, जुन आज पनि भारतको गुप्तचर नीतिमा झल्किन्छ भन्ने कुरालाई पुस्तकले निष्कर्षकै रुपमा अघि सारेको छ। प्रारम्भिक वर्षहरूमा भारतको नेतृत्वले हिन्दू राष्ट्रवाद र कम्युनिज्मसँग गरेको संघर्ष गरेको थियो ।
नेहरूको दृष्टिकोणमा, हिन्दू राष्ट्रवादले भारतको दीर्घकालीन स्थिरताका लागि ठूलो खतरा प्रस्तुत गथ्र्यो भने महात्मा गान्धीको हत्या प्रकरणमा हिन्दू राष्ट्रवादी समूहका केही सदस्यहरू दोषी ठहरिएपछि यो धरणालाई अझ बलियो बनायो ।
१९५२ को निर्वाचनमा नेहरूले हिन्दू दक्षिणपन्थी शक्तिहरूलाई पराजित गरेपछि तिनीहरूको गतिविधि पृष्ठभागमा धकेलिएको पुस्तकमा उल्लेख छ ।
तर, नेहरूको बारम्बार चेतावनीका बाबजुद, उनीकै पार्टीका सदस्यहरू हिन्दू राष्ट्रवादसँग प्रत्यक्ष रूपमा सामना गर्न इच्छुक नभएको घटनाको द्धन्द्ध पनि त्यहाँ पढ्न पाइन्छ ।
दक्षिण भारतमा कम्युनिस्ट विद्रोह
यस्तै अवस्थामा, दक्षिण भारतमा कम्युनिस्ट विद्रोहको कारण ठूलो सशस्त्र आन्दोलन सुरु भयो ।
भारतीय सुरक्षा बलहरूले यो विद्रोहलाई दबाए, तर कम्युनिस्ट पार्टी अफ इन्डिया (सीपीआइए) को उदयले ट्रेड युनियन र किसानहरूमा पकड जमाएपछि, नेहरूका केही रूढिवादी सहकर्मीहरु चिन्तित भएको किस्सा पुस्तकमा विस्तृत रुपमा रहेको छ ।
जब कम्युनिस्ट पार्टीले केरल राज्यमा सत्ताको बागडोर सम्हाल्यो—त्यो नै विश्वकै पहिलो लोकतान्त्रिक रूपमा निर्वाचित कम्युनिस्ट सरकार बन्यो—त्यसबाट पश्चिमी राजधानीहरू विचलित भएको सन्दर्भलाई लेखकले इमान्दारीपूर्वक उल्लेख गरेका छन् । त्यसपछि, पश्चिमी गुप्तचर एजेन्सीहरूले भारतीय निकायहरूसँग सहकार्य गर्दै केरलको कम्युनिस्ट सरकारलाई लक्षित गर्न थालेका हुन् ।
केरलामा कम्युनिष्ट विजयपछि भारतका गुप्तचर निकायहरू, औपनिवेशिक विगतबाट प्रभावित भएर, कम्युनिज्मलाई सबैभन्दा ठूलो खतरा मान्दै सोभियत गतिविधिहरूमाथि निगरानी गर्न थाले। नेहरूले भारतको विदेश मन्त्रालय साउथ ब्लकलाई निर्देशन दिएर सोभियत राजदूतलाई बोलाएर समेत चेतावनी दिन लगाएको सन्दर्भ पुस्तकमा छ।
तर, म्याकगार लेख्छन्, “यदि नेहरूलाई थाहा हुन्थ्यो भने वासिङ्टनमा कसरी भारतको राजनीतिक परिदृश्य परिवर्तन गर्ने योजना बनाइँदै छ, उनले अमेरिकी राजदूत एल्सवर्थ बंकरलाई पनि यस्तै चेतावनी दिन लगाउने थिए ।” भन्ने धारणा व्यक्त गरेका छन् ।
चीनसँगको सम्बन्ध र सीआईएको संलग्नता
१९५० को दशकमा भारतले तिब्बतमा चीनको सार्वभौमसत्ता स्वीकार ग¥यो।
तर, चिनियाँ जनमुक्ति सेना (पीएलए)ले तिब्बतमा नियन्त्रण गरेपछि नयाँ दिल्ली निराश भयो । भारतले तिब्बतभित्र हस्तक्षेप गर्न नसक्ने ठहर गरेका नेहरु तिब्बती शरणार्थीहरूलाई मद्दत गर्न भने तयार भए।
यस अवस्थाको सीआईएले फाइदा उठायो ।
सीआईएका विमानहरूले तिब्बतमा प्रतिरोधी अभियानहरूलाई समर्थन गर्न भारतीय हवाई क्षेत्र प्रयोग गरे । १९५९ मा दलाई लामाले तिब्बतबाट भागेर भारत प्रवेश गर्दा अमेरिकी एजेन्टहरूले उनलाई सहयोग गरेको म्याकगारले सन्दर्भस्रोत सहित उल्लेख गरेका छन् । नेहरूले दलाई लामालाई भारतमा बस्न अनुमति दिए ।
कालिम्पोङः गुप्तचरहरूको केन्द्र
दलाई लामा प्रकरण पछि भारतको सीमा क्षेत्रमा गुप्तचरहरूको चहलपहल बढ्यो। कालिम्पोङ, चीनको नजिकको भारतीय पहाडी सहर, सबैभन्दा कुख्यात स्थान बन्यो । “त्यहाँ जति मानिस थिए, त्यसभन्दा बढी गुप्तचरहरू थिए” नेहरुले आफ्नै पुस्तकमा लेखेको म्याकागारले उल्लेख गरेका छन् ।
उनले आफ्नो गुप्तचर प्रमुखलाई विदेशी एजेन्टहरूको कामलाई यथासम्भव “अप्रभावकारी” बनाउन निर्देशन दिएका थिए ।
चीनसँग बढ्दो तनाव
चीन भारतसँग रुष्ट भयो, विशेष गरी दलाई लामालाई आश्रय दिएकोमा । चिनियाँ प्रधानमन्त्री झाउ एनलाइले कालिम्पोङबाट भएका गतिविधिलाई भारत–चीन सम्बन्ध बिग्रनुको कारण मानेका थिए । झाउले सीआईएका हवाई उडान र तिब्बती विद्रोहीलाई दिएको समर्थनबारे प्रमाणहरू प्रस्तुत गरे।
नेहरूले बेखबरझैं गरे पनि झाउले भारत र अमेरिकाबीचको सहकार्यको विस्तृत विवरण दिए ।
१९६१ मा, अमेरिकी राष्ट्रपति जोहन एफ. केनेडीले जोहन केनेथ गाल्ब्रेथलाई भारतका लागि राजदूत बनाएपछि, सीआईएको गोप्य गतिविधिहरूमा केही कटौती भएको म्याकगारले दावी गरेका छन् ।
गाल्ब्रेथले तिब्बती विद्रोहीलाई समर्थन गर्ने सीआईएको गतिविधिलाई “पागलपन” मानेको उनले उल्लेख गरेका छन् ।
१९६२ को भारत–चीन युद्ध
तर, अक्टोबर १९६२ मा चीनले भारतीय सीमा पोस्टहरूमा हमला गरेपछि परिस्थिति नाटकीय रूपमा बदलियो । नेहरूले अन्तर्राष्ट्रिय “सहानुभूति र समर्थन” आवश्यक भएको बताए । अमेरिकाले भारतलाई सहयोग ग¥यो, तर सहकार्यको विवरण गोप्य राखियो । पछि सार्वजनिक भएका दस्तावेजहरूले देखाउँछन् कि यस संघर्षमा सीआईएले भारतलाई महत्वपूर्ण सहयोग ग¥यो।
भारत–अमेरिका गुप्तचर सहकार्यको पुनर्संरचना
१९६२ को भारत–चीन युद्धपछि, भारत र पश्चिमी गुप्तचर निकायहरूबीचको सम्बन्धमा नयाँ मोड आयो।
सिनो–इन्डियन युद्धले भारतमा गुप्तचर संस्थाहरूको असफलताको धारणा स्थापित ग¥यो । यसले भारतलाई पश्चिमी गुप्तचर एजेन्सीहरूसँग सहकार्य गर्न झन् सहज बनायो। यस घटनालाई म्याकगारले “गुप्तचर असफलताको कथावस्तु” भन्दै भारतीय राजनीतिक चेतनामा गहिरो प्रभाव पारेको बताएका छन् ।
केनेडी प्रशासनको रणनीति
केनेडी प्रशासनका लागि भारतसँगको गुप्तचर सहकार्यले चीनविरुद्ध अमेरिकालाई रणनीतिक फाइदा पु¥याउने अनुमान गरिएको थियो । वासिङ्टनले मस्कोलाई बेइजिङ र नयाँ दिल्लीमध्ये एक छान्नु पर्ने बाध्य बनाउनेछ भन्ने ठानेको थियो । साथै, भारत र पाकिस्तानबीच सुधारको अवसर खुल्ने अपेक्षा पनि अमेरिकीहरुमा थियो । तर, १९६० को दशकको अन्त्यसम्म भारत सोभियत संघमा निर्भर बन्यो र कश्मीरलाई लिएर पाकिस्तानसँग युद्ध ग¥यो ।
भारतमा गोप्य मिशन
भारतमा अमेरिकी र ब्रिटिश गुप्तचर सहकार्यले विभिन्न तरिकाले काम गरेका घटनाहरुको विवरण पुस्तकमा छ। तिब्बत निगरानीका लागि गुप्त भारतीय युद्ध इकाईको स्थापना । ओडिशाको द्वितीय विश्वयुद्धकालीन एयरस्ट्रिपलाई गुप्त अपरेसनका लागि गरिएको प्रयोग ।
यु–२ (टु) उच्च उचाइका विमानहरूबाट उडानहरूद्धारा निगरानी । यी उडानहरूले चीनको लोप नोर ( स्थित आणविक परीक्षण केन्द्रको भएको पुष्टि गरेको भन्ने समेत पुस्तकमा रहेको छ । (तर यसलाई चीनले सदा अस्वीकार गर्दै आएको छ ।)
हिमालयमा आणविक निगरानी उपकरणः अप्रेशन ह्याट
सबैभन्दा अनौठो योजना थियो हिमालयका शिखरहरूमा आणविक उर्जा सञ्चालित निगरानी उपकरण स्थापना गर्ने । यस परियोजनालाई अप्रेशन ह्याट वा ब्लू माउन्टेन नाम दिएको म्याकगारले लेखेका छन् । १९६५ मा नन्दा देवी शिखरमा राखिएको उपकरण हिमपहिरोमा हराएको समाचार पनि पुस्तकमा रोचक नै छ । हराएको उपकरणलाई लिएर अहिले पनि क्षेत्रीय प्राकृतिक प्रकोपहरूमा षड्यन्त्रका सिद्धान्तहरू छन्।
१९७३ मा यस मिसनले चिनियाँ ब्यालिस्टिक मिसाइल परीक्षणहरूबारे महतवपूर्ण जानकारी पाउन सफल भएको अमेरिकी दावी छ । यद्यपि, त्यसबेला जमिनमा आधारित उपकरणहरूलाई उपग्रह प्रविधिले प्रतिस्थापन गरिसकेको थियो ।
चीनको आणविक शक्ति र अमेरिकी चासो
म्याकगारका अनुसार, अमेरिकाले चीनको आणविक कार्यक्रमबारे सटीक जानकारी पाउन भारतसँग सहकार्य गरेर भारतको चिन्ता कम गर्न चाहेको थियो। क्षेत्रीय आणविक हतियार होड रोक्ने प्रयासका रूपमा यो सहकार्यलाई आंशिक सफल मानिएको थियो। तर, रिचर्ड निक्सन र हेनरी किसिन्जरले चीनसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्ने निर्णय गरेपछि भारतसँगको गुप्तचर सहकार्य महत्वहीन बनेको अमेरिकी खुफिया विश्लेषणलाई लेखकले इमान्दारीपूर्वक उल्लेख गरेका छन् ।
१९७८ मा अमेरिकी एउटा पत्रिकाले यो गुप्त परियोजना सार्वजनिक गरेपछि भारतको राजनीतिक क्षेत्रमा हलचल मच्चिएको थियो । यस घटनाले भारतमा अमेरिकी हस्तक्षेपको आशंका थप बलियो बनायो ।
भारत–अमेरिका गुप्तचर सहकार्य चुनौतीहरू
१. दक्षिणपूर्वी एसियातर्फको अमेरिकी ध्यान र कूटनीतिक तनाव
१९६० को दशकको अन्त्यमा, अमेरिका सिनो–इन्डियन युद्धको विषयलाई लिएर भारतसँग तनावमा थियो । यस बीचमा, सोभियत संघले भारतमा प्रचार तथा भ्रामक जानकारी फैलाउने अभियान सञ्चालन ग¥यो, भने अमेरिका र बेलायतले भारतलाई कम्युनिज्मलाई रोक्न केन्द्रित गरे । भारतलाई चीनको विरोधमा चासो थियो, जबकि पश्चिमी देशहरूको ध्यान कम्युनिस्ट विचारधारा नियन्त्रणमा सीमित रह्यो ।
२.सीआइएको भूमिकाबारे खुलासा र भारतको प्रतिक्रिया
१९६० को दशकको अन्त्यदेखि, अमेरिकी कांग्रेसमा भएका प्रमाणहरू र पत्रकारिताका अनुसन्धानहरूले सीआइएले विश्वभरि लोकप्रिय र लोकतान्त्रिक सरकारहरूलाई अस्थिर पार्ने गोप्य अभियानहरू सञ्चालन गरेको सार्वजनिक गर्न थोलेपछि तनाव बढ्न थालेको थियो । यो समयमा भारतको पश्चिमी गुप्तचर निकायहरूसँगको सहकार्यबारे पनि जानकारी सार्वजनिक हुन थाल्यो । यसले भारतीय राजनीतिक क्षेत्र र जनतामा विदेशी गुप्तचरहरूप्रति शङ्का उत्पन्न गरायो । सीआइए र सोभियत केजीबीका एजेन्टहरू भारतको प्रणालीभित्र रहेको भन्ने ठान्न थालियो ।
३. गुप्तचर सहकार्यको द्वन्द्व
यस समयमा, भारतीय प्रधानमन्त्रीहरूले बारम्बार देशलाई अस्थिर पार्न विदेशी शक्तिहरू प्रयासरत रहेको भन्दै चिन्ता व्यक्त गर्थे । अर्कोतिर पश्चिमी देशहरूले भारतलाई आफ्नो भूमिकाबारे सन्तुष्ट पार्न सकेनन् । तर पनि गुप्तचर सहकार्य भने जारी रह्यो, जसले पेशागत प्रयास र घरेलु राजनीतिबीचको द्वन्द्वलाई स्पष्ट गदर्दथ्यो । म्याकगारका अनुसार, यो व्यावहारिक सोचको उपज थियो ।
तर, अमेरिकी राजनीतिक र रणनीतिक दृष्टिकोणहरू भारतीयहरूमा प्रक्षेपण गर्दा सहकार्य सीमित भयो । यही कारण, भारतीय गुप्तचर प्रणालीमा यसको प्रभाव अस्थायी रह्यो ।
४. भारत–अमेरिका रणनीतिक साझेदारी
आज भारत र अमेरिकाबीचको गुप्तचर सहकार्य पहिलेभन्दा बलियो छ । दुवै देशले चीनलाई रणनीतिक खतराका रूपमा हेर्दैछन् । भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, जो पूर्व गुप्तचर अधिकारी हुन्, गोप्य अपरेसनको वकालत गर्छन् । हालै, भारतीय गुप्तचर अधिकारीहरूलाई उत्तर अमेरिकामा सिख अलगाववादीहरूको हत्या आदेश दिएको आरोप लागेको छ ।
५.साझा मूल्य र दृष्टिकोण
यद्यपि, इतिहासलेसहकार्यलाई सफल बनाउन साझा मूल्य र समान दृष्टिकोण आवश्यक छ रहेको भन्ने म्याकगारको सुझाव छ । भारतको घरेलु राजनीति र जनताको कथावस्तुबाट अमेरिका अलग रहन सक्दैन । वर्तमानमा दुवै देशका चासोहरू मिलेको भए पनि, यी गणनाहरू चाँडै परिवर्तन हुन सक्छन् ।
विशेष गरी, अमेरिकी चासो र हिन्दू राष्ट्रवादी भाष्यबीचको अन्तरले भारतमा शङ्का उत्पन्न गर्न सक्छ। प्रधानमन्त्री मोदीले हालैको चुनावी पराजयपछि “देशभित्र र बाहिर शक्तिशाली व्यक्तिहरूले आफूलाई सत्ताच्युत गर्न खोजेको” आरोप लगाउनु यसको उदाहरण हो । दुवै देशले विगतको सहकार्यबाट सिकेर साझा हितका लागि मूल्य र विश्वासमा आधारित साझेदारी कायम गर्नुपर्ने पुस्तकले सल्लाह दिएको छ ।
पश्चिमसँगको सम्बन्धमा जोखिम
पश्चिमी लोकतान्त्रिक देशहरूमा भारतका अपरेसनहरू
भारतका गुप्तचर निकायहरूले पश्चिमी लोकतान्त्रिक मुलुकहरूमा संचालन गरेका गतिविधिहरूले तिनै मुलुकहरूसँगको संस्थागत सहकार्यमा कमजोरी वा विघटन ल्याउने जोखिम पैदा गरेको छ। अमेरिकामा सिख समूहहरूले दायर गरेका कानूनी मुद्दाहरूका कारण भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र पूर्व गुप्तचर प्रमुखमाथि अदालतको समन जारी भएको छ । यसले गर्दा डोभाल सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री मोदीसँग अमेरिकाको भ्रमणमा सामेल भएनन्, जुन २०१४ मा मोदीले कार्यभार सम्हालेपछि यस्तो भएको पहिलो पटक हो ।
भारतका गुप्तचर अपरेसनमाथि बढ्दो निगरानी
भारतका गुप्तचर गतिविधिहरूले अन्तर्राष्ट्रिय निगरानी र कानूनी दबाब सामना गरिरहेको छ । यसै सन्दर्भमा, म्याकगारको पुस्तक अत्यन्त उपयोगी सिद्ध हुन सक्छ । पुस्तकले भारतको गुप्तचर अपरेसनमाथि पश्चिमी दृष्टिकोण प्रस्तुत गरेको छ ।
पश्चिमी राजधानीहरूमा मात्र होइन, भारतीय नीति निर्माताहरू र टिप्पणीकारहरूले पनि यो पुस्तकलाई गम्भीरतापूर्वक अध्ययन गर्ने विश्वास गर्न सकिन्छ । गुप्तचर अपरेसनलाई शासनको एक अभिन्न अंगका रूपमा लिन आवश्यक छ भन्ने पुस्तकको सार हो । गुप्त कार्य र दमनको औचित्य खोज्ने माध्यमको रूपमा मात्र नहेरी, यसलाई नियन्त्रण र सन्तुलन सहितको कार्यको रूपमा विकसित गर्न आवश्यक छ ।
भारतले आफ्नो गुप्तचर नीतिलाई संवैधानिक सीमाभित्र राखेर संचालन गरेमा मात्र पश्चिमी मुलुकहरूसँगको विश्वास र सहकार्यलाई बलियो बनाउन सकिन्छ भन्ने पश्चिमी मान्यता झल्कन्छ ।
यस सन्दर्भमा, भारतले पारदर्शिता, कानूनी उत्तरदायित्व, र कूटनीतिक संयमलाई प्राथमिकता दिनुपर्नेछ ।
अन्यथा, गुप्तचर गतिविधिहरूले भारतको वैश्विक साझेदारीमा बाधा पु¥याउन सक्ने चेतावनी पनि पुस्तकमा विभिन्न सन्दर्भमा झल्कन्छ ।
लेखक परिचयः डा. पल एम. म्याकगार, किंग्स कलेज लन्डनमा इंटेलिजेन्स स्टडिजका व्याख्याता हुन्। २०२३ मा किंग्स कलेज लन्डनमा सामेल भएका उनले रोयल होलोवे, लन्डन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय इतिहासमा एमए डिग्री र २००८ मा सोही विश्वविद्यालयबाट पीएचडी गरेका छन् ।उनले २००९–२०११ बीच नटिङहम विश्वविद्यालयमा एचआरसी पोस्टडोक्टोरल फेलोशिप अन्तर्गत सीआईए र अमेरिकाको विदेश नीतिको विवादित इतिहासलाई अध्ययन गरेका थिए । उनी २०११–२०२३ सम्म नटिङहम विश्वविद्यालयको अमेरिकन र क्यानाडियन स्टडिज विभागमा व्याख्याता र पछि अमेरिकी विदेश नीतिका सहायक प्राध्यापकको रूपमा कार्यरत रहेका थिए । उनी रोयल हिस्टोरिकल सोसाइटी र रोयल एशियाटिक सोसाइटीका फेलोका रुपमा अनसन्धानमा संलग्न छन् ।
प्रतिक्रिया दिनुहोस्